एउटा पूर्ण पाठशाला !

by • • HighlightComments (0)234

Print Friendly, PDF & Email

संग्रहालयको भ्रमणमा ल्याउनु अगाडि शिक्षकले संग्रहालयमा के–के अवलोकन गर्ने, के–के विवरण लिने, पथप्रदर्शकलाई के कस्ता प्रश्न सोध्ने इत्यादि कुराहरूबारे विद्यार्थीलाई तयार पार्नुपर्छ। हेर्ने र जानकारी लिने कुराको पहिल्यै सूची बनाएर विद्यार्थीलाई दिइएको हुनुपर्छ ।
– प्रा. डा. धर्मराज डंगोल

मैले त्रिभुवन विश्वविद्यालयको कृषि तथा पशु विज्ञान अध्ययन संस्थान रामपुर, चितवनमा सहायक प्राध्यापक र प्राध्यापकका रूपमा २८ वर्ष कृषि विज्ञान पढाएँ । अनि २०६९ सालमा काठमाडौंको स्वयम्भूस्थित प्राकृतिक विज्ञान संग्रहालयको वनस्पति विज्ञ भएर आएँ र पाँच वर्षपछि यहाँको प्रमुख भएँ ।

२०७५ साल जेठ महीनातिरको घटना हो । कीर्तिपुरबाट कक्षा–४ मा पढ्ने १२० जना विद्यार्थी हाम्रो संग्रहालय घुम्न आएका थिए । अध्ययन–अवलोकनका लागि विभिन्न विद्यालयबाट त्यसरी हरेक दिनजसो आउने विद्यार्थी र शिक्षकहरूलाई संग्रहालयबारे जानकारी दिन छुट्टै कर्मचारी राखिएको भए पनि त्यस दिन मलाई ती विद्यार्थीको पथप्रदर्शक बनेर उनीहरूसँगै संग्रहालयको फेरो मार्न मन लाग्यो ।

मैले उनीहरूलाई संग्रहालयको प्रवेशद्वारबाट घुमाउन शुरू गरें । संग्रहालयको मुख्य कक्ष (ग्यालरी) भित्र पस्नेबित्तिकै बायाँतिर एउटा अभ्यास कोठा छ— जहाँ हाजिरीजवाफको शैली अपनाएर विभिन्न वनस्पति र वन्यजन्तुका प्रजाति चिनाइन्छ । त्यहाँ मैले ती विद्यार्थीलाई अन्तरक्रियात्मक तरिकाबाट त्यस्तै अभ्यास गराएँ ।

त्यस कोठाको भित्तामा च्याउ पहिचान बोर्ड राखिएको छ । विभिन्न थरी च्याउका नमूनासँगै नम्बर लगाइएको छ । ती नम्बरैपिच्छे राखिएका स्वीच दबाउँदा भित्ताको बोर्डमा थरीथरी रङका बत्ती बल्छन् । नीलो बत्ती बल्यो भने खान हुने, पहेंलो बत्ती बल्यो भने खान नहुने र रातो बत्ती बल्यो भने विषालु च्याउ भनेर थाहा पाउनुपर्छ ।

संग्रहालयमा पुतली र चरा पहिचान गर्नका लागि पनि उस्तै प्रविधि जडान गरिएको छ । विभिन्न चराहरूको नाम र नमूनासँगै राखिएका स्वीच थिच्दा सुन्तला रंगको बत्ती बल्यो भने दुर्लभ, पहेंलो बत्ती बल्यो भने नेपालमा मात्र पाइने, हरियो बत्ती बल्यो भने लोपोन्मुख अवस्थामा रहेको प्रजाति भनेर चिन्नुपर्छ । एवं रितले जडीबुटीको पनि पहिचान गर्न सकिन्छ ।

त्यही तरिकाले वन्यजन्तु पहिचान बोर्डको प्रयोग गर्दा पहेंलो बत्ती बल्यो भने संकटापन्न, सुन्तला रंगको बत्ती बल्यो भने लोपोन्मुख र हरियो बत्ती बल्यो भने ऐनद्वारा संरक्षित वन्यजन्तु भनेर थाहा पाउने व्यवस्था मिलाइएको छ । त्यहाँ कीट (मसिना कीरा–फट्याङ्ग्रा) को वर्गीकरण र विभिन्न परिवारका कीट पनि हेर्न पाइन्छ ।

वन्यजन्तु कक्षलाई पछाडि छोडेर अघि बढेपछि आथ्र्रोपोडा कोठा आउँछ । विभिन्न जिल्लाका आरक्षित र संरक्षित क्षेत्रबाट संकलन गरिएका कीराका साथै लामो सुँड भएका खपटेकीराहरू यहाँ राखिएका छन् । यस कोठामा संसारकै ठूलो पतङ्ग एटलास मथ (Atlas Moth) पनि छ । र, कीराले फूललाई कसरी हेरचाह गर्छ भन्ने कुरा देखाउन त्यहाँ एउटा छुट्टै प्रदर्शनी खण्ड पनि छ । कीरा, शंख र सिपीको उपयोग थाहा पाउने बोर्डहरू पनि यहाँ छन् ।

अझै अगाडि बढेपछि हर्बेरियम  (Herbarium) तथा इथ्नोबोटानी  (Ethnobotany) कोठामा पुगिन्छ । यस कोठामा तीन वटा हर्बेरियम दराज छन् । यी दराजहरूमा उन्यु, कोणधारी र फलधारी बोटबिरुवाका हर्बेरियम नमूना छन् । अन्य उपयोगी कोणधारी र फलधारी बिरुवाका नमूना पनि सुक्खा बनाएर या झेल औषधिमा डुबाएर संरक्षण गरिएका छन् । यस कोठामा देशका विभिन्न कुनाकाप्चाबाट संकलन गरेर ल्याएका विभिन्न नेपाली समुदायले प्रयोग गर्ने सरसामानका नमूना पनि छन् । ला दोचे शेर्पा नामका एक ट्रेकिङ्ग गाइडले यात्रा गर्दा संकलन गरेर उपहार दिएका फोटा पनि यहाँ सजाएर राखिएको देख्न पाइन्छ ।

यसै कोठामा नगरकोट, फुल्चोकी, सिन्धुपाल्चोक आदि विभिन्न स्थानबाट संकलित लेउ र झयाउ (Bryophytes) का नमूनाहरू झोल औषधिमा डुबाएर, हर्बेरियम बनाएर या हर्बेरियमलाई फोटोमा सजाएर राखिएका छन् । सँगसँगै फ्लेक्स प्रिन्टमा दुर्लभ र संकटापन्न प्रजातिका लेउ र झयाउ देखाइएको छ । एकै थलोमा नेपालको सबभन्दा धेरै लेउ र झयाउका नमूनाहरू हेर्न पाइने ठाउँ यही संग्रहालय मात्र हो ।

विद्यार्थीलाई संग्रहालय अवलोकन गराउँदै लेखक ।

हामी अघि बढ्दै गयौं । प्रत्येक कोठाका कुना–कुनामा पुगेर त्यहाँ राखिएका सामग्रीहरू देखाउँदै र तिनबारे विद्यार्थीलाई बताउँदै गएँ । विद्यार्थी र उनीहरूसँगै आएका शिक्षकले बेलाबेलामा प्रश्न राखे । मैले पनि प्रत्येक प्रश्नको उत्तर दिंदै गएँ । एवं रितले पाइला चाल्दै हामी पुतली अनुसन्धान कोठामा प्रवेश ग¥यौं । यस कोठाको छेउमा पुग्यौं । यस कोठामा धेरै थरीका पुतली संरक्षण गरेर राखिएका छन् । तर पुतलीका ती नमूना अनुसन्धान प्रयोजनका लागि भएकाले अवलोकनका लागि यो कोठा खुल्ला गरिएको छैन ।
त्यसपछि आउँछ चराचुरुङ्गी अवलोकन कोठा । यहाँ डाँफे, मुनाल, बकुल्ला, बाज, हेलेसो, काकाकुल, कोइली, भद्राइ, किंगफिसर, मलेवा, चेता, हुटिट्याउँ, चाचरी, ग्रेट बर्ड अफ पाराडाइज, धोबिचरा, काँडेभ्याकुर, छिर्केछिर्र्के, म्युतस्वाँन, कमलपाते चरा, लाटोकोसेरो, वोरी र मयूर भालेपोथी लगायत थरीथरी चराचुरुङ्गीका नमूना सजाएर राखिएका छन् ।

त्यसपछिको सरीसृप कोठामा न्याउरीमुसा र सर्पको लडाइँ, हरेउ सर्प (Pit viper), काठमाडौंबाट संकलित विभिन्न जातका सर्प, अजिङ्गर, विभिन्न प्रजातिका कछुवा र सुन गोहोरोको शरीर देख्न पाइन्छ । यहाँ विषालु र विषरहित सर्प चिन्ने साधारण तरिका उल्लेख भएको जानकारीमूलक चार्ट पनि छ । यही कक्षमा मगर तथा घडियाल गोही र काठमाडौंको इचंगुबाट २० वर्षअघि संकलन गरिएको ९ फिट ३ इञ्च लामो राजगोमनको शरीर रसायनमा डुबाएर राखिएको छ । यस कोठामा नेपालका केही विषालु साँपहरूका साथै विभिन्न प्रजातिका सर्प र अजिंगरका अस्थिपञ्जर पनि सुरक्षित ढंगबाट राखिएका छन् ।

हामी अब घुमफिर गर्दै जीवावशेष कोठामा आइपुगेका छौं । यहाँ थरीथरीका जीवावशेष, चट्टान र खनिज पदार्थका नमूना छन् । आदिमानव रामापिथेकस (Ramapithecus) को १ करोड ११ लाख वर्ष पुरानो बङ्गारा पनि यहीं छ । डा. गोपालमान सिंह डंगोलले काठमाडौं उपत्यकाबाट जम्मा गरेको जीवाश्मका उपहारहरूको संग्रह यही कोठामा अवलोकन गर्न पाइन्छ । यहाँ संसारबाट लोप भइसकेका हात्तीको खप्परका नमूना पनि प्रदर्शित छन् । ठूला–साना शालिग्रामको संकलन समेत देख्न पाइन्छ ।

प्रदर्शनी कोठाहरूको अवलोकन गर्दै हामी आँखालाई ठूलो हलको भित्तातर्फ केन्द्रित गर्दैछौं । भित्तातिर जेब्रा र गैंडाका खप्पर, नेपालको नक्शा लगायतका सामग्री झुण्ड्याइएका छन् । बाघ, बाँदर, ध्वाँसे चितुवा, चितुवा र नीलगाईका ट्रफी, जीवजन्तु र वनस्पतिका चित्र, समुद्रमा पाइने काइ (Algae) को नमूना पनि यहाँ ताजा जस्तै बनाएर राखिएका छन् । नेपाली चराहरूको तथ्य तथ्याङ्क, भौगोलिक आधारमा तिनको विवरण, कीराको वर्गीकरण, उपयोगी बिरुवाका नमूना र समुद्री घोडाका साथमा विभिन्न थरीका माछा, केही माछाका अस्थिपञ्जर, भ्यागुता र भ्यागुताको जीवनचक्र, विभिन्न थरीका सर्प, हाब्रे (रेड पाण्डा) र मृगका नमूना यहाँका थप आकर्षण हुन् ।

यहीं उभिएर हलको पहिलो पंक्तितर्फ नजर लगाउँदा क¥याङकुरुङ र सारस जातिका चराचुरुङ्गी, हात्ती र मानिसका भ्रूणहरू, हुँडार र यसका हड्डीहरू, दुई टाउके सर्प, एक टाउको र दुई जीउ भएको सुंगुर, बाख्राको आठखुट्टे पाठी, कुखुराको चारखुट्टे चल्ला आदि छन् । अस्ट्रिच, हाँस, कुखुरा र बट्टाईका अण्डाहरू, बँदेल, नेपालबाटै लोप भइसकेको रामगाई, उपयोगी बिरुवाका बीउ र अन्य भागका नमूनाहरू पनि यहाँ एकत्रित छन् ।

बर्दियाबाट संकलन गरिएको २० फीट ४ इञ्च लामो अजिङ्गरको काँचुलीको नमूना पनि यही कक्षमा छ । यहाँ सेतो काग र लाटोकोसेरो पनि हेर्न सकिन्छ । यस पंक्तिमा धनेश, टर्की, राजहाँस, चील, काकाकुल, सारस, मुनाल, बकुला, चखेवा चखेवी, मालक हाँस, सुगा, कालिज, तितु, मोगल राजहाँस, काग र परेवा एकै ठाउँमा देखेपछि लाग्छ यो संग्रहालय आएपछि हेर्न नपाइने कुन पन्छी होला र !

प्रदर्शनी हलको दोस्रो पंक्तिमा लोप भइसकेका सरीसृपका माटोबाट बनाइएका नमूनाहरू छन् । थुप्रै किसिमका जडीबुटी र उपयोगी बिरुवा, बिरुवाबाट निर्मित सरसामान, ढुसी र च्याउका नमूनाहरू, जातजातका यार्सागुम्बा र कीरा खाने अनौठा बिरुवा पनि छन् । चराचुरुङ्गीमा घरपालुवा कुखुरा, सिम कुखुरा, मैना तथा अन्य विभिन्न चराका हाड छन् । यो पंक्ति उड्ने लोखर्के, ओत, लोखर्के, वीसेल, कस्तूरी बिरालो, चौसिंघा, चमेरो, लारीस, हिमाली कस्तूरी बिरालो, सालक, गिनीपिग, छुचुन्द्र्रो, मुसा, खरायो र बिरालो आदिका नमूनाहरूले सजिसजाउ छ ।

हलको झयालतर्फ माउ कुखुरा र चल्ला, टोपी लगाइदिएको बाँदर तथा हात्ती लगायतका जनावरका अस्थिपञ्जर छन् । यहाँ स्टारफिस, शंखेकीरा, बिच्छी, जुका जस्ता हाड नहुने जीवका नमूनाहरू टन्नै छन् । आडैमा केही च्याउ तथा ठेकी काठका नमूना छन् भने गरुड, सारस, कालो हाडफोरुवा जस्ता चराहरू, गड्यौला तथा जुका वर्ग (Phylum Annelida) र शरीरमा प्वाल हुने जीव (Phylum Porifera) का साथै ललितपुरको गोदावरी क्षेत्रमा संकलन गरिएका तर अहिले हराउँदै गएका पुतलीहरूको संकलन पनि यहाँ देख्न पाइन्छ । चमेरो, सुनौला ढेडु, वनमान्छे, हुक्कु, बिरालो, खरायो र पहरे बाँदरको अस्थिपञ्जर तथा बाघ, भालु, नीलगाई र बिरालोको खप्पर पनि यहाँ हेर्न सकिन्छ । उड्ने लोखर्के, बाँदर, चरीबाघ, कस्तूरी बिरालो, वनबिरालो, न्याउरीमुसा र बाघ तथा सिंहका डमरुहरू समेत यहाँ हिंड्न ठिक्क परेर बसेझैं देखिन्छन् । एकातिर गैंडाको भ्रूण आमाको गर्भमा जस्तै गुँडुल्किएर बसेको देखिन्छ ।

ठूलो हल कोठालाई घडीको सुईको दिशामा फन्को मार्दै फर्कंदा भित्र पस्ने ढोकासँगैको टिकट काउन्टर नजिकै आइपुगिन्छ । यहाँ आँ गरेर मुख बाइरहेका बडेमानका मगर गोही र घडियाल गोहीसँगै दुई वटा भीमकाय अजिङ्गर, एक–एक वटा सुनगोहोरो र कछुवा आगन्तुकलाई विदाइ गर्न लहरै बसेजस्ता देखिन्छन् । त्यसबाहेक दुई वटा गोहीलाई झेल रसायनमा डुबाएर संरक्षण गरिएका नमूनाहरू पनि यहाँ छन् ।

हामी घुमघामको अन्त्यतिर आइपुगेका छौं । हलको पश्चिम कुनातिर फर्कंदा भुईंमा जरायो, मृग, स्याल र भालुका नमूना (Specimens) छन् भने भित्तामा विभिन्न बाघ, भालु, चितुवा र नीलगाईका छाला टाँगेर राखिएका छन् । छेउमा रामगाई, खरायो र दुम्सीका छाला राखिएको छ । मान्छेको भित्री अंग देखिने दुई वटा नमूना पनि यहाँ छन् ।

संग्रहालय परिसर पूरै घुमेर हेर्ने जति सबै हेरिसकेपछि मैले विद्यार्थी भाइबहिनीहरूलाई सभाहलमा राखेर अन्तरक्रिया गराएँ । त्यहाँ उनीहरूले मनमा लागेका र घुम्ने बेला सोध्न नपाएका धेरै प्रश्न सोधे । विद्यार्थीका केही प्रश्न यस्ता थिएः संग्रहालय किन स्थापना गरेको ? प्राणीका नमूनाहरू कसले र कहाँबाट संकलन गरेर ल्याएको ? कसरी नकुहिने गरी संरक्षण गरी राखेको ? के हामीले दिएका नमूना पनि संग्रहालयमा राख्न मिल्छ ? इत्यादि । मैले उनीहरूका सबै प्रश्नको एकएक गरी जवाफ दिएँ । सबैले चाख मानेर सुने ।

विद्यार्थीको मनमा उठेजति जिज्ञासा सकिएछ । सबैले मलाई ताली बजाएर धन्यवाद दिए । उनीहरूमध्ये अधिकांशका नोटकापी मैले दिएका मसिना जानकारीले भरिएको देखेपछि मलाई औधी खुशी लाग्यो । उनीहरू जुन उद्देश्यले संग्रहालय आएका थिए, त्यो पूरा गरेर जान लागेकोमा मैले मान्न पाउने त्योभन्दा बढी खुशी के नै हुन सक्थ्यो र !

संग्रहालय घुम्दा, घुमाउँदा र स्कूले विद्यार्थीहरूलाई सिकाउँदा सिकाउँदै दिन बितेको पत्तै भएन । त्यस दिन म पथप्रदर्शकको काममा यसरी डुबें कि पूरा दिन ध्यानमा बसेर ब्युँझ्एि जस्तो आनन्दमय भयो । विदा भएर हिंड्ने बेलामा चार कक्षामा पढ्ने एक विद्यार्थीले म नजिकै आएर केही भन्न खोजे । उनको अनुहारमा देखिएको जिज्ञासा लोभलाग्दो खालको थियो । मैले बोल्न इशारा गरेपछि ती कलिला स्कूले बालकले पुलुक्क मेरो आँखामा हेरे । म अझ् बढी उत्सुक भएपछि उनी एकछिन रोकिए र भरोसाका साथ भने, ‘सर, तपाईंले भन्नुभए जति सबै कुरा मैले बुझें । हामीलाई साइन्स पढ्दा सधैं यसरी नै बुझन मन लाग्छ । भोलिदेखि हाम्रो स्कूलमा तपाईं साइन्स टिचर बन्न आउनुस् न !’

म उनको आग्रह मान्न सक्दिनथें । तर त्यसपछि हरेक पटक संग्रहालय अवलोकनका लागि स्कूले विद्यार्थीहरू आएका बेला मौका मिलेसम्म समय निकालेर ती बालकले दिएर गएको जिम्मेवारी यथाशक्य पूरा गर्ने प्रयत्न गरिरहेको छु ।

संग्रहित वस्तु र तिनको संख्या
२०३२ सालमा स्थापना भएको प्राकृतिक विज्ञान संग्रहालयमा हाल दुर्लभ, लोप भइसकेका तथा लोपोन्मुख समेत गरी ५५ हजारभन्दा बढी वनस्पति तथा जीवजन्तुका नमूना संकलित छन् । त्यस्तै १४ हजार ८४३ पुतली तथा मथका नमूना, खप्टेकीराको ४ हजार १४२ नमूना, गाइनेकीराका १ हजार ४६४ नमूना, १ हजार ६०४ थरीका अन्य कीरा, ८९० जातका माछा, १०७ उभयचर, ३९० सरीसृप, १ हजार १९४ चरा, २२५ स्तनपायी र विभिन्न जन्तुको अस्थिपञ्जरका २२ नमूनाहरू यहाँ सुरक्षित छन् ।

त्यसैगरी संग्रहालयमा वनस्पतितर्फ अल्गी १२४, ढुसी (Fungi) २ हजार, च्याउ ३२०, लेउ र झयाउ प्रजाति (Bryophytes) १ हजार १८५, उन्यू प्रजाति (Pteridophytes) ५०७, कोणधारी वनस्पति (Gymnsoperms) १६३ र फलधारी वनस्पति (Angiosperms) का ५ हजार ३४ नमूनाहरू अवलोकन तथा अध्ययन गर्न सकिन्छ । यति मात्र नभई चट्टान तथा खनिजका ७४ वटा नमूना तथा विभिन्न जीवजन्तुको जीवाशेष (Fossils) का ९६४ नमूनाहरू पनि हेर्न सकिन्छ ।

भ्रमणको तयारी
विद्यार्थीलाई यस संग्रहालयको भ्रमणमा ल्याउनु अगाडि शिक्षकले संग्रहालयमा के–के अवलोकन गर्ने, के–के विवरण लिने, संग्रहालयका पथप्रदर्शकलाई के कस्ता प्रश्न सोध्ने इत्यादि कुराहरूबारे उनीहरूलाई तयार बनाउनुपर्छ । अवलोकन र जानकारी लिने कुराको सूची तयार गरी सबै विद्यार्थीलाई वितरण गर्नुपर्छ । शैक्षिक भ्रमणलाई सार्थक बनाउन विद्यार्थीलाई स–साना समूहमा बाँडेर परस्पर छलफल गराई प्रश्नहरू तयार पार्न लगाउनु अझ् राम्रो हुन्छ ।

भ्रमण पश्चात् अवलोकनबाट सिकेका नयाँ कुरा र अनुभवहरूमा आधारित भएर प्रतिवेदन लेख्न लगाउने, संग्रहालयमा देखिएका कुनै दश–दश वटा वनस्पति तथा जन्तुको वर्गीकरण गर्न लगाउने, खान योग्य र अयोग्य च्याउको बारेमा लेख्न लगाउने, हर्बेरियम (विधिपूर्वक सुकाइएका बिरुवाको नमूना टाँस गरिएको कार्डबोर्ड शीट) बनाउन लगाउने, वनस्पति तथा जीवजन्तुका अवशेषहरू फर्मालिनमा राखेर विद्यालयमा प्रयोगशाला निर्माण गर्ने आदि गृहकार्य दिन सकिन्छ ।

सार्वजनिक विदाका दिन यो संग्रहालय पनि बन्द हुन्छ । कात्तिक १६ देखि माघ १५ गतेसम्म बिहान १० देखि ४ बजे सम्म र अरू बेला १० देखि ५ बजेसम्म संग्रहालय खुल्ला हुन्छ । अवलोकन गर्न स्वदेशी विद्यार्थीले प्रतिव्यक्ति रु.२० को टिकट काट्नुपर्ने हुन्छ । प्राकृतिक विज्ञान संग्रहालयका प्राध्यापक, विशेषज्ञ र कर्मचारीहरूबाट पथप्रदर्शन र अन्तरक्रियात्मक कार्यशाला सहितको सिकाइ लिन अग्रिम जानकारी दिनुपर्ने हुन्छ ।

नेपाली अथवा सार्क मुलुकका वयस्क आगन्तुकले संग्रहालय अवलोकनका लागि प्रतिव्यक्ति रु.४० र अन्य विदेशीले रु.१०० को टिकट काट्नुपर्छ । परिवारसँग आउने पाँच वर्ष मुनिका बालबालिकालाई शुल्क लाग्दैन । विदेशी विद्यार्थीले परिचय पत्र देखाएमा ५० प्रतिशत सहुलियत दिने व्यवस्था छ । संग्रहालयभित्र फोटो खिच्न चाहेमा प्रति क्यामेरा रु.१०० र भिडियो खिच्न चाहेमा प्रति क्यामेरा रु.४०० तिरेर खिच्न पाइने व्यवस्था छ ।

संग्रहालयको इतिहास
स्वयम्भूको आनन्दकुटी विद्यापीठमा विज्ञान विषयको पढाइ हुँदै आएकोमा २०३१ सालमा कलेज व्यवस्थापनले उक्त संकाय बन्द गर्ने निर्णय ग¥यो । त्यसपछि त्रिभुवन विश्वविद्यालयको विज्ञान अध्ययन संस्थान अन्तर्गत रहने गरी आनन्दकुटी साइन्स कलेजकै छात्रावास भवनमा प्राकृतिक विज्ञान संग्रहालय स्थापना गर्ने निर्णय भयो । अध्ययन संस्थानका तत्कालीन डीन डा. एस.पी.प्रधानले त्रिभुवन विश्वविद्यालयका अमृत साइन्स कलेज र पद्मकन्या क्याम्पसमा भएका नमूना र केन्द्रीय क्याम्पस कीर्तिपुरमा कार्यरत प्राध्यापक कोलिन स्मिथले संकलन गरेका पुतलीका नमूनाहरू संग्रहालयमा थप्नुभयो । तत्पश्चात् चरा विशेषज्ञ हरिशरण नेपालीसँग चराचुरुङ्गीका नमूनाहरू किनी संग्रहालयमा थप्ने काम गरियो ।

विज्ञान अध्ययन संस्थानले तत्कालीन राजा वीरेन्द्रको राज्याभिषेकका अवसरमा २०३१ माघ २६ मा पुतलीहरूको प्रदर्शनी आयोजना ग¥यो । त्यही प्रदर्शनीपछि २०३२ साउन २ का दिन विधिपूर्वक प्राकृतिक विज्ञान संग्रहालयको जन्म भयो । संग्रहालयले जीवजन्तु र वनस्पतिका नमूना संकलन गर्दै गयो । तिनको संरक्षण र घुम्ती प्रदर्शनी मार्फत शिक्षा तथा जनचेतना अभिवृद्घि गर्ने र शैक्षिक सामग्रीहरू प्रकाशन गर्ने काम पनि सँगसँगै गर्दै गयो ।

संग्रहालयभित्र एउटा पुस्तकालय पनि छ, जसमा वनस्पति र जीवजन्तु सम्बन्धी पुस्तकहरू छन् । अध्ययन–अनुसन्धानको लागि उपयोगी जर्नल, अनुसन्धान प्रतिवेदन, शोधकार्य, लेखरचना, बुलेटिन, न्यूजलेटरहरू पनि पुस्तकालयमा सुरक्षित छन् । अध्ययन–अनुसन्धानलाई व्यवस्थित बनाउन विश्वविद्यालय अनुदान आयोगको सहयोगमा एउटा प्राणीशास्त्रको अनुसन्धान प्रयोगशाला स्थापना भएको छ ।

अवलोकनकर्ता
नेपालका प्राकृतिक विज्ञानसँग सम्बन्धित नमूना हेर्न, बुझन, मनोरञ्जन लिन र आफूले पनि त्यस विषयमा केही योगदान दिन सकिन्छ कि भन्ने आशयका साथै अन्य सहयोगको अवसर जुटाउने उद्देश्यले जिज्ञासुहरू संग्रहालयको अवलोकन गर्न आउने गर्छन् । धेरैजसो काठमाडौं उपत्यकाभित्र र यस आसपासका स्कूल, कलेज र विश्वविद्यालयका विद्यार्थी तथा शिक्षकहरू यो संग्रहालय अवलोकन गर्न आउँछन् । संकलित नमूनाहरूको अवलोकनका लागि विदेशी पर्यटक पनि संग्रहालयमा आउँछन् । आजकल स्कूल र कलेजहरूले दिने परियोजना कार्य अथवा गृहकार्य गर्न पनि विद्यार्थीहरू संग्रहालयमा आउने गर्छन् ।

कसरी पुग्ने ?
तपाईं काठमाडौंको रिङरोडमा हुनुहुन्छ भने चक्रपथ घुम्ने बस, मिनीबस या माइक्रोबस चढ्नुस् र स्वयम्भूको भगवान बुद्धको ठूलो मूर्ति भएको ठाउँमा ओर्लनुस् । त्यहाँबाट मञ्जुश्री बजारको बाटो हुँदै ५–७ मिनेटको पैदल यात्रापछि सडकको बायाँतर्फ रहेको प्राकृतिक विज्ञान संग्रहालयको ढोकामा पुग्नुहुन्छ ।

यदि तपाईं छाउनीको राष्ट्रिय संग्रहालय र सैनिक संग्रहालय हेरेर प्राकृतिक विज्ञान संग्रहालय हेर्न चाहनुहुन्छ भने छाउनीबाट किमडोल चोक पुग्नुुस् र मञ्जुश्रीबजार मार्गमा दुई–तीन मिनेट पैदल हिंड्नुस् प्राकृतिक विज्ञान संग्रहालयको बोर्ड देख्नुहुनेछ ।
स्वयम्भू मन्दिर गएर भगवान बुद्धको दर्शन गरिसकेपछि प्राकृतिक विज्ञान संग्रहालयको अवलोकन गर्न चाहनुहुन्छ भने तल मञ्जुश्रीबजार हेर्नुस्, संग्रहालयको हल र पार्क देख्न सक्नुहुन्छ । त्यसतर्फ सिंढीबाट ओर्लनुस्, ठूलो प्रवेशद्वारले तपाईंलाई स्वागत गरिराखेको हुनेछ ।

जाँदाजाँदै…
स्वागतको कुरा गरिरहँदा प्रसङ्गवश मैले एक दिनको घटना सम्झिएँ , जुन म कहिल्यै बिर्सन्नँ । एउटा कुनै विद्यालयबाट आएका विद्यार्थी र शिक्षकहरूलाई यथेष्ट विवरणका साथ संग्रहालय घुमाइसकेर उनीहरूले सोधेका सबै प्रश्नको उत्तरले समेत सन्तुष्ट बनाई गेटमा पुगेर विदाइ गरें । कार्यालयको भ¥याङ चढेर माथिल्लो तलामा रहेको आफ्नो कार्यकक्षतर्फ उक्लिन लागेको थिएँ । कसैले पछाडिबाट बोलाएको सुनें । यसो फर्केर हेर्दा भर्खरै विद्यार्थीहरूसँगै विदा भएका शिक्षक रहेछन् ।

मैले ती शिक्षकलाई सोधें, ‘के बिर्सनुभयो ?’ जवाफमा उनले भने ‘हामीले चाहेभन्दा कैयौं गुणा बढी जानकारी पाएर पनि तपाईंलाई एउटा कुरा दिन बिर्सेछौं सर ।’ मैले दोहो¥याएर सोधेपछि उनले भावुक हुँदै भने, ‘सरलाई हाम्रा सम्पूर्ण विद्यार्थी र विद्यालयको तर्फबाट मुरीमुरी धन्यवाद दिन बिर्सेछौं, त्यसैका लागि फर्केर आएको ।’

त्यसरी ती शिक्षकले फर्किएर दिएको धन्यवाद यो संग्रहालयमा आएपछि मात्र नभई सिंगो जागिरे जीवनमै मैले पाएको सबैभन्दा अमूल्य पुरस्कार झैं लाग्छ । आशा छ, यहाँ रहुञ्जेल यस्तो दुर्लभ पुरस्कारको दाबेदार बारबार बनिरहन पाऊँ !

(त्रिवि अन्तर्गतको रामपुर कृषि क्याम्पस, चितवनमा झण्डै तीन दशक प्राध्यापन गरेका डा. डंगोल हाल प्राकृतिक विज्ञान संग्रहालय, स्वयम्भूका प्रमुख हुन् ।)

शिक्षक  मासिक, २०७५ फागुन अंकमा प्रकाशित

Related Posts

/*sign up form*/