दिवास्वप्न

by • • किताबComments (0)386

भूमिका
यो पुस्तक र यसका लेखक
राजेन्द्र दाहाल

सन् १८८५ मा जन्मिएका गिरिजाशङ्कर भगवानजी बधेका अर्थात् गिजुभाई र उनका समकालीन महात्मा गान्धीको जन्म र कर्मभूमि भारतको गुजरात प्रान्त रह्यो । भारतीय समाजमा उनीहरूले आ–आफ्नो क्षेत्रमा अद्वितीय योगदान गरे । युवा गान्धी पोरवन्दरबाट लण्डनहुँदै वकालत गर्न दक्षिण अफ्रिका पुगेका थिए भने तन्नेरी गिजुभाई वकालतको अनुभव हासिल गर्न पूर्वी अफ्रिका । गान्धीले स्वदेश फर्किएर अङ्ग्रेज शासनविरुद्ध अभियान शुरु गरे, त्यसनिम्ति अहिंसा र सत्याग्रहलाई रणनीतिका रूपमा अङ्गीकार गरे । उनी सफल भए, युगपुरुष बने । तीन वर्षको अफ्रिका प्रवासबाट फर्किएपछि गिजुभाईले करिब पाँच वर्ष कानुनको अध्ययन र अभ्यासमा मुम्बई नगरीमा बिताए । उनीभित्र सुषुप्त रहेको बालबालिकाप्रतिको मोहले उनलाई बालशिक्षाको क्षेत्रमा पु¥यायो । गुजरात, भावनगरको नवस्थापित विनय मन्दिर (हाईस्कूल)को प्रधानाचार्य बनेपछि शिक्षा–दर्शनको विशद अध्ययन गरे । स्वाध्ययनबाटै बालशिक्षाशास्त्री बने ।

प्रारम्भिक कक्षामा राम्रो शिक्षा र वातावरण नपाएका बालबालिकालाई माथिल्लो कक्षामा जति प्रयास गरे पनि ‘राम्रो’ बनाउन नसकिने तथ्यबोध भएपछि हाईस्कूलको जिम्मेवारी छोडेर गिजुभाईले आफूलाई बालमन्दिर खोल्ने, बाल–शिक्षण विधिका किताब लेख्ने, प्रवचन दिने र शिक्षक तालिम सञ्चालन गर्ने अभियानमा होमे । उनको शिक्षण विधि मूलतः मारिया मन्टेसरीको शोध र अवधारणामा आधारित थियो, तर त्यसलाई उनले स्थानीय परिवेश अनुरुप ढालेका थिए । गिजुभाईको सबैभन्दा मुख्य विशेषता नै आफ्नो चिन्तनलाई व्यवहारमा उतार्न आफैं अग्रसर हुनु, आफंै उदाहरण बन्नु, आफैं खट्नु थियो । आफूले खोलेको बाल मन्दिरको पहिलो शिक्षक उनी आफैं थिए । बालबालिकालाई कसरी पढाउनुपर्छ भन्ने कुरा उनले प्रवचन दिएर हैन, आफंैले पढाएको देखाएर अरू शिक्षकलाई सिकाए ।

“जीवनलाई मत्थर गतिमा राखेर काम गर्ने मानिस देख्दा मलाई दिक्क लाग्छ” भन्ने गिजुभाई आफ्नो शैक्षिक जीवन साँच्चै हतारमा बाँचेका थिए । बाल मन्दिर (आजको भाषामा मन्टेसरी स्कूल) खोलेर आफूलाई बाल–शिक्षणमा समर्पित गरेपछिका जम्मा १९ वर्ष (सन् १९२०–३९) मा उनले बालसाहित्य, बाल–शिक्षण, बाल–मनोविज्ञान आदि विधामा १५० भन्दा बढी पुस्तक लेखेर प्रकाशित गराइसकेका थिए । कथा, कविता र चिन्तन विधालाई जोड्दा उनका कृतिको सङ्ख्या २२५ पुग्छ । तत्कालीन भारतमा प्रचलित शिक्षण (घोक्ने–घोकाउने) विधिलाई विस्थापित गर्न नयाँ शिक्षण विधिको प्रचारसँगै शिक्षक, अभिभावक र शिक्षा–प्रशासकहरूलाई प्रशिक्षित गर्नु जरुरी थियो । त्यसनिम्ति अध्यापन मन्दिर (शिक्षक प्रशिक्षणशाला) स्थापना गरेर आफैं मुख्य प्रशिक्षक बने । तर सानो शहरमा बसेर एक–दुई व्यक्तिले गर्ने त्यस्ता प्रयास विशाल भारत त के गुजरातकै निम्ति पनि पर्याप्त थिएनन् । त्यसैले उनले नयाँ शिक्षण विधिमै केन्द्रित मासिक शिक्षण पत्रिका (सन् १९२१) को प्रकाशन शुरु गरे । गुजराती र मराठी हुँदै यो पत्रिकाको हिन्दी संस्करण पनि निस्कन थाल्यो । पत्रिकाका अधिकांश पाना गिजुभाई एक्लैले भर्थे । शिक्षण कलामा केन्द्रित त्यो स्तरको पत्रिका आजको भारतमा पनि शायदै भेटिन्छ ।

बालबालिकाको सम्मान, स्वतन्त्रता र अधिकारका पक्षमा जीवन आहुति गरेका गिजुभाईलाई कतिपयले ‘बालकका गान्धी’ समेत भन्ने गरेको पाइन्छ । हुन पनि, आधुनिक शिक्षाको दक्षिण एसियाली इतिहासमा बालबालिकालाई ठूलालाई जस्तै सम्मान गरिनुपर्छ र उनीहरूलाई पनि स्वतन्त्रता उत्तिकै प्यारो हुन्छ भनी वकालत गर्ने पहिलो व्यक्ति सम्भवतः गिजुभाई नै थिए ।

यी बालसेवीको मृत्यु सन् १९३९ जून २३ मा पक्षाघातबाट मुम्बईमा भयो । महात्मा गान्धीले श्रद्धाञ्जलि दिँदै लेखे, “गिजुभाईको उत्साह, विश्वास र कर्मले मलाई सधैं मुग्ध पार्दै आएको छ । उनको काम भविष्यमा अरू फल्ने र फैलिनेछ ।” त्यस्तै मारिया मन्टेसरीले गिजुभाईसँग परिचय हुन नपाएकोमा अपशोच व्यक्त गर्दै शोक सन्देश पठाइन्, “बालकको स्वतन्त्रता र सुखको निम्ति उनले जसरी आफ्नो निजी स्वार्थ त्याग गरेर जीवन नै समर्पण गरे, त्यो चिरस्मरणीय रहनेछ ।”

Related Posts

/*sign up form*/