अनि हराउँछन् विद्यालयबाट विद्यार्थी !

by • • Highlight, विविधComments (0)9989

Print Friendly, PDF & Email

विद्यार्थीलाई जे भने पनि हुन्छ जस्तो लाग्छ कतिपय शिक्षकलाई। तर शिक्षकले प्रयोग गर्ने शब्दले, बोलीले कसरी विद्यार्थीलाई चोट पु¥याउँछ, यो मैले एक अभिभावकका रूपमा महसूस गरें। नयाँ शैक्षिक वर्षमा छोराको स्कूल नै फेर्छु भन्ने सम्ममा पुगें ।
– रोश्ना सुब्बा
भर्खरै सकिएको शैक्षिक सत्रको बीचमा आएर एकाएक छोराको कक्षा–सेक्सन परिवर्तन गरियो । सेक्सन फेरिएको भोलिपल्ट बेलुका मात्र उसले मलाई भनेको थियो । तर कारण उसलाई थाहा थिएन । तिमीलाई कस्तो लागेको छ त ? मैले उसलाई सोधें । “ठीकै छ । वेस्ट फ्रेन्डसँग छुट्टिनु पर्दा चाहिं साह्रै नरमाइलो लागेको छ”, उसको जवाफ थियो । विद्यार्थीको यस्तो संवेदनालाई पनि ध्यान नदिने कस्ता शिक्षक होलान्, मनमनै गमें । सेक्सन सार्नुको कारण नदिइएकोले यसमा मलाई चित्त बुझ्ेको थिएन । विना पूर्व जानकारी एक्कासी यसरी सेक्सन फेरिदिंदा केटाकेटीलाई आफूले के गल्ती गरेछु र सजाय पाएँ भन्ने पर्दोरहेछ । विद्यार्थीले प्रश्न गर्न पनि नपाउने, कारण जान्न पनि नपाउने, चूपचाप अर्को सेक्सनमा जानुपर्ने ! तर के अनुशासनको नाममा विद्यार्थीहरू आदेशपालक मात्र बन्नुपर्ने हो त स्कूलमा ? मलाई कहिले स्कूलमा गएर कुरा गरूँ जस्तो भइरहेको थियो ।

“मिल्ने साथीहरूसँग छुट्टिंदा तिमीलाई नरमाइलो लागेको छ भने पहिलेकै सेक्सनमा ल्याउन म स्कूलमा गएर कुरा गर्छु है” सुत्ने बेलामा मैले छोरालाई सम्झएँ । “भयो, पर्दैन । तर मलाई अर्कै कुराले हर्ट गरेको छ” उसले भन्यो, “मलाई … मिसले यो सेक्सनको वातावरण नबिगार भन्नुभयो । सबै साथीहरूका अगाडि यसो भन्दा धेरै चित्त दुखेको छ” भन्दै ऊ रुन थाल्यो । निकै बेरसम्म रोयो । राति ११ बजे मात्र सुत्यो । उसलाई त्यस्तो अवस्थामा देखेपछि म पनि भित्रभित्रै तड्पिरहेकी थिएँ । म अर्को वर्ष कुनै पनि हालतमा छोराको स्कूल परिवर्तन गर्छु भन्नेमा पुगिसकेकी थिएँ ।

भोलिपल्ट स्कूल जाने बेलामा उसलाई “म दिउँसो तिम्रो स्कूल आउँछु” भनें । उसले नयाँ सेक्सनमा गाली गर्ने शिक्षकको बारेमा भने कुरा नगर्न अनुरोध ग¥यो । स्कूलमा गएर आमाबुबाले कुनै शिक्षकको बारेमा केही गुनासो ग¥यो भने गाली खानु वा कुनै सजाय पाउनुपर्छ भन्ने त्रास प्रायः सबै केटाकेटीमा हुन्छ ।

“के कारणले उसको सेक्सन सार्नुभयो ? किन थाहा दिनुभएन ?” रिस भरिएको स्वरमा मैले इन्चार्जलाई सोधें । उनी विज्ञान विषय पढाउँछिन् । छोराले उनलाई निकै मन पनि पराउँछ । उनले “सरी म्याम म फोन गर्छु भन्दैथें, तर साहै्र व्यस्त भएकोले गर्न पाइनँ” भनिन् । स्कूलकै विभिन्न काममा उनी साँच्चै व्यस्त देखिन्थिन् । तर उनले छोराको सेक्सन परिवर्तनको जुन कारण भनिन्, त्यसबाट म अचम्ममा परें । मेरो छोरा र एक सहपाठी छात्रा एक–अर्कासँग अलि बढी नै नजिकिए जस्तो लागेर सारिएको हो रे ! जुन छात्राको बारेमा उनी भन्दै थिइन्, ती छात्रा मेरो छोराका मिल्ने सहपाठीमध्येकी एक हुन् । मलाई थाहा थियो यो । फेरि किशोरावस्थामा यस्तो हुनु स्वाभाविक र सामान्य नै हो । कतिपय स्कूलमा कक्षा ६÷७ मा नै विद्यार्थीहरू एकअर्काको आकर्षणमा परेर निम्तिएका समस्या पनि सुनेकी नै थिएँ । तसर्थ शिक्षा मार्फत किशोर–किशोरीलाई सन्देश दिन मैले उनलाई अनुरोध गरें ।

त्यसपछि मैले उनीसँग ‘वातावरण नबिगार’ भन्ने शिक्षकका बारेमा र यसले मेरो छोरोलाई पारेको नकारात्मक प्रभावका बारेमा कुरा गरें । उनले ती शिक्षकको कक्षामा मेरो छोराले एकदम हल्ला गर्छ रे भनिन् । “ल, उसको कमजोरी होला । बदमासी होला । तर शिक्षकले सुधारका लागि गर्ने तरिका ठीक भयो त ?” मैले प्रश्न अघि सार्दै गएँ, “सबै शिक्षकका अगाडि उहाँलाई राखेर उहाँको व्यवहार गलत भयो भनी अपमानित गरें भने उहाँलाई कस्तो लाग्ला ?” मैले गरेको गुनासोका कारण छोराले कुनै दबाब खेप्न नपरोस् र पढाइ–लेखाइ वा आचरणमा केही समस्या आए पहिल्यै थाहा दिइयोस् भन्ने अनुरोध गरेर म फर्किएँ ।

मैले झैं यसरी गुनासो गर्ने अभिभावकलाई स्कूलमा कतिपय शिक्षकले मन पराउँदैनन् । र, तिनले केटाकेटीसँग कुनै न कुनै रूपमा प्रतिशोध लिन खोज्छन् । त्यसैले म बेला–बेलामा के छ कस्तो छ भनेर छोरालाई सोधिरहन्थें । अहिले उसको अन्तिम परीक्षा सकिएको छ । शिक्षकले प्रयोग गरेका शब्द, भाषाका कारण त्यस दिन छोरो छट्पटिएको मैले अझैं बिर्सन सकेको छैन । त्यसैले पनि “स्कूल फेर्ने है छोरा” भनेर सोधें । तर “अब कक्षा–८ मा ती शिक्षकसँग पढ्नु पर्दैन नि मामु । नफेर्ने । साथीहरू पनि यहीं हुन्छन्”, उसले मानेन ।

विद्यार्थीलाई जे भने पनि हुन्छ जस्तो लाग्छ कतिपय शिक्षकलाई । तर शिक्षकले प्रयोग गर्ने शब्दले, बोलीले कसरी विद्यार्थीलाई चोट पु¥याउँछ, यो मैले एक अभिभावकका रूपमा महसूस गरें । नयाँ शैक्षिक वर्षमा छोराको स्कूल नै फेर्छु भन्ने सम्ममा पुगें । यसैकारण कतिपय साना बालबालिका बीचमै स्कूल छाड्छन् ।

काठमाडौंको मन्टेसरी भनिएको एक प्रि–स्कूलकी सानी बालिका स्कूल नजाने भनेर जिद्दी गर्न थालिन् । उनकी आमाले त्यसलाई खासै गम्भीर रूपमा लिइनन् । तर जब ती बालिकाकी सानिमाले कारण थाहा पाइन्, आफ्नी दिदीलाई तुरुन्तै स्कूल फेर्न लगाइन् । ती सानी नानीलाई शिक्षकले कक्षामा ‘काली’ भनेर सम्बोधन गर्दी रहिछिन् । शिक्षकलाई पछ्याउँदै अरू साथीहरूले पनि ‘काली–काली’ भन्न थालेपछि उनले स्कूल नजाने जिद्दी गर्न थालेकी रहिछन् ।
यस्तै कक्षा–४ का एक विद्यार्थी स्कूल जाने समय भयो कि पेट दुख्यो भनेर रुन्थे । होला त भनेर शुरूमा आमाबुबाले पत्याए । लगातार यसो गरेपछि भने स्कूलमा केही गडबडी छ कि भन्ने शंका आमाबुबालाई लाग्यो । फकाएर सोधे । ती विद्यार्थी बोल्दा अड्किन्थे । कक्षामा हल्ला हुँदा शिक्षकले को–को हो भनेर सोध्दा साथीहरूले उनैलाई देखाउने रहेछन् । बोली अड्किने कारण मैले हल्ला गरेको होइन भन्न उनी धक मान्ने रहेछन् । अनि साथीहरूले उनलाई दोष लगाउँदा रहेछन् । र, शिक्षकले पत्याएर उनैलाई सजाय पनि दिएका रहेछन् । अभिभावक गएर शिक्षकसँग कुरा राखेपछि ती विद्यार्थी विद्यालय जान थाले ।

कक्षामा विभिन्न अवस्थाका विद्यार्थी हुन्छन्, तर कतिपय शिक्षकले तिनलाई राम्ररी बुझन सक्दैनन् अनि केही टाठाबाठाको कुरा बढी विश्वास गरेर शिक्षकले यसरी निर्दोष विद्यार्थीलाई दोषी बनाइरहेका हुन्छन् । केही शिक्षक यस्ता पनि हुन्छन् कि उनीहरू पढाइमा राम्रो र भनेको मान्ने विद्यार्थीलाई बढी भाउ दिन्छन् । ठाउँ दिन्छन् । मनिटर छान्दा वा स्कूल क्याप्टेन बनाउँदा होेस्, एकथरी विद्यार्थीलाई मात्र प्राथमिकता दिइने गुनासो अरू विद्यार्थीबाट सुनिन्छ । जान्ने वा पढाइमा राम्रो गर्ने विद्यार्थीले गृहकार्य गरेर नल्याउँदा पनि केही नगर्ने तर अरूले यसो गर्दा सबैका अघि गाली वा सजाय पाउँछन् ।

कक्षामा असमान व्यवहार गर्ने शिक्षकले पढाउने विषयमा रुचि नै हुँदैनथ्यो भन्छिन् काठमाडौं विश्वविद्यालयमा स्नातकोत्तर गरिरहेकी एक छात्रा । उनी मध्यम स्तरकी विद्यार्थी थिइन् । अगाडि बस्नेलाई बढी वास्ता गर्ने केही शिक्षकको व्यवहार उनलाई मन पर्दैनथ्यो । तर उनका केही शिक्षकहरू भने सबै विद्यार्थीलाई समान व्यवहार गर्ने र राम्रो गर्न प्रोत्साहन गर्थे । “यस्ता शिक्षककोे विषयमा राम्रो गर्थें । उनीहरूको कक्षामा अरू दुःख पनि बिर्सन्थें । आर्थिक अवस्था कमजोर थियो । परिवार ठूलो थियो । झ्गडा हुन्थ्यो घरमा ।” शिक्षकको सकारात्मक व्यवहारले विद्यार्थीलाई उत्साहित पार्र्ने उनको अनुभव छ ।
“म शिक्षक हुँ, विद्यार्थीलाई जस्तो शब्द प्रयोग गरे पनि, जस्तो व्यवहार गरे पनि हुन्छ” भनेर बालबालिकामाथि नकारात्मक तथा असमान व्यवहार गर्दा उनीहरूको मनमा चोट परिरहेको हुन्छ । यस्तो व्यवहार गर्ने शिक्षकको नजरमा आफ्नो कुनै महत्व नभएको महसूस विद्यार्थीले गर्न थाल्छन् । र, उनीहरू शिक्षक सामु आफ्ना कुरा वा समस्या व्यक्त गर्न सक्दैनन् । तसर्थ, आफ्नो व्यवहारले कतै विद्यार्थीलाई ठेस पुगिरहेको छैन भन्नेतर्फ शिक्षकहरू स्वयं सचेत हुनुपर्छ । बालबालिकाको मनोभावनासँग जोडिएको यो विषयलाई महत्व नदिने वा सम्बोधन नगर्ने शिक्षकका कक्षामा विद्यार्थीहरू रमाउन सक्दैनन् । किनकि उनीहरू त्यस्ता शिक्षकसँग भावनात्मक रूपमा जोडिन सक्दैनन् । बरू, त्यस्ता शिक्षकको कक्षा कहिले सकिएला भनेर बस्छन् । यसले गर्दा उनीहरूको सिकाइ पनि कमजोर हुँदै जान्छ र उनीहरू विद्यालयबाटै टाढिन खोज्छन् ।

अहिले नयाँ शैक्षिक सत्रका लागि सामुदायिक र निजी दुवै किसिमका विद्यालय विद्यार्थी संख्या बढाउन भर्ना अभियानमा व्यस्त छन् । कक्षा–१० को नतिजा र विभिन्न सुविधा सहितका भौतिक पूर्वाधारलाई केन्द्रित गर्दै आ–आफ्नो विज्ञापन गरिरहेका छन् । राम्रो स्कूल सावित गराउने सबभन्दा ठूलो मापदण्ड नै कक्षा–१० को परिणाम हो भन्ने बुझइ धेरैमा छ । माथि चर्चा गरिएका जस्ता नकारात्मक भोगाइहरू विद्यार्थीले यस्तै स्कूलमा भोग्नुपर्ने हुन्छ । प्रायः हरेकजसो विद्यालयमा विद्यार्थीले केही शिक्षकबाट विभिन्न खाले नकारात्मक व्यवहार खेपिरहेका हुन्छन् । कतिपय अभिभावकलाई त यो महत्वपूर्ण विषय हो जस्तो लाग्दैन । कतिले थाहा नै पाउँदैनन् ।

हरेक वर्ष नयाँ शैक्षिक सत्रमा भर्ना अभियान चल्छ । विद्यार्थी विद्यालयमा आउँछन् पनि । तर वैशाखमा आएका विद्यार्थी चैतमा अन्तिम परीक्षा दिने बेलासम्म ठूलो संख्यामा बीचमै हराइसकेका हुन्छन् । यसको एउटा कारण, उनीहरूमाथि स्कूलमा हुने नकारात्मक व्यवहार पनि हो । भर्खर स्कूल भर्ना भएका हुन् वा अरू विद्यालय छाडेर नयाँमा आएका हुन् वा पुरानै विद्यालय तर नयाँ कक्षामा चढेका हुन्, यी सबै विद्यार्थीले कक्षाकोठामा विद्यालयमा आफ्नो महत्व छ, अपमान हुँदैन, सम्मान र स्वागत हुन्छ भन्ने वातावरण महसूस गर्न पाए भने मात्रै उनीहरूलाई सधैं पढ्न जाऊँ जाऊँ जस्तो लाग्छ ।

के कस्ता क्रियाकलाप गर्दा कक्षा वा विद्यालयमा विद्यार्थी रमाउँछन् अनि कस्ता कुराले उनीहरूको चित्त दुख्छ, कुनबेला साथीहरूका अगाडि आफू अपमानित भएको महसूस गर्छन् अथवा के कुराले गर्दा उनीहरूलाई विद्यालय जान मन लाग्दैन भन्ने कुरा बुझन शिक्षक र विद्यालयले आवश्यक प्रक्रिया र माध्यम खोज्न सक्नुपर्छ । यस्ता कुरा गोप्य र निर्भीक ढंगबाट विद्यार्थी र अभिभावकले लेख्न सक्ने, छलफलमा भन्न सक्ने वातावरण बनाउनु विद्यालयको दायित्व हुन्छ ।

शिक्षक  मासिक

२०७६ वैशाख अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/