एउटा ‘रेनेसान्स्’ व्यक्तित्व सत्यमोहन जोशी

by • • HighlightComments (0)403

Print Friendly, PDF & Email

तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । हाम्रो आधुनिक युगका थोरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स् व्यक्तित्व’मध्येका एक उज्ज्वल उदाहरण हुन् सत्यमोहन जोशी ।
– कनकमणि दीक्षित

९० सालको महाभूकम्पको बेला भत्किएको पाटन दरबार क्षेत्रको विश्वेश्वर महादेवको मन्दिर (भाइदेगः) को पुनर्निर्माण गर्न ७० वर्षपछि एउटा स्थानीय समूह-जुटेको छ । त्यस स्वयंसेवी समूहका संरक्षक हुन् ५२ वर्षअघि विश्वेश्वरप्रसाद कोइरालाको सरकारद्वारा पुरातत्व विभागको निर्देशक (प्रमुख) मा नियुक्त गरिएका संस्कृतिविद् सत्यमोहन जोशी । उनी भाइदेगः समितिका संरक्षक र अध्यक्ष दुवै हुन् । प्राचीन प्रस्तर कलाका ज्ञाता जोशी मन्दिरका टुँडालको काष्ठकला, काठमाडौं उपत्यकाको बौद्ध र हिन्दू धर्मको अन्तरसम्बन्ध, नेवार सभ्यताको प्राचीनता र गहिराइ, पाटन दरबार क्षेत्रका समुदायहरूको उत्पत्ति, कर्णाली भेकको लोकसंस्कृति, ऐतिहासिक व्यक्तित्व अरनिकोका अन्वेषणकर्ता तथा थुप्रै थुप्रै सूचना र ज्ञानका स्रोत हुन् ।
भाइदेगः पुननिर्माण समितिको बैठकमा सत्यमोहनजी धेरै बोल्दैनन्; परेको बेला सुझव र सूचना मात्रै दिन्छन् । उनी आफ्नो ९२ वर्षको उमेरलाई कारण देखाएर रत्तिभर पनि विशेष सहुलियत र आदरको अपेक्षा राख्दैनन् । मिटिङ सकिएपछि तीन तला माथिबाट ठाडो भ¥याङ सहायताविनै आफैं उत्रन्छन्, अनेक चौकठ, खुट्किला, सिंढी र सडक पेटी पार गर्दै पाटन दरबारको मुख्य चोकमा पुग्दछन् । मित्रहरूले ‘रात परिसकेको छ, बकुमबहाः टोलमा रहेको उनको घरसम्म साथ दिन्छौं’ भन्दा “पर्दैन, यहीं त हो नि” भन्दै लोडसेडिङको अँध्यारोमा सत्यमोहनजी आफैं बाटो लाग्दछन् । घर, जहाँ उनकी अर्धाङ्गिनी राधादेवी एक्लै पर्खिरहेकी हुन्छिन् ।

इतिहासको अनुसन्धान मिथ्या र किम्बदन्ती नभई प्रमाणमा आधारित हुनुपर्दछ भन्ने उनको राय छ, जबकि समाज र संस्कृतिको उत्पत्तिमा चाहिं मिथ्या र किम्बदन्तीको पनि महत्व हुन्छ भन्ने कुरामा उनी प्रष्ट छन् ।

सत्यमोहन जोशीले उतिबेलाको एक मात्र विद्यालय र क्याम्पस– दरबार हाईस्कूल र त्रिचन्द्र कलेजमा पढे र पहिलो जागिर २३ वर्षको उमेरमा सन् १९४३ मा पाए । त्यतिबेला देशमा राणाशासन थियो । उनको रूची र विशेष झुकाव अनुसन्धान र प्रामाणिक खोजमा थियो । त्यही अनुरूप उनी एकातर्फ आधुनिक वैज्ञानिक युगलाई चाहिने ‘स्टेटिस्टक्स्’ र ‘डाटा’को संकलन-विश्लेषण अनि अर्कोतर्फ आफ्नै नेवार समुदायको सांस्कृतिक सम्पदाको अभिलेखीकरण, संरक्षण, संवद्र्धन, सँगसँगै बृहत् नेपाल राज्यको सांस्कृतिक विविधताको पहिचान र प्रचारमा दत्तचित्त भएर लागे ।

सत्यमोहनजीको व्यक्तित्वलाई सही अर्थमा ‘बहुआयामिक’ मान्नु पर्छ, तर अरू कुनै संज्ञा भन्दा उनलाई एक सफल र सक्षम ‘शिक्षक’ को उपाधि शायद सबैभन्दा उपयुक्त हुन्छ । आफैं प्रामाणिक र ‘रिगरस्’ अनुसन्धान गर्ने तथा आफूले संकलन गरेको ज्ञानलाई अरूसमक्ष पु¥याइदिने—कुनै पनि शिक्षकको उच्चतम समर्पण हो, र जीवनभर यही गर्दै आएका छन् सत्यमोहन जोशीले ।

आफूले बटुलेको ज्ञान अरूमा बाँड्ने सत्यमोहनजीको चाहना वि.सं. २०१० मा नेपालबाट न्यूजिल्याण्ड जाने पहिलो नेपालीको यात्रा विवरण (पुस्तक) मा प्रकट भएको पाइन्छ । अनुसन्धानात्मक संस्कृति लेखनका लागि तीन–तीन पटक मदन पुरस्कार जितेका जोशीका कृतिहरूले यो छविलाई अझ् उजागर गरिदिन्छन् । उनको खोज, लेखन र ज्ञान प्रशारणको यात्रा मातृभाषा (नेवाःभाः) र नेपाली भाषा—दुवैमा अगाडि बढेको छ भने उनको अनुसन्धान ‘पश्चिमा’ शोधशैलीबाट प्रेरित छ । इतिहासको अनुसन्धान मिथ्या र किम्बदन्ती नभई प्रमाणमा आधारित हुनुपर्दछ भन्ने उनको राय छ, जबकि समाज र संस्कृतिको उत्पत्तिमा चाहिं मिथ्या र किम्बदन्तीको पनि महत्व हुन्छ भन्ने कुरामा उनी प्रष्ट छन् ।

३० वैशाख १९७७ सालमा पाटन दरबारको ठीक उत्तर–पूर्वमा रहेको बकुमबहाः मा भएको हो, सत्यमोहन जोशीको जन्म । वि.सं. २००२–२००६ सम्म उनले राणाकालीन ‘इण्डस्ट्रिएल सर्भे अफिस’ मा काम गरे । तत्पश्चात् २०१६ सम्म ‘डिपार्टमेन्ट अफ् स्टेटिस्टिकस्’ को सुपरिटेन्डेन्ट रहे । तथ्यको खोज र डाटाको संकलनमा उनले त्यतिबेला नै पारंगत हासिल गरेका हुन् । ‘हाम्रो लोक संस्कृति’ ले मदन पुरस्कार पाएको आधारमा उनी पुरातत्व तथा संस्कृति विभागका प्रथम निर्देशक बनाइए २०१६ मा । २०१७ साल पुस १ गते कांग्रेसको सरकार बर्खास्त भएपछि उनको सरकारी जागिरको पनि अन्त्य भयो ।

२०३० सालको वरिपरि, राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव रहँदा सत्यमोहनजीले मुलुकका विविध संस्कृतिको अनुसन्धान र प्रकाशनमा अगुवाको भूमिका निर्वाह गरे । उनको संयोजकत्वमा प्रज्ञा प्रतिष्ठानले पश्चिम नेपालको सिन्जा उपत्यकाको अनुसन्धान ग¥यो, जसमा मानवशास्त्री, समाजशास्त्री र भूगोलशास्त्री सम्मिलित थिए । कर्णाली क्षेत्रको उक्त पहल आधुनिक युगको नेपाली अध्ययनशीलता तथा अन्वेषणको निम्ति आजसम्मकै उदाहरण बनेको छ ।

पाटनका पोलिम्याथ

पत्नी राधादेवीका साथ जोशी

युरोपको इतिहासमा १४ औंदेखि १७ औं शताब्दीको अवधिलाई ‘रेनेसान्स्’ (पुनर्जागरण) को युग भनिन्छ, जतिबेला ज्ञान आर्जन, विज्ञानको महŒव, तर्कको आवश्यकता, मानवीय संवेदनशीलता तथा व्यक्तिगत बौद्धिक अग्रगमनको आकांक्षाले समाज प्रेरित थियो । नयाँ–नयाँ वैज्ञानिक आविष्कार, कलाकृतिको उत्थान, मानवअधिकार तथा लोकतान्त्रिक परिपाटीको सुरुआत ‘रेनेसान्स्’ का मुख्य देन मानिन्छन् । त्यतिबेला, मिकलान्जेलो, लियोनार्दो दा भिन्ची, ग्यालिलियो जस्ता महान् ऐतिहासिक व्यक्तित्वले युरोपलाई मात्र नभई पूरै भूगोललाई अगाडि बढाउन विज्ञान, दर्शन र कलाको बलियो जग बसाइदिए ।
यही इतिहासको आडमा तर्क, तथ्य, मानवीयता तथा लोकतान्त्रिक आस्था बोकेका व्यक्तिलाई ‘रेनेसान्स् म्यान’ (पुनर्जागरणका सूत्रधार व्यक्तित्व) भन्ने गरिन्छ । बहुआयामिक, सिर्जनशीलता बोकेका व्यक्तिलाई ‘पोलिम्याथ’ पनि भनिन्छ । हाम्रो आधुनिक युगका थोरै ‘पोलिम्याथ’ अथवा ‘रेनेसान्स् व्यक्तित्व’मध्येका एक उज्ज्वल उदाहरण हुन् सत्यमोहन जोशी । इतिहास, अभिलेख, लोकसंस्कृति, भूगोलशास्त्र, नियात्रा, नुमिस्मेटिक्स् (मुद्रा–ज्ञान), मूर्तिकला, शिक्षा, हरेक क्षेत्रमा सत्यमोहनजीको गहिरो लगाव; पकड र योगदान छ ।

विदेशी बाहेक कयौं नेपाली विज्ञहरू समेतले नेपालबारेका शोध ग्रन्थ अंग्रेजीमा लेख्न रुचाए । तर, अंग्रेजी स्रोत सामग्रीको प्रयोग गर्दै सत्यमोहनजी नेपाली पाठकतर्फ नै लक्षित रहे । यसै कारण नेपालमा यत्रो उचाइ रहेको यो व्यक्तित्वको समुद्रपारमा खासै चर्चा हुँदैन । तर यसले सत्यमोहनजीलाई असर पार्दैन, किनकि नेपाललाई आधुनिक युगतर्फ डो¥याउन नेपाली नागरिक र नेपाली समाजकै सोच चाहिं आधुनिक हुनुपर्छ भन्नेमा उनी सधैं विश्वस्त रहे ।
सत्यमोहनजीका अनुसन्धानात्मक कृतिमध्ये पर्दछन्– नेपालको लोक संस्कृति, पुरातत्व एक रोचक कथा, नेपाली मूर्तिकलाको विकासक्रम, नेपाली धातु मूर्तिकलाको विकासक्रम, नेपाली चाड पर्व, नेवारहरूको महःपूजा । प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव रहँदा उनले दुई महत्वपूर्ण प्रकाशनको संयोजन गरे– नेपालको ग्रन्थसूची र चौध भाषा समेटेको पर्यायवाची शब्दकोश ।

मुद्राको अनुसन्धानमा सत्यमोहनजीलाई पहिलेदेखि नै रुचि थियो र पुरातात्विक ज्ञान, इतिहास र संस्कृतिको अध्ययनपश्चात् नेपाली राष्ट्रिय मुद्रा सन् १९६० मा निकाले । माथि उल्लिखित सिन्जा उपत्यकाको अनुसन्धानको उपज थियो कर्णालीको लोक संस्कृति (सन् १९७१), जसले पनि मदन पुरस्कार प्राप्त ग¥यो ।
देश बाहिरका कामको रूपमा दुइटा कृति छन्, सत्यमोहनजीका । सन् १९५३ मा तेञ्जिङ नोर्गे र न्युजिल्याण्डका एडमण्ड हिलारीले सगरमाथाको प्रथम आरोहणको कीर्तिमान कायम गर्दैगर्दा उता सत्यमोहनजी न्युजिल्याण्डमा खुट्टा हाल्ने पहिलो नेपाली बन्दै थिए । त्यतिबेला अन्धकार युगबाट बाहिरिंदै गरेका नेपालीले दक्षिण गोलाद्र्धको पनि तल्लो भागमा रहेको न्युजिल्याण्डको चर्चा गर्दै विश्व चिनाउने प्रयास गरे । समाजशास्त्रीय कोणबाट उनले अर्को सभ्यताको वर्णन गरे, र भूगोल यात्रामा ‘टाइम जोन’ को महŒवको चर्चादेखि आदिवासी माओरी संस्कृतिको बयान ।
सन् १९६५-१९६९ को समय उनले बेइजिङमा बिताए र नेपालका ऐतिहासिक पात्र अरनिकोलाई नेपालीमाझ् चिनाउने मुख्य अध्येता बने ।

नेपालमण्डलदेखि नेपाल राष्ट्रसम्म
अनगिन्ती संस्थाका संस्थापक तथा संरक्षक रहेका सत्यमोहन जोशीको आफ्नो टोलदेखि पाटन शहर हुँदै पूरै नेपालमण्डल उपत्यका अनि राष्ट्रव्यापी सक्रियता आकलन गर्न साधारण दृष्टिले भ्याउँदैन । आफ्नै टोल नजिक रहेको श्री शान्ति विद्याश्रम उनले सन् १९५२ मा थालनी गरेका हुन्, जुनबेला पाटन शहरमा दुइटाभन्दा बढी विद्यालय थिएनन् । सन् १९६४ मा नेपाल आर्टस् काउन्सिलको संस्थापक सदस्य रहेका जोशी राष्ट्रिय नाचघर (सांस्कृतिक संस्थान) को स्थापनामा पनि उत्तिकै सक्रिय थिए । यसैगरी भक्तपुर दरबार प्राङ्गणमा रहेको नेशनल आर्ट ग्यालरी तथा ललितपुरको ‘पुराताŒिवक वाग’को सुरुआतमा पनि उनी लागेका थिए ।

सत्यमोहनजी बौद्ध साहित्य र संस्कृतिको अनुसन्धानको लागि गठन गरिएको बोधी परिषद्का संस्थापक सदस्य हुन् भने धेरै वर्षदेखि उनी नेपाल भाषा एकेडेमीका कुलपति रहँदै आएका छन् । विभिन्न सम्मानको सन्दर्भमा तीन पटक मदन पुरस्कार (सन् १९५६, १९६० र १९७१) प्राप्त गर्ने उनी एक मात्र स्रष्टा हुन् ।

रंगमञ्चको लागि अपरिहार्य रहेको ‘वार्डरोब’ (पहिरन) मा उनको विशेष रुचि रह्यो र प्रज्ञा प्रतिष्ठानमा रहँदा उनले यसको लागि ‘जिन्सी शाखा’ भनी सुरुआत गरे । प्रज्ञा प्रतिष्ठानमै हुँदा रंगमञ्चलाई सत्यमोहनजीले विशेष जोड दिए, जबकि उनको ‘बाघ भैरव’ नाटक पञ्चायतकालको अन्त्य नभएसम्म मञ्चन हुन सकेन । उक्त नाटक सन् २००६ मा आएर गुरुकुलमा मञ्चन भयो । कीर्तिपुरलाई मूल थलो बनाइएको उक्त नाटकमा एउटा जंगली बाघलाई नगरवासीले तह लगाउँछन् । लामो समय चल्दै आएको प्रज्ञा–प्रतिष्ठानको वार्षिक गाईजात्रा कार्यक्रमको सुरुआतमा उनकै हात थियो । संगीत र पुराना कलाकारलाई अगाडि ल्याउने र पुरानो शहरका डबलीमा फेरि नाचलाई निरन्तरता दिंदै संस्कृति ज्यूँदो राख्ने काममा उनी लागेका छन्, आजैसम्म । ६० वर्षसम्म ओझेलमा परेको पाटनको कार्तिक नाचलाई केही संस्कृति जुझरुहरूले आउँदो वर्ष पुनर्जीवित गर्दैछन् जसको लागि सत्यमोहनजीको सहभागिता अनिवार्य छ ।

यस लेखको लागि सत्यमोहन जोशीलाई भेट्न जाँदा उनी आफ्नो बाहिरी ढोकामाथि तोरणमा रहेका काष्ठमूर्ति सफा गर्दै थिए । भित्र दलानमा आफ्नो स्वाभाविक स्थानमा सुकुलमा बसी उनले प्रश्नका जवाफ दिए । उनलाई भेट्न आउनेको लस्कर कहिल्यै छुटेन, र बिहानै पनि बकुमबहाः भित्रको त्यो हराभरा प्राङ्गणमा मेला लागेजस्तो थियो । पाटन चेम्बर अफ कमर्सका पदाधिकारीहरू वार्षिक अधिवेशनको लागि निम्तो दिन आए, कृष्ण मन्दिर अगाडिको डबलीमा फेरि ‘कात्तिक नाच’ पुनः सञ्चालन गर्ने समूह सुझव र छलफलको लागि आएको थियो । लोक संस्कृति संरक्षणमा काम गर्ने अर्को समूह पालो कुरेर बसेको थियो ।

सिर्जनशील सोच र मानवीय संवेदनशीलताका धनी सत्यमोहन जोशी बौद्धिकता तथा निष्ठाको खडेरी भएको आजको घडीमा मुलुकमा एक उज्यालो नक्षत्रका रुपमा रहेका छन् । सभा, सेमिनार, उद्घाटन समारोहमा मुख्य अतिथि खोज्ने क्रममा सबैको मुखबाट आज ‘सत्यमोहन जोशी’ को नाम आउँछ । सबै विषयको सकारात्मक पक्षलाई ध्यानदिने; आफ्ना समकक्षीलाई गिराउने खेलमा नलाग्ने; क्लिष्ट भाषा बोल्नै नजान्ने, र हर विषयलाई सरल शब्दमा बुझउने क्षमता भएका सत्यमोहन जोशी किन आज सबैका लागि अपरिहार्य भए- बुझन गाह्रो छैन ।

केही दिन अघिमात्र राष्ट्रपति रामवरण यादवद्वारा ज्यापू समाजको भवन उद्घाटन हुँदा सत्यमोहनजीको उपस्थिति स्वाभाविक थियो; त्यहाँ उनको भाषणले सबैलाई मुग्ध बनायो । त्यसको लगत्तै विराटनगरमा पूर्वाञ्चल विश्व विद्यालयको दीक्षान्त समारोहमा प्रधानमन्त्री बाबुराम भट्टराईसामु उनले दीक्षान्त भाषण दिए, जहाँ उनले सामाजिक र आर्थिक तथा शिक्षा क्षेत्रमा मुलुकको विविध संस्कृतिलाई अँगाल्नुपर्ने धारणा राखे ।

निरन्तरको राजनीतिक र सामाजिक उथलपुथलका माझ् संस्कृतिविद् सत्यमोहन जोशी आज नेपाली नागरिकले आड लिने बलिया खम्बाको रूपमा रहेका छन् । राजनीतिक अस्थिरताले तहसनहस भएको राष्ट्रव्यापी मस्तिष्कलाई उनको उपस्थिति, बौद्धिक खुराक र सक्रियताले मलम लगाइदिइरहेको छ ।

शिक्षक  मासिक, २०६९ कात्तिक अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/