गुणकारी वनस्पतिः मोरिङ्गा ओलिफेरा

by • • HighlightComments (0)358

Print Friendly, PDF & Email

मोरिङ्गामा गाजरमा भन्दा बढी भिटामिन ए, सुन्तलामा भन्दा बढी भिटामिन सी, पालुङ्गोमा भन्दा बढी आइरन, दूधमा भन्दा बढी क्यालसियम र केरामा भन्दा बढी पोटासियम पाइन्छ ।
– गुरु मैनाली
अमन्त्रम् अक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।
अमन्त्रम् अक्षरं नास्ति नास्ति मूलमनौषधम् ।
अयोग्यः पुरुषो नास्ति योजकस्तत्र दुर्लभः ।।

मन्त्र नभएको अक्षर हुँदैन, औषधि नभएको बिरुवा हुँदैन, कुनै पनि व्यक्ति अयोग्य हुँदैन, तर त्यो संयोजन गर्न सक्ने योग्य व्यक्ति सारै नै दुर्लभ छन् ।

हरेक दिन हाम्रा भान्सामा केही न केही खानेकुरा पाक्छन् । यिनै खानेकुराले हाम्रो शरीरलाई शक्ति दिन्छन् र स्वस्थ रहन सहयोग गर्छन् । खाना आफैंमा औषधि पनि हो । हामीले खाने खानामा हाम्रो शरीरलाई चाहिने आवश्यक सबै तत्व छन् भने औषधिको कुनै जरुरत पर्दैन । तर जब हाम्रो खानामा हाम्रो शरीरलाई चाहिने खाद्य तत्वको अभाव हुन्छ, अनि हामीलाई ओखतीको जरुरत पर्दछ ।

हाम्रो शरीरलाई चाहिने खाद्यतत्वमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, चिल्लो पदार्थ र खनिज तत्वहरू पर्दछन् । एउटै मात्र खाद्यवस्तुबाट माथिका सबै तत्व प्राप्त हुँदैनन् । तसर्थ हाम्रा भान्सामा विभिन्न परिकार पाक्नुपर्छ । तर हरेक दिन सबै परिकार हाम्रा लागि संभव छैन, त्यसैले के पकाउने, कहिले पकाउने भन्ने कुराको छनोट हुनु आवश्यक हुन्छ ।

तेच्चुको कुरोयानागीले आफ्नो विश्व प्रसिद्ध पुस्तक तोत्तो–चान  मा केटाकेटीलाई हरेक छाक भातका साथमा ‘अलिकति पहाडबाट अलिकति समुद्रबाट’ दिनुपर्ने कुरा उल्लेख गरेकी छन्, जसले गर्दा खाना सन्तुलित बनोस् । हाम्रा लागि समुद्रबाट त सम्भव छैन, त्यसैले पहाड अर्थात् जमीनका उत्पादनबाटै हाम्रा आवश्यकता पूरा गर्नुपर्छ । हाम्रा प्रमुख अन्नबालीहरूमा धान, मकै, गहुँ, कोदो, जौ र फापर पर्दछन् । यसका साथमा गेडागुडी अनि अलिअलि फलफूल र तरकारीहरू नियमित रूपमा सेवन गर्न सकियो भने सन्तुलित आहार बन्न सक्छ ।

अन्नहरू कार्बोहाइड्रेडका स्रोत हुन् । यसले हामीलाई शक्ति दिन्छ, जुन काम गर्नका लागि आवश्यक हुन्छ । त्यस्तै हाम्रो शरीरलाई सुगठित राख्न प्रोटिनको जरुरत पर्छ जुन गेडागुडीहरूबाट प्राप्त हुन्छ । अनि हाम्रो शरीरको रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न तरकारी र फलफूल आवश्यक पर्छ ।

गाजरमा शरीरलाई चाहिने भिटामिन ए प्रचुर मात्रामा पाइन्छ, भिटामिन सी सुन्तला तथा कागतीमा पाइन्छ, आइरन पालुङ्गोमा, क्यालसियम दूधमा, पोटासियम केरामा पाइन्छ । तर यी सबै फलफूल तथा तरकारीहरू सधैंभरि सबै ठाउँमा उपलब्ध हुँदैनन् । कति त महँगा पनि हुन्छन्, त्यसैले सर्वसाधरणले उपभोग गर्न सक्दैनन् । तर यस्तै वनस्पतिमध्ये एउटा वनस्पति छ जसले विना मूल्यमा यी सबै पौष्टिक तत्वहरू उपलब्ध गराउन सक्छ । जसको नाम हो— मोरिङ्गा ओलिफेरा । यो बिरुवामा गाजरमा भन्दा बढी भिटामिन ए, सुन्तलामा भन्दा बढी भिटामिन सी, पालुङ्गोमा भन्दा बढी आइरन, दूधमा भन्दा बढी क्यालसियम र केरामा भन्दा बढी पोटासियम पाइन्छ ।

मोरिङ्गा निकै छिटो बढ्ने बिरुवा हो । यसका विश्वभरि धेरै नाम छन् । यसलाई संजीवनी वनस्पति वा जीवनदायिनी वनस्पति पनि भन्ने गरिन्छ । संस्कृतमा शिग्रु, सोभञ्जन र तीक्ष्णगन्धा भनेर चिनिने यो वनस्पति नेपालमा विभिन्न नामले चिनिन्छ । पश्चिममा यसलाई शीतल चिनी, धादिङमा अगस्ती, पूर्वतिर लागेपछि मुन्गा, सहिजन, सजिवन आदि नामले प्रसिद्ध छ ।

विश्वमा मोरिङ्गा १३ थरीका छन्, तीमध्ये सबैभन्दा लोकप्रिय र बहुउपयोगी वनस्पतिको वैज्ञानिक नाम मोरिङ्गा ओलिफेरा हो । यो भारत, नेपाल, सिंगापुर, इन्डोनेशिया थाइल्याण्ड तथा फिलिपिन्स लगायतका एशियाली देशहरूमा र अफ्रिकी देशहरूका साथै मध्य अमेरिका र दक्षिण अमेरिकी देशहरूमा समेत पाइन्छ ।

यो बहुउपयोगी वनस्पति हो । आयुर्वेदमा यो वनस्पतिबाट ३०० थरीका औषधि बन्ने कुरा उल्लेख छ । मोरिङ्गाको जराबाट जैविक विषादी पनि निर्माण गर्न सकिन्छ । यसको पात चिया, सुप तथा तरकारीको रूपमा प्रयोग गरिन्छ । फूल अचार र तरकारीको रूपमा खाइन्छ । सैजन वा सजिवनको कोसाको तरकारी त हामीमध्ये धेरैले खाएका पनि हौंला । यसको बीउबाट तेल प्राप्त गर्न सकिन्छ । किसानले यसलाई पशु आहारको रूपमा पनि उपयोग गर्दछन् । लैनो वस्तुलाई आहाराको रूपमा दिंदा ४० प्रतिशतसम्म दूध वृद्धि भएको पाइएको छ । यसको पिना मल तथा पानी छान्नका लागि प्रयोग गरिन्छ । यसका जरा, बोक्रा, पात, फूल, कोसा तथा बीउ सबैमा औषधीय गुण रहेको हुन्छ । मोरिङ्गामा हाम्रो शरीरलाई चाहिने ९९ प्रकारका सूक्ष्म पोषण तत्वमध्ये ९२ थरीका सूक्ष्म पोषण तत्व पाइने वैज्ञानिक शोधको दाबी छ ।

मानिसलाई दुई तरिकाले कुपोषण हुन्छ । पहिलो, पर्याप्त मात्रामा खानेकुरा खान नपाएर र दोस्रो, खाद्य पदार्थमा सूक्ष्म पोषक तत्वहरूको अभाव भएर । दक्षिण एशियामा भिटामिन ए, आइरन, आयोडिन, जिंक जस्ता सूक्ष्म पोषक तत्वको कमीका कारण कुपोषणको समस्या बढी देखिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका दुई अर्ब मानिसहरू सूक्ष्म पोषक तत्वको अभावका कारण कुपोषणमा पर्ने गरेका छन् । जिंक र भिटामिन ए को कमीका कारण प्रति वर्ष पाँच वर्ष मुनिका दुई लाख ७० हजार केटाकेटीको मृत्यु हुन्छ ।

नेपालको तराईमा ४० प्रतिशत महिलामा रक्तअल्पतको समस्या भेटिन्छ । रक्तअल्पताको प्रमुख कारण भिटामिन ए, आइरन, आयोडिन र जिंकको कमीलाई मान्ने गरिएको छ । आयोडिन नूनबाट सजिलैसँग प्राप्त गर्न सकिन्छ । महिलाहरूमा खासगरी महीनावारी शुरू भएपछि रगतमा आइरनको कमी देखा पर्छ । त्यसैले महिला तथा किशोरीहरूको लागि आइरन चक्की खाने सल्लाह दिइन्छ । मोरिङ्गामा भिटामिन ए, आइरन र जिंक पर्याप्त मात्रामा हुने हुँदा यसको नियमित सेवनले रक्तअल्पता हुन दिंदैन ।

अफ्रिकी देश सेनेगलमा गरिएको अध्ययनले कुपोषण रोक्नका लागि मोरिङ्गा अत्यन्त उपयोगी सावित भएको छ । सामान्य तथा मध्यम खालको कुपोषण भएका बालबालिकाहरूलाई खानाका साथमा पात सुकाएर बनाएको मोरिङ्गाको धुलो दुई चम्चा ख्वाउने गर्दा कुपोषणको समस्या हल भएको पाइएको छ । सो अध्ययन अनुसार मोरिङ्गाको पातको धुलो सेवन गर्दा कुपोषण भएका बालबालिकाको तौल बढेको पाइएको थियो । त्यस्तै गर्भवती महिलामा रक्तअल्पताको समस्या समाधान भएको र दूध ख्वाउने आमाहरूमा दूधको मात्रामा वृद्धि भएको पाइएको थियो ।

अहिले बालबालिकाहरूलाई अतिरिक्त खुराकको रूपमा भिटामिन ए र जिंक चक्की तथा गर्भवती महिलाहरूलाई आइरन चक्की ख्वाउने गरिन्छ । जबकि मोरिङ्गाको नियमित सेवन गर्दा शरीरलाई आवश्यक पर्ने यी सबै तत्व स्वतः र सजिलै प्राप्त हुन्छन् ।

निक रूपमा मोरिङ्गाको सेवनले बोसोको प्रतिकूल प्रभावलाई नियन्त्रण गरी शरीरलाई स्वस्थ राख्न पनि मद्दत गर्छ । मोरिङ्गामा ४६ किसिमका ‘एन्टिअक्सिडेन्ट’ पाइन्छन्, जसले कोषिकाहरूको बूढो हुने क्रमलाई नियन्त्रण गरेर मुटु तथा रक्तनलीहरूलाई स्वस्थ बनाउँछ । मोरिङ्गाले शरीरको प्रतिरक्षा प्रणालीलाई पनि सुदृढ गर्छ । यसले रगतमा चिनीको मात्रा सामान्य अवस्थामा राख्न सघाएर डायविटिजका बिरामीलाई फाइदा पु¥याउँछ । यसमा हुने दुखाइ कम गर्ने विशेषताका कारण डायविटिजका बिरामीहरूको रक्तसञ्चार प्रणालीमा हुने समस्यालाई नियन्त्रण गर्छ ।
मोरिङ्गाको दाना पेलेर निस्किएको पिना कपडामा बाँधी एक दुई घण्टा धमिलो पानी भएको भाँडामा डुवाउँदा पानी सफा हुनुका साथै त्यसमा रहेका ब्याक्टेरियाहरू पनि नष्ट भई पानी पिउन योग्य बन्ने दाबी पनि एकथरी विज्ञको छ । नियमित रूपमा यसको सेवनले पाचन प्रणालीलाई सुदृढ बनाउनुका साथै कब्जियत हुन दिंदैन ।

मोरिङ्गाको खेती
मोरिङ्गाको खेती गर्न सजिलो पनि छ । मोरिङ्गा बीउ तथा हाँगा काटेर पनि रोप्न सकिन्छ । बीउलाई २४ घण्टा पानीमा भिजाउने र रोपिदिने हो भने यो बिरुवा सजिलैसँग उम्रिन्छ । त्यस्तै यसको फल लिइसकेपछि काटेको हाँगालाई तीन–तीन फिटका टुक्रा पारेर आधा भाग जमीनमुनि गाडिदिने हो भने यसको हाँगाबाट बिरुवा निकाल्न सकिन्छ ।

यसलाई पारिलो ठाउँमा रोप्नुपर्छ । बीउ उम्रिनका लागि न्यूनतम तापक्रम २० डिग्रीभन्दा बढी हुनुपर्छ । यो रुखो तथा सुक्खा ठाउँमा पनि बाँच्न सक्छ । समुद्र सतहबाट ६०० मिटरसम्मको तातो हावापानी भएको ठाउँमा यसको खेती राम्रो हुन्छ । काठमाडौं उपत्यकामा पनि केही ठाउँमा यसका बोट पाइएका छन् । विकिपेडियामा भेटिने मोरिङ्गाको फोटो काभ्रे, पाँचखालको हो । यसले कम्तीमा २५० मिलिलिटर तथा बढीमा ३००० मिलिलिटरसम्मको वर्षा खप्न सक्छ । तर यसको फेदमा पानी जम्नुहुँदैन, पानी जम्यो भने जरा कुहिन्छन् । एकदेखि अर्को बिरुवाको दूरी १० फिटको हुनुपर्छ । रोपेको पहिलो वर्षमै १० फुटसम्म बढ्छ ।

नेपालमा परम्परागत रूपमा धेरै पहिलेदेखि नै यसको खेती हुँदै आएको छ । तर व्यावसायिक खेती भने भर्खरै शुरू भएको छ । कुनाचरी गाविस सुर्खेत, रूपन्देही, भीमसेन थापा गाउँपालिका, गोरखा र कनकाइ नगरपालिका झपाको कालिमुढामा यसको व्यावसायिक खेती गरिंदै आएको छ । कृषि अनुसन्धान केन्द्र, बेलाचापी, धनुषाले यसको अध्ययन–अनुसन्धानका साथै बिरुवा उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ । रूपन्देहीमा मोरिङ्गाको पात सुकाएर यसको धुलोका साथै ‘टि व्याग’ समेत बिक्री गरिंदै आएको छ । यसका पात टिपिसकेपछि छायाँमा सुकाउनुपर्छ; सीधै घाममा सुकाउनुहुँदैन ।

हामीले हाम्रो वातावरणमा रहेका बोटबिरुवाका बारेमा यथेष्ट ज्ञान हासिल गर्न नसक्दा हाम्रा बहुमूल्य वनस्पतिहरू त्यत्तिकै खेर गइरहेका छन् । विद्यालयले पोषणको बारेमा त पढायो, तर त्यो पोषण हाम्रै वरिपरिका तरकारी, फलफूलबाट प्राप्त गर्ने कुरा भने सिकाउन सकेन । फलस्वरूप हामी हाम्रा बालबालिकाहरूलाई आयातित भिटामिन ए का क्याप्सुल तथा जिंक चक्की खुवाइरहेका छौं । किशोरीहरूलाई विद्यालयमा आइरन चक्की बाँडिरहेका छांै । त्यसको विकल्पको रूपमा हामीले हाम्रै विद्यालयको हाताभित्र तथा गाउँको खाली जग्गा र घरघरमा मोरिङ्गाको खेती गर्न सक्छौं ।

दिवा खाजा कार्यक्रम लागू गरेका विद्यालयमा विद्यालय हातामा वा विद्यालयको जग्गामा प्रशस्त मात्रामा मोरिङ्गाका बिरुवाहरू लगाएर उत्पादन गरी सूक्ष्म पौष्टिक तत्वको अभाव पूर्ति गर्न सकिन्छ ।

हालै शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले हरित विद्यालयको अवधारणा सार्वजनिक गरेको छ । हरित विद्यालय कार्यक्रम कार्यान्वयन निर्देशिका, २०७५ ले प्रत्येक विद्यालयमा कम्तीमा पनि एउटा बगैंचा निर्माण र विद्यालय सेवा क्षेत्रको खाली सार्वजनिक जग्गामा वृक्षरोपण गरी हरियालीयुक्त वातावरण बनाउने मुख्य लक्ष्य राखेको छ ।

यसअघि नमूना विद्यालय छनोट भएका विद्यालयहरूले पनि बगैंचा निर्माण गरेको हुनुपर्ने प्रावधान राखेको थियो ।
मोरिङ्गा वृक्षरोपण गरेमा निर्देशिकामा उल्लिखित उद्देश्यहरूमध्ये विद्यालयको वातावरण हरियालीयुक्त बनाउने, विद्यालयलाई जीवित प्रयोगशालाको रूपमा विकास गर्ने, सैद्धान्तिक ज्ञानलाई व्यावहारिक र जीवनोपयोगी बनाउने तथा पोषक तत्वको पूर्ति गर्ने जस्ता कामहरू एकैसाथ सम्पन्न गर्न सकिन्छ ।

यसले विद्यार्थीहरूलाई गरेर सिक्न सिकाउनका साथै यसलाई परियोजना सिकाइका रूपमा पनि सञ्चालन गर्न सकिन्छ । यद्यपि अरू बिरुवाहरूको वृक्षरोपण गर्दा पनि विद्यालय हरित नहुने होइन तर यसले जैविक घेरावारा, जडीबुटी, तरकारी खेतीलाई समेत समेटेको छ ।
मोरिङ्गाको बारेमा अरू बढी जानकारी लिन गुगल सर्चमा गएर मोरिङ्गा ओलिफेरा टाइप गरी खोज्न सकिन्छ ।

(यो फिचरको उत्पादन र प्रकाशनका निम्ति हामीले आइसेट–नेपालको सहयोग लिएका छौं । सं.)
शिक्षक, २०७५ मंसीर अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/