विद्यार्थीको सिकाइ र व्यवहारमा शिक्षक–व्यक्तित्वको प्रभाव

by • • HighlightComments (0)751

Print Friendly, PDF & Email

मुख्य कुरा शिक्षकले आफूसँग भएको ज्ञान दिन र विद्यार्थीलाई राम्रा व्यवहार सिकाउन सबभन्दा पहिले कक्षामा विद्यार्थीले शिक्षकका कुरा राम्ररी सुन्ने र विश्वास गर्ने अवस्था हुनुपर्छ। यस्तो विश्वासको वातावरण बनाउने पहिलो खुट्किलो नै शिक्षकको व्यक्तित्व हो  ।

जुना थापा

ठ्वास्स गन्हाउने, कहिल्यै नकोरिएको र ननुहाएको जस्तो जिङ्ग्रिङ्ग्र फुस्रो, जगल्टिएको कपाल ! सधैं त्यही खुइलिएको कालो ज्याकेट; त्यो पनि धुलाम्मे ! खुट्टामा फोहोर गोल्डस्टार जुत्ता ! अव्यवस्थित ! निराशापनको कालो बादल मडारिएको अनुहार अनि सधैं एउटै आसनमा बसी निकाल्ने झ्जिो लाग्दो क्यारक्यार आवाज !

ठीक, यस्तै हुलियामा कक्षामा प्रवेश गर्नुहुन्थ्यो हामीलाई अंग्रेजी पढाउने शिक्षक ।

सरको कुरा सुन्नुभन्दा बढी, त्यो पिरियड कतिबेला सकिएला भनी नाक थुन्दै, घडी हेर्दै बस्थे धेरैजसो विद्यार्थी । अनि म पनि । शिक्षकहरूको बोली वचन, व्यवहार, व्यक्तित्व, पढाउने, बोल्ने र हिंड्ने शैली लगायतका आधारमा उपनाम (‘निक नेम’) राख्ने चलन त जुन स्कूलमा पनि हुने नै भयो । हामी पनि कहाँ कम थियौं र ! सानै कक्षादेखि साथीहरू मिलेर शिक्षकहरूको नाम राखिन्थ्यो । सोही परम्परालाई निरन्तरता दिंदै ती अंग्रेजी शिक्षकको नाम राखिएको थियो— ‘गनाउटे’ ! अर्थ हो गन्ध आउने अर्थात् गन्हाउने सर !

निमावितिर छँदाको कुरा हो, हेडसर १०ः३० बजेतिर स्कूल आउनुहुन्थ्यो । ठूला–ठूला, राताराता आँखा । लर्बरिएका खुट्टा अनि मुखभरि खैनीको बुजो । लेख्न लाग्यो हात कामेर लेख्न नसक्ने; अनि बोल्न थाल्यो जिब्रो लर्बरिने । यति भनेपछि; उहाँको बाहिरी व्यक्तित्वको थप वर्णन गरिराख्नु नपर्ला ! उहाँ नेपाली पढाउनुहुन्थ्यो । सामाजिक पढाउने सर पनि मुखभरि खैनी हालेर आउनुहुन्थ्यो र बोल्दाबोल्दै झयाल भए झयाल, ढोका भए ढोका— जहाँ मन लाग्यो त्यहींबाट प्याच्च प्याच्च थुक्नुहुन्थ्यो । उहाँ रातभर गाउँटोलका घरमा धामीझँक्रीको काम गर्ने भएकोले विद्यालय आउँदा प्रायः अनिंदो अनुहार लिएर आउनुहुन्थ्यो ।

कतिपय शिक्षकलाई चाडबाड, विवाह, पूजाआजामा मात्ने गरी जाँड–रक्सी खाएर अचेत अवस्थामा बाटोमै लडेको पनि भेट्थ्यौं । कोही आफ्नै विद्यार्थीसँग प्रेम सम्बन्ध स्थापित गर्ने, कोही घरमा श्रीमती–श्रीमान, छोराछोरी हुँदाहुँदै अन्यसँग सम्बन्ध राख्ने, बहुविवाह गर्ने किसिमका घटना र उदाहरण त कति थिए कति !

म स्याङ्जाको एउटा गाउँमा हुर्कें, बढें र पढें । हिंडेर दुई घण्टा लाग्थ्यो विद्यालय पुग्न । आफूलाई पढाइ–लेखाइ गराएर आजको अवस्थामा पु¥याउन सहयोग गर्ने आफ्ना शिक्षकहरूको बारेमा अहिले आएर यस्तो टिप्पणी गर्दा कतिलाई उहाँहरूको बेइज्जत गरेजस्तो पनि लाग्न सक्छ । तर, मैले आफू विद्यार्थी हुँदा भोगेको र देखेको वातावरणको पर्दा मात्र उघार्न खोजेकी हुँ । यी अनुभवले अहिले शिक्षक बनेकी मलाई कर्तव्यशील, नैतिकवान र जिम्मेवार बन्न झ्स्काइरहन्छन् । किनकि ती भोगाइले मलाई पाठ सिकाएका छन् । भविष्यमा मेरा विद्यार्थीले पनि मेरो बारेमा त्यस्तो खराब छवि नबनाउन् भन्ने मेरो प्रयास हुन्छ ।

अहिले धेरै विद्यालय सूचनाप्रविधिसँग जोडिएका छन् । शिक्षक साथीहरू अवश्य पनि रेडियो सुन्ने, टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने गर्नुहुन्छ । तर, कतिपय शिक्षकहरूले आफ्नो व्यक्तित्व विकासमा अझ् पनि त्यति ध्यान दिए जस्तो लाग्दैन । उही, आफूले पढ्दा आफ्ना शिक्षकले जे गर्थे आफू पनि त्यस्तै गर्ने, त्यस्तै सोच्ने ! यसको अर्थ, सबै त्यस्तै छन् र म आफू ठीक छु भन्न खोजेको होइन । शिक्षण अनुकरणीय पेशा हो । विद्यार्थीलाई किताबमा जे छ त्यही पढाउने, घोकाउने, लेखाउने, छलफल गराउने मात्र शिक्षण–सिकाइ होइन । शिक्षकको बानी, बोली वचन, समय व्यवस्थापन, लवाइखवाइ आदिको अनुकरण गर्दै उनीहरूको बाहिरी आवरणबाट पनि बालबालिकाले प्रशस्त सिक्ने गर्दछन्; जुन शिक्षा व्यावहारिक पनि हुन्छ ।

भनिन्छ— ‘फस्ट इम्प्रेसन इज द लास्ट इम्प्रेसन’ । यो कुरा मनोरञ्जन, ग्ल्यामर, बैंकिङ आदि क्षेत्रमा जस्तै शिक्षण पेशामा पनि लागू हुन्छ । शिक्षकको व्यक्तित्वले विद्यार्थीको मनोविज्ञानमा प्रभाव पार्छ । भित्री गुण जति नै राम्रो भए पनि आवरण राम्रो वा आकर्षक भएन भने कुनै पनि सामान बिक्री हुन गाह्रो पर्छ । त्यस्तै, जति नै राम्ररी सिकाउने भए पनि शिक्षकको व्यक्तित्व वा शिक्षक नै मन परेको छैन भने विद्यार्थीले जति बुझनु र सिक्नुपर्ने हो त्यति नसिक्न सक्छन् । यसको एउटा उदाहरण म आफैं पनि हुँ । हामीलाई अंग्रेजी अध्यापन गराउने शिक्षकको व्यक्तित्व हाम्रा लागि आकर्षण भन्दा विकर्षण बढी थियो । उहाँको कुरै सुन्न मन लाग्दैनथ्यो । उहाँको घण्टीमा पढाइतिर ध्यान नै जाँदैनथ्यो । शायद त्यसैले पनि होला, आजसम्म पनि म अंग्रेजीमा कमजोर नै छु । म आफैंले कम अध्ययन गरेर पनि होला, तर मेरो कमजोर अंग्रेजीको एउटा मुख्य कारण चाहिं सरको व्यक्तित्व र अध्यापन शैली हो जस्तो लाग्छ ।

बजारमा बालबालिकालाई लक्षित गरिएका खानेकुराका खोल र खेलौनाहरू यति राम्रा र सुसज्जित हुन्छन् कि केटाकेटीहरू एकचोटि भए पनि नहेरी, नखेलाई र नखाई सुख मान्दैनन् मन परेपछि । ती स्वास्थ्यका लागि अनुपयुक्त हुन सक्छन्, तर उनीहरूको ध्यान तान्न सफल हुन्छन् । मैले भन्न खोजेको यत्ति हो कि हामी शिक्षकहरू विद्यार्थीको ध्यान आफूतिर तान्न सफल हुनुपर्छ र त्यसो गर्ने माध्यम भनेको हाम्रो व्यक्तित्व नै हो । यसो भन्नुको अर्थ शिक्षक राम्रो, चट्ट परेको सुकिलोमुकिलो भए हुन्छ; विषयवस्तुको ज्ञान नभए पनि हुन्छ भन्ने पनि होइन । मुख्य कुरा शिक्षकले आफूसँग भएको ज्ञान दिन र विद्यार्थीलाई राम्रा व्यवहार सिकाउन सबभन्दा पहिले कक्षामा विद्यार्थीले शिक्षकका कुरा राम्ररी सुन्ने र विश्वास गर्ने अवस्था हुनुपर्छ । यस्तो विश्वासको वातावरण बनाउने पहिलो खुट्किलो नै शिक्षकको व्यक्तित्व हो ।

शिक्षकको व्यक्तित्वमा यसरी जोड दिनुको अर्थ विद्यार्थीलाई शिक्षकप्रति विकर्षण भएर उसको सिकाइमा प्रतिकूल प्रभाव नपरोस् भन्ने मात्र हो । अझ्ै पनि हामीमध्ये कति जना विद्यालय जाँदा आफ्नै घर जस्तो ठान्ने, कपाल समेत राम्ररी नकोर्ने, जताततै खुम्चिएका अनि मैला पोशाक लगाउने, नियाउरो अनुहार अनि कुनै ऊर्जा नभएको आवाज लिएर कक्षाकोठामा पस्छौं । हेर्दा नै ‘यस्ता शिक्षकले खै के सिकाउनु होला र ? आफैं पीडित हुनुहुन्छ जस्तो छ !’ भन्ने छाप विद्यार्थीमा पार्छौं । हिजोआजका बालबालिकाले हामी शिक्षकका लगाउने, खाने, बोल्ने, हिंड्ने लगायतका कुराहरूमा पहिलेभन्दा बढी ध्यान दिने गरेको अनुभव गरेकी छु ।

चट्ट परेर स्कूल जाँदा आफूमा छुट्टै खालको ऊर्जा, आत्मविश्वास बढेको महसूस हुन्छ । अनि कक्षामा रमाइलो गरेर मजाले सिकाउँ, पढाउँ भन्ने पनि लाग्छ । कहिलेकाहीं हतारहतारमा ‘त्यस्तै’ भएर कक्षामा गइयो भने विद्यार्थीले ‘छ्या मिस आज त तपाईं थकित, झयाउलाग्दो देखिनुभा छ, नपढौं भो !’ समेत भन्न भ्याउँछन् । यसको अर्थ हो, हामी शिक्षकको व्यक्तित्व आकर्षक र ऊर्जाशील हुनैपर्छ ।

हुन त लवाइखवाइले अध्यापन गराउने होइन । कुनै शिक्षकमा शिक्षण गर्ने कला र बालमैत्री सिकाइ गर्ने क्षमता छैन, तर उसको व्यक्तित्व निकै आकर्षक छ भने पनि केही उपलब्धि हुँदैन । शिक्षक भनेपछि विषयवस्तुको ज्ञान र शिक्षण कौशल हुनु अनिवार्य हुन्छ नै । तर व्यक्तित्व पनि त्यतिकै आकर्षक भए सुनमा सुगन्ध थपिन्थ्यो भन्ने मलाई लाग्छ । कुनै शिक्षक कपडा त आकर्षक लगाउनुहुन्छ तर निचोरिएको कागती जस्तो हतास र निराश अनुहार लिएर कक्षामा जानुहुन्छ भने विद्यार्थीलाई आफूले भनेको कुरामा विश्वस्त गराउन उहाँलाई गाह्रो पर्छ । अहिलेका विद्यार्थीहरू पहिलेका भन्दा ‘स्मार्ट’ भएकाले केही हदसम्म हामी शिक्षकहरू पनि ‘स्मार्ट’ बनेर उनीहरूसँग सम्भव भएसम्म मिल्ने प्रयास किन नगर्ने ? कतै; फलानो, ढिस्कानो भनी हाम्रो पनि उपनाम राखिदिइसकेका छन् कि विद्यार्थीले ?

माथिका उदाहरणमा उल्लेख गरेजस्तो अवस्थामा हामी कोही छौं भने त्यसमा हामीले मनन् गर्नु जरूरी छ । विद्यार्थीलाई ‘सफा बस्नुपर्छ, चुरोट, खैनी, जाँडरक्सी खानुहुँदैन, सधैं विद्यालय पोशाकमा आउनुपर्छ’ भन्ने तर हामी आफैंले आफ्नो आचारसंहिता पालना नगर्ने हो भने बालबालिकाले हामीलाई टेर्न र विश्वास गर्न अवश्य छोड्छन् । यसको असर सीधै सिकाइमा पर्छ । एउटा असल शिक्षक भनेको चक, डस्टर, किताब, कापी लिएर कक्षामा पढाइ लेखाइ गराउने व्यक्ति मात्र होइन । खासमा काम, बोली व्यवहार, आनीबानी, सरसफाइ र आचरणमा आफैं उदाहरण बनेर विद्यार्थीलाई ज्ञानवान, नैतिकवान, चरित्रवान र सीपयुक्त बनाउन सक्ने चाहिं असल शिक्षक हो । तसर्थ; आफ्ना शैक्षिक, सामाजिक र वैयक्तिक कमजोरीहरू प्रदर्शन गरी विद्यार्थीहरूमा निराशा र गलत आचरण विकास हुन नदिऔं । विद्यालयमा सकारात्मक सोच र सकारात्मक वातावरण निर्माण गर्ने हामी शिक्षकले नै हो ।
                                                                                                                          सिद्ध मावि, कास्की, पोखरा
शिक्षक, २०७५ फागुन अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/