आज यसरी सिकाइन्छ कखरा

by • • Highlight, कक्षाकोठाComments (0)682

Print Friendly, PDF & Email

कखरा तिनै हुन्, तर हामीले सिक्दा र अहिले सिकाउँदाको शैली र विधिमा ठूलो फरक छ। पहिले जे पनि घोक्न लगाइन्थ्यो, अहिले तिनै कुरालाई मूर्तबाट अमूर्त र सरलबाट जटिलतर्फ लगेर सिकाइन्छ ।
– विष्णुमाया सिग्देल
सुनेर नै कपुरी क खरायो ख गाई गोडे ग भन्न सिकेकी थिएँ मैले । अलिपछि मैले बाङ्गो, टिङ्गो धर्का तान्दै ती अक्षर लेख्न सिकें । कपुरीको अर्थ तथा अवधारणा थाहा पाउने कुरै भएन । मलाई चिनाइएका अक्षरहरूको कुनै अर्थ, महत्व र प्रयोजन नै नजानी नजानी मैले कदेखि ज्ञसम्म खरर भन्न सिकेकी थिएँ ।

कखरा तिनै हुन् । तर आज तीन दशकपछिका बालबालिकाको अक्षर सिक्ने तरीका भिन्नै छ । मैले सिक्दा र अहिले सिकाउँदाको शैली र विधिमा म आकाश जमीनको फरक पाउँछु । हाम्रो पालामा जे पनि घोक्न लगाइन्थ्यो, अहिले तिनै कुरालाई पहिले अवधारणा बुझएर सिकाइन्छ । पहिले अधिकांश शिक्षकहरूलाई पनि विषयवस्तुको अवधारणाका बारेमा थाहा हुँदैनथ्यो । बालबालिकालाई अक्षरहरूको अवधारणा दिनुभन्दा पनि खरर्र भन्न सक्ने र लेख्न जान्ने पार्नु नै ठूलो कुरा हो ठानिन्थ्यो । तर अहिले यसो गरिंदैन । सिकाइलाई सकेसम्म व्यावहारिक कुरासँग जोडिन्छ । मूर्तबाट अमूर्त, सरलबाट जटिल, अवधारणाबाट प्रक्रियातर्फ लगेर सिकाइन्छ ।
क वर्ण सिकाउनकै लागि सर्वप्रथम बालबालिकाले सधैं देखेको, जानेको, सम्भव भएसम्म वास्तविक ठोस सामान ल्याएर नै देखाइन्छ । त्यस्तो वस्तु उपलब्ध नभएमा मात्र चित्रद्वारा धारणा सिकाइन्छ । जस्तो बालबालिकालाई सजिलैसित कलम, कमिला देखाएर ‘क’ वर्ण सिकाउन सकिन्छ । कलम, कमिला, कछुवा सबै कका साथी हुन् भन्दै सिकाइन्छ । अक्षर सिकाउनका लागि विभिन्न अभिनयात्मक तरीका अपनाउनका साथै बालकथा, कविता र भिडियोहरूको पनि प्रयोग गरिन्छ ।

हिजोआज कक्षामा रहेका विभिन्न किसिमका क्षमता भएका बालबालिकालाई लक्षित गरी सिकाउने योजना बनाइन्छ । माथि भनिए झैं बच्चाहरूलाई क वर्ण सिकाउनका लागि पहिले ‘क’ को अवधारणा दिनुपर्छ । त्यसका लागि कबाट शुरू भएका चित्रहरू उनीहरूले देखेका, जानेका जस्तैः कलम, कछुवा, कमिलाका चित्रसँग परिचित गराइन्छ । उनीहरूले ती चित्र हेरेर राम्रोसँग चिन्न थालेपछि चित्रको नाम र चित्रको जोडी बनाउने खेल खेलाइन्छ ।

जस्तैः क सिकाउने अभ्यासलाई नै हेरौं— कमिला, कमल, कछुवा चित्रको नाम तीन जनालाई दिने र फेरि अर्का तीन जनालाई ती नामका चित्र दिने अनि उनीहरूलाई आ–आफ्नो जोडी खोज्न लगाई नाम र चित्रको जोडी बनाएर खेलाएर पनि परिचित गराइन्छ ।
फेरि यसैलाई टेबुल खेल (Table game) मार्फत पनि सिकाइन्छ । टेबलमा क, ख, ग वा सोभन्दा बढी वर्णबाट नाम आउने चित्रपत्ति र शब्दपत्ति मिसाएर दिने र त्यस मध्येबाट कका साथीहरू पत्ता लगाऊ भन्ने उनीहरूले त्यसबाट चित्र छुट्याउन लगाइसकेपछि ती चित्रका नाम पनि तलबाट राख भनेर अवधारणा दिइन्छ ।

यसरी उनीहरूलाई चारपाँच किसिमका धारणाहरू दिइसकेपछि बल्ल लेखाइ अभ्यास विस्तारै शुरू गरिन्छ । यसको लागि कापीमा रेखाखण्डहरू कोर्न सिकाइन्छ । यस्ता रेखाखण्डहरूमा ठाडो ( । ) तेर्सो (—) छड्के (। /) गोलाकार (o) अर्धगोलाकार (c) अंकुशे
() पानीको छालको आकारका () रेखाखण्डहरू साथै कदेखि ज्ञसम्मका सबै वर्णअनुसारको रेखाखण्डमा क्रमशः अभ्यास गराइन्छ । यो अभ्यास गराउँदा बालबालिकालाई कुनै बोझ् पर्न दिइँदैन । लेखाइ सीप विकासको पहिलो चरणको रूपमा यो अभ्यास गराइसकेपछि अभ्यासमा निरन्तरता दिनको लागि किताबका अभ्यासमा पनि यस्तै काम गराइन्छ । यस्तो किसिमले सिकेका कुरा लामो समयसम्म सम्झ्नामा त रहन्छन् नै सिकेका कुरालाई सान्दर्भिकीकरण गर्न पनि सजिलो हुन्छ ।

लेखाइ सीप विकासको दोस्रो चरणमा बालबालिकाको फाइन मोटर स्किल (Fine motor skills) मजबूत बनाउन उनीहरूका हातका औंलाको चलाइलाई ध्यान दिइन्छ । ‘फाइन मोटर स्किल’ भनेको बालबालिकाको हातले कुनै पनि सामग्रीहरू राम्रोसँग समात्नको लागि गरिने अभ्यास हो ।

यसका लागि पहिलो चरणमा सिकेका क ख ग जस्ता वर्णहरूलाई बालुवा भएको ट्रे वा पाटीमा राखेर कोर्न लगाइन्छ । त्यसपछि खाक्सीलाई ठूलो क बनाएर काट्ने र त्यसको माथिबाट औंलाले छोएर क बनाउन लगाउने । त्यसपछि फेरि किताबमा पेजभरिको ठूलो क वर्णमाथि ठूलो मार्करले (मोटो कलर पेन्सिलले) सात रङका मार्करले क आकारमा माथिबाट कोर्न लगाइन्छ । यसलाई इन्द्रेणी सीप (Rainbow Skill) भनिन्छ । यस्तो किसिमको अभ्यासबाट उनीहरूलाई क लेख्ने बानी हुुनुका साथै उनीहरूले रङहरू पनि चिन्दछन् ।

बालबालिकाको हात समातेर हात उनीहरूको दुखुन्जेल लेख्न लगाउने पुरानो पद्धति भन्दा यो निकै फरक छ । हामीले हात पाट्टिएर दुखुञ्जेल लेख्थ्यौं । लेख्न बोझ् हुन्थ्यो । लेख्न मनै पर्थेन । तर अहिलेका बालबालिकाले रमाइलोसँग लेख्न सिक्छन् । अर्को चरणमा ठूलो ‘क’ को विभिन्न अवयवहरूलाई छुट्टाछुट्टै कोर्न लगाइन्छ । क लगायतका सबै वर्णका मिल्दाजुल्दा अवयवहरूको सूची तयार गरी कापीमा सीधा, तेर्सो, छड्के, गोलाकार, अर्धगोलाकार, बाङ्गोटिङगो रेखाखण्डहरू तान्न लगाइन्छ । यी धर्काहरू सबै वर्ण बनाउँदा काम लाग्ने खालका हुन्छन् ।
यो अभ्यासमा उनीहरूको राम्रोसँग हात बसेको हुन्छ अनि मात्र उनीहरूलाई क खको टे«सिङ्मा (डट डटले जोडेर बनाइएको वर्णमा) लेख्ने अभ्यास गराइन्छ । त्यसपछि उनीहरूलाई गृहकार्यमा विस्तारै कापीमा यसैसँग सम्बन्धित एक थोप्लाबाट अर्को थोप्लासम्म धर्काले जोड्ने अभ्यास गराइन्छ ।
एकै पटकमा कतिपय बालबालिकाहरूले सजिलैसँग लेख्न सक्छन् भने कतिले लेख्नै सक्दैनन् । लेख्न नसक्नेहरूको लागि विभिन्न वर्णहरूको चार्ट तालिकामा भित्रबाट त्यसै वर्णकै आकारमा जोडेर वा रङ लगाएर ठूलो अक्षरमा लेख्न लगाएर पनि सिकाउन सकिन्छ ।
त्यसपछि मात्र उनीहरूलाई कापीमा लेख्नको लागि शिक्षकले बोलेर दिएको निर्देशन अनुसार नै क, ख ग लेख्ने काम गर्छन् ।
अहिले आएर बालबालिकालाई क्रमैसँग कदेखि ज्ञसम्म लेखाउनु आवश्यक छैन भनेर सरल–सरल वर्णलाई पहिले सिकाउन थालिएको छ । क लेख्न भन्दा अगाडि व, ब, प लेख्न सजिलो हुनाले यो वर्णबाट सिकाउन थालिएको छ । जस्तै म सिकाएपछि भ लेख्न सिकाउने वा प लेख्न सिकाएपछि फ लेख्न सिकाउने । व लेख्न सिकाएपछि ब लेख्न सिकाउने । कदेखि ज्ञसम्मका सबै शब्दहरू लेख्न र ती वर्णबाट आउने कम्तीमा पनि चार, पाँच वटा चित्रहरूको नाम भन्न सक्ने भएपछि मात्र उनीहरूलाई क्रमैसँग सिकाउने गर्नाले सिकाइ अर्थपूर्ण बन्न जान्छ ।
(पूर्व प्राथमिक शिक्षक, भक्तपुर)

२०७५ माघ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/