सजायको छाप ! एउटा पूर्व विद्यार्थीको संस्मरण

by • • मनका कुरा (ब्लग)Comments (0)268

Print Friendly, PDF & Email

यो दिन मन बरालिएछ। गल्ती गरिहालें। मैले त्यसको सजाय पनि पाएँ। जीवनभर नबिर्सने सजाय। तर सिट्ठी बोक्ने गुरुलाई कसले सजाय दिने ? आफ्ना विद्यार्थीको स–सानो गल्तीप्रति समेत क्षमावान हुन नसक्ने व्यक्ति कहिल्यै असल शिक्षक हुनसक्दैन जस्तो लाग्छ अहिले ।
– जीवन कार्की
म त्यतिवेला कक्षा–७ मा पढ्थें । विद्यालयमा बिहान सधैं प्रार्थना सभा हुन्थ्यो । एक दिन बिहानको प्रार्थनामा नरमाइलो घटना घट्यो ।
हातमा कालो सिट्ठी लिएर प्रायःजसो प्रार्थना सभामा नित्य कर्म गराउने एक जना गुरु हुनुहुन्थ्यो । उहाँको चश्माको रंग पनि घाममा कालै देखिन्थ्यो । उहाँले गराउने पिटीहरूमा ‘कभर अप’, ‘ह्याण्ड साइड’ नियमित हुन्थे । उहाँ एकदमै कडा स्वभावको हुनुहुन्थ्यो । प्रार्थना गर्दा सबैले लाइन र हात सीधा नबनाएसम्म अर्को चरणमा नजाने । हामी सबै जना ‘ह्याण्ड साइड’ पोजिसनमा धेरैबेरदेखि उभिइरहेका थियौं । हाम्रो लाइनको पल्लोपट्टि कक्षा–६ को लाइन थियो । मेरो समानान्तरमा हाम्रै कक्षाको एक जना साथीको भाइ थियो । उसको र मेरो हात लगभग जोडिएका थिए । हामी एकअर्कालाई मुखामुख गरेर मुस्कुराइरहेका थियौं । अचानक मेरो दिमागमा के आएछ खै, मैले उसको हात तानिदिएछु । अलि जोडै परेछ कि क्या हो । ऊ मैतिर हुत्तियो । वरिपरिका केही साथीभाइले देखें । त्योभन्दा नि डरको कुरा सिट्ठी बोक्ने गुरुले देख्नुभो । उहाँका पाइला हामीतिर अघि बढे, मनमा ढ्याङ्ग्रो ठोकियो ।

तैपनि म मुन्टो भुईंतिर निहु¥याएर उभिइरहें । एकैछिनमा ताली पट्किएको जस्तै तिखो आवाज आयो । त्यो मेरो आफ्नै गाला पट्किएको आवाज थियो । अनुहारै झ्नन्नँ भयो । मैले शिर उठाएर पुलुक्क गुरुको अनुहारमा हेरें । त्यहाँ एउटा बालकसँग प्रतिशोधमा पैंचो फेर्न उभिएको वयस्क अनुहार मात्रै देखें । आफसे आफ आँखा भुईंमा झ्रे । आफ्नो कारबाही सकेपछि गर्वले छाती ढक्क फुलाएर उहाँ मञ्चमा जानु भो शायद । मैले हेर्न सकिनँ । डरले निहुरिएको शिरलाई चार–पाँच सय विद्यार्थी र शिक्षकहरूको अगाडि सधैंभरिका लागि निहुराइदिनुभो उहाँले । कस्तो महान् गुरु !

त्यसपछि त्यो दिनको प्रार्थना सभामा के के भो मैले केही मेसो पाइनँ । केबल बायाँपट्टिको गाला पड्किएको र चार–पाँच सय जोर तिखा आँखाले घोचेको मात्रै मस्तिष्कमा आइरह्यो । प्रार्थना सभा सकियो । केही विद्यार्थी मेरै वरपर झुम्मिए । उनीहरूले खै के के भने मलाई बोध भएन । शिक्षकले पनि त मेरै कुरा गरे होलान् । तर के भने, कसो भने, कसलाई दोषी ठह¥याए । उनीहरू नै जानुन् ।
म त्यस्तो चकचके पनि थिइनँ । तर त्यो दिन मन बरालिएछ । गल्ती गरिहालें । एउटा बालकले त गल्ती ग¥यो तर बुद्धिजीवी शिक्षकले पनि उस्तै गल्ती गर्दा रहेछन् । त्यो पनि जानी जानी । मैले त सजाय पाइहालें, जीवनभर नबिर्सने सजाय । तर सिट्ठी बोक्ने गुरुलाई कसले सजाय दिने ? आफ्ना विद्यार्थीको स–सानो गल्तीप्रति क्षमावान हुन नसक्ने प्राणी कहिल्यै असल गुरु हुनसक्दैन जस्तो लाग्छ अहिले ।

त्यो दिन मेरो विद्यालय जीवनको सबैभन्दा नमज्जा लाग्दो र लामो दिन थियो । कसरी बित्यो मलाई थाहै भएन । पढाइ–लेखाइतिर ध्यान हुने कुरै भएन । विद्यालयबाट कहिले फुत्किएर जाऊँ जस्तो भइरहेको थियो । मनमा ग्लानि थियो । एउटा बालकको पनि आफ्नै संसार हुन्छ । साथीभाइ, इष्टमित्र हुन्छन् । उसको पनि आफ्नै इज्जत हुन्छ । त्यो सबै गुमेको महसूस गरें मैले ।

त्यसको भोलिपल्टदेखि मेरो व्यवहारमा परिवर्तन आयो । म कहिल्यै प्रार्थना सभामा पुगिनँ । एसएलसी दिने बेलासम्म पनि म प्रार्थना सभामा बसेको याद छैन । प्रार्थना सभा छल्नलाई कहिले विद्यालय जाँदाजाँदै ढिलो पुग्ने । कहिले चाँडै पुगिहालियो भने पनि झेला लिएर विद्यालय भवनको पछाडितिरै डुलिबस्थें । विद्यालय परिसर ठूलो थियो । विद्यार्थी धेरै थिए । खासै शिक्षकलाई थाहै हुँदैनथ्यो वा वास्ता गर्दैनथे । कहिलेकाहीं के भइरहेको छ भनेर चियाएर पनि हेर्न मन लाग्थ्यो । अनि सभा सकिएपछि झेला हल्लाउँदै हतारहतार गरेर कक्षातिर दौडियो । म जस्तै प्रार्थना सभामा नजाने वा नभ्याउने अरू पनि केही भेटिन्थे । उनीहरू चाहिं के कुरा छल्नलाई बाहिरै बसेका थिए थाहा पाइनँ । तर अहिले सम्झेर ल्याउँदा प्रार्थना सभा नजाँदा मैले धेरै कुरा गुमाए जस्तो लाग्छ । साथीहरू अगाडि गएर बोल्थे । बिहानको सानोतिनो हाजिरजवाफमा भाग लिन्थे । तर मेरो लागि त्यस्तै भयो । त्यो सबै उनै सिट्ठी बोक्ने गुरुको कृपा हो ।

सिट्ठी बोक्ने गुरुले त बिर्सिए होलान् । किनकि उनीबाट विद्यार्थी त्यस्तो सजाय पाइरहन्थे । तर मैले कहिल्यै बिर्सिन सकिनँ । जति बुझदै गयो, उति उनीप्रतिको सम्मान हराउँदै गयो । घृणा बढ्दै गयो । स्कूले जीवन भर उनीबाट तर्किएर हिंडियो । श्रद्धाले उनीप्रति कहिल्यै दुई हात जोडिन मानेनन् । कहिलेकाहीं बाध्यतावश भयो होला । समय अगाडि बढ्दै गयो । स्नातक तह पढ्नलाई काठमाडौंमा आएँ । पढ्दा पढ्दै पढाउन थालियो । निजी विद्यालय न हो । सबैजसो शिक्षकले हात उठाइहाल्थे । अनुशासन कायम गराउने निहुँमा कहिलेकाहीं म पनि विद्यार्थीलाई हात उठाउन थालेछु । त्यसमा पनि गुरुकै प्रभाव पर्ने रहेछ । यदि गुरुहरूले हात नउठाई पढाएको भए, त्यही तरिका सिकिन्थ्यो होला । शुरू शुरूमा शिक्षण पेशामा संघर्ष गरिरहँदा, आफ्ना गुरुहरूकै याद आउने रहेछ । उहाँहरूले कस्तो परिस्थितिमा के गर्नुभएको थियो, त्यही सम्झेर काम गरिंदोरहेछ । हेर्नुस् त शिक्षकको प्रभाव ! हात नउठाई पनि सिकाउन सकिन्छ भन्ने कुरा, विद्यालयमा न आफ्ना गुरुहरूले सिकाए, न आफूले पढाउने ठाउँमा सहकर्मी र प्रअले सिकाए ।

धेरैपछि काठमाडौंमा उनै सिट्ठी बोक्ने गुरुसँग भेट भयो । झलझली त्यही घटना याद आइहाल्यो । त्यो भेटमा उनीप्रति न कुनै श्रद्धा, न कुनै सम्मान, न कुनै हार्दिकता जाग्यो । तर पनि त्यो भेट निकै लाभदायी भयो मेरा लागि । उनीबाट छुट्टिएपछि म त्यही घटना सम्झ्ँदै थिएँ । अचानक म झल्यास भएँ । ओहो म पनि त शिक्षक भइसकेको थिएँ । अनि विद्यार्थीलाई कहिलेकाहीं प्याट्टपुट्ट पनि पार्थें । मेरा विद्यार्थीले पनि मैले जस्तै सोचे भने ! त्यसपछि म एकदमै सजग हुन थालें । र पूर्ण रूपमा विद्यार्थी माथि हात उठाउने काम त्यागें । पढाउने शिक्षकबाट तालिम दिने प्रशिक्षकसम्म आइपुग्दा मलाई के लाग्न थाल्यो भने शिक्षकले तीन वटा कुरा जान्यो भने विना सजाय शिक्षण गर्न सक्ने रहेछ । पहिलो, आफूले पढाउने विषयवस्तुको पूर्ण ज्ञान । दोस्रो सिकाउने सही विधि, तरिका र रणनीति । तेस्रो सजायको असर र यसका विकल्पहरू बारेको ज्ञान ।

बालबालिकालाई सजाय दिइरहँदा हामीलाई के लाग्न सक्छ भने ‘सानो बच्चो त हो नि ! पिटाइ खान्छ, बिर्सिहाल्छ ।’ तर त्यो हाम्रो भ्रम रहेछ । हामीले दिने माया होस् या सजाय, उनीहरूको मनमस्तिष्कमा गहिरो छाप बनेर बसेको हुनेरहेछ— मेरो जस्तै । अतः हामी कस्तो शिक्षक बन्ने भन्ने कुरा हाम्रै हातमा रहेछ, मेरै गुरु जस्तो वा फरक ।

२०७५ पुस अंकमा प्रकाशित

Related Posts

/*sign up form*/