सारसको रसिलो जीवन !

by • • Highlight, नेपाल–अध्ययनComments (0)651

Print Friendly, PDF & Email

सारसका तीन विलक्षण स्वभाव मनन् लायकका छन्— आफ्नो जन्मभूमि जीवनभर नछोड्ने, पूरै दाम्पत्य जीवन एकै
जोडीमा बिताउने र पखेटाले उड्ने विश्वका सबै पक्षीभन्दा अग्लो भएर ठाडो शिरले बाँच्ने ।
– डा. तीर्थबहादुर श्रेष्ठ
‘नगर–पक्षी’ को उपाधि पाएपछि सारसको चर्चाले नयाँ उडान भर्न थालेको छ । यही २०७५ साल मंसीर १० गते लुम्बिनी सांस्कृतिक नगरपालिकाले सारसलाई ‘नगर पक्षी’ भनेर घोषणा गरेको छ । हुन त सन् १९९४ देखि नै लुम्बिनी क्षेत्रको १०० हेक्टर जमीन ५० वर्षको करारनामा (Lease) गरेर अन्तर्राष्ट्रिय सारस प्रतिष्ठान (International Crane Foundation) ले लुम्बिनी सारस आरक्ष (Lumbini Crane Sanctuary) स्थापना गरेको थियो । नेपाली संरक्षणकर्मीहरूको संचालक समितिमार्फत सारस संरक्षणका विभिन्न काम सम्पन्न गर्ने गराउने सिलसिलामा नयाँ व्यवस्था अनुरूप नगर–पक्षी घोषणा हुनु एक सराहनीय कदम हो । छिमेकी भारतको उत्तरप्रदेशमा पनि राज्य–पक्षी (State Bird) का रूपमा सारस संरक्षित छ ।

सिद्धार्थ गौतम (बुद्ध) को जन्मस्थल नेपालको लुम्बिनी र परिनिर्वाण स्थल भारतको सारनाथ सारसका लागि महत्वपूर्ण ठाउँ हुन् । आफ्ना मामाका छोरा देवदत्तको काँडले घाइते भई जमीनमा पछारिएको सारसलाई सिद्धार्थले उद्धार गरेको प्रसंग बौद्ध ग्रन्थमा पढ्न पाइन्छ । त्यसका अतिरिक्त यस पक्षीको गुण, स्वभाव र चरित्र अरू चराको भन्दा भिन्दै र मननीय पनि छ । सारस के हो भन्ने कुरामा घोत्लियौं भने हामीले जान्नु, बुझनु र गर्नुपर्ने धेरै काम अझै बाँकी छ भन्ने प्रष्ट हुन आउँछ । यसै सन्दर्भलाई लिएर विशेषतः विद्यार्थी भाइबहिनीका लागि सारसको सामान्य परिचय पस्कने जमर्को गर्दैछु ।

लामो खुट्टा, लामो गर्दन र ठुट्टे पुच्छर सारसको परिचय हो । अंग्रेजीमा सारसलाई क्रेन (Crane) भनिन्छ । सारसको गर्दन जस्तै लामो फलामको बाक्लो पाता या नाला जडेर गह्रौं वस्तु उठाउने–पन्छाउने शक्तिशाली यन्त्रलाई पनि अंग्रेजीमा क्रेन (Crane) भनिन्छ । तर हामी यहाँ ‘क्रेन’ चराको बारेमा मात्र चर्चा गर्दैछौं ।

विश्वमा क्रेन नामधारी १५ प्रजातिका पक्षी पाइन्छन् । तीमध्ये नेपालमा पाइने चार प्रजाति— क¥याङकुरुङ (Demoiselle Crane), लक्ष्मण सारस (Common Crane), कालो कण्ठे सारस (Black Necked Crane) र सारस (Sarus Crane) हुन् । यिनीहरू खासगरी नेपालका सिमसार क्षेत्रमा विचरण गर्न रुचाउँछन् । सारस भन्नाले पानी, पोखरी वा जलाशयको पक्षी भन्ने कुरा शब्दको व्युत्पत्तिले समेत पुष्टि गर्दछ (सरसि भवः=सारस=पोखरीमा हुने) । वैज्ञानिक नामकरण अनुसार हाम्रो सारस ‘ग्रस एन्टिगोनी’ (Grus antigone) हो । आफ्नो थातथलो वा वासस्थान छोडेर अन्यत्र पलायन नहुने पक्षीको रूपमा सारस प्रख्यात छ । अरू क्रेनहरू हजारौं किलोमिटरको यात्रा तय गरेर आप्रवासमा ओहोरदोहोर गर्दछन्, कहिले साइबेरिया त कहिले श्रीलंका तर सारस भने सीमित क्षेत्रमै घुमिरहन्छ ।

सारसका तीन विलक्षण स्वभाव मनन् लायकका छन्— आफ्नो जन्मभूमि जीवनभर नछोड्ने, जीवनभरको दाम्पत्य जीवन एकै जोडीमा बिताउने र पखेटाले उड्ने सबै पक्षीभन्दा अग्लो भएर ठाडो शिरले बाँच्ने । इभु र अष्ट्रिच चराहरू सारस भन्दा ठूला त हुन्छन् तर ती उड्न सक्दैनन्, बिचरा !

सारसलाई टाढैबाट चिह्न सकिन्छ । यसको खुट्टा रातो–रातो हुन्छ । टाउको त टाढैबाट रातो देखिन्छ । नजिकबाट नियालेर हे¥यौं भने यसको थाप्लो चाहिं खुइलिएको हुन्छ । त्यो भाग रातो हुँदैन, हल्का पहेंलो हुन्छ । आँखा र अनुहारको भाग गाढा रातो हुन्छ । गर्दनको उपल्लो भाग पनि रातो हुन्छ । टाउको र गर्दन जोडिने ठाउँमा थोरै कालो घेरा हुन्छ । कानको प्वाल भएको ठाउँ भने सेतो हुन्छ । सारसको शरीर खरानी रङको प्वाँखले ढकमक्क हुन्छ । पखेटा फिंजारेर उड्दा पखेटाका माथिल्लो किनारामा काला प्वाँख प्रष्ट देखिन्छन् । यो चरा धेरै माथि उड्न सक्दैन, ४०–५० फुट माथि मात्र उड्छ । उड्दा यसको गर्दन र टाउको अगाडितिर लम्पसार हुन्छ भने खुट्टा पछाडितिर पसारिएको हुन्छ ।

सारस नेपालको दुर्लभ पक्षी हो । यो मूलतः तराईको समथर भूभागका सिमसार एवं धानबाली लाग्ने ठाउँमा बस्न रुचाउँदछ । ३०० मिटर भन्दा कम उँचाइ भएका नेपालका तराई क्षेत्र विशेष गरेर नवलपरासी, कपिलवस्तु र रूपन्देही जिल्लामा मात्र सारस भेटिन्छ । यस्तै गरेर, भारत र पाकिस्तानमा पनि सारस पाइन्छन् । वासस्थान विनाशका कारण यो पक्षी अहिले विश्वकै दुर्लभ पक्षीमा गणना हुन्छ । नेपाल सरकारको कानूनले यसलाई संरक्षित प्रणीको सूचीमा राखेको छ भने विश्व संरक्षण संघ (आईयूसीएन) ले यसलाई संकटापन्न (Vulnerable) प्राणीको कोटिमा वर्गीकरण गरेको छ । त्यसको आशय संरक्षणका प्रभावकारी कार्यक्रमहरू भएनन् भने यो प्राणी लोप हुन सक्छ भन्ने हो । नगर–पक्षीको उपमा पाएपछि लुम्बिनीलगायत अरू क्षेत्रमा पनि सारसप्रतिको संरक्षण मोह बढ्न जाने कुरामा विश्वास गर्न सकिन्छ ।

 

सारसहरू विभिन्न सिमसार एवं धानखेतका डोल क्षेत्रमा विचरण गर्न रुचाउँछन् । घाँसपात र झडी परेको ठाउँमा पानीको सतहबाट अलि उठेको झर बुटामा गुँड बनाउँछन् । यिनले एक पटकमा दुई-तीन वटा अण्डा पारेर बच्चा कोरल्छन् । यिनीहरूका गुँडलाई सुरक्षा दिने पहिलो संरक्षण प्रयास हुनुपर्छ । यिनीहरूको अण्डा चोरेर खानेहरूमा काग र चिबे चरालगायत गाउँका केटाकेटी पनि पर्छन् । केटाकेटीहरूमा सारसको महŒव सम्बन्धी चेतना फैलाउन विद्यालयहरूले विशेष पहल गर्न सक्छन् । चितवनदेखि पश्चिमका तराई–मधेशका जिल्लाहरूमा सारस संरक्षणका विषयलाई स्थानीय पाठ्यक्रममा समावेश गरेर विद्यालयहरूले त्यस्तो थालनी गर्न सक्छन् ।

सारसका भाले र पोथी दुवै दुरुस्त उस्तै देखिन्छन् । डाँफे, मुनाल वा मयूरका भाले पोथी जस्तो बेग्लै रूपरङमा सजिएका हुँदैनन् । वर्षायाम शुरू भएपछि सारसहरू प्रजनन् कार्यमा सक्रिय हुन थाल्छन् । सिमसार आसपासका घाँसे मैदानमा यिनको प्रणय नृत्य प्रदर्शन हुन्छ । त्यो नृत्य अति नै रोमाञ्चकारी र मनमोहक हुन्छ । त्यसबेला भाले पोथी दुवैले शिर ठाडो गरेर चुच्चोलाई आकाशतिर फर्काउँछन् र फेरि गर्दन तलतिर झरेर जमीन छोला छोला जस्तो गरेर टाउको नचाउँदछन् । त्यही क्रममा एकले अर्कालाई घुमीघुमी फन्को मार्न थाल्छ । त्यसवेला यिनीहरू उच्च स्वरको आवाजले कर्नाल घन्काउने गर्दछन् । सारसको श्वासनली र कण्ठको ध्वनि निकाल्ने अवयव अरू चराको भन्दा बेग्लै खालको हुन्छ ।

सारस संरक्षण गर्न सर्वप्रथम यिनको वासस्थान र आहारालाई सुरक्षित बनाउनुपर्ने हुन्छ । यिनले सिमसारमा पाइने माछा, सर्प, भ्यागुता, गँगटा तथा अरू कीराफट्याङ्ग्राका साथै विभिन्न जराजुरी पनि खनेर खाने गर्दछन् । तसर्थ सिमसार र धानबालीलाई रासायनिक मलखाद र विषादीले प्रदूषण गर्नुहुँदैन । त्यसो त, स्वस्थ र शुद्ध वातावरण सारसको लागि मात्र नभई मानिसकै लागि पनि अपरिहार्य हुन्छ ।

सारसहरू धेरै माथि उड्न सक्दैनन् । त्यसकारण, यता आएर सारसको लागि बिजुलीका तार सबैभन्दा ठूलो खतराका कारण बन्न थालेका छन् । हाम्रो विकासको एक प्रमुख पूर्वाधार मानिने बिजुलीको तार सञ्जाललाई सारसको उडान क्षेत्र छलेर जड्नु बुद्धिमानी हुन्छ । प्रकृति संरक्षण र भौतिक विकासलाई तादात्म्य मिलाउने कर्तव्य मानिसको हो, सारसको हैन ।

पूर्वाधार विकासको क्रममा पूर्वमा कोशी ब्यारेज निर्माण भएसँगै कोशी टप्पुमा सिमसार विकास भयो । चराचुरुङ्गीहरूका लागि त्यो एक विलक्षण वासस्थान बन्यो र अन्तर्राष्ट्रिय महत्वको सिमसार बनेर रामसारको सूचीमा पर्न आयो । कपिलवस्तुको जगदीशपुर जलाशय पनि सन् २००३ बाट रामसार सूचीमा पर्न सफल भएको छ । यो सिमसार क्षेत्र सारसको लागि अति महत्वपूर्ण छ । जगदीशपुरमा विश्वकै दुर्लभ हाँस र सयौं प्रजातिका जलपक्षी जाडो छल्न हिमाल पारिबाट उडेर आउने गर्दछन् । सन् १९७० ताका कृषि विकासको सिलसिलामा सिंचाइको लागि भनेर निर्माण गरिएको २२५ हेक्टरको जगदीशपुर जलाशय अहिले आएर विश्व सिमसार सम्पदा बन्न पुगेको छ । यस सम्पदालाई सुरक्षित राख्न स्थानीय प्रशासनले विशेष पहल गर्नुपर्छ । कपिलवस्तुको नेतृत्व र प्रशासनले सारसलाई आफ्नो जिल्लाको प्रतीक बनाउनका लागि जलाशय जोगाउनु जरूरी हुन्छ । त्यसनिम्ति त्यो ताललाई मानिसको क्रीडास्थल हैन, पक्षीको क्रीडास्थल बनाउन सक्नुपर्छ । त्यसो गर्न सके मात्र कपिलवस्तुको भविष्य प्रकृतिसम्मत हुन आउँछ ।

सारस एक दुर्लभ पक्षी मात्र नभएर आज हाम्रो राष्ट्रकै प्रतीक बनेको अवस्था छ । स्वस्थ वातावरण र शुद्ध चित्तको लागि सारस संरक्षणमा लुम्बिनी विकास कोष एवं लुम्बिनी सारस संरक्षण केन्द्रलाई नवीन सफलताको कामना गर्नुपरेको छ । यसका लागि सारस संरक्षण कार्य योजनाको आवश्यक पर्दछ । भौतिक पूर्वाधारहरू विशेष गरेर विद्युतीय तार सञ्जाल विस्तारमा, सिंचाइ नहर–कुलो आदिको निर्माणमा, वातावरण प्रदूषणको रोकथाम विषयमा, कृषि बाली विकासको सन्दर्भमा तथा बाटो–सडक यातायातको विकासमा विशेष समन्वय गरेर कार्यक्रम संचालन हुनुपर्दछ । त्यसका अतिरिक्त विद्यार्थी एवं किसान वर्गमा सचेतनाका विशेष कार्यक्रमहरू प्रारम्भ हुनुपर्दछ । भोलिका कर्णधार हाम्रा बालिकाहरूलाई परिचालन गर्न स्थानीय पाठ्यक्रममा सारस शिक्षा समावेश गर्न ढिलाइ गरिनुहुँदैन । सारसको परिचय, जीवनशैली, संरक्षणका उपाय तथा सारसप्रति माया गाँस्ने सामग्रीहरू पनि उत्पादन गर्नुपर्दछ । सारसको छातीमा चुमेको वाण निकालेर घाउको मलमपट्टी गरेर सिद्धार्थले त्यस प्राणीको प्राण रक्षा गरे । आज हामी अव्यवस्थित भौतिक विकास र अनियन्त्रित वातावरण प्रदूषणका वाणहरू सारसको छातीबाट उखेल्न लागिपर्नु परेको छ ।

तस्वीरहरूः मनोज पौडेल

२०७५ पुस अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/