शिक्षामा अंग्रेजी माध्यमको प्रयोग भ्रम र यथार्थ

by • • Highlight, आवरणComments (0)3869

Print Friendly, PDF & Email

विद्यालयहरूमा अंग्रेजी माध्यमको लहर छ। तर, वास्तविक धरातलमा उभिएर सोच्ने हो भने विद्यालय टेकेको दिनदेखि उनीहरूले बुझन नसक्ने भाषामा सबै विषय पढाउँदा कलिला बच्चाहरूले कस्तो अनुभव गर्लान् ? भाषा नै बुझन नसके पछि, आफूलाई मनमा लागेको कुरा नै व्यक्त गर्न नसके पछि, कसरी गुणस्तरीय सिकाइ होला ?
– डा. प्रेम फ्याक
शिक्षामा भाषाको महत्वपूर्ण भूमिका हुन्छ । विद्यालयमा प्रयोग गरिने माध्यम भाषाले गुणस्तरीय सिकाइमा ठूलो प्रभाव पार्दछ । शिक्षकले के पढाउने, कसरी पढाउने र विद्यार्थीले कसरी राम्रो सिक्न सक्छन् भन्ने कुरामा माध्यम भाषाको ठूलो महत्व हुन्छ । विशेषगरी आधारभूत तहका कक्षामा सिकाइको स्तर शिक्षकले प्रयोग गर्ने भाषा विद्यार्थीले राम्ररी बुझन सकेका छन् कि छैनन् भन्ने कुराले निर्धारण गर्दछ ।

अहिले नेपालमा प्र्राथमिक तहदेखि नै निजी र सामुदायिक दुवै विद्यालयमा अंग्रेजी माध्यममा पढाउने होड चलेको छ । गुणस्तरीय शिक्षाको नारा दिंदै स्थानीय सरकारहरूले पनि विभिन्न ठाउँका सामुदायिक विद्यालयलाई अंग्रेजी माध्यममा पठनपाठन गर्न गराउन उर्दी जारी गरेका छन् । तर के यो नीतिले साँच्चिकै गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्दछ ? बच्चाको सिकाइमा सहभागिता र संज्ञानात्मक क्षमताको विकासको जग दह्रो बनाउँछ ? यो नीति एउटा लहड मात्र त होइन ? प्रश्नको सेरोफेरोमा रही यहाँ नेपालमा अंग्रेजी माध्यमको शिक्षा र यसले शिक्षण–सिकाइमा पार्ने प्रभावको बारेमा चर्चा गरिएको छ ।

अंग्रेजी माध्यमको शिक्षा के हो ?
अंग्रेजी माध्यमको शिक्षा के हो भन्ने विषयमा विभिन्न बुझइ रहेका छन् । अनुसन्धानकर्ता जुली डिर्डेनको विचारमा बहुसंख्यक जनताले पहिलो भाषाको रूपमा अंग्रेजी प्रयोग नगर्ने देशहरूमा पठनपाठन हुने सम्पूर्ण प्राज्ञिक विषयहरू(academic content subjects),, जस्तै– सामाजिक शिक्षा, गणित, विज्ञान, नैतिक शिक्षा आदि अंग्रेजी माध्यमबाट मात्र पठनपाठन गरिनु अंग्रेजी–माध्यमको शिक्षा हो । अहिले निजी विद्यालयले प्रयोग गरेका भाषानीति यसको उदाहरण हो । यो नीतिले पाठ्यपुस्तक तथा अन्य पाठ्यसामग्री र विद्यालयमा बोलचालको भाषा अंग्रेजी नै हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ । साथै विद्यालयमा स्थानीय र मातृभाषाहरूको प्रयोग निषेध गरिन्छ । विद्यार्र्थीले मातृभाषा बोलीहाले पनि विभिन्न किसिमका सजाय दिइन्छ । अर्को शब्दमा भन्दा जानी–नजानी विद्यार्थीलाई अंग्रेजी बोल्न लगाइन्छ । फलस्वरुप विद्यालयको सम्पूर्ण वातावरण एकल अंग्रेजी भाषिक हुन पुग्दछ ।

अंग्रेजी माध्यमको शिक्षाको विश्वव्यापी अवस्था
विश्वव्यापी रूपमै शिक्षामा अंग्रेजीलाई माध्यमको रूपमा प्रयोग गरिएको पाइन्छ । अक्सफोर्ड विश्वविद्यालयको शिक्षा विभागले सन् २०१४ मा नेपाल लगायत ५५ वटा देशमा गरेको सर्वेक्षणले ५२.७ प्रतिशत सामुदायिक र ८७.२५ प्रतिशत निजी विद्यालयले प्राथमिक तहमा अंग्रेजी माध्यमको प्रयोग गर्ने गरेको देखाएको छ । यो प्रवृत्ति माध्यमिक र उच्च शिक्षामा अझ् बढी पाइन्छ । सोही अध्ययनले नेपाल लगायत पाकिस्तान, पोर्चुगल, कतार, सर्बिया, साउथ अफ्रिका, टर्की, युगाण्डा, दक्षिण सुडान, ताईवान, काजकस्तान र इन्डोनेसिया जस्ता मुलुकहरूमा अंग्रेजी माध्यमको प्रयोग प्राथमिक तहदेखि नै भएको देखाउँछ । तर जापान, स्विट्जरलैण्ड, इजरायल, सेनेगल, साउदी अरेबिया, इटाली, इन्डिया, ग्रीस, ब्राजिल, अर्जेन्टिना, बंगलादेश, श्रीलंका र भियतनाम जस्ता अधिकांश देशहरूका सामुदायिक विद्यालयलाई प्राथमिक तहमा अंग्रेजी माध्यमको प्रयोग गर्ने अनुमति छैन । अझ् साउदी अरेबिया, सेनेगल, इजरायल, इराक, इरान, ब्राजिल जस्ता धेरै मुलुकमा माध्यमिक तहमा पनि अंग्रेजी माध्यमको प्रयोग गरिएको पाइँदैन ।
सो अध्ययनले सर्वसाधारण जनतामा अंग्रेजी माध्यम भन्नु नै गुणस्तरीय शिक्षा र प्रभावकारी सिकाइ हो भन्ने गलत धारणाको विकास भएको देखाएको छ । यस्तो धारणा विशेषगरी सम्भ्रान्त परिवारका विद्यार्थीहरू पढ्ने निजी तथा अन्तर्राष्ट्रिय विद्यालयको बजारीकरणले गर्दा पैदा भएको देखिन्छ । अंग्रेजी माध्यमको अर्काे महत्वपूर्ण पक्ष भनेको शिक्षकको क्षमता हो । प्रभावकारी सिकाइको लागि सक्षम शिक्षकहरूको आवश्यकता पर्दछ । तर माथि उल्लिखित अध्ययनले अंग्रेजी माध्यममा पढाउनका लागि आवश्यक पर्ने सक्षम शिक्षक १.८ प्रतिशत मात्र रहेको देखाउँछ । त्यस्तै अधिकांश मुलुकमा अंग्रेजी माध्यममा पठनपाठन गर्नको लागि स्पष्ट नीति र निर्देशिका नभएको कुरा अध्ययनले देखाउँछ । यस्तो स्थितिमा पनि अंग्रेजी माध्यममा शिक्षा दिने लहर किन चलेको होला ? यो लहरसँग सम्बन्धित केही भ्रम र यथार्थहरू तल चर्चा गरिएका छन् ।

भ्रम १ः अंग्रेजी माध्यम नै गुणस्तरीय शिक्षा हो
अंग्रेजी माध्यमले शिक्षाको गुणस्तर बढाउछ भन्ने सोच आमजनमानसमा बढेको देखिन्छ । तर गुणस्तरीय शिक्षा नै के हो भन्ने कुरामा शिक्षासँग सरोकार राख्ने अभिभावक, शिक्षक, विद्यार्थी, नीति-निर्माता र अनुसन्धानकर्ताहरू बीच छलफल र विश्लेषण भएको पाइँदैन । नेपालको सन्दर्भमा एसईई परीक्षामा विद्यार्थीले प्राप्त गर्ने सफलताको आधारमा शिक्षाको गुणस्तर मापन गर्ने गरिन्छ । तर एसईईमा विद्यार्थीहरू पास हुनु नै गुणस्तरीय शिक्षा हो त ? विद्यार्थीहरू कसरी एसईईमा सफल वा असफल भइरहेका छन् ? यी र यस्ता प्रश्नहरूको गहन रूपमा छलफल हुन जरूरी छ । अध्ययनहरूले देखाए अनुसार गुणस्तरीय शिक्षाको लागि गुणस्तरीय सिकाइ हुनु पहिलो शर्त हो । यसका लागि मुख्य रूपमा तीनवटा पक्ष चाहिन्छः
क) सिकाइमा सहभागिता
ख) अन्तरक्रिया र सिकाइमा लगानी
ग) सोच्ने समय र अभ्यास
सहभागिता भन्नाले शिक्षकले दिएका क्रियाकलापमा विद्यार्थीले छलफल गर्न र आफ्ना विचारहरू व्यक्त गर्न सक्नु हो । गुणस्तरीय सिकाइका लागि सबै विद्यार्थीले शिक्षण सिकाइ क्रियाकलापमा विना डरत्रास सहभागिता जनाउन सक्नुपर्छ । शान्त रूपमा हात बाँधेर बस्ने विद्यार्थी होइन, प्रश्न गर्ने र छलफलमा सहभागी हुने विद्यार्थीले नै राम्ररी सिक्न सक्छन् । यसका लागि विद्यार्थीले आफ्ना साथीहरू र शिक्षकहरूसँग ढुक्क भएर अन्तरक्रिया गर्न पाउनुपर्दछ । गुणस्तरीय सिकाइको अर्काे महत्वपूर्ण पक्ष भनेको विद्यार्थीको सिकाइमा लगानी हो । यसका लागि एउटा विद्यार्थीले आफूसँग भएका वर्तमान भाषिक, सांस्कृतिक र सामाजिक ज्ञान र सीपको प्रयोग गरी नयाँ कुराहरू सिक्ने वातावरण पाउनुपर्दछ । संज्ञानात्मक क्षमताको विकास गुणस्तरीय सिकाइको अर्काे पक्ष हो । बच्चाले पढाएको विषयमा सोच्ने, विश्लेषण गर्ने, प्रश्न सोध्ने, मूल्याङ्कन गर्ने सीपहरूको विकास गर्न सक्नुपर्दछ । यसको पहिलो शर्त विद्यार्थीले पाठ्यपुस्तकमा दिइएको र शिक्षकहरूले पढाएको विषयवस्तु राम्ररी बुझन र चिन्तन गर्न सक्नुपर्दछ । तर अंग्रेजी माध्यममा पढाएर यी शर्तहरू पूरा हुन सक्दैनन् ।

पहिलो कुरा त आधारभूत कक्षाका विद्यार्थीले घरमा बोल्ने भाषा बाहेक अंग्रेजी भाषाको प्रयोग गर्ने सीपको विकास गरेका हुँदैनन् । दोस्रो कुरा शिक्षकहरू आफैंले पनि विद्यार्थीलाई अंग्रेजी माध्यममा खुलेर पढाउन कठिन हुन्छ । तीन वर्षअघि मोरङको एउटा दुर्गम गाउँमा रहेको प्राथमिक विद्यालयमा अध्ययनको सिलसिलामा पुगेको थिएँ । विद्यालय लिम्बू गाउँमा भएकोले मुख्यतः लिम्बू विद्यार्थी पढ्दा रहेछन् । विद्यार्थी संख्या पनि राम्रै थियो । तर सानो गाउँमा दुई वटा निजी स्कूल खोल्न सरकारले अनुमति दिएपछि विद्यार्थी संख्या कम भयो । वैदेशिक रोजगारीमा गएका अधिकांश अभिभावकले आफ्ना बच्चालाई अंग्रेजी माध्यममा पढाइ हुने भनी प्रचार गरिएका निजी विद्यालयमा पढाउन शुरू गरे । निजी स्कूलहरूको शैक्षिक र भौतिक अवस्था दुवै राम्रा थिएनन् । सामुदायिक विद्यालयले पनि स्रोतकेन्द्र स्तरीय निर्णय गरेर ईसीडी कक्षादेखि नै अंग्रेजी माध्यममा पढाउनुपर्ने बाध्यता सिर्जना गरे । विद्यालयको अनुमति लिएर मैले कस्तो पढाइ हुँदोरहेछ भनेर केही दिन कक्षाहरू अवलोकन गरें । विद्यार्थीहरूसँग कक्षामा बसें । अन्तरक्रिया गरें । यसै क्रममा लामो समय अध्यापन गर्नुभएका अनुभवी र राम्रो शिक्षकको रूपमा चिनिएका एक जना सरको कक्षा अवलोकन गर्ने मौका मिल्यो । सरको हातमा अंग्रेजीमा अनुवाद गरिएको एउटा किताब र चकको बट्टा मात्र थियो । विज्ञान विषयको पाठको शीर्षक ‘Characteristics of living things’ रहेछ । सरले खस्रो बोर्डमा शीर्षक लेखेपछि जोडले उच्चारण गर्नुभयो । त्यसपछि विद्यार्थीलाई पनि उच्चारण गर्न लगाउनुभयो । तर कसैले पनि पूरा उच्चारण गर्न सकेनन् । त्यसपछि सरले नेपालीमा उल्था गर्नुभयो । किताबमा दिइएका शब्दहरू एक–एक गर्दै लेख्दै उच्चारण गर्नुभयो र विद्यार्थीलाई लेख्न लगाउनुभयो । यसै क्रममा ‘Sensitivity’ र ‘reproduction’ शब्दहरू आए । सरले अंग्रेजीमा व्याख्या गर्न कोशिश गर्नुभयो तर विद्यार्थीले बुझ्ेनन् । अंग्रेजीमा बुझउन सरका लागि पनि कठिन थियो । सबै विद्यार्थीले चुपचाप सुनिरहे । सरले अंग्रेजीमा बुझयौ भन्दा सबै चुपचाप मात्र थिए । आखिर सम्पूर्ण कक्षा अवधिभर किताबमा भएको कुरा सरले पढ्ने, लेख्ने र विद्यार्थीले सार्ने बाहेक अरू केही भएन । सामाजिक शिक्षाको पढाइमा पनि यस्तै स्थिति देखियो ।

अंग्रेजी माध्यमको कारणले रमाएर सिक्नुपर्ने वातावरण सिर्जना हुन नसकेको यथार्थ ती सरले बताउनुभयो । “न शिक्षकले राम्ररी बुझउन सकिन्छ न विद्यार्थीले नबुझ्ेको कुरा सोध्न सक्छन् …” यस्तो स्थितिमा कसरी गुणस्तरीय शिक्षा हुन्छ ? उहाँको विचारमा अंग्रेजी माध्यमको नारालाई बेचेर निजी विद्यालयमा पनि घोकाउने काम मात्र भएको छ ।

भ्रम २ः अंग्रेजी माध्यममा पढाउँदा अंग्रेजी राम्रो हुन्छ
मिडिया र सार्वजनिक रूपमा चलेको एउटा जबर्जस्त विचार के हो भने अंग्रेजी माध्यममा पढाउँदा विद्यार्थीको अंग्रेजी भाषा राम्रो हुन्छ । निजी र सामुदायिक विद्यालयमा पहिलो दिनदेखि नै अंग्रेजी माध्यममा पढाउनु पछाडिको मुख्य तर्क विद्यार्थीहरूको अंग्रेजी भाषामा दक्षता बढ्छ भन्नु हो । अर्काे शब्दमा भन्दा शिक्षक र आमजनमानसमा अंग्रेजी माध्यममा पढाउनु र अंग्रेजी भाषा पढाउनु एउटै हो भन्ने सोच हाबी भयो । अंग्रेजी भाषा सिक्नु र अंग्रेजी माध्यममा सिक्नु एउटै कुरा हो भन्ने सोचको विकास भयो । तर एउटा भाषा सिक्नु र त्यो भाषाको माध्यमबाट विषयवस्तुहरू सिक्नु फरक कुरा हुन् । सतही रूपमा हेर्दा अंग्रेजी माध्यममा पढेको विद्यार्थीले केही अंग्रेजी शब्द र वाक्यहरू फाटफुट रूपमा प्रयोग गरेको देखिन्छ । तर फाटफुट रूपमा भाषा बोल्नु नै भाषा सिक्नु होइन ।
भाषा सिकाइका मुख्य दुई वटा पक्ष हुन्छन्— आधारभूत अन्तरक्रियात्मक सीप र संज्ञानात्मक प्राज्ञिक भाषिक सीप । कुनै पनि भाषामा आधारभूत अन्तरक्रियात्मक सीपहरू सिक्नको लागि दुई–तीन वर्ष लाग्न सक्छ भने संज्ञानात्मक प्राज्ञिक भाषिक सीपहरू सिक्न कम्तीमा ६ देखि ८ वर्ष लाग्न सक्छ । साथै अध्ययनहरूले के देखाउँछन् भने विद्यार्थीलाई उसले बुझन नसक्ने वा कमजोर भाषामा पढाइयो भने भाषिक र संज्ञानात्मक दुवै सीप र ज्ञानको सिकाइ कमजोर हुने गर्दछ । भाषा शिक्षाका अध्ययनहरूले के पनि प्रष्ट पारेका छन् भने विद्यार्थीले शुरूका वर्षहरूमा आफूले बुझने भाषामा सिक्ने अवसर पायो भने उसले भाषा र विषयवस्तु सिक्न बलियो जग बसाल्न सक्छन् र त्यही सीप र ज्ञानले दोस्रो भाषा प्रभावकारी रूपमा सिक्न मद्दत गर्दछ ।

लामो समय भाषा शिक्षामा अध्ययन अनुसन्धान गरेका अमेरिकी शिक्षाविद् भर्जिनिया कोलियर र वाइने टोमसले अमेरिकामै पनि एकल अंग्रेजी माध्यममा पढेका विद्यार्थी भन्दा मातृभाषामा दक्खल बनाएका विद्यार्थीले अंग्रेजी भाषा र अन्य विषयमा राम्रो नतिजा हासिल गर्ने कुरालाई पुष्टि गरेका छन् । त्यस्तै क्याथलिन ह्युफको टीमले इथियोपियामा गरेको खोजले आधारभूत तहमा मातृभाषाको माध्यममा पढेका विद्यार्थीले अंग्रेजी माध्यममा पढेका विद्यार्थीभन्दा गणित, जीवविज्ञान, रसायन शास्त्र र भौतिक शास्त्र विषयमा बढी शैक्षिक उपलब्धि हासिल गरेको तथ्य पत्ता लगाएको छ । क्याथलिन ह्युफकै दक्षिण अफ्रिकाको अध्ययनले अंग्रेजी माध्यममा पढेका तीन चौथाइ विद्यार्थी फेल भएको तथ्याङ्क देखाएको छ ।

भ्रम ३ः मातृभाषाको प्रयोगले सिकाइ कमजोर हुन्छ
आमजनमानसमा मातृभाषाको प्रयोगले बच्चाको सिकाइमा नकारात्मक प्रभाव पार्दछ भन्ने सोचको विकास भएको छ । यो सोचको विकास हुनुमा अंग्रेजी भाषासँग जोडिएका सामाजिक, आर्थिक र राजनीतिक पक्षहरूको ठूलो भूमिका रहेको छ । विशेषतः अंग्रेजी भाषाले विश्वव्यापी रूपमा जमाएको प्रभुत्वलाई हामीले शिक्षामा पनि कुनै विश्लेषण विना स्वीकारेको स्थिति छ । अंग्रेजी भाषाको महत्वलाई नकार्न पनि सकिन्न । म आफैं पनि अंग्रेजी भाषा शिक्षक भएको नाताले विद्यार्थीलाई कसरी गुणस्तरीय अंग्रेजी भाषा सिकाउन सकिन्छ भन्ने कुराको खोज र अनुसन्धान गर्दछु । तर अध्ययनले देखाएको एउटा तथ्य के हो भने बहुभाषिक हुनु बच्चाको लागि शैक्षिक, आर्थिक र सामाजिक रूपले राम्रो कुरा हो । नयाँ भाषाहरूको सिकाइले एउटा व्यक्तिको जीवनमा ठूलो महत्व राख्दछ । तर दोस्रो वा कुनै नयाँ भाषा प्रयोग गर्दा शैक्षिक पक्षलाई ध्यान दिइएन भने सिकाइमा नकारात्मक असर पर्दछ ।
विशेषतः माथि भनिए झैं भाषा शिक्षण–सिकाइ र भाषाको माध्यमबाट सिक्नु एउटै हो भन्ने गलत सोचले गर्दा अहिले अंग्रेजी माध्यमको लहर नै चलेको देखिन्छ । यतिसम्म कि निजी स्कूलहरूले ‘इङ्गलिश स्पिकिङ्ग जोन’ नै बनाएका छन् । अंग्रेजी बाहेक अरू भाषाको प्रयोग गर्दा त सजाय नै भोग्नुपर्ने नियम पनि छन् । यसले बच्चाको मातृभाषा प्रयोग गर्नु भनेको कमजोर शिक्षा दिनु हो भन्ने गलत सन्देश दिएको छ । मातृभाषामा, नेपाली सहित, पढाउने विद्यालयहरू कमजोर हुन्छन् भनेर परिचित गरेको छ । यिनै सोचले गर्दा अहिले सामुदायिक विद्यालयमा पनि अंग्रेजी माध्यमको लहर छ । तर, हामी सबैले वास्तविक धरातलमा उभिएर सोच्ने हो भने विद्यालय टेकेको दिनदेखि उनीहरूले बुझन नसक्ने भाषामा सबै विषय पढाउँदा कलिला बच्चाहरूले कस्तो अनुभव गर्लान् ? भाषा नै बुझन नसके पछि, आफूलाई मनमा लागेको कुरा नै व्यक्त गर्न नसके पछि, कसरी गुणस्तरीय सिकाइ होला ?

सिकाइमा प्रभाव र यथार्थ धरातल
अंग्रेजी माध्यमको लहर चलिरहँदा यसले शिक्षण–सिकाइमा पार्ने प्रभावको बारेमा गहिरो छलफल भएको देखिन्न । सतही रूपमा अंग्रेजीलाई जागिर, बजार र गुणस्तरीय सिकाइसँग जोडेको भरमा अंग्रेजी भाषामा अन्तरक्रिया गर्न नसक्ने कलिला बच्चाले भाषाकै कारणले विभिन्न विषयमा अपेक्षा गरिएको सिकाइ उपलब्धिहरू हासिल गर्न सकेका छैनन् । यसले दीर्घकालीन रूपमा विद्यार्थीको संज्ञानात्मक, भाषिक र मनोवैज्ञानिक विकासमा नकारात्मक प्रभाव पार्दछ ।

यसै सन्दर्भमा विश्वभरि अंग्रेजी भाषाको पैरवी गर्ने बेलायती सरकारको ब्रिटिश काउन्सिल भन्ने संस्थाले जोनसिम्सनको नेतृत्वमा हालसालै गरेको अध्ययनले आधारभूत शिक्षामा अंग्रेजी माध्यमको प्रयोगले विद्यार्थीको सिकाइमा नकारात्मक प्रभाव पारेको निष्कर्ष निकालेको छ । सो अध्ययनले अफ्रिकन देशहरू र दक्षिण एशियामा चलेको वर्तमान अंग्रेजी माध्यममा शिक्षाको अध्ययनको आधारमा निम्न महत्वपूर्ण तथ्यहरू सार्वजनिक गरेको छः –
क) अंग्रेजी माध्यमबाट पढाउँदा अंग्रेजी भाषा राम्रो सिकिन्छ भन्ने धारणा गलत छ ।
ख) आधारभूत तहमा, विशेषगरी दक्षिण एशिया र अफ्रिकन देशहरूमा, चलेको अंग्रेजी माध्यममा पढाउने अभ्यासले अंग्रेजी भाषा सिकाइको आधार पनि कमजोर बनाएको छ ।
ग) आधारभूत तहमा अंग्रेजी माध्यमको लहरले माथिल्लो तहको सिकाइको जग र शैक्षिक उपलब्धिमा नकारात्मक प्रभाव पारेको छ ।
यसका साथै सो अध्ययनले तल्लो कक्षामा अंग्रेजी भन्दा घरमा बोल्ने भाषा वा मातृभाषालाई माध्यमको रूपमा प्रयोग गर्दा गुणस्तरीय सिकाइ हुन्छ भन्ने निष्कर्ष निकालेको छ । विद्यार्थीले आफ्नो मातृभाषामा राम्रो अन्तरक्रिया गर्ने, सोच्न सक्ने र विषयवस्तु बुझने भएकोले मातृभाषाको प्रयोगले विषयवस्तु र दोस्रो भाषा दुवै राम्ररी सिक्न सक्ने कुरालाई अध्ययनले प्रष्ट पारेको छ । अंग्रेजी माध्यममा सिक्नु र अंग्रेजी भाषा सिक्नु फरक हो भन्ने कुरालाई जोड दिंदै सो अध्ययनले अंग्रेजी भाषाको प्रभावकारी सिकाइ गर्नको लागि यसलाई विषयको रूपमा गुणस्तरीय शिक्षकले शिक्षण गर्नुपर्ने निष्कर्ष निकालेको छ ।

हाम्रो यथार्थ के हो ?
नेपालमा पनि अंग्रेजी माध्यमको लहर चलिरहेको छ । धेरै स्थानीय सरकारले अंग्रेजी माध्यम सामुदायिक विद्यालयहरू सुधार गर्ने एक मात्र अचूक औषधिको रूपमा लिएका पनि छन् । तर यो नीतिसँग जोडिएका शिक्षण–सिकाइ र शिक्षक–विद्यार्थीसँग सम्बन्धित मुद्दाहरूमा गहिरो विश्लेषण गरिएको छैन । यसै सन्दर्भमा विगत ६ वर्षदेखि अंग्रेजी माध्यम र विद्यालयमा बहुभाषिकताको बारेमा मेरो आफ्नै अध्ययनको सिलसिलामा संकलन गरिएका तथ्यहरूको आधारमा निम्न यथार्थहरू प्रस्तुत गरिएका छन्ः

१. आधारभूत तहमा (निजी र सामुदायिक दुवैमा) अंग्रेजी माध्यमले विद्यार्थीहरू खुलेर सिक्ने र शिक्षकले खुलेर पढाउने अवसर बन्द गरेको छ । अंग्रेजी माध्यमको बोझ्ले शिक्षण–सिकाइ यान्त्रिक र सुगारटाइमै सीमित भएको छ ।
२. शिक्षण–सिकाइलाई झ्न् बढी पाठ्ययपुस्तक र शिक्षक केन्द्रित बनाएको छ । अंग्रेजी भाषा नबुझने भएर शिक्षकहरूले जे भन्यो र पाठ्यपुस्तकमा जे लेख्यो त्यही सार्ने भन्दा अरू उपलब्धि केही भएको छैन ।
३. शिक्षकहरूसँगको कुराकानीको आधारमा यो नीति गुणस्तरीय सिकाइको लागि भन्दा पनि निजी स्कूलहरूको गलत अभ्यासहरूको नक्कल र फेसनको रूपमा लिइएको पाइन्छ । मुख्यतः कुनै पनि विषयहरूको तहगत, कक्षागत र विषयगत उद्देश्यहरू अंग्रेजी माध्यमबाट पढाउदा पूरा गर्न नसकिने देखिन्छ ।
४. अंग्रेजी माध्यम घोषणा गरेपछि सामुदायिक विद्यालयमा विद्यार्थी संख्या केही बढेको देखिन्छ । साथै एसईईको रिजल्टमा पनि केही संख्यात्मक सुधार आएको भन्ने तथ्यहरू बाहिर आएका छन् । तर वास्तविकता के हो भने अंग्रेजी माध्यम र शिक्षाको गुणस्तरबीच कुनै सम्बन्ध छैन । अंग्रेजी माध्यम लागू नभएका तर राम्रो व्यवस्थापन, पेशाप्रति इमानदार शिक्षक र विद्यार्थीको समस्या बुझेर पढाइ हुने सामुदायिक विद्यालयको गुणस्तर त्यसै पनि राम्रो देखिएको छ । कमजोर विद्यार्थीहरूलाई अतिरिक्त समय पढाउने, कोचिङ्ग क्लास गर्ने, निरन्तर रूपमा पृष्ठपोषण दिने र शिक्षकहरूले मिहिनेत गरी पठनपाठन सञ्चालन भएका सबै सामुदायिक विद्यालय राम्रा छन् । तसर्थ अंग्रेजी माध्यम केवल नारा मात्र हो, नाम मात्र हो । प्रभावकारी सिकाइको लागि यो यथार्थ होइन ।

५. अंग्रेजी माध्यमले गर्दा सबै विषयगत कक्षाहरू अंग्रेजी भाषा सिकाउने र सिक्ने थलो मात्र बनिरहेका छन् । विज्ञान पढाउने सरले सजीव र निर्जीव वस्तुहरूको विशेषता अंग्रेजी माध्यमबाट पढाउँदा’Sensitivity’, ‘Movement’, ‘Reproduction’ जस्ता कठिन शब्दहरूलाई बुझउन नसक्दा विद्यार्थीले हिज्जे र नेपाली अनुवाद जान्नु बाहेक केही सिकेको देखिन्न । त्यस्तै सामाजिक शिक्षा पढाउदा ‘celebrate’, ‘worship’, ‘devotee’, ‘respect’, ‘festival’ जस्ता कठिन शब्द घोकाउने र लेखाउने मात्र गराएर आफ्नै समाजको बारेमा बोल्नलाई पनि विद्यार्थी सुुगा बनिरहेका छन् ।
६. रटेका कुराहरू ओकल्नु नै गुणस्तरीय सिकाइ हो भन्ने गलत सन्देश अंग्रेजी माध्यमको प्रयोगसँगै आम जनमानसमा गइरहेको छ ।
७. अंग्रेजी माध्यमले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा सामुदायिक विद्यालयहरू गुणस्तरहीन छन् । नेपाली माध्यममा पढ्ने विद्यार्थीहरू कमजोर हुन्छन् र अंग्रेजी भाषा पनि राम्रो सिक्दैनन् भन्ने गलत धारणाको पक्षपोषण गरिरहेको छ ।
८. विद्यार्थीको रचनात्मक तथा सोच्ने क्षमता र सीपको विकासमा नकारात्मक प्रभाव परेको देखिन्छ ।
९. अंग्रेजी माध्यमको नाममा विद्यालयभित्रै दुई खालको समाज निर्माण भइरहेको छ । राम्रा भनिएका विद्यार्थीले अंग्रेजी माध्यममा र कमजोर भनिएका विद्यार्थीले नेपाली माध्यममा पढ्ने दुईखाले नीति केही सामुदायिक विद्यालयले लागू गरेका छन् । यसको दीर्घकालीन सामाजिक, शैक्षिक, राजनीतिक र मनोवैज्ञानिक असर विद्यार्थी र समग्र समाजको विकासमा परेको छ र पर्नेछ ।

निष्कर्ष
अंग्रेजी भाषा सिकाइको महत्व रहेको कुरामा दुईमत छैन । तर यसलाई सबै विषय पढाउनको लागि माध्यम भाषाको रूपमा प्रयोग गर्दा गुणस्तरीय सिकाइ हुन सक्दैन । आधारभूत तहमा अनिवार्य अंग्रेजी भाषा विषयलाई नै प्रभावकारी रूपले पढाउने हो भने पनि अंग्रेजी भाषा सिकाइको आवश्यकतालाई सम्बोधन गर्न सकिन्छ । यसको लागि दक्ष भाषा शिक्षकहरूको आवश्यकता पर्दछ । अहिले अनिवार्य अंग्रेजी भाषाको पढाइ नै एकदमै कमजोर भैरहेको अवस्थामा सबै विषय अंग्रेजी माध्यममा पढाउने नीति तर्कसंगत छैन । अंग्रेजी माध्यम शिक्षण–सिकाइसँग जोडिएको हुनाले यस विषयमा निर्णय गर्दा सिकाइसँग सम्बन्धित मुद्दाहरूमा सरोकारवालासँग गहिरो छलफल गर्न जरूरी छ । हचुवाको भरमा अंग्रेजी माध्यम लागू गर्दै जाने हो भने न त विद्यार्थीले राम्रो सिक्छन् न त शिक्षकहरूले नै प्रभावकारी शिक्षण गर्न सक्छन् । यस सन्दर्भमा बुझनुपर्ने एउटा तीतो यथार्थ के हो भने निजी स्कूलहरूमा पनि अंग्रेजी माध्यममा गुणस्तरीय शिक्षण सिकाइ हुनसकेको छैन । विद्यार्थीलाई आफूले मनलागेको भाषा बोल्न नदिएर विद्यालयलाई जेल जस्ता बनाइएको छ । दुर्भाग्य, यसको विरोध गर्नुपर्नेमा हामीले यही नै गुणस्तरीय शिक्षा हो भन्ने धारणा बनाएका छौं ।

विद्यार्थीको सृजनशीलता, संज्ञान, प्राज्ञिक सीप, सोच्ने क्षमता, लेखाइ, पढाइ तथा सामाजिक सीपहरूको विकास नभएको शिक्षाले सुगा विद्यार्थी मात्र उत्पादन गर्दछ । आज अंग्रेजी माध्यमको लहडमा फसेर हामीले शिक्षाका आधारभूत सिद्धान्तहरू मात्रै कुल्चिएका छैनौं कि गुणस्तरीय शिक्षा पाउने अधिकारबाट हाम्रा विद्यार्थीलाई वञ्चित गरेका छौं र गर्ने दिशामा अघि बढेका छौं । यसको साथसाथै मातृभाषामा आधारभूत शिक्षा पाउनुपर्ने अधिकारबाट विद्यार्थीलाई वञ्चित गरेका मात्र छैनौं कि कमजोर सिकाइको आधार भएका विद्यार्थी उत्पादन गरेर विद्यालय शिक्षालाई दीर्घकालीन रूपमा तहसनहस पार्ने कोशिश गरिरहेका छौं । तसर्थ यो मुद्दामा मन्त्रालय, स्थानीय सरकार, शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा अन्य सरोकारवालाबीच यथार्थपरक छलफल हुन आवश्यक छ । गुणस्तरीय सिकाइको लागि हाम्रो जस्तो अंग्रेजी दोस्रो वा वैदेशिक भाषाको रूपमा प्रयोग हुने देशमा अंग्रेजी माध्यम जरूरी छैन । अंग्रेजी माध्यमले आधारभूत तहमा नत विषयवस्तुको ज्ञान सिक्न सहयोग गर्दछ न त गुणस्तरीय अंग्रेजी भाषा सिक्न नै टेवा पु¥याउँछ । सर्वप्रथमतः बच्चाहरूले आफूले बोल्ने र बुझने भाषामा खुलस्त रूपमा सिक्नु पाउनुपर्छ ।
     (प्रमुख, अंग्रेजी विभाग, शिक्षा संकाय, त्रिवि, कीर्तिपुर)

२०७५ पुस अंकमा प्रकाशित

Related Posts

/*sign up form*/