विद्यालयमा सोसल मिडियाः सदुपयोगको पक्षमा केही बुँदा

by • • Highlight, Uncategorized, टिप्पणीComments (0)352

Print Friendly, PDF & Email

 

अरू प्रविधिको जस्तै इन्टरनेट प्रविधिका पनि दुइटै धार हुन्छन्– गुणी र वैगुनी । दोष प्रविधिको हैन, चलाउने मानिसहरूको हो । मानिसलाई सत्कर्ममा लगाउने विभिन्न तरिका छन् । त्यसै पनि देशमा साइबर कानून लागू भइसकेको छ ।

लक्ष्मण शर्मा

सर्वसाधारणको जीवनमा इन्टरनेट प्रविधि जोडिएपछिको समयलाई आधुनिक वा वैज्ञानिक युगभन्दा पनि अगाडि बढेर सूचना र प्रविधिको क्रान्तिको युग मानिएको छ । क्रान्तिले आम मानिसको जीवन र जगतलाई कुनै न कुनै हिसाबले प्रभाव पार्दछ । त्यसैगरी हामी सबैको जीवनमा सूचना र प्रविधिको प्रभाव परिसकेको छ ।

शिक्षण–प्रविधि शिक्षक वा विद्यालयले स्वयं आविष्कार गर्ने भन्दा पनि शिक्षण कार्यलाई सहज गराउन काम लाग्ने प्रविधिहरू कक्षाकोठामा भित्रयाउने हो । एउटा अध्ययनले भन्छ, “३० प्रतिशत विद्यार्थीले प्रयोग गर्न सक्ने प्रविधि कक्षाकोठामा भित्रयाउदा हुन्छ, बाँकी विद्यार्थीलाई सिकाउन सकिन्छ ।”

यो युगमा ज्ञानको निर्माण, संग्रहण, परिष्कार र प्रसारको हिसाबले अभूतपूर्व चमत्कार भएको छ । त्यसैले शिक्षा क्षेत्रलाई त्योभन्दा बाहिर लैजानै सकिन्न र लैजानु पनि हुन्न । जसले जति छिटो इन्टरनेट प्रविधिलाई विद्यालय शिक्षा क्षेत्रमा भिœयायो, त्यसैले संसारको उत्कृष्ट शिक्षा दिन सक्छ । सिंगापुर, कोरिया लगायतका ‘एशियन टाइगर’ भनिने देशहरूको शिक्षाले अघिल्लो शताब्दीसम्म संसार चलाउने युरोपियन देशहरूलाई पछाडि छोडेको एउटा कारण उनीहरूले शिक्षामा गरेको सूचना र प्रविधिको प्रयोग पनि हो

– एक्काइसौं शताब्दीको शिक्षाको बारेमा गरिएका अध्ययन र सिफारिशहरूमा युनेस्को लगायत सबै संस्था र विद्वानहरूले शिक्षामा सूचना र प्रविधिको प्रयोगलाई ५ वा ६ वटा क्षेत्रमध्ये एउटा राख्नुपर्ने भनी सिफारिश गरेका छन्

–  नेपालमा पनि शिक्षामा सूचना र प्रविधिको प्रयोग सम्बन्धी नीतिहरू छन् । शिक्षामा सूचना र प्रविधिको प्रयोग सम्बन्धी राष्ट्रिय कार्ययोजना समेत बनिसकेको छ । कक्षा शिक्षण, विद्यालय प्रशासन, दूर र खुल्ला शिक्षा, विशेष शारीरिक अवस्था भएका बालबालिकाको लागि शिक्षामा यसको प्रयोग गरिने नीतिगत व्यवस्था छ । शिक्षा मन्त्रालयले पहिचान गरेका शिक्षकको सक्षमता सम्बन्धी आठ वटा क्षेत्रहरूमध्ये एउटा सूचना र प्रविधिको प्रयोगको क्षेत्र छ । यो सक्षमताको प्रयोग शिक्षकको तयारी, विकास, लाइसेन्सिङ, प्रमोसन सबैतिर लागू गर्ने भनिएको छ । अरू सात वटा क्षेत्रहरूको भन्दा सूचना र प्रविधि क्षेत्रको काम व्यापक रूपमा गरिएको छ । सिकाइको विषयवस्तु निर्धारण गरिकन तिनको विस्तृतीकरण भएको छ । सिकाइको स्तर अनुसार तीन तहका शिक्षक तयार गरिने मात्र नभई सोको तयारीको लागि सिकाइ रणनीति पनि तयार गरिएको छ

– शिक्षामा सूचना र प्रविधिको प्रयोगका पनि आठ वटा उपक्षेत्रहरू निर्धारण गरिएका थिए । तीमध्ये एउटा ‘शिक्षण सिकाइमा सोसल मिडियाको प्रयोग’ हो । त्यसको औचित्यको बारेमा अब आईसीटीको प्रयोग व्यापक हुने भएकोले त्यसको जिम्मेवार प्रयोग महŒवपूर्ण मुद्दा हुनेछ । बालबालिकालाई जिम्मेवारीपूर्वक त्यसको प्रयोग गर्न सिकाउनुपर्दछ । साइबर क्राइम र कानून सिकाउनुपर्छ र अभ्यस्त गराई बानीकै रूपमा विकास गराउनुपर्दछ भनी बहस भएको छ । त्यो संगठित छ ।

– अरू प्रविधिको जस्तै इन्टरनेट प्रविधिका पनि दुइटै धार हुन्छन्– गुणी र वैगुनी । दोष प्रविधिको हैन, चलाउने मानिसहरूको हो । मानिसलाई सत्कर्ममा लगाउने विभिन्न तरिका छन् । कानूनी कारबाही एउटा शक्तिशाली साधन मानिन्छ । हाम्रो देशमा साइबर कानून बनेर क्रियाशील भइसकेको छ । कानूनी बाहेक सामाजिक, राजनीतिक अभियान, धार्मिक सांस्कृतिक गतिविधिहरू, शिक्षा–दीक्षा आदि अरू उपाय हुन् ।

– विद्यालयहरू नागरिकहरूलाई शिक्षा–दीक्षा मार्फत ज्ञानी, सिपालु र असल बनाउने निकाय हुन् । तर आम नागरिक दायित्वबाट शिक्षक विद्यार्थीहरू बाहिरिने कुरै हुन्न । मानमर्यादा भनेको समाजसापेक्ष हुने भएकोले स्थानपिच्छे फरक–फरक होला । शिक्षा–दीक्षा मार्फत नागरिकहरूलाई भविष्यको लागि तयार गर्ने दायित्व बोकेका शिक्षकहरूको आफ्नो आचार, विचार र व्यवहार पनि पक्कै उत्कृष्ट हुनैपर्छ ।

– शिक्षकलाई कसरी समाजले अपेक्षा गरे जस्तो जिम्मेवार बनाउने होला भन्ने प्रश्न अहम् हो । त्यसको लागि संसारले बुझ्ेको शिक्षा-दीक्षा, तालीम, पेशागत विकास कार्यक्रम आदि नै हो । नेपालमा पनि आम बुझइ त्यही नै हो । नेपाल लगायत तेस्रो विश्वका केही प्रशासक र राजनीतिक नेतृत्वका मानिसहरू शिक्षा-दीक्षाले त्यो परिवर्तन ल्याउँछ भन्ने विश्वास गर्दैनन् । प्रविधिको खराब पक्षलाई कम गर्दै त्यसको असल पक्षलाई प्रयोग गरेर राष्ट्र अगाडि बढाउनुपर्दछ भन्ने बुझदैनन् । बरू प्रविधिको उपयोगलाई संकुचित गर्छन् । उनीहरूले समाज बदल्न कानून, प्रहरी, दण्डलाई बढी प्रभावकारी ठान्छन् ।

– हाम्रा अधिकांश राजनीतिक, प्रशासनिक अगुवाहरू प्रविधिको प्रयोगमा अदक्ष छन् । शिक्षक र विद्यालयद्वारा गरिने सूचना र प्रविधि प्रयोगको बारेमा कटु आलोचक रहेका शिक्षा मन्त्रालयका एक जना वरिष्ठ प्रशासकले टाइप गर्न नजानेको मैले आफैंले देखेको छु । काकताली परेको हो कि के हो फेरि तिनै मान्छे शिक्षकको तालिममा भएको खर्चलाई बेकारको मान्छन् र सार्वजनिक रूपमा नै शिक्षक तालिम बन्द गर्नुपर्ने तर्क गर्छन् । सधैं गाडी चढ्नुपर्नेहरूले गाडी ड्राइभ गर्न नजानेको त सबैले देखेकै छौं । अदक्ष हाकिमहरू अशिष्ट हुन्छन्, प्रोत्साहन वा सहजकर्ताभन्दा आदेशकर्ता हुन्छन् ।

– हाम्रो समाज शिक्षामा प्रविधि प्रयोगको बारेमा असहिष्णु नै रहेको छ । संसारभर कक्षाकोठामा रेडियो, टेलिभिजनको प्रयोग भइरहँदा हुर्केका हामीहरू रेडियो सुनेर वा टीभी, भिडियो हेरेर घर र विद्यालयमा धेरै पटक आलोचित दण्डित भएका छौं । अहिले संसारभर कसले शक्तिशाली इन्टरनेटलाई कक्षाकोठामा पु¥याई विद्यार्थी शिक्षकलाई सघाउने भन्ने होडबाजी चलिरहेको बेलामा हाम्रो सरकार नै कहिले कक्षाकोठामा मोबाइल प्रतिबन्ध लगाउँछ, कहिले सामाजिक संजालहरूको प्रयोगमाथि प्रतिबन्ध लगाउन निर्देशन गर्दछ ।

– हाम्रै मुलुकमा स्मार्टफोनको कक्षामा निर्वाध र जिम्मेवार प्रयोग गर्ने विद्यालय पनि रहेछ । सामाजिक संजाल मार्फत शिक्षण सिकाइको संचार गर्नु त सामान्य नै हो । तिनै प्रशासकहरू विभिन्न साहूहरूले व्यावसायिक रूपमा खोलेका यी विद्यालयहरूको गुणगान गाएर बसेको देखिएको छ ।

– नेपाल सरकार, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले १३ कात्तिक २०७५ मा जारी गरेको ‘मार्ग निर्देशन’ एउटा यो यो नगर्नू भन्ने सूचना मात्र हो । यस्तोको लागि प्रयुक्त ‘मार्ग–दर्शन’ शब्द नौलो पनि छ । यसको कानूनी धरातल थाहा छैन, जरूरी पनि छैन । यसले मूलतः मन्त्रालय र आफ्नो संयन्त्रका व्यक्तिहरूलाई नियन्त्रण गर्न खोजेको छ । विद्यालय र शिक्षकहरूको हकमा पनि दुइटा व्यावहारिक प्रश्न उठाएको छ । प्रभावकारी शिक्षण कार्यको लागि सहयोगी हुन सक्ने असंख्य सीप र व्यवहारहरूको बारेमा मौन बसेको छ ।

– शिक्षक सीपले तयार नभए तयार गर्ने, इन्टरनेटको जिम्मेवार प्रयोगकर्ता बनाउने काम शिक्षक विकासको कार्यक्रम हो न कि प्रशासनिक मुद्दा । शिक्षकहरूलाई नै आचारसंहिता वा पेशागत मापदण्डहरू वा नैतिक मापदण्डहरू निर्माण गराएर व्यवहारमा लागू गराउनु जति दिगो र जायज अरू केही हुनै सक्दैन । यसको लागि शिक्षक महासंघ वा युनियनहरूलाई अनुरोध गर्न सकिन्छ ।

– शिक्षकहरूले त्यसरी आफूलाई सुधार गरी सामाजिक संजालको प्रयोगलाई परिपक्व बनाएमा विद्यार्थीहरूको अतिरिक्त समाजका सबैलाई फाइदा हुन्छ । त्यसो नगरी आफूखुशी मनलाग्दी गरेमा कानून बमोजिम व्यहोर्नुपर्दछ । तिनको संरक्षणमा युनियनहरू लाग्नु पनि हुन्न लागेका पनि छैनन् । कानून माथि कानूनको खात लगाउनु जरूरी छैन । भएका कानूनहरू नयाँ नै छन्, समयसापेक्ष नै छन् । तिनलाई पूर्णतया पालना गराउँदा पुग्छ ।

            (अध्यक्ष, नेपाल राष्ट्रिय शिक्षक संगठन, राष्ट्रिय समिति)

           २०७५ मंसीर अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/