तपाईं शिक्षक हो मान्यवर ?

by • • Highlight, UncategorizedComments (0)333

Print Friendly, PDF & Email

– मुकुन्दराज शर्मा
‘तपाईं’ पात्रले ‘म’ पात्रलाई सोध्यो– “मान्यवर ! तपाईं अध्यापक हो ? अर्थात् तपाईं बालबालिकाको गुरु हो ?” ‘म’ पात्रले सौम्य भावमा अधरमा हलुका मुस्कान छर्दै प्रतिप्रश्न ग¥यो, “किन भद्रजन ? के म कायरजस्तो देखिन्छु ? अथवा म थाकेको, हारेको, मानिस जस्तो देखिन्छु ?”

पूर्वको नीलो आकाशलाई विस्तारै रक्तिम पार्दै निस्किने घामझैं सुस्तसुस्त छुकछुकाउँदै मिर्मिरे उज्यालोमा हाम्रो रेलगाडी स्टेसन पछाडि छोड्दै अगाडितिर हुत्तिन थाल्यो । सबै यात्रु आ–आफ्नो स्थानमा बस्न भ्याइसकेकै थिएनन् । कोही आफ्नो सिट खोज्दैथिए, कोही अरूकै छेउमा अलिकति टुसुक्क बस्न खोज्दैथिए, कोही भने निदाउन शुरू गरिसकेका थिए । झयालबाट बाहिर प्रातः कर्ममा निस्किएका विभिन्न मानिसका थरीथरीका क्रियाकलाप देखिन थालिसकेका थिए ।

शिरबाट जोशको धुवाँ ओकल्दै गड्गडाहट मच्चाउँदै बतासको फाँटलाई चिरेर अब हाम्रो रेल सुइँकुच्चा ठोक्न थाल्यो । विद्युत्का खम्बा, रूख, घरहरू पनि हौसिएर हाम्रो विपरीत दिशामा दगुर्न थाले । दायाँबायाँतिर पानीभित्र डुबेर ठिङ्ग उभिने प्रयास गर्दै गरेका कलिला धानका बोट, हरिया आली, निथ्रुक्क भिजेको बिहानी, परबाट एउटा धमिलो खोला बग्दै गरेको देखियो । घरीघरी यो रेल पनि त त्यही खोलाजस्तै सर्प रूप भएर दगुर्छ । कतै पुगेर त्यही खोलालाई नाघेर हामी जानेछौं ।

आमुन्नेसामुन्नेका सिटमा एकअर्कासँग लम्ब रेखामा आँखा जुध्ने गरी ‘म’ पात्र र ‘तपाईं’ पात्र बसेका छन्, चूपचाप, केही नबोली । परिचय गर्ने बेला भएकै छैन, शायद केही नबोली यात्रा टुङ्गिन पनि सक्छ । यो यात्रा कहाँबाट शुरू भयो र कतिबेरपछि कहाँ पुगेर टुङ्गिन्छ, त्यसको यहाँ कुनै महत्व छैन । रेल दौडिरहेको छ, जरूरी कुरा त्यति हो । ठाउँठाउँमा रेल रोकियो, कति यात्रु ओर्लिए अनि फेरि कति चढे । कतिले चिया किनेर फेरि भित्र आए, कतिले चिसो पेय किने, कसैले उपन्यास किने, कसैले अखबार । कोही आफ्नै स्थानमा निदाइरहे, कसैले उभिएरै यात्रा गरे, कोही भुइँमै थचक्क बसे, कोही अरूको छेउमा टुसुक्क । यी यात्राका निरन्तर तरिकाहरू हुन् । हेक्का राख्नुपर्ने कुरा यत्ति हो कि धेरैबेरदेखि ‘म’ पात्र र ‘तपाईं’ पात्र एकअर्काका सामुन्ने चूपचाप बसेर यात्रा गरिरहेका छन् ।

बाटो धेरै कटिसक्यो, गन्तव्यसम्मको दूरी धेरै घटिसक्यो । अचानक मौनताको शृङ्खलालाई तोडेर ‘तपाईं’ पात्रले ‘म’ पात्रलाई सोध्यो– “मान्यवर ! तपाईं अध्यापक हो ? अर्थात् तपाईं बालबालिकाको गुरु हो ?”
‘म’ पात्रले सौम्य भावमा अधरमा हलुका मुस्कान छर्दै प्रति प्रश्न ग¥यो, “किन भद्रजन ? के म कायरजस्तो देखिन्छु ? अथवा म थाकेको, हारेको, विशृङ्खलित भएको मानिस जस्तो देखिन्छु ? तपाईंलाई कसरी लाग्यो कि म अध्यापक नै हुनुपर्छ ?”
“त्यो त शिक्षकहरूप्रति हेय भावले बनाइएको परिभाषा वा अझ् भनौं शिक्षकको अनादरपूर्ण व्याख्या मात्र हो । तर, म यकिनका साथ भन्न सक्छु कि तपाईं गुरु हो ।”

“किन र कसरी ? विस्तारमा भन्नुहोस् त भद्रजन ।” ‘म’ पात्रले जिज्ञासा राख्यो ।
‘तपाईं’ को उत्तर थियो— “मान्यवर, यति आत्मविश्वासी, शान्त, प्रसन्न, आफ्नै जीवनदेखि दंग, प्रफुल्लित व्यक्ति प्रथमतः अध्यापक अर्थात् गुरु नै हुन्छ । तपाईंलाई धेरैबेरदेखि मैले हेरिरहेको छु, यति अविचलित, अखण्डित भाव तपाईंका आँखामा छन् । निसङ्कोच र स्थिर छन् ती आँखाहरू ।”

“ए हो र ?” खिस्स हाँसो फुस्काएर ‘म’ फेरि प्रश्नवाचक बन्यो ।
“हो मान्यवर !” ‘तपाईं’ ले फेरि कुरा अघि बढायो । “तपाईंले केही नबोल्दा नबोल्दै पनि म जिज्ञासु भएको छु । जिज्ञासाले मानिसलाई निष्कर्षमा पु¥याउँछ भन्ने कतै पढेको थिएँ । मलाई पनि यो भनाइमा विश्वास छ । यो जिज्ञासाको भोक केवल गुरुले मात्रै जगाउन सक्छन् । गुरुका छेउमा मानिस झ्न् झ्न् तृषित र जिज्ञासु बन्छ ।

मैले यतिन्जेलको यात्रामा तपाईंको एउटा क्रियाकलापबारे धेरै गम्भीरतापूर्वक विचार गरें र म पनि जिज्ञासु भएँ ।”
“अहो भद्रजन, मबाट कुनै त्रुटि त भएन नि ?” ऊ अलि सम्हालियो ।

“कहाँ त्यस्तो हुनु मान्यवर ?” ‘तपाईं’ पात्रले मुस्कुराउँदै भन्यो । “मैले तपाईंलाई त्यो रेलको कर्मचारी जसले टिकट जाँच्ने काम गर्छ, ऊ तपाईंको सामुन्ने पुग्दा तपाईंले दुई हात जोडेर उसलाई अभिवादन गरेको देखी म अक्कनबक्क भएँ । एउटा अपरिचित व्यक्ति जोसँग फेरि लिनुदिनु केही छैन, उसको व्यक्तित्व र उसको पेशालाई त्यसरी हृदयदेखि नै सम्मान गरेर नमस्कार गरेको देख्दा मलाई तपाईं शिक्षक नै हुनुपर्दछ भन्नेमा कुनै संशय रहेन मान्यवर ।”

“शिक्षक ज्ञानी हुन्छन्, आफ्नो विषयमा निपुण, वाचालको कलाकौशल भएका हुन्छन्, कोही विद्याका तपस्वी हुन्छन् । तर के सबै शिक्षक उत्तिकै गुणी हुन्छन् भन्ने छ र ? यदि आत्मा र मस्तिष्कको घूलन भयो भने मस्तिष्कले त्यही गर्छ जे आत्माले अह्राउँछ । गुणी मानिस बन्न आत्मा पवित्र हुनुपर्दछ । चित्त शुद्ध भयो भने मस्तिष्क धमिलो हुँदैन । त्यो खोला अहिले धमिलो छ, तर त्यसलाई सङ्लो नभई सुखै छैन । त्यसैले म त्यो खोलाको आत्मा सङ्लो नै भएर बगिरहेको देख्दैछु ।”
“तर त्यो खोला किन यसरी चञ्चल भएर दौडिरहेको छ त मान्यवर ?”

“भद्रजन, त्यसमा हडबडाहट छ, मन अस्थिर छ । स्थिर मन, गतिशील कर्म र विश्रान्ति कर्मको परित्याग भन्ने त्यसले बुझ्ेन ।”
“त्यसो भए शिक्षा के हो र शिक्षक को हो त मान्यवर ?”

“शिक्षा तपस्या हो । एकाग्र भएर र परिश्रमी बनेर मात्र शिक्षा हासिल हुन्छ । स्थिर मनले मात्रै एकाग्रता हासिल हुन्छ, मन एकाग्र छ भने बल्ल शिक्षा ग्रहण गर्न सकिन्छ । शिक्षाले ज्ञान दिन्छ । ज्ञान पानी झ्ैं सङ्लो हुन्छ । सङ्लो पानीले आत्मालाई पखालेर शुद्ध बनाउँछ र सङ्लो मनबाट पवित्र विचारहरू नै निसृत हुन्छन् । त्यस्तै शिक्षक त्यो ज्ञानी–गुणी व्यक्ति हो जसको संसर्गले मानिसमा चेतना अभिवृद्धि हुन्छ, अज्ञानता मेटिन्छ, कला र सीपको विकास हुन्छ, जसका दुई वचनले मनको मयल पखालिन्छ र जीवन शीतमा नुहाएर निस्किएको फूल झैं हुन्छ । शिक्षकलाई कुनै परिभाषाले बाँध्न सकिन्न । ऊ समुद्र हो । जसरी समुद्रको बीचमा उभिएर त्यसको किनार पहिल्याउन सकिन्न । त्यसरी नै शिक्षकको पनि गहनताको वर्णन गर्न सकिन्न ।”
“मान्यवर, त्यो अघिको टिकट जाँचकी ?”

“मैले उसको आत्मसम्मान र कर्तव्यपरायणतालाई नमन गरेको हुँ । यदि यी दुई गुण उसबाट झ्कििदिने हो भने ऊ मेरा लागि फगत मानवस्वरूप हुनेछ ।”
‘तपाईं’ पात्रले ‘म’ पात्रलाई प्रणाम गर्दै भन्यो, “मान्यवर, मेरा मनका आँखाले गुरुलाई चिन्न धोका खाएका रहेनछन् । म धन्य भएँ । मेरो गन्तव्य भेटियो । अब म ओर्लिन्छु ।”
रेल आँखाबाट ओझेल नपरुन्जेल उसले टेसनमा उभिएर हेरिरह्यो ।
                      प्रिन्सिपल, लिटिल एन्जल्स स्कूल, हात्तीवन, ललितपुर

Related Posts

/*sign up form*/