स्थायी गरिदिंदा हुँदैन ?

by • • जिज्ञासा जवाफComments (0)2635

…स्थायी गरिदिंदा हुँदैन ?

२०५२ सालको शिक्षक सेवा आयोगमा वैकल्पिक उम्मेदवारको सूचीमा परेका शिक्षकहरूलाई शिक्षा ऐन २०२८ लाई संशोधन गर्ने विधेयकमा केही बुँदा थप गरी प्रक्रियाको दायराभित्र राखेर एक पटकको लागि स्थायी गर्दा हुँदैन ? त्यस्ता शिक्षकको बिदाइका सम्बन्धमा विभागको तयारी के छ ?

नोचबहादुर गुरुङ

इन्द्रायणी प्रावि, लेनपा–९, कास्की

२०५२ सालको शिक्षक सेवा आयोग अर्थात् स्थायी शिक्षक नियुक्तिका लागि भएको विज्ञापनको नतीजा प्रकाशित हुँदा वैकल्पिक सूचीमा परेका व्यक्तिका हकमा नियुक्ति पत्र बुझ्ेको मितिले एक वर्षभित्र (कुनै शिक्षकले छाडेर) पद रिक्त हुन गएमा मात्र वैकल्पिक उम्मेदवारले नियुक्ति प्राप्त गर्न सक्ने प्रावधान भएकाले सोही बमोजिम भएको व्यहोरा जानकारी गराइन्छ । शिक्षा ऐन (प्रस्तावित संशोधन) को विधेयक हाल व्यवस्थापिका संसद्मा छलफलको क्रममा रहेको छ । सो विधेयक पारित भएपछि त्यसमा भएका प्रावधानको कार्यान्वयन हुने नै छ ।

तेजप्रसाद काफ्ले

उपनिर्देशक, शिक्षा विभाग

 

नेपाल–तिब्बत युद्ध

कक्षा ८ को सामाजिक अध्ययन र जनसंख्या किताबको पेज नं. १०६ मा ‘राणाकालीन राजनीतिक क्रियाकलाप’ पाठमा नेपाल–तिब्बत युद्ध (वि.सं. १९१२–१९१३) सम्म भएको हो भनिएको छ । तर थापाथली सन्धिमा वि.सं. १९१२ चैत्र ३ गते भएको उल्लेख गरिएको छ । नेपाल–तिब्बत युद्ध कहिले भएको हो ?

मेनुका कार्की

खाटमन्दिर निमावि, वागचौरी–१५, उदयपुर

 

नेपाल–तिब्बत युद्ध वि.सं. १९११–१९१२ मा भएको हो । किताबमा गल्ती लेखिएकै हो । त्रुटि औंल्याइदिनुभएकोमा धन्यवाद ! आगामी संस्करणमा सुधार गरिने जानकारी गराइन्छ ।

हेमराज खतिवडा

पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

 

ग्रेड संख्या कति हो ?

म २०३६ मा प्रावि तृतीय श्रेणीमा स्थायी भई २०६८÷८÷२२ देखि द्वितीय श्रेणीमा बढुवा भएको शिक्षक हुँ । मैले हाल खाईपाई आएको ग्रेड संख्या ७ हो । मैले पाउनुपर्ने ग्रेड संख्या कति हो ?

सूर्यकुमार कार्की

खाटमन्दिर निमावि, वागचौरी–१५, उदयपुर

 

२०३६ मा स्थायी भई २०६८÷८÷२२ मा प्राथमिक तहको तृतीय श्रेणीबाट द्वितीय श्रेणीमा बढुवा हुने प्राथमिक तहको शिक्षकको बढुवा हुँदा प्राथमिक तृतीय श्रेणीको अन्तिम ग्रेड २०५७÷४÷१ भन्दा अघि तालीमप्राप्त भए रु.१८७० र तालीम अप्राप्तको रु.१६५० हुन्छ । २०६८÷८÷२२ मा प्राथमिक तृतीय श्रेणीको तलब स्केल र द्वितीय श्रेणीको तलब अन्तर रु.८३० भएकाले तालीमप्राप्तको खाईपाई आएको तलबमा रु.१०४० कम हुने र ग्रेड समायोजन गर्दा १० ग्रेड कायम हुन्छ । शिक्षा नियमावलीको नियम १०२ अनुसार २०७० वैशाख १ बाट मात्र ग्रेड थप हुँदै जाँदा २०७१÷१÷१ मा १२ ग्रेड हुन्छ । ग्रेड रकम वृद्धि साथै २०७१÷४÷१ बाट १२ ग्रेड समायोजन भई ६ ग्रेड हुन्छ । र २०७२÷१÷१ बाट ७ ग्रेड हुन्छ । तर २०५७ असार मसान्तपछि तालीम लिएको वा नलिएको हकमा ६ ग्रेड मात्र कायम हुने जानकारी गराइन्छ ।

होमनाथ न्यौपाने

उपनिर्देशक, विद्यालय शिक्षक किताबखाना

 

को वरिष्ठ हुन्छ ?

२०६० र २०६३ सालमा माध्यमिक तृतीय श्रेणीमा स्थायी नियुक्त दुई शिक्षकमध्ये पहिलो शिक्षकको २०५३ सालदेखि निम्नमाध्यमिक द्वितीय श्रेणीमा अस्थायी सेवा निरन्तरता र दोस्रो शिक्षकको २०५१ देखि माध्यमिक तृतीय श्रेणीमा अस्थायी सेवा निरन्तरता भए विद्यालयको रिक्त प्रधानाध्यापक पदमा कामकाज गर्न को वरिष्ठ हुन्छ ? पहिलो शिक्षकको निम्नमाध्यमिक द्वितीय सेवाको अंक शिक्षक सेवा आयोगको नियम २९ मा ज्येष्ठताबापत अस्थायी सेवा अवधिको प्रत्येक वर्षको १.२५ का दरले प्राप्त हुन्छ कि हुँदैन ?

रामहरि ढकाल

विश्वनिकेतन उमावि, त्रिपुरेश्वर, काठमाडौं

 

शिक्षकको नियुक्ति मितिका आधारमा ज्येष्ठता गणना हुने हुँदा स्थायी नियुक्तिको आधारमा २०६० को नियुक्ति हुने शिक्षक २०६३ मा नियुक्त भएका शिक्षकभन्दा बढी सेवा अवधिका कारण ज्येष्ठता भएको मानिन्छ । फेरि शिक्षक बढुवा हुँदा ज्येष्ठताबापतको अंकका लागि सम्बन्धित तहमा अस्थायी रूपमा कार्य गरेको खण्डमा मात्र प्रत्येक वर्षको १.२५ अंकका दरले अंक प्राप्त हुने भएकाले माध्यमिक तहको शिक्षकलाई निम्नमाध्यमिक तहमा अस्थायी सेवा गरेको अवधिको अंक गणना गर्न मिल्दैन ।

तेजप्रसाद काफ्ले

उपनिर्देशक, शिक्षा विभाग

 

पृथ्वीको व्यास कति हो ?

कक्षा ७ को विज्ञान तथा वातावरण किताबको एकाइ–२० मा ‘पृथ्वी र अन्तरिक्ष’ पाठमा पृथ्वीको व्यास १२ हजार ६७२ किलोमिटर भनी लेखिएको छ । त्यस्तै कक्षा ६ को विज्ञान तथा वातावरण किताबको एकाइ–१७ को ‘पृथ्वीको बनावट’ पाठमा पृथ्वीको व्यास १२ हजार ८०० किलोमिटर उल्लेख छ । त्यसैगरी सामान्यज्ञानमा पृथ्वीको व्यास १२ हजार ७५६ किलोमिटर छ । यीमध्ये कुन चाहिं सही हो ?

अशोक दाहाल

जनता निमावि थाक्ले–४, ओखलढुंगा

 

पृथ्वीको ब्यास भूमध्यरेखामा बढी र ध्रुवमा कम हुन्छ भन्ने कुरा त यहाँलाई थाहा होला । पृथ्वीको भूमध्यरेखीय व्यास १२ हजार ७५६ किलोमिटर हो । तर जति जति ध्रुवतिर गयो पृथ्वीको व्यास कम हुँदै जान्छ । जहाँसम्म कक्षा ६ को विज्ञान तथा वातावरण विषयमा लेखिएको पृथ्वीको व्यास करीब १२ हजार ८०० किलोमिटर सालाखाला रूपमा लेखिएको तथ्यांक हो । त्यसैगरी कक्षा ७ को पाठ्यपुस्तकमा लेखिएको पृथ्वीको व्यास १२ हजार ६७२ किलोमिटर भने त्रुटि हो । यसलाई छिट्टै सच्याइने कुरा समेत जानकारी गराउँदै सबै शिक्षक साथी तथा विद्यार्थीलाई सच्याएर बुझन र अध्ययन गर्न अनुरोध छ ।

पुष्पराज ढकाल

पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास

 

कक्षा ९–१० मा कति घण्टा पठनपाठन गर्नुपर्ला ?

साउन महीनाको शिक्षक मासिक पत्रिकामा एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खुल्नुपर्ने र १९२ दिन पढाइ हुनुपर्ने उल्लेख गरेको छ । यस हिसाबले कक्षा १–३ मा वार्षिक ८१६ घण्टा, कक्षा ४–५ मा ९३६ घण्टा, कक्षा ६–८ मा १०५० घण्टा पठनपाठन गर्नुपर्नेछ । यस हिसाबले कक्षा ९–१० मा कति घण्टा पठनपाठन गर्नुपर्ला ? यो घण्टा निकाल्ने सूत्र के होला ?

लाखपत चौधरी

सार्वजनिक निमावि लक्ष्मीपुर, कोद्राह–४, सर्लाही

 

कक्षा ९ र १० का लागि नयाँ पाठ्यक्रमले साधारणतर्फ साप्ताहिक ४० घण्टी अर्थात् ३० घण्टा र वार्षिक ३२ हप्ता अर्थात् ९६० घण्टा पठनपाठन गर्नुपर्ने व्यवस्था गरेको छ । यसैगरी मूल्यांकनका लागि १०४ घण्टा छुट्याएको छ । यस आधारमा जम्मा १०६४ घण्टा निर्धारण भएको देखिन्छ । चौधरीजीले सोध्नुभएको जस्तो सूत्र नै भन्ने भन्दा पनि पाठ्यक्रमबाट पाठ्यभार÷पाठ्यघण्टा वा सिकाइ सहजीकरण क्रियाकलापको आधारमा समय निर्धारण गर्न सकिन्छ ।

गेहनाथ गौतम

उपनिर्देशक, पाठ्यक्रम विकास केन्द्र

 

कापी परीक्षणमा पयो कि परेन होला ?

शिक्षक सेवा आयोगको परीक्षामा पेन्सिल प्रयोग गर्न नपाइने नियम रहेछ । तर मैले विषयगत प्रश्नतर्फ मार्जिन र चित्र बनाउन पेन्सिलको प्रयोग गरें । त्यसैले मेरो कापी परीक्षणमा प¥यो कि परेन होला ?

राम प्रमोद राय

बौद्ध भुवनेश्वरी मावि, यलुङ, दोलखा

 

यदि तपाईंले मार्जिन र चित्र बनाउन मात्रै पेन्सिलको प्रयोग गर्नुभएको भए तपाईंको कापी अवश्य नै परीक्षणमा पर्छ ।

लक्ष्मीराम पौडेल

प्रशासकीय प्रमुख, शिक्षक सेवा आयोग

 

चिउराको नै तौल हो

कक्षा ५ को गणित विषयको पाठ–११ को ‘तौल’ शीर्षक अन्तर्गत प्रश्न नं. ८ मा अगाडि चिउराको तौल भनिएको छ । तर चिउराको तौल हुनुपर्नेमा सोही प्रश्नमा स्याउको तौल भनिएको छ । चिउराको तौल हुनुपर्ने होइन ?

रमेश खत्री

सम प्रावि, डुम्रिखर्क, रामेछाप

 

किताबमा चिउराको तौल लेखिनुपर्नेमा स्याउको तौल लेखिन गएछ । त्यसैले तपाईंले भन्नुभए जस्तै किताबमा गल्ती लेखिएकै हो । त्रुटि औंल्याइदिनुभएकोमा धन्यवाद ! आगामी दिनमा उक्त गल्ती सच्याउनेछौं ।

हरिश पन्त

पाठ्यक्रम अधिकृत, पाठ्यक्रम विकास केन्द्र

 

Related Posts

/*sign up form*/