किन हुन्छ शिक्षकमाथि आक्रमण ?

by • • चिन्तनComments (0)1353

Print Friendly, PDF & Email

टिप्पणी
किन हुन्छ शिक्षकमाथि आक्रमण ?
राजकुमार ढुंगाना

शिक्षकमाथि हुने हिंसाको असर दूरगामी हुन्छ । सम्भाव्य हिंसाको डर अथवा असुरक्षा भावले गर्दा शिक्षकहरू शिक्षण क्रियाकलाप गर्दा आफैंले आफ्नो विचार, भनाइ र स्वतस्फूर्त हुने स्वतन्त्र क्रियाकलापलाई नियन्त्रण (सेन्सर) गर्न बाध्य हुन्छन् ।
विद्यालयमा शिक्षकमाथि हुने आक्रमण तथा हिंसात्मक घटना अन्य मुलुकमा जस्तै नेपालमा पनि नौलो छैन । केही दशकयता नेपालमा शिक्षकलाई विद्यालयमा विद्यार्थी, अभिभावक आदिले आक्रमण गर्ने, आरोप लगाउने, मानसिक तथा शारीरिक यातना दिने जस्ता क्रियाकलाप बढ्दै गएको पाइन्छ । शिक्षकमाथि भएका हिंसाका केही पछिल्ला उदाहरण हेरौं ।

for rajkumar dhungana copy-minछोरो कुटेको भन्दै अभिभावकले शिक्षक कुटे
भोजपुर, १ जेठ २०७१
विद्यालयमा छोरो कुटिएको आरोपमा एक अभिभावकले विद्यालयमै आएर शिक्षकलाई कुटपिट गरेका छन् । भुल्के गाविसस्थित पञ्चकन्या उमाविका विज्ञान शिक्षक श्यामसुन्दर साहलाई मंगलबार अपराह्न धोद्लेखानी–३ का कृष्ण थापा मगरले पिटेका हुन् । कक्षा ९ मा पढ्ने छोरालाई साहले कुटेको आरोप मगरको छ ।
स्रोतः कान्तिपुर दैनिक
शिक्षकमाथि हातपात
प्रकाश सिंह, बाजुरा
२०७२ मंसीर २ गते बाजुराको बारविस गाविसको त्रिशक्ति उमाविमा कार्यरत एकजना शिक्षकमाथि हिजो साँझ् हातपात भएको छ । विद्यालयबाट घर फर्कने वेलामा देबलसैनमा स्थानीय शिक्षक प्रसाद पाध्यमाथि हातपात भएको हो । मदिरा खाएका स्थानीय नवराज खनाल र नर रावलले चुनावमा एमालेको प्रचार गरेको भनेर कुटपिट गरेको पीडित शिक्षकले जानकारी दिनुभयो । चुनावको विषयलाई लिएर केही दिनदेखि बारविस गाविसमा स्थानीयबीच झ्डप भइरहेको स्थानीयले बताए ।
स्रोतः दिनेश एफ.एम, धनगढी

बन्दकर्ताद्वारा शिक्षकमाथि दुव्र्यवहार; गाडी तोडफोड
मंगलबार, २०७१ पुस २९ गते
तीस दलीय मोर्चाका कार्यकर्ताले विराटनगर उमनपा–३ सोमबारे हाटस्थित सिटी कलेजका शिक्षक माथि कुटपिट तथा दुव्र्यवहार गर्नुका साथै कम्पाउण्डमा राखिएका गाडी तोडफोड गरेका छन् ।
स्रोतः इन्सेक अनलाइन डट ओआरजी
उल्लिखित घटनाहरू शिक्षकमाथि हुने गरेका केही प्रतिनिधि मात्र हुन् । बाहिर जति संख्यामा हिंसाबाट पीडित शिक्षक देखिन्छन् त्योभन्दा धेरै बढी शिक्षक हिंसाको मारमा परिरहेका हुन्छन् । विद्यालयको आन्तरिक मामिला, विद्यालयको इज्जत र प्रतिष्ठाको विषय आदि भनेर शिक्षकमाथि हुने हिंसाका यस्ता धेरै घटना बाहिर ल्याइँदैन वा ल्याउन दिइँदैन । पीडित शिक्षकले पनि यस्ता कुरा बाहिर ल्याउँदैनन् । किन भने यस्ता कुरा बाहिर आएपछि शिक्षकले न्याय पाउने भन्दा आफ्नै खिसीटिउरी हुने, बेइज्जत हुने वा बद्नाम हुने सम्भावना बढी हुन्छ । त्यसकारण प्रायः हिंसा पीडित शिक्षकहरू आफ्ना चोट तथा आफूमाथि भएका अन्याय मनमै गुम्साएर राख्न बाध्य हुने गर्छन् ।

हिंसाका कारण र परिणाम
विगत एक वर्षमा सञ्चारमाध्यममा आएका समाचारको विश्लेषण गर्दा शिक्षकमाथि कुटपिट तथा हिंसा हुनुका प्रमुख कारण निम्न देखिन्छन्ः बन्दको समयमा विद्यालय खोल्नु, विद्यार्थीलाई बन्दको विरोधमा सघाउनु, विद्यार्थीलाई चिट चोर्न नदिनु, व्यवस्थापन समिति वा प्रधानाध्यापकसँग विवाद गर्नु, विद्यार्थीलाई सजाय र यातना दिनु, कुनै निश्चित दलको पक्ष लिनु वा सहयोग गर्नु, चन्दा नदिनु, विद्यार्थीले भनेजति नम्बर नदिनु, विद्यार्थीले चुरोट खैनी खाएको कुरा हेडसर वा अभिभावकलाई भनिदिनु आदि ।
शिक्षित समुदाय, त्यसमा पनि शिक्षक जस्तो समाजलाई मार्गदर्शन गर्ने वर्गमाथि यस किसिमका आक्रमण किन भैरहेका छन् त ? के यस्ता घटना विश्वमा अन्यत्र पनि घट्छन् ? यस्ता घटना घट्नु समाजको सामान्य संयोग मात्र हो या यसका केही महŒवपूर्ण कारण छन् ? यो महŒवपूर्ण प्रश्न हो ।

बढ्दो क्षेत्रीय तथा जातीय पहिचान तथा सोचमा वृद्धि
२०७२ जेठदेखि कात्तिकसम्म लेखक स्वयंले तराई र पहाडका विद्यालयहरूमा हुने हिंसा सम्बन्धी अनुसन्धान गर्ने क्रममा भेटिएका केही तथ्य यहाँ प्रस्तुत गर्नु सान्दर्भिक हुन्छ । अध्ययनबाट; नेपाली समाजका खासगरी मधेशी, थारू आदि समुदायमा सामूहिक पहिचानको चेतनामा वृद्धि भएको देखियो । यसको फलस्वरूप ती समुदायहरूमा आफ्नो भाषा, धर्म, परम्परा, भेषभुषा आदिप्रतिको माया तथा आकर्षण पहिलेको तुलनामा निकै बढेको छ । आफ्नो जातिको परम्परा र संस्कृति के हो, हामीले कसको पूजा गर्छौं, हाम्रो इतिहास, पुर्खा तथा थातथलो कहाँ हो भन्ने जस्ता विषयमा शिक्षक तथा विद्यार्थीमा समेत चेतना बढ्दै गएको छ । यो आफैंमा एउटा उत्साहजनक पक्ष हो । तर यसको उज्यालो पक्ष मात्र छैन । यसको अर्को पाटोमा के देखियो भने विद्यालयमा जातीय तथा क्षेत्रीय विषयमा विभाजन पनि बढ्दै गएको छ । सामुदायिक सहभाव, एकता तथा द्विपक्षीय सहकार्य कमजोर हुँदै गइरहेको देखिन्छ । कृषिमा रहेको निर्भरता विस्तारै कम हुँदै जानु, वैदेशिक रोजगारीका कारण समाजका सबै वर्गमा नगद आम्दानीको उपलब्धता बढ्नु र एकपक्षको वर्गीय, क्षेत्रीय वा जातीय बोलवाला कम हुँदै जानु आदि यसका कारक हुन् । तर यस विषयमा विस्तृत अध्ययन आवश्यक देखिन्छ ।
अध्ययनका क्रममा; जातीय तथा क्षेत्रीयतावादी सोच कतै बढी र कतै कम पाइयो । तर पनि यसले हाम्रो समाज र विद्यालयमा महत्वपूर्ण विषयको रूपमा प्रवेश पाइसकेको छ । समाजमा रहेका विविध भाषाभाषी, जातजाति र कुनै खास क्षेत्रमा बसोबास गर्ने समूहबीचको सम्बन्ध पहिलेभन्दा तरल भएको छ; साथै क्षेत्रीय र साम्प्रदायिक सोचमा महसूस गर्न सक्ने गरी उल्लेख्य मात्रामा वृद्धि भएको छ ।
यसै सन्दर्भमा गरिएको छलफलमा कपिलवस्तुका एक जना शिक्षकले भन्नुभयो, “पहिले गाली गर्दा वा सजाय दिंदा विद्यार्थीको उमेर र लिंग मात्र हेरे पुग्थ्यो; अहिले ऊ कुन क्षेत्र र समुदायको हो भनेर हेर्नु पनि अनिवार्य भएको छ । किन भने अहिले कक्षामा हुने सानो घटनाले सजिलै क्षेत्रीय वा साम्प्रदायिक रूप लिन थालेको छ ।” काभ्रे र ललितपुरका शिक्षकले पनि यस्तै प्रकारको विचार राखेको पाइयो । यसबाट के देखिन्छ भने सामुदायिक पहिचान तथा साम्प्रदायिक सोच विद्यालयभित्र मौलाउँदै गएको छ । कतै यो निकै कम मात्र होला भने कतै बढी । यस्ता सोचले शिक्षकलाई के फरक पार्छ त ? आफ्नो नाम नछाप्ने शर्तमा तिनै शिक्षकमध्येका एक जना भन्छन्, “आजभोलि कक्षामा एउटा समुदायका विद्यार्थी कक्षाको एउटा लहरमा र अर्को समुदायका अर्को लहरमा बस्न थालेका छन् । उनीहरूलाई आफ्नै समुदायका शिक्षकले तह लगाए भने सक्छन् अन्य समुदायको शिक्षकलाई त उनीहरूले टेर्दै टेर्दैनन् । पहिला विद्यार्थी हामीसँग डराउँथे, अहिले हामी उनीहरूसँग डराउनुपर्छ । अझ्, यदि बलियो समुदायको विद्यार्थी छ भने उसलाई सकेसम्म नचलाउनु राम्रो हुन्छ । त्यसमा पनि कक्षा ८ देखि १२ सम्मका किशोरावस्थाका विद्यार्थीबाट त झ्न् बढी खतरा छ ।”
यसरी विद्यालयमा शिक्षकले असुरक्षा महसूस गर्नुपर्ने अवस्था सिर्जना हुँदै जानु गम्भीर चिन्ताको विषय हो । यसमा पनि जातीय, क्षेत्रीय र भाषिक आधारमा साम्प्रदायिक भावनामा वृद्धि हुँदै जानु झ्न् डरलाग्दो कुरा हो । यसलाई थप मलजल गर्ने अन्य तत्वहरू पनि विद्यालयमा छन् । जस्तै विद्यालयमा हुने राजनीतिक हस्तक्षेप, विद्यालयको अपारदर्शी निर्णय प्रक्रिया, समाजमा खस्कँदै गइरहेको परम्परागत अनुशासन र मूल्य–मान्यता, विद्यालय व्यवस्थापन समिति, शिक्षक र कर्मचारीबीचमा आपसी एकताको अभाव तथा बढ्दो गुटबन्दी आदि । यसरी शिक्षकमाथि असुरक्षा बढ्दै गएको भएतापनि यसको रोकथामका लागि कुनै प्रष्ट नीतिगत व्यवस्था भने गरिएको छैन ।
विद्यालयलाई हिंसाबाट मुक्त राख्नका लागि निर्माण गरिएका नीति तथा कार्यक्रमहरूले शिक्षक स्वयंलाई ‘सम्भावित पीडित’ भन्दा पनि ‘विद्यार्थीमाथि हिंसा गर्ने पीडक’ को रूपमा प्रस्तुत गरेका छन् । शक्ति सम्बन्धको हिसाबले यो धेरै हदसम्म सत्य पनि हो । बालमैत्री शिक्षण, भयरहित शिक्षण, विद्यालय शान्ति क्षेत्र जस्ता अवधारणाले विद्यार्थीलाई सिकाइको केन्द्रमा राख्ने र कुनै पनि किसिमको सजाय नदिइकन पठनपाठन गराउने लक्ष्य लिएका छन् । यसले विद्यार्थीमाथि हुने सम्भावित सबै प्रकारका हिंसालाई निषेध गर्ने लक्ष्य लिएको छ । तर ‘शिक्षकमाथि हिंसा हुन्छ’ भन्ने मान्यताबाट कुनै पनि नीतिगत व्यवस्था गरिएको छैन ।

शिक्षकमाथि हुने हिंसाको परिणाम
शिक्षकमाथि हुने हिंसाको असर दूरगामी हुन्छ । सम्भाव्य हिंसाको डर अथवा असुरक्षा भावले गर्दा शिक्षकहरू शिक्षण क्रियाकलाप गर्दा आफैंले आफ्नो विचार, भनाइ र स्वतस्फूर्त हुने स्वतन्त्र क्रियाकलापलाई नियन्त्रण (सेन्सर) गर्न बाध्य हुन्छन् । एउटा क्षेत्री समुदायको शिक्षकले क्षेत्री विद्यार्थीद्वारा गरिएको उत्कृष्ट कामको प्रशंसा गर्दा अथवा यादव विद्यार्थी पहाडी शिक्षकलाई छाडी यादव शिक्षककोमा ट्यूसन पढ्न जाँदा वा तामाङ समुदायको संचालक समितिको अध्यक्षले तामाङ शिक्षकको समर्थनमा बोल्दा १५ र २० वर्ष अगाडि जुन अर्थ लाग्थ्यो; लगाइन्थ्यो अहिले त्यसको अर्थ बदलिएको छ । यसले शिक्षकलाई जुनसुकै क्रियाकलाप गर्दा पनि धेरै पटक सोच्न बाध्य पार्न थालेको छ ।
यसरी बढ्दो दबाबले गर्दा शिक्षकको स्वतन्त्रपूर्वक निर्णय गर्ने क्षमता घट्नुको अतिरिक्त विद्यार्थीको उचित मूल्यांकन गर्न र उनीहरूलाई अनुशासनमा राख्न कठिन हुन जान्छ । बलिया वर्ग वा क्षेत्रका मानिसहरूका सामु कमजोर वर्ग वा क्षेत्रका विद्यार्थी तथा शिक्षकले दबिएर बस्नुपर्ने अवस्था सिर्जना भएका प्रारम्भिक लक्षणहरू छिटपुट रूपमा देखिन थालिसकेका छन् । उदाहरणका रूपमा मधेशीहरूको बाहुल्य भएको स्थानको पहाडी शिक्षक र पहाडीको बाहुल्य भएको स्थानको मधेशी शिक्षकका अनुभव सुन्न सकिन्छ । भलै सबैले आफ्नो कथा सहजै व्यक्त गर्दैनन् र सबैले समान रूपमा यस्ता अनुभव पनि नगरेका हुन सक्दछन् । तर पनि यस्तो भाव बढ्दै जानु शिक्षक, विद्यार्थी र समग्र समाजको लागि घातक कुरा हो ।

शिक्षकमाथि हुने हिंसा कम गर्न सकिन्छ
विद्यालयमा विद्यार्थी र शिक्षकमाथि हुनसक्ने सुरक्षा खतरा के के हुन सक्छन् भन्ने विषयमा व्यवस्थापन समितिमा छलफल हुनु आवश्यक छ । शिक्षकलाई सुरक्षाको अनुभूति गराउन तथा शिक्षाको माध्यमबाट सिंगो समाजलाई जोड्दै लैजाने हो भने विद्यालय प्रशासन, शिक्षक, विद्यालय व्यवस्थापन समिति र सरोकारवालाहरूको सयुंक्त प्रयास आवश्यक हुन्छ । चीन र एस्टरले ताइवानमा सन् २००९ मा गरेको एक अध्ययनले देखाए अनुसार विद्यार्थीले जब आफूमाथि अन्याय, भेदभाव र शोषण भएको अनुभव गर्छ अनि उसले शिक्षकमाथि आक्रमण गर्दछ । यसैले विद्यालयमा विद्यार्थी र अन्य कसैले पनि आफूमाथि अन्याय भएको अनुभव गर्नु नपरोस् भनी सबै चनाखो हुनुपर्दछ ।
यदि शिक्षकले नै आफूलाई असुरक्षित ठान्दछन् भने त्यस्ता शिक्षकले दिएको शिक्षाले समाजका कमजोरी घटाउन खासै योगदान दिन सक्तैन । क्षेत्रीयता र साम्प्रदायिकता बढ्नु सभ्य समाजका लागि आफैंमा खतरा पनि हो । यसलाई कम गर्न शिक्षकले महत्वपूर्ण योगदान गर्न सक्दछ । र, त्यसो गर्नु उसको कर्तव्य पनि हो । तर यसका लागि समाजका अन्य पक्षले पनि आफ्नो भूमिका उत्तिकै जिम्मेवारीका साथ निर्वाह गर्न सक्नुपर्छ ।
राजनीतिक, जातीय, धार्मिक तथा क्षेत्रीय मुद्दालाई बाहिर राखेर विद्यालयलाई प्राज्ञिक स्वतन्त्रता दिनु ज्यादै आवश्यक छ । विश्वविद्यालयहरूले यस्ता विषयमा अध्ययन–अनुसन्धान गर्न प्रोत्साहन गर्न सक्छन् । शिक्षकका युनियनले हिंसा विरुद्ध जागरण फैलाउन सक्छन् । शिक्षाका सरकारी निकाय, जस्तो विभाग, मन्त्रालय, जिशिका आदिले वर्षभरि के कति शिक्षक कस्तो हिंसाबाट पीडित भए भन्ने तथ्यांक राख्न सके यसको रोकथामका लागि नीतिनिर्माण र कार्यक्रम बनाउन सहयोग पुग्छ । यसरी सबैले सहयोग गर्ने हो भने सामाजिक सद्भाव र आपसी विश्वासको वातावरण बनाएर समाजका विभाजित मनहरूलाई जोड्न अन्ततः शिक्षकले नै महत्वपूर्ण योगदान गर्न सक्दछन् ।

Related Posts

/*sign up form*/