अभ्यासमा ‘स्कूलिङ’ र ‘एजुकेसन’

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’, 2072_02Comments (0)873

Print Friendly, PDF & Email
– हेमलता उप्रेती
आदर्श उमावि, इलाम
आजभन्दा करीब दुई दशक अगाडि; जतिवेला म विश्वविद्यालयकी एक छात्रा थिएँ, शिक्षामा एउटा भनाइ प्रचलित थियो “बालबालिका गिलो माटो हुन् । कारीगररूपी शिक्षकले उनीहरूलाई आफ्नो इच्छा अनुसार जे पनि बनाउन सक्छन् ।” यो भनाइलाई मैले धेरै वर्षसम्म निसन्देह विश्वास गरें । यसको मर्मलाई आत्मसात् गरेर यस्तै मान्यतालाई दृष्टान्त बनाउँदै अनेकौं परीक्षाहरू उत्तीर्ण गरेर अन्ततः शिक्षण पेशामा संलग्न भएँ । धेरै वर्षसम्म मैले बालबालिकालाई गिलोमाटो र आफूलाई कारीगर ठानेर उनीहरूलाई आफ्नो इच्छा अनुसारको आकारहरूमा ढाल्ने सततः प्रयत्न गरिरहें । मैले यो समेत सोच्न सकिनँ कि माटाको पनि गुणस्तर हुन्छ र गुणस्तरयुक्त माटोबाट मात्र स्तरीय सामग्री बनाउन सकिन्छ । तथापि जब म ती सबै प्रयासहरूमा असफलप्रायः भएँ तब मात्र मेरो मानसपटलमा सो भनाइको आशयप्रति पुनर्विचार गर्ने अन्तरदृष्टिको विकास भयो । आज स्कूलिङ र एजुकेसनका बारेमा बहस चलिरहँदा यो दृष्टान्त उल्लेख गर्न सान्दर्भिक ठानेकी छु । अब म प्रष्ट छु— त्यो भनाइ स्कूलिङको अवधारणाबाट निर्देशित रहेछ । स्कूलिङले त व्यक्तिलाई कुनै कुराप्रति अन्धभक्त बनाउँदो रहेछ । यसले व्यक्तिको सिर्जनशीलता, आफ्नोपन र विश्लेषण गर्ने क्षमता गुमाइदिंदोरहेछ । बालबालिका कारीगरको इच्छा अनुसारका वस्तुमा ढाल्न मिल्ने गिलोमाटो होइन रहेछन् भन्ने बुझन मलाई धेरै वर्षसम्म कुर्नु प¥यो ।

‘स्कूलिङ’
मेरो अनुभव र बुझइमा स्कूलिङ जबर्जस्तपनको परिचायक हो । यसमा व्यक्तिलाई जन्मेदेखि नै संस्कार, अनुशासन, परम्परा, रीतिरिवाज, चालचलन वा ठूलाबडाको इच्छा, चाहना, स्वार्थ आदि अनेक बहानाका कैयन् कुरामा अभ्यस्त गराई तदनुरूपको बानीको विकास गरी सिकाउने प्रयत्न गरिन्छ । जसले गर्दा व्यक्तिको विचार गर्ने, विश्लेषण गर्ने, सिर्जना गर्ने, आफ्नो विवेकको प्रयोग गर्ने जस्ता मानवीय नैसर्गिक गुणहरू विकास हुनुको सट्टा अवरुद्ध हुन पुग्छन् । यसमा व्यक्तिका नैसर्गिक अनगिन्ती क्षमता, प्रतिभा र सम्भावनाका बीजहरू कुण्ठित, अवहेलित, अपमानित र मूल्यहीन हुने हुनाले व्यक्ति रोबोट जस्तो यान्त्रिक र परनिर्देशित बन्ने खतरा रहन्छ ।

स्कूलिङमा सूचना वा जानकारीलाई ज्ञानका रूपमा लिइन्छ । बालकको दिमागलाई खाली कन्टेनर ठानिन्छ र ट्युबमा पम्प हाले जसरी नै ती सूचनालाई तिनका दिमागमा कोच्ने कार्यलाई शिक्षणको दर्जा दिइन्छ । जुन बेकम्मा, अस्थायी, अव्यावहारिक र अनुपयोगी हुन्छ । यसले प्रतिस्पर्धा गर्न प्रेरित गर्ने हुनाले व्यक्तिलाई स्वार्थी, असामाजिक, सहअस्तित्व स्वीकार नगर्ने र नकारात्मक सोचयुक्त बनाइदिन्छ । वास्तवमा स्कूलिङ एउटा निकास नभएको पोखरी जस्तो हो जहाँ पानीलाई प्रवाह हुनबाट वञ्चित गरिने हुनाले उसले आफ्नो नैसर्गिक गुण समेत देखाउन सक्तैन । जसरी पोखरीको पानीमा विकारहरू जम्मा हुन्छन्, कुहिन्छन्, वाफिन्छन्, दुर्गन्धित र विषाक्त हुन्छन् त्यसैगरी स्कूलिङमा व्यक्तिका मानवीय गुण, क्षमता, चाहना, रुचि आदि सबै कुरालाई सीमित र संकुचित गरी अप्राकृतिक तवरले बाँधेर राख्ने हुनाले यो आफैंमा त्रुटिपूर्ण छ । कस्तूरीले आफ्नै नाभीमा रहेको वासना फेला पार्न अनन्तसम्म दौडेर अन्त्यमा मृत्युवरण गरे झ्ंै स्कूलिङले पनि व्यक्तिलाई आफूलाई चिन्ने अवसरबाट वञ्चित गरिदिने हुनाले ऊ आफूलाई खोज्दाखोज्दै मसानघाट पुग्दछ । यसबाट व्यक्तिले आफ्नो जीवनका लागि अतिआवश्यक व्यावहारिक ज्ञानहरू सिक्न सक्दैन । अपेक्षित मानवीय विशिष्ट गुणहरू हासिल गर्न सक्दैन । आफ्नो नैसर्गिक क्षमता पहिचान गर्न र सशक्त बनाउन सक्दैन, ज्ञानको संसारमा चुर्लुम्म डुबी प्रफुल्लताका साथ रमाउन सक्दैन ।

‘एजुकेसन’
अर्कोतर्फ एजुकेसन प्रकृतिको खुल्ला किताब जस्तो व्यापक र उन्मुक्त छ । यसमा प्रत्येक व्यक्तिलाई विशेष र बहुगुणयुक्त व्यक्तिका रूपमा लिइन्छ । उसका नैसर्गिक क्षमता, स्वभाव, रुचि, गुण र विशेषतालाई पहिचान गरिन्छ । सम्मान गरिन्छ र तिनलाई अङ्कुरण हुने, बढ्ने, हुर्कने, रोगबाट बच्ने, फुल्ने, फल्ने र अन्त्यमा आफूमा निहित गुण प्रबल रूपमा देखाउन सक्ने वातावरण प्रदान गरिन्छ । बालबालिकाको सिक्ने तरिका र प्रकृति अनुसारका विधिको अवलम्बन गरिने, ऊ जे काम राम्ररी गर्न सक्छ, त्यही कार्य गर्न प्रेरित गरिने, जे बन्न सक्छ, त्यही बनाउन प्रयास गरिने र उसभित्र नजलेको दीपलाई जलाइदिने कार्य गरिने हुनाले यो विशुद्ध प्रजातान्त्रिक, न्यायोचित, प्राकृतिक र अनुकरणीय पद्घति हो । यसमा सिंगो वातावरणले पाठ्यक्रमको मात्र नभई स्वयं शिक्षकको कार्य गर्ने हुनाले सिकाइलाई वातावरण अनुकूल बनाउनु नै शिक्षाका हस्तीहरूको दायित्व हो । व्यक्तिले हरेक कुरा प्रयोग, अनुभव र प्रतिबिम्बन जस्ता प्राकृतिक प्रक्रियाबाट सिक्ने हुनाले यसमा सिकाइ व्यावहारिक, चिरस्थायी र जीवनोपयोगी हुन्छ ।

‘एजुकेसन’ को प्रसंगमा बाहिरबाट प्राप्त सूचनालाई ज्ञान निर्माण र प्रस्फुटनको आधारशिला बनाइन्छ । साथै, प्रतिस्पर्धालाई निरुत्साहित गर्दै सहअस्तित्व र सहभावको मर्मलाई आत्मसात् गरी हरेक व्यक्तिलाई उच्च सम्मान गर्ने, उसभित्रको विशेष गुण खोज्ने र आफूमा प्रतिबिम्बित गर्ने गरिन्छ । जसले गर्दा व्यक्तिभित्र सुषुप्त अवस्थामा रहेका क्षमता, गुण र विशेषताहरू समेत प्रस्फुटित हुने र मौलाउने अवसर प्राप्त हुन्छ । व्यक्तिमा भएको व्यवहार परिवर्तनलाई सिकाइको मापदण्ड मानिन्छ । स्वविवेक, स्वनिर्णय र स्वस्फूर्तता यसका आधारस्तम्भ हुन् भने मौलिकता, उत्कृष्टता, सिर्जनशीलता, विवेचना र विश्लेषण गर्ने क्षमता तथा सकारात्मकता— एजुकेसनका विशेषता हुन् । यसले व्यक्तिका हरेक पलको अनुभव र सूचना प्राप्त गरी त्यसैका आधारमा नैसर्गिक गुण र क्षमता उजागर गर्ने, ज्ञानको निर्माण गर्ने, नयाँ ज्ञानलाई पूर्व ज्ञान र अनुभवसँग एकीकृत गर्ने, समायोजन र सुदृढीकरण गरी परिष्कृत रूपमा आफ्नो व्यवहारमा प्रतिबिम्बित गराउँछ । यो सर्वोच्च किसिमको सिकाइ हो । व्यक्तिले आफूलाई चिन्न, प्राप्त अवसरको अधिकतम उपयोग गर्न हरेक परिस्थितिको सहजरूपले सामना गर्न र सबै किसिमका जीवनोपयोगी सीपको अभ्यास गर्न सक्ने हुनाले एजुकेसनले व्यक्तिलाई जिन्दगीका सबै सुख अनुभव गर्न योग्य र ज्ञानको सागरमा डुबी त्यसको रसस्वादन गर्न सक्षम बनाउँछ ।

हामी विद्यालय तहका विद्यार्थी छँदा बालमैत्री—शिक्षणको अवधारणा शायद विकास नै भएको थिएन वा नेपालमा प्रचलित थिएन । बालबालिकाको सम्पूर्ण क्षमता उसले पढाइमा प्राप्त गरेको स्तरले निर्धारण गर्ने प्रचलन थियो । खेलकुद, अन्य अतिरिक्त क्रियाकलाप वा बाल प्रतिभा पहिचान र प्रोत्साहन गर्ने अन्य कुनै तर्किव खासै अभ्यासमा थिएनन् । अपितु यी र यस्ता स्कूलिङबाट नजिक अनेक पक्षहरूको बाबजूद पनि त्यहाँ एउटा सशक्त एजुकेसनको अभ्यास थियो र त्यो थियो प्रेम । सर र गुरुआमाहरूले हामी विद्यार्थीलाई गर्ने गरेको प्रेम साँच्चै आत्मीय थियो, लोभलाग्दो र प्रेरणादायी थियो । उहाँहरूले नामबाट बोलाउँदा मात्र पनि हामी आत्मीयता अनुभूति गथ्र्यौं ।

त्यो वेला प्रत्यक्ष रूपमा भएको स्कूलिङले सिकाएको कुराभन्दा परोक्ष रूपमा भएको एजुकेसनको प्रभाव अधिक र स्थायी भएको प्रमाणित हुन्छ । त्यस्तै यसले पुष्टि गर्दछ कि स्कूलिङभित्र पनि एजुकेसन निषेध हुँदोरहेनछ । त्यसैले त प्रत्यक्ष रूपले स्कूलिङकै प्रतिफल भए पनि आज पनि सिंगो बौद्धिक जगत सिर्जना, कल्पना, तार्किकता र विश्लेषण गर्ने क्षमतायुक्त छ । सवाल कुन प्रबल छ भन्ने मात्र हो । जति बढी एजुकेसनको अभ्यास हुन्छ, त्यति नै बढी व्यक्ति सिर्जनशील, सकारात्मक, सामाजिक, तार्किक र विविध क्षमता र गुणयुक्त हुन्छ । जसले आफ्नो जीवन मात्र होइन सिंगो राज्य र समाजलाई सकारात्मक दिशातर्फ डो¥याउँछ ।

वर्तमान अवस्था
हाम्रो समाजमा आज दुई किसिमका विद्यालयहरू दुई ध्रुव जस्तै गरी दुई अलग अस्तित्वमा रहेको पाइन्छ । एकातर्फ धनीमानी व्यक्तिका छोराछोरीले पढ्ने निजी विद्यालय छन्, जुन प्रचलनमा रहेको मूल्याङ्कन प्रणालीको आधारमा उत्तम ठहरिएका छन् । घोकाइ, रटाइ, परीक्षामुखी पढाइ, भौतिक दण्ड सजाय आदिमा नामूद भएकाले देखाउँछ त्यस्ता विद्यालयहरू स्कूलिङको नजिक छन् । नेपाल बन्द वा अन्य कुनै कारणले विद्यालय जानु नपरे खुशी हुने, विदालाई उत्सवको रूपमा मनाउने, शिक्षकसँग सदा डराउने वा घनिष्टता कायम नहुने, पढाइलाई बोझ्को रूपमा लिने, अति प्रतिस्पर्धाको भावना बोक्ने र मशीन जस्तो एकोहोरो स्वभाव देखाउनेबाट त्यहाँ स्कूलिङको प्रभाव बढी भएको प्रष्ट हुन्छ । हुनत यदाकदा त्यहाँ पनि एजुकेसनका अभ्यासहरू, जस्तै स्थलगत भ्रमण, परियोजना कार्य, खेलकुद, सांस्कृतिक एवम् सह तथा अतिरिक्त क्रियाकलाप आदिको अभ्यास भएको पाइन्छ । आर्थिक, बौद्धिक, भौतिक आदि हरेक कुरामा सक्षम र सचेत अभिभावकको साथ, सहयोग र सरोकार प्राप्त गर्ने हुनाले उनीहरू चाहेको हरेक योजना लागू गर्न र शैक्षिक नतीजा राम्रो ल्याउन सफल भएको पाइन्छ ।

अर्कोतर्फ उच्च योग्यता, क्षमता, तालिम र अनुभवप्राप्त शिक्षकहरू रहेको सामुदायिक विद्यालयको भागमा भने आर्थिक, सामाजिक, सांस्कृतिक वा अन्य कुनै कारणले प्रताडित, निरीह र सही अभिभावकत्वबाट वञ्चित बालबालिका पर्ने गरेका छन् । शिक्षक, अभिभावक र विद्यार्थी शैक्षिक क्रियाकलापका त्रि–हस्ती हुन् । तर विद्यार्थी र अभिभावक पक्ष ज्यादै कमजोर हुने हुनाले त्यहाँ पनि एजुकेसनका अभ्यासहरू प्रभावकारी हुनसकेको पाइँदैन । अर्कोतर्फ देशको राजनीतिक, आर्थिक आदि अवस्थाको समेत प्रत्यक्ष प्रभाव त्यहाँ परेको देखिन्छ । राजनीतिक पक्षपोषणका आडमा घुसेका र कतिपय अयोग्य र गैह्र जिम्मेवार शिक्षकहरूले पेशागत मर्यादा कायम राख्न नसक्दा त्यसको असर जिम्मेवार, कर्तव्यनिष्ठ र पेशाकर्मी शिक्षकले समेत खप्नु परेको छ । आफ्ना विद्यार्थीलाई हरदम प्रोत्साहन गर्ने, हौसला प्रदान गर्ने, प्रेरणा दिने, तिनका नैसर्गिक क्षमता पत्ता लगाई प्रस्फुटन गराउन प्रयत्न गर्ने यी शिक्षकहरू आफैं निरुत्साहित, अमर्यादित र अपमानित हुनथालेको वर्तमान स्थितिमा सुधार गर्न शिक्षा क्षेत्रका सबै सरोकारवालाहरू अग्रसर हुन ढिलो भइसकेको प्रतीत हुन थालेको छ ।

समाजले लिनुपर्ने बाटो
नेपाली समाजमा आर्थिक, राजनीतिक, सामाजिक आदि पक्षमा अति विपन्न, मध्यम, सम्पन्न जस्ता विविध वर्गका व्यक्तिहरू मिश्रित रूपमा बस्ने गर्दछन् । एजुकेसनले व्यक्तिभित्रका सबै सम्भावनाहरूलाई मार्गप्रशस्त गर्ने हुनाले अब नेपाली समाजले स्कूलिङको सट्टा एजुकेसनलाई नै रोज्नुपर्दछ, अभ्यास र अवलम्बन गर्नुपर्दछ ।

एजुकेसन र स्कूलिङको बहस हाम्रा विद्यालय शिक्षामा सुधारको निम्ति महŒवपूर्ण सवाल हो । यो सवालले स्कूलिङको धारणाबाट ग्रसित विद्यालय परिवेश र शिक्षण सिकाइ क्रियाकलापलाई निरुत्साहित गर्दै एजुकेसनतर्फ उन्मुख हुन प्रेरित गर्दछ । त्यस्तै यसले स्कूलिङको अभ्यास भइरहेको घरपरिवार वा समाजको वातावरणप्रति पनि प्रश्नचिह्न खडा गर्दै आत्मसमीक्षाको आह्वान गर्दछ । यसले सिङ्गो शिक्षा प्रणालीको पुनर्मूल्याङ्कन गर्न संकेत गरेको पाइन्छ । यो अवश्य हो कि यसलाई पूर्ण रूपमा व्यवहारमा लागू गर्न कठिन छ । सरोकारवाला पक्षहरू सबैको सहकार्य जरूरी छ । तथापि विद्यमान अवस्थाबाट एजुकेसनको मात्रा क्रमशः वृद्धि गर्दै लैजान सके वर्तमान शैक्षिक अवस्थामा सुधार भई आशाका अनेकांै किरणहरू प्रज्वलित हुने र हरेक व्यक्तिले आफूलाई एक विशेष व्यक्तिका रूपमा पाउने कुरामा विश्वास गर्न सकिन्छ । त्यसैले, यो निर्णायक र अभ्यासमा ल्याउन ढिलो भइसकेको सवाल हो । 

Related Posts

/*sign up form*/