तल्ला कक्षामा ‘स्कूलिङ’, माथि ‘एजुकेसन’ – गोपाल राई

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)626

Print Friendly, PDF & Email
शिक्षाका उच्चस्थ पदाधिकारीबाट शिक्षा क्षेत्रमा चासो राखेर शिक्षाको आधार पहिल्याउने काम गर्नुभएकोमा शिक्षा विभागका महानिर्देशक शिक्षाविद् डा. लवदेव अवस्थीलाई धन्यवाद दिन्छु । स्कूलिङ विना सिधै एजुकेसन सम्भव नहुन सक्छ । एजुकेसन व्यक्तिको चौतर्फी विकास गराउने वातावरण हो जुन वातावरण प्राप्त गर्नको लागि उसमा निश्चित बुझइ वा आत्मज्ञानको विकास भएको हुनु आवश्यक छ । एजुकेसनमा व्यक्तिले स्वतन्त्र रूपमा अध्ययन अनुसन्धान गर्दै आफ्नो अन्तरनिहित ज्ञानलाई थप उजागर गर्दै जान्छ, बुझइको मात्रामा वृद्धि हुँदै जान्छ, यथार्थपनको अनुभव ग्रहण गर्दै जान्छ र ऊ हरेक विषय वा क्षेत्रमा तर्कसंगत तरीकाले सोच्न र कारण पत्ता लगाउन सक्षम हुन्छ । तर एउटा व्यक्तिले यी सबै कुरा पूर्वज्ञान र निश्चित आचरणको विकास विना आफैं गर्न सक्दैन । तसर्थ व्यक्तिलाई एजुकेसनमा प्रवेश गराउनुअघि उसलाई स्कूलिङ जरूरी हुन्छ । उसलाई निश्चित नियम र संस्कारमा हुर्काउनुपर्छ, सिकाउनुपर्छ, उसको सिर्जनशीलतालाई उजागर गर्नको लागि वातावरण बनाउनुपर्छ । अपवादलाई छाडेर हेर्ने हो भने स्कूलिङ विना एजुकेसन सम्भव हुन सक्दैन ।

विद्यालयमा कक्षा पाँचसम्म स्कूलिङ गरेर त्यसभन्दा क्रमशः माथिका कक्षाहरूमा एजुकेसनको लागि वातावरण तयार गर्दै लान सकेमा हालको शिक्षाले एक्काइसौं शताब्दीको लागि आवश्यक जीवनयापनको आधार प्रदान गर्नेमा दुईमत नहोला । बढीभन्दा बढी स्कूलिङ गरेर दिइएको ज्ञान, सीप क्षणिक हुने र कालान्तरमा बेकम्मा बन्ने हुन सक्छ । निजी विद्यालयहरूबाट एसएलसीमा डिस्टिङ्सन र प्रथम श्रेणीका विद्यार्थी हजारौं संख्यामा उत्तीर्ण भइरहेका छन् र लाग्छ यत्रो संख्यामा मेधावी विद्यार्थीले समाज र देशको लागि केही अद्भुत कार्य गर्नेछन् । तर ती मेधावी शक्ति केवल विद्यालय शिक्षामा मात्र केन्द्रित रहे, विश्वविद्यालयको उत्कृष्टतामा पर्न सफल हुँदैनन् । सार्वजनिक विद्यालय अध्ययन गरेका विद्यार्थी नै स्वर्णपदक विजेता बनेका देखिन्छन् । तसर्थ एकोहोरो लामो स्कूलिङ गर्दा पनि विद्यार्थीको सिर्जनशीलतामा कमी आउने हुनाले साना कक्षामा स्कूलिङ गरेर माथिल्ला कक्षाहरूमा एजुकेसनको वातावरण प्रदान गर्दै जानुपर्छ; जसले देश र आजको समयले मागेको र चाहेको जनशक्ति उत्पादन हुन सक्छ ।

शिक्षा नीतिलाई कसरी राम्रो बनाउने भन्ने सन्दर्भमा यसको सिधै सम्बन्ध शिक्षकसँग रहेको हुन्छ । कक्षामा सिकाउने शिक्षक हो, विद्यार्थीलाई ज्ञान दिने शिक्षक हो तसर्थ पहिले शिक्षकमा सुधार हुनु आवश्यक छ । अहिलेको शिक्षक व्यवस्थापनबाट शिक्षामा आमूल परिवर्तन ल्याउन सम्भव देखिंदैन । अध्ययन प्रतिवेदनबाट प्रष्ट भइसकेको छ कि तालीममा सिकेको कुरा कक्षाकोठामा पुग्दैन, तालीमप्राप्त र अप्राप्तले गरेको शिक्षणमा केही फरक छैन । यसबाट शिक्षामा के प्रष्ट हुन्छ भने नयाँ कार्यक्रमलाई सफल पार्नको लागि शिक्षक गतिलो र दक्ष हुनु आवश्यक छ । शिक्षकको न्यूनतम योग्यता स्नातक उत्तीर्ण हुनुपर्छ र तलबमान पनि सोही अनुसार कायम गरेको हुनुपर्छ । शिक्षक पूर्णरूपले पेशागत हुनुपर्छ र सक्दैन भने विकल्प दिनुपर्छ । अहिलेको एसएलसी, कक्षा बाह्र उत्तीर्ण शिक्षकले परिवर्तित समाज र समयको माग अनुसारको शिक्षा दिन गाह्रै पर्ला ।

एजुकेसनको आधारशिला नै स्कूलिङ हो । मानिसले कुनै पनि कुरा नयाँ देखेमा उसले आफूले सिकेको ज्ञान, धारणाको आधारमा बुझन वा जान्न खोज्दछ । उसले तर्क गर्छ, कारण पत्ता लगाउन खोज्छ । तर उसले साना कक्षाहरूमा राम्ररी धारणा लिन सकेको छैन भने कुनै पनि नयाँ तथा नौलोपनमा चासो राख्दैन, बुझन खोज्दैन । तसर्थ, एजुकेसन आजको आवश्यकता हो जसको सुरुआत स्कूलिङबाट हुन्छ । 

श्री गोकुण्डेश्वर बालमन्दिर उमावि, धनकुटा—५

Related Posts

/*sign up form*/