हुनुपर्ने त ‘एजुकेसन’ नै हो… – रामप्रसाद पाण्डेय

by • • ‘स्कूलिङ’ कि ‘एजुकेसन’Comments (0)574

Print Friendly, PDF & Email
पत्नी विद्योत्तमाबाट तिरस्कृत कालिदास कालीको शरणमा पुगी देश दर्शनबाट संसारकै उम्दा कृति प्रदान गरी घृणाबाट शिक्षा प्राप्त गरेका संस्कृत साहित्यका महाकवि हुन् । वेतनभोगी ड्राइभर आइन्स्टाइनको संगतबाट उनले जस्तै सापेक्षतावादको सिद्धान्तको व्याख्या गर्न सक्नु स्कूलिङ नभएर शिक्षा हो । शिक्षा जहाँतहीं हुन्छ । यो त छरिएर रहन्छ त्यसलाई टिप्न मात्र सक्नुपर्दछ । त्यसैले होला देवकोटाले प्रश्नोत्तर कवितामा यसो भनेकोः

खुल्दो गुलावबिच ज्ञान अनेक फुल्छन्
उद्यानमा बस गई तब तत्व खुल्छन् ।

रत्नाकर डाँकु वाल्मीकिमा परिणत भएको स्कूले शिक्षाले होइन । विश्वविद्यालय र महाविद्यालयका मुख नदेखेका कवि सिद्धिचरण श्रेष्ठ र कवि मोहन कोइरालाले नेपाली काव्य भण्डार भर्नु र श्यामप्रसाद शर्माले नेपाली आख्यान साहित्यको श्रीवृद्धि गर्नुको कारण शिक्षा हो । यस्तो शिक्षा जीवन र जगतबाट सिकिन्छ ।

स्कूलमा प्रविष्टिक्रमका आधारमा शब्दकोश हेर्न शिक्षकले सिकाएको शिक्षाभन्दा आफैं यो शब्द कहाँ छ भन्दै, खोज्दै, गोड्दै जाँदा अनेक अरू शब्द देखेर यसको अर्थ के होला भनी उत्साहपूर्वक अरू शब्द हेर्दै जाँदा अध्येताको शब्दभण्डार वृद्धि हुन्छ । त्यसैले शिक्षा आफैंले कार्य गरेर प्राप्त भयो भने त्यो दीर्घकालीन हुन्छ । रूखबाट झ्रेको स्याउको दानाले टाउकोमा लागेपछि न्यूटनले त्यसको कारण खोजी गरी गुरुत्वाकर्षण बलको पत्ता लगाउनु र जेम्सवाटले केट्लीमा पानीको बाफले बिर्को उचालेको देखेर वाष्प इन्जिन तयार गर्नु यी सबै शिक्षाका उदाहरण हुन् । त्यसैले इमर्सनले भने झ्ैं “विद्यालय, विश्वविद्यालयमा जे पढाइन्छ त्यो शिक्षा होइन, शिक्षाको माध्यम मात्र हो ।”

आजको संसारलाई प्रविधिले एक बनाएको छ । विगतमा पाइथागोरस, गणित र विज्ञानका सूत्र सिद्धान्त घोक्ने, अमरकोशमा पर्यायवाची शब्द र शब्दको व्युत्पत्ति खोज्ने हामी विद्यार्थी आज गुगल ओपेरा मिनी, युट्युव वेबसाइट र इन्टरनेटमा सर्च गर्छौं भने ६+९ को योगफल निकाल्न क्यालकुलेटर खोज्छौं । यो हाम्रो स्कूलिङको ज्वलन्त उदाहरण हो ।

स्कूलिङ र एजुकेसन बीचको भिन्नता
हुनत स्कूलिङ र एजुकेसन बीचको अन्तर संवाद जारी छ । कतिपय अवस्थामा यी दुई बीचको भिन्नता यही हो भनी किटान गर्नु पनि फलामको चिउरा चपाउनु जत्तिकै छ । स्कूलिङबाट कुनै प्रविधि, सीप आदि सिकाउने कार्य हुन्छ । यसमा बालकलाई सूचनाको मालिक बनाइन्छ । यस्तो सूचनाले बालकलाई जीवन जिउन सक्ने बनाउला तर त्यसले मानिसको मन र आत्मा भित्र भएको दानव पक्षलाई पखाली मानव बनाएर शान्ति, प्रेम, सद्भाव, अहिंसा, सदाचार, सहयोग, सहकार्य, सहिष्णुता, सहानभूति र मित्रता जस्ता मानवीय पक्षलाई मलजल गर्न सक्दैन । ‘स्कूलिङ’– दीर्घ चिन्तन गर्न नसक्ने सीप प्रदान गर्ने खालको शिक्षा हो । स्कूलिङमा पूर्व निर्धारित ज्ञान, सीप, सिद्धान्त, तथ्य, सूचना र सूचकहरूको विश्लेषण गरी त्यसमाथि छलफल गरी त्यसको बारेमा व्याख्या गरिन्छ । विगतका तथ्य तथा सूचना र सूचकद्वारा विश्लेषण नतीजाका आधारमा भावी योजना तयार गरिन्छ । शिक्षामा निर्णय वा कारणको खोजी गरिन्छ भने स्कूलिङमा ती निर्णय वा कारणबारे प्रशिक्षित मात्र गरिन्छ । स्कूलिङको दायरा र क्षेत्र छिडीभरिको मात्र हुन्छ । यस्तो शिक्षा विद्यार्थीलाई चार दिवार भित्र बन्द गरेर केबल उसले देखाउन खोजिएको मात्र देखोस्; अन्य तर्फ उसले विचार विमर्श गर्न नसकोस् भन्ने उद्देश्यमा केन्द्रित रहेर दिइन्छ । हामीले हाम्रा अहिलेका विद्यालय वा महाविद्यालयबाट जे ज्ञान, सीप सिक्यौं, त्यो स्कूलिङ हो, शिक्षा होइन । शिक्षा त जीवन र जगतबाट सिकिन्छ । अनुभव, घटना, समस्या र संघर्षबाट प्राप्त गरिन्छ । जो दीर्घकालीन हुन्छ । हामीले सिकेको स्कूलिङले शिक्षा प्राप्त गर्नलाई भने केही मद्दत पु¥याएको हुन सक्छ ।
हामीले बच्चालाई आगोले पोल्छ भनेर मात्र सिकाउँछौं । त्यसैले आगोले पोल्छ भन्दाभन्दै पनि बच्चाले आगोमा हात लैजान्छ । जब उसलाई आगोले पोल्छ तब उसले आगोको पोलाइ कस्तो हुन्छ भन्ने शिक्षा प्राप्त गर्दछ र अब उप्रान्त आगोमा हात लैजाने साहस गर्दैन । स्कूलिङका लागि विद्यालय वा संस्था चाहिन्छ । शिक्षक वा गुरु खट्नुपर्छ । घण्टी बज्नुपर्छ । शिक्षकले विद्यार्थीलाई घोकाउनुपर्दछ । विद्यार्थीले रट्नुपर्दछ, परीक्षा चल्नुपर्छ । पाएसम्म विद्यार्थीले चिट चोर्नुपर्छ । कापी परीक्षण हुनुपर्छ । नतीजा ढिलै भए पनि प्रकाशित हुनुपर्छ । यतिवेलासम्म धेरै अवधि पार गरिसक्नुपर्छ र विद्यार्थीले आफूले पढेको सिकेको लगभग धेरै प्रतिशत कुरा बिर्सेको हुनुपर्दछ । जबकि शिक्षामा त्यस्तो हुँदैन । जुन कुरा विद्यार्थी आपूmले गरेर, देखेर अनुभव गरेर सिक्छ त्यो जीवनपर्यन्त रहिरहन्छ र त्यसको बारेमा जहिले पनि भन्न, बुझउन र गर्न समेत सक्षम हुन्छ ।
हाम्रा संस्थागत विद्यालयहरूमा भन्दा सामुदायिक विद्यालयमा केही भिन्न र फरक शिक्षा छ । विद्यमान अवस्था अनुसार विद्यार्थीको अंकसँग शिक्षा सम्बद्ध छ । यदि विद्यार्थीहरू परीक्षामा राम्रो गर्छन् भने उनीहरूले राम्रो शिक्षा लिएको मानिन्छ तर यो धारणा त्रुटिपूर्ण छ । किनकि यो धारणा स्कूलिङसँग सम्बन्धित छ । राम्रो शिक्षित विद्यार्थी र उत्कृष्ट प्राप्ताङ्कबीच निकै भिन्नता छ । ज्ञान, सद्बुद्धि, नैतिकता जस्ता कुरा स्कूलिङबाट प्राप्त हुँदैन । यसका लागि त शिक्षा नै चाहिन्छ । आजका हाम्रा विद्यालयहरू दबाबग्रस्त क्षेत्रमा परिणत भएका छन् । संकुचित रूपले उत्पादनमूलक परिणाम केन्द्रित छन् । सिर्जनात्मक र रचनात्मक सोचले शिक्षण नगर्नाले गणित, विज्ञान र अंग्रेजी जस्ता विषयमा अनुत्तीर्ण विद्यार्थीको संख्या बढ्दो छ । हाम्रा विद्यार्थीहरूले विद्यालय तहदेखि शिक्षाको गहिराइ, उद्देश्य र महŒव बुझ्े भने मात्र शिक्षाको उद्देश्य नैतिकता हो भन्ने थाहा लाग्दछ । तर यसका लागि संस्कृति कला, इतिहास, मानव जीवन र सभ्यताको बारेमा फराकिलो अन्तरदृष्टि चाहिन्छ । स्कूलिङले नोकरी प्राप्तिमा जोड दिन्छ भने शिक्षाको उद्देश्य नोकरी प्राप्ति भन्दा भविष्यको लक्ष्य प्राप्त गर्नु हो । स्कूलिङले रोजगारी, नाफा, घाटाको व्यावसायिक संसार देखेको हुन्छ । नैतिक र अनुुशासित जीवन यापन शिक्षा प्राप्त व्यक्तिले मात्र गर्ने गर्दछ । हामी नै हाम्रा विद्यार्थीलाई यस्तो कुरा सिकाउँदछौं– तिमीहरू नक्कल गरेर भए पनि अगाडि बढ्नु पर्छ ! तर शिक्षित व्यक्तिका लागि नैतिकता र कानूनको उल्लङ्घन घातक हुन्छ र ऊ पश्चात्तापले पिरोलिन्छ ।

हाम्रा अभिभावकहरू पनि विद्यार्थीले स्कूलमा रामो पढून् भन्ने चाहन्छन् । तर एउटा राम्रो विद्यालयले कति हदसम्म सुयोग्य, अनुशासित र चारित्रिक विद्यार्थीहरू निर्माण गर्छ भन्ने पनि बुझनुपर्दछ न कि उच्च अंक प्राप्त गर्ने । उनीहरूमा सुविचार, कौशल र प्रतिभाको बढी रेखदेख हुनुपर्दछ । यदि हामीले स्कूलिङ र शिक्षाको आधारभूत भिन्नता खोज्यौं भने हामी चाहिं हाम्रा विद्यार्थीहरूमा अति उच्च अंक प्राप्त गर्ने खालको र पुरस्कृत हुने खालको मात्रै होइन, बुद्धिमान, सुखी भविष्यको कर्णधारको रूपमा लिनुपर्दछ । सिर्जनशीलता, कल्पना, हर्ष, प्रतिभा र आदर्श जस्ता कुरा आज हाम्रा विद्यालयबाट तिरस्कृत भएका छन् । तर यी सु–आदर्शका आधारहरू नै समृद्ध देश र सारा संसारका लागि आधार स्तम्भ हुन् ।

अनुभव र वर्तमान अवस्था

मैले देशकै सामुदायिक विद्यालयबाट माध्यमिक तहको शिक्षा आर्जन गरेको हुँ । हाम्रो शिक्षण परिपाटी नै स्कूलिङबाट प्रभावित थियो । गुरुले बोलेका गल्ती तथ्यमा पनि हामीमा प्रतिवाद गर्ने सामथ्र्य थिएन । लाग्थ्यो, ‘गुरु ज्ञानको गाग्री विद्यार्थी खाली लोहोटा ।’

अहिले म सामुदायिक विद्यालयमा अध्यापन गर्ने एक शिक्षक हुँ । मेरो विद्यालयमा पनि देशका अन्य विद्यालयमा जस्तै एउटा प्रतिनिधि संस्था हो । हामी पनि उपलब्ध भौतिक स्रोत, साधन आपूmमा भएको क्षमता दक्षता अनुरूप हामीले आफूले लिए जस्तै (समय सन्दर्भ अनुरूप केही भिन्न होला) विद्यार्थीलाई शिक्षा होइन स्कूलिङ दिइरहेका छौं । देशका अधिकांश विद्यालय यही अवस्थाबाट अगाडि बढेका छन् । शिक्षाका निम्ति विद्यार्थीहरूलाई, पर्याप्त खेल्ने ठाउँ; प्राकृतिक वातावरण, प्रयोगशाला, सन्दर्भ सामग्री, आफ्नो रूचि, इच्छा, उमेर अनुसार पढ्न पाउने अवसर, यथेष्ट सामग्री सहितको कक्षाकोठा, ममतामयी अभिभावक, प्रेरणाले भरिएका गुरुहरू प्राप्त हुनुपर्दछ । यो कसीमा घोट्दा हाम्रा विद्यालयको अवस्था ‘तस्वीर आफैं बोल्छ’ भन्ने अवस्थामा छन् ।

हामीले हाम्रा विद्यार्थीलाई अरब जाने सर्टिफिकेट दिइरहेका छौं । विश्वविद्यालयमा अध्ययन गरेको भन्दा गर्व लाग्ने तर गर्न नसक्ने प्रमाण–पत्र दिन्छौं । बरू अरबको खाडीमा पुगेर पसिनाले निथ्रुक्क भिजेका युवाले श्रमको मूल्य बुझदैछन् । आफ्नो माटो, राष्ट्रियता, संस्कृति, आफन्तजन र देशको माटोको माया र महŒव तिनले त्यहाँ अनुभव गर्दैछन् । अर्थात् तिनले वास्तविक शिक्षा त्यहाँ पुगेर प्राप्त गर्दैछन्– विना स्कूल, विना शिक्षक, विना किताब, विना जाँच ! मात्रै भोगाइबाट प्राप्त शिक्षा । यो अर्थमा हामीले पढाएका विद्यालयमा स्कूलिङ अत्यधिक र एजुकेसनको तत्व न्यून मात्रामा छ ।

निष्कर्ष र अवलम्बन गर्नुपर्ने बाटो

यो बहसमा आधारित लेख भएकाले यस पूर्वका प्रसङ्गलाई उकेरा दिएर हेर्नुपर्दछ । आफ्ना अवधारणामा डा. लवप्रसाद अवस्थीले स्कूलिङलाई रासायनिक मलको रूपमा, बजारका लागि आवश्यक जनशक्ति सप्लायर्स गर्ने र केवल धन आर्जन गर्ने माध्यमका रूपमा लिएको देखिन्छ । साथै हाम्रो शिक्षाको उद्देश्यले बालबालिकाको अन्तरनिहित प्रतिभालाई प्रस्फुटित गराउने कुरामा जोड दिइएको कुरा उल्लेख छ । हाम्रो शिक्षाको राष्ट्रिय उद्देश्यहरूको बुदा नं. ३ मा स्थानीय, राष्ट्रिय स्तरका व्यवसाय, पेशा एवम् रोजगारीका साथै आवश्यकता अनुसार अन्तर्राष्ट्रिय रोजगारीतर्फ उन्मुख उत्पादनमुखी र सीपयुक्त नागरिक तयार गर्न सहयोग गर्ने, साथै बुँदा नं. ९ मा आधुनिक सूचनाप्रविधिसँग परिचित भई त्यसको प्रयोग गर्न सक्ने विश्व परिवेश सुहाउँदो जनशक्ति तयार गर्ने भन्ने पनि उल्लेख छ ।

स्कूलिङका पक्षमा पनि शिक्षाका उद्देश्यहरू र राज्यका नीतिहरू नबनेका होइनन् । यसको मतलब मेरो विचार स्कूलिङका पक्षमा छ भन्ने होइन । एउटा स्वीकारिएको तथ्य के हो भने डा. अवस्थीले विदेशका केही विद्यालयमा देखेको शैक्षिक वातावरण र हाम्रो विद्यालयका वातावरण भने अवश्यै भिन्न छ । स्कूलिङको तुलनामा शिक्षा प्राप्त गर्ने बाटो निकै कठिन हुन्छ । सिर्जनात्मक र रचनात्मक ढंगले पाठहरू सिकाउनका लागि बढी समय लाग्ने र बढी ज्ञान, बुद्धि, तर्क, विश्लेषण र संश्लेषण क्षमता भएका शिक्षक आवश्यक पर्छन् । परिणाम स्वरूप हामी विद्यार्थीलाई छोटो प्रतिस्पर्धाको अभ्यासमा धेरै उपलब्धि हासिल गर्ने हल्का अभ्यास गराउँदछौं । तर के यस्ता हाम्रा स्कूले संरचनालाई हामी आजै बदल्न सक्छौं त ?
गहन अध्ययन र चरित्र निर्माण भनेको आफैंमा चरम आनन्दानुभूति हो । लामो समयको प्रतिबद्धता र अध्ययनप्रतिको उत्सुकताबाट प्राप्त हुने ज्ञान नै दीर्घकालीन र चिरस्थायी हुन्छ । शिक्षा प्राप्त गर्ने मार्ग कठिन र दुःसाध्य छ । यस्तो धैर्य आजका विद्यार्थीमा कतिसम्म होला ? विज्ञान प्रविधिको उच्चतम विकासले गर्दा अबको मानव सादा जीवन र उच्च विचारको आदर्शमा अडेर चल्न सक्ला नसक्ला ? बरू यसको अलावा उच्च जीवन र उच्च विचारको माग दिनानुदिन बढ्दैछ । आफ्नो रुचि, इच्छा, चाहना, अवस्था अनुसार वा धैर्य, साहस, चिन्तनशीलता तार्किकताको मूल्याङ्कन गरी स्कूलिङ वा शिक्षाको बाटो कुन रोज्ने हो– यो स्वतन्त्रता शिक्षार्थी स्वयंलाई दिनुपर्दछ । किनकि सबै मानिसमा सगरमाथा चढ्ने न त साहस हुन्छ न सामथ्र्य नै । साहस हुनेलाई सगरमाथा चढ्न प्रोत्साहन गर्नुपर्दछ र साहस नहुनेलाई विकल्पको सिर्जना राज्यले गरिदिनुपर्दछ । यसैमा सबै मानवको कल्याण हुनेछ । 

श्री भगवती नमुना उ.मा.वि., मिर्मी ढाव, स्याङ्जा

Related Posts

/*sign up form*/