शिक्षक तालिम के सुधार्ने— सीप कि प्रवृत्ति ?

by • • संवादComments (0)1391

Print Friendly, PDF & Email

शिवकुमार सापकोटा, तालिम विज्ञ÷जिशिअ, ललितपुर

शिक्षक तालिमबाट शिक्षकहरू शिक्षण सीपमा दक्ष हुन सकून्, उनीहरूको क्षमता विकास होस् र त्यसबाट शिक्षण सिकाइमा गुणात्मक अन्तर आओस् अनि विद्यार्थी सिक्ने क्रममा रमाउन् भन्ने अपेक्षा गरिएको हुन्छ । यस्तो तालिमबाट विद्यार्थीको सिकाइ उपलब्धि र प्राप्तांक बढोस् भन्ने पनि अपेक्षा राखिएको हुन्छ । स्कूलको छवि र विश्वसनीयता बढोस् भन्ने चाहना पनि गरिएको हुन्छ । तालिमबाट यस्ता अपेक्षा गरिए पनि शिक्षकको क्षमता विकास गर्नु आफैंमा नतीजा होइन । शिक्षक तालिमले पठनपाठनमा परिवर्तन ल्याउनुपर्छ भन्ने मान्यता हो ।

हाम्रा परम्परागत तालिममा मुख्यतः शिक्षकमा विषयगत ज्ञान बढाउने र दैनिक शिक्षण समस्या समाधान गर्ने सीप सिकाइने गरिन्थ्यो । पछिल्लो तालिम अर्थात् शिक्षकको पेशागत विकास कार्यक्रम (टीपीडी) चाहिं मागमा आधारित छ । शिक्षकले तालिममा सिकेको कुरा विद्यार्थीमा प्रतिबिम्बित हुन सक्नुपर्छ भन्ने हाम्रो ध्याउन्न हो । त्यसैले टीपीडीमा विद्यालयमा आधारित ३० दिने ‘प्रोजेक्ट वर्क’ नै राखिएको छ ।

शिक्षकले कक्षामा तालिमको उपयोग गरेको भए के हुन्थ्यो भन्ने प्रश्नमा घोत्लिंदा यस्तो जवाफ आउन सक्छः अवलोकन गर्न सकिने गरी तालिमको नतीजा देखिने थियो, विषयवस्तु र शिक्षण सीपमा आत्मविश्वासी र सक्षम शिक्षक तयार हुन्थे, विद्यार्थीको रुचि अनुसार कक्षामा शिक्षण सिकाइ हुन्थ्यो, विद्यार्थी केन्द्रित शिक्षण क्रियाकलाप हुन्थ्यो, शिक्षण र ज्ञानमूलक सामग्री सहित सजिएका कक्षाकोठा हुन्थे, कक्षा रमाइलो हुन्थ्यो । तालिमको सदुपयोग भएको भए हरेक परीक्षामा उच्च प्राप्तांक हासिल गरेका विद्यार्थी हुन्थे । शिक्षकले तालिमलाई कक्षामा उतार्न सकेको भए छोराछोरीको भविष्यप्रति हरेक अभिभावक ढुक्क हुन्थे, सार्वजनिक स्कूलका कक्षाकोठा खचाखच भरिएका हुन्थे; छात्रछात्राको उपस्थिति दर राम्रो हुन्थ्यो ।

आधारभूत प्राज्ञिक योग्यता भएको शिक्षकले तालिम लिएको अवस्थामा यस्तो परिवर्तन देखिनुपर्ने हो । तालिमको उपयोग भनेको शिक्षकको समग्र क्षमता र ज्ञानको उपयोग हो । तालिममा सिकेको सीपको मात्र उपयोग कदापि होइन । त्यसो भए तालिम कति उपयोग भयो त ? विभिन्न अध्ययनले हाम्रो शिक्षक तालिम ५० प्रतिशत भन्दा बढी उपयोग हुन नसकेको देखाएका छन् । त्यसैले भविष्य निराशाजनक नभए पनि उत्साहजनक छैन । तालिम उपयोगका सन्दर्भमा आशा र सम्भावना सकिएको छैन । तर तालिम उपयोग नभएकै आधारमा ‘तालिम किन’ भन्ने प्रश्न उठाउन चाहिं मिल्दैन । तालिमलाई कसरी प्रभावकारी बनाउने भन्ने नै मुख्य कुरा हो । अप्रभावकारी तालिमको विकल्प प्रभावकारी तालिम मात्र हुन सक्छ । तालिम चाहिंदैन भन्ने तर्क नै हुँदैन ।

यता आएर तालिम ‘सरकारले दिने र शिक्षकले लिने’ विषय होइन भन्ने कुरा स्थापित गर्न खोजिएको छ । तालिम शिक्षकलाई आवश्यक भए लिने विषय हो । त्यसैले अब तालिम कोटा वितरण गर्ने कार्य बन्द गर्न पाए हुन्थ्यो भन्ने लागेको छ । राष्ट्रको ढुकुटीबाट अहिले औसत वार्षिक रु.५० करोड शिक्षकका यस्ता तालिममा खर्च भइरहेको छ । यो वर्ष त अझ्ै बढी छ ।

शिक्षक घाम तापेर बस्छन्
अदिति अधिकारी
रातो बंगला फाउण्डेसन

म केही समयअघि दैलेखका स्कूलमा पुग्दा त्यहाँ कैयौं स्कूलका शिक्षक–विद्यार्थी चउरमा घाम तापेर बसेको भेटें । प्रायः शिक्षकहरू ‘विद्यार्थी जान्दैनन्, तिनले सिक्न सक्दैनन्’ भन्ने मान्यता बोकेर बसेको पाइयो । आफ्ना विद्यार्थी निजी स्कूलमा जाँदा सरकारी स्कूलका शिक्षकलाई अचम्म नलाग्ने स्थिति पनि देखियो । विद्यार्थी फेल भएकोमा त शिक्षकमा कुनै चिन्ता नै छैन । विद्यालयमा पुस्तकालय लगायतका कैयौं शैक्षिक सामग्री देखिन्छ तर तिनको प्रयोग भने भएको छैन । ती सामान स्कूलमा सजाउन र कसैलाई देखाउन व्यवस्था गरिएको जस्तो लाग्छ । विद्यालयको कम्प्युटर ल्याबमा पनि ताला लागेकै पाइयो । सरकारी विद्यालयका शिक्षकमा उत्साह र जाँगर भन्दा असुरक्षाभाव ज्यादै बढी देखियो । यस्तो किन भएको हो ?

जसरी सिके, त्यसैगरी सिकाए

विश्वनाथ कर्माचार्य
पूर्व उपनिर्देशक, शैक्षिक जनशक्ति विकास केन्द्र

शिक्षक तालिमको मोडालिटीमा परिवर्तन चाहिएको छ । अहिलेको तालिममा ‘नलेज’ (ज्ञान) र ‘स्कील’ (सीप) मा मात्र बढी ध्यान दिइएको छ । ‘एटिच्युड’ (अभिवृत्ति) मा जोड नदिइएकोले समस्या पैदा भएको छ । कुनै व्यक्ति तालिमप्राप्त शिक्षकको कक्षा अवलोकन गर्न जाँदा अन्तर्राष्ट्रिय स्तरको कक्षा हुन्छ । तर अरू वेला हुँदैन । यसबाट शिक्षकले सिक्नुभएको छ भन्ने देखिन्छ । समस्या सिकेको कुरा प्रयोग नगरेका कारण उत्पन्न भएको छ । कक्षामा शिक्षकले आफूले सिकेको कुरा प्रयोग नगर्नुमा शास्त्रीय ढाँचाको पढाइ÷लेखाइले काम गरेको छ । शिक्षक साथीहरूले आफूले विद्यार्थी छँदा जसरी सिक्नुभएको छ, त्यसैगरी कक्षामा सिकाउने गर्नुभएको छ । शिक्षक तालिमबाट उहाँहरूले आफूलाई परिवर्तन गर्न सक्नुभएन । नेपाल सरकारका कर्मचारीले पनि विदेशी तालिम लिएका छन् । तर तिनले पनि नेपालमा फर्केपछि आफूले सिकेको कुरा प्रयोग गरेका छैनन् । शिक्षकले पनि कर्मचारीबाटै सिकेका हुन् कि !

प्रशिक्षकहरूमा पनि आत्मविश्वासको कमी छ । तालिम मात्र तालिम र भत्ताका लागि भएको छ । त्यसैले सुधार गर्ने हो भने तालिम पक्ष मात्र होइन, गैर तालिम पक्षमा पनि ध्यान दिनुपर्छ ।

सिकाइ आजीवन चल्ने कुरा हो । तर, यो कुरालाई हाम्रा शिक्षकले आत्मसात गरेका छैनन् । त्यसैले अहिले उनीहरूलाई तालिम नै बोझ् भएको छ । प्रशिक्षकहरू पनि दक्ष छैनन् । तिनको दक्षता नबढाई तालिम राम्रो हुँदैन । प्रशिक्षकले भाषण बढी गर्ने गरेकोले पनि बिग्रिएको छ । अर्कोतिर क्याम्पसको ‘टिचिङ प्राक्टिस’ गतिलो छैन । स्कूलको नेतृत्व गर्ने प्रअ राम्रो भए स्कूल राम्रो हुन्छ । स्कूलको प्रशासन कमजोर भएकोले एउटाले गर्न चाहे पनि अर्कोले बाधा सृजना गर्ने स्थिति छ । विद्यार्थीका लागि विद्यालय जेल जस्तो भएको छ । रमाइलो गर्ने थलो भएको छैन । शिक्षक तालिममा कक्षाकोठा पाठ्यपुस्तकरहित हुनुपर्छ भनेर सिकाइएको छ । ‘नो प्लान, नो क्लास’ भन्ने सूत्र सिकाइएको छ । तर शिक्षकले कक्षामा पाठ्यपुस्तक मात्रै वाचन गर्छन्, अनि कसरी राम्रो हुन्छ ?

सिकाइ पोलियो थोपा होइन
सानु अमात्य, प्याब्सन, तालिम संयोजक
शिक्षक कक्षाकोठाको मेरुदण्ड हो । त्यसैले शिक्षक परिवर्तन नभएसम्म शिक्षण सिकाइमा कुनै पनि परिवर्तन गर्न सकिंदैन । तालिमलाई प्रभावकारी तुल्याउन प्रशिक्षक र प्रशिक्षार्थी दुवै राम्रो हुनुपर्छ । उनीहरूबीच सिकाइमा तालमेल हुनुपर्छ । हाम्रो देशमा २०२८ सालदेखिको शिक्षक तालिमको विधि उस्तै छ । बालबालिकालाई सिकाउने कुरा पोलियो थोपा जस्तो होइन । शिक्षक तालिम भौगोलिक परिस्थिति सुहाउँदो हुनुपर्छ । अहिलेको सिकाइ र तालिम दुवै ज्ञानमा आधारित छ । तालिममा सुधार गर्न प्रशिक्षकहरूको राष्ट्रिय कार्यशाला गर्नुपर्छ र तालिमको प्याकेज नै परिवर्तन गर्नुपर्ने खाँचो छ ।

गर्नेलाई धाप मार्नुपर्छ
महेन्द्र विष्ट, स्रोतव्यक्ति, चापागाउँ स्रोत केन्द्र, ललितपुर
तालिमका क्रममा शिक्षकलाई विषयगत ज्ञान र सीप पर्याप्त मात्रामा दिइएको छ । तर, तिनको प्रवृत्ति सुधार गर्ने कुरामा खासै ध्यान दिइएको छैन । शिक्षक तालिमका असर÷प्रभावबारे स्कूलमा छलफल हुँदैन । तालिम लिएका धेरैजसो शिक्षकको हातमा अहिले पनि पाठ्यक्रम पुगेको छैन । शिक्षकको हातमा पाठ्यक्रम पु¥याउन कसैले चासो पनि राखेको पाइँदैन । पत्रपत्रिकामा पाठ्यपुस्तक अभावको मात्र समाचार बन्छ । तालिम कक्षामा पुगेको भए शिक्षकले सृजना गर्न सक्थे, पाठ्यक्रममा आधारित शिक्षण सिकाइ हुन्थ्यो । तथापि सबै शिक्षकले गर्दै गर्दैनन् भन्ने होइन, राम्रो काम गर्ने शिक्षकहरू पनि छन् । तालिम कक्षामा लागू गर्ने शिक्षकलाई प्रोत्साहित गर्ने हो भने आजको स्थिति बदलिन्छ ।

सिक्न नचाहेपछि सिकाउन जाँगर लाग्दैन
लोकनाथ भट्टराई
उप–प्राध्यापक, त्रिविवि, शिक्षाशास्त्र संकाय

केही समयअघि मैले मावि तहको शिक्षक तालिम चलाउनु प¥यो । त्यो तालिम १० बजे शुरू गर्ने भनिएको थियो । तर सहभागी शिक्षकहरू पौने १२ बजे तालिम कक्षमा आए । झ्न्डै दुई घण्टापछि शुरू भएको कक्षामा यसअघिका तालिममा सिकेका कुरा कक्षामा के कति लागू गरिएको छ भन्ने प्रश्न राख्दा कुनै पनि सहभागीले सकारात्मक उत्तर दिएनन् । कक्षाकोठाको पठनपाठनको अवस्थाबारे जिज्ञासा राख्दा पनि उत्साहित तुल्याउने जवाफ कसैबाट आएन । धेरै वटा तालिम लिइसकेका सहभागी थिए त्यो तालिममा । उनीहरूमा सिक्ने उत्साह र जिज्ञासा थिएन । आफूले ‘सबै जानेको’ ठान्ने भ्रममा डुबेका पाइन्थे । अर्थात् हाम्रो शिक्षक तालिम, तालिम जस्तो नै भइरहेको छैन । तालिममा शिक्षकले सिक्नै नचाहने प्रवृत्ति मुख्य बाधक छ । त्यसैले अब ममा पनि तालिम दिने जाँगर मर्न थालेको छ । पहिला जस्तो शिक्षक तालिमका लागि तयारी गर्नु नपर्ने रहेछ भन्ने अनुभूति भएको छ । यस्तो हुनुमा धेरै पक्षको कमजोरी छ । शिक्षकको सिक्न लाज मान्ने र कक्षामा विद्यार्थीलाई डोमिनेट गर्ने प्रवृत्ति पनि मुख्य समस्या बनेको छ ।

अंग्रेजीबाट भाग्नेहरू बीएडमा
टीका भट्टराई, शिक्षाकर्मी
हामीले पनि १० वर्षदेखि शिक्षक तालिम चलाएका छौं । हाम्रो तालिममा सर्वप्रथम शिक्षक उत्प्रेरणा सम्बन्धी छलफल हुन्छ । त्यसपछि साना–साना टिप्सबाट तालिम शुरू हुन्छ । तालिममा सिकेका कुरा लागू गरे फेरि तालिम गरिन्छ, अध्ययन भ्रमणमा लान्छौं भन्छौं शिक्षकलाई । विद्यालयमा स्थलगत तालिम गर्छाैं । यी कुराले शिक्षकलाई तालिममा सिक्न र कक्षामा लागू गर्न मद्दत गरेको छ । हाम्रो तालिममा शिक्षकलाई भत्ता दिइँदैन । तैपनि शिक्षकहरू जाँगरिलो पाराले तालिममा सक्रिय भएका हुन्छन् । भत्ता दिने हो भने तिनको ध्यान तालिममा भन्दा बढी भत्तामा जान्छ । तालिम मात्र होइन, अहिलेको बीएड पनि बेकार भएको छ । त्यसले काम गरेको छैन । अंग्रेजी कम पढ्नुपर्ने भएकोले बीएडमा भीड लागिरहेको छ । बीएड गरेका व्यक्तिलाई शिक्षणको जिम्मेवारी दिइन्छ । स्तरीय सिकाइ यही बिन्दुबाट बिग्रिएको छ । 

आयातीत तालिमले बिगारेको छ
रामनारायण साह, स्रोतव्यक्ति, महेन्द्र बौद्ध, स्रोतकेन्द्र, बौद्ध
तालिमको नीति निर्माण अरू देशबाट आयात गरिएको छ; जुन हाम्रो कक्षामा सान्दर्भिक हुनसकेको छैन । तालिममा सिकेका कुरा कक्षामा नपुग्नुमा प्रशिक्षकको अयोग्यताले पनि काम गरेको छ । जहाँको तालिम प्रणाली ल्याइएको हो सिक्नेलाई त्यहीं लगिएको भए हुन्थ्यो कि ! तालिम मात्र होइन, विश्वविद्यालयको शिक्षण अभ्यास पनि प्रभावकारी भएको भए कक्षामा राम्रो सिकाइ हुन्थ्यो । शिक्षकमा ‘म गर्छु’ भन्ने भावना पैदा नभई कुनै तालिमले केही गर्न सक्दैन । शिक्षकले नपढाएर, विद्यार्थीले नपढेर अनि अभिभावकले मैले छोराछोरीलाई समयमा स्कूल नपठाएर शिक्षा बिग्रिएको कुरा अध्ययनले देखाएको छ । त्यसैले शिक्षकले पढाउने, छात्रछात्राले पढ्ने र अभिभावकले छोराछोरीलाई समयमा स्कूल पठाउने हो भने मात्रै शिक्षामा सुधार शुरू हुन्छ ।

खाँचो थिमेटिक तालिमको
महेन्द्र भट्टराई, सेलेव्रेसन कोएड, जोरपाटी
शिक्षक तालिमको प्रभाव अध्ययन गर्दा विद्यार्थीले लेख्न–पढ्न सक्छ कि सक्दैन भन्ने हेर्नुपर्छ । यदि विद्यार्थीको पढाइ÷लेखाइ, बानीव्यहोरामा सुधार भएको छैन भने शिक्षक तालिम फेल भएको मान्नुपर्छ । सरकारी विद्यालय मात्र बर्बाद भएका छैनन्; निजी स्कूलका विद्यार्थीलाई पनि छुट्टाछुट्टै राखेर जाँच लिने हो भने अहिलेको एसएलसी उत्तीर्ण प्रतिशत घट्छ । यसबाट पनि तालिम प्रभावकारी नभएको सिद्ध हुन्छ । त्यसैले अबको शिक्षक तालिम थिमेटिक हुनुपर्छ । तालिम कुन थिममा दिने हो, त्यो पहिला निधो गरिनुपर्छ । शिक्षक र प्रअलाई थिम अनुसार तालिम दिने र तालिम उपयोग भए÷नभएको हेरिनुपर्छ । प्रअलाई हेर्ने विव्यसलाई पनि तालिम चाहिएको छ । बारम्बार तालिम दिने र व्यवहार परिवर्तन भए वा नभएको हेर्ने हो भने सुधार हुन्छ । अब शिक्षकलाई मात्र तालिम दिएर पुग्दैन । राम्रो काम गर्नेलाई प्रोत्साहन गर्नुपर्ने तर अहिले हतोत्साहित गरिएकोले पनि तालिम लागू गर्न चाहनेहरू हिच्किचाउने गरेका छन् । राम्रो काम गर्ने शिक्षकलाई रिवार्ड गर्नुपर्छ ।

काममा विश्वास गरौं !

गंगाधर हाडा
प्रअ, कन्या शिक्षा मावि, भक्तपुर

तालिम कक्षामा पु¥याउने कुरामा प्रअको ठूलो भूमिका हुन्छ । कमजोर प्रअ तथा शिक्षकका कारण गतिलो पढाइ नभएकोले सरकारी स्कूलको अस्तित्व संकटमा पर्न थालेको छ । १० वर्षअघि म पनि अस्तित्व संकट झ्ेल्दै गरेको स्कूलमा सरुवा भएर गएको थिएँ । आज त्यो स्कूल बदलिएको छ । ‘शिक्षकले चाहे गर्न सक्छन्’ भन्ने नाराको दृष्टान्त हो मेरो स्कूल । चार वर्षदेखि शतप्रतिशत एसएलसी नतीजा आएको छ । मेरो छोरो मेरै स्कूलमा पढ्छ । विज्ञान र सामाजिक अध्ययनको प्रश्नपत्र नबिग्रिएको भए हाम्रो स्कूलका ५० प्रतिशत विद्यार्थीले गत सालको एसएलसीमा विशिष्ट श्रेणी हासिल गर्ने थिए । त्यसैले मलाई अहिलेको शिक्षक तालिममा होइन, शिक्षकको काममा विश्वास छ । शिक्षककै मिहिनेतले मेरो स्कूल फेरिएको हो, शिक्षक तालिमले होइन । मेरो विचारमा अहिलेको जस्तो तालिमको औचित्य नै छैन । किनभने तालिम हचुवाको भरमा सञ्चालन हुने गरेको छ । प्रशिक्षकहरूको योग्यता पनि सन्देहरहित छैन । जो पनि प्रशिक्षक बनेका छन् । प्रशिक्षक र प्रशिक्षार्थी दुवै तालिम ढिलो शुरू गरेर चाँडै सक्न चाहन्छन् । तालिमका लागि प्रभावकारी बनाउन शिक्षकहरू मानसिक रूपमा तयार नै नभएका कारण तालिम तालिम हलमै छाडिने गरेको छ ।

मेरो स्कूल सुधार हुनुमा समय र अनुशासनको पालनाले पनि भूमिका खेलेको छ । संस्था नियममा चल्नुपर्छ । हाम्रो स्कूलका निजी स्रोतका शिक्षक, जो शिक्षक तालिमबाट पनि बञ्चित छन् उनीहरूले स्थायी र दरबन्दीका शिक्षकले भन्दा राम्रो गरेका छन् । दरबन्दीका शिक्षकको पेशागत सुरक्षा बढी भएकोले अलि कम काम गर्ने प्रवृत्तिको शिकार भएका छन् । सार्वजनिक स्कूलमा कमजोर जनशक्तिको दबदबाले गतिलो नतीजा नआएको हो । खासमा हाम्रो शिक्षाशास्त्रको क्षेत्र नै कमजोरहरूको अखडा भएको छ ।

जो पनि शिक्षक हुन सक्दैन
मेदिन लामिछाने, प्रअ, युलेन्स
सार्वजनिक स्कूलको अहिलेको सिकाइ उपलब्धि निराशाजनक छ । शिक्षकहरू कागजमा मात्र आत्मविश्वासी छन्, आफ्नो क्षमताप्रति चाहिं उनीहरूमा खासै विश्वास छैन । आफूप्रति विश्वास भएको भए सरकारी स्कूलका शिक्षकले आफ्नै स्कूलमा छोराछोरी पढाउने थिए । तर स्थिति ठीक विपरीत छ । शिक्षकमा आफ्नो योग्यता तथा क्षमतामा विश्वास नभएरै यस्तो भएको हो ।

शिक्षकले बढुवा हुनका लागि तालिम लिने गरेका र सिकेका कुरा कक्षामा नलगेका कारण सार्वजनिक स्कूलप्रतिको भरोसा कमजोर भएको हो । शिक्षकका लागि सिकाइ आजीवन प्रक्रिया हुनसकेको छैन । सिकाइबाट शिक्षकको व्यवहार परिवर्तन हुनसकेको छैन ।

मुख्य त जस्तोसुकै व्यक्ति पनि शिक्षणमा आउन सक्ने र जोसुकैले पढाउने परिपाटी घातक छ । पढाउन व्यावसायिक शिक्षकले मात्र सक्छ भन्ने मान्यता स्थापित गराउन सकिएको छैन र व्यावसायिक शिक्षक को हुन् भन्ने पहिचान पनि हुनसकेको छैन । तालिममा सुधार गर्न शिक्षक तालिममा सिकेको विषय प्रमाणपत्रमै राख्नुपर्छ; त्यसले केही सुधार गर्न सक्छ । विश्वविद्यालयको शिक्षाशास्त्र कमजोर जनशक्ति उत्पादन गर्ने केन्द्र भएको छ । अनि त्यही जनशक्ति शिक्षण पेशामा थपिंदै गएको छ, अनि कसरी सुधार हुन्छ ?

खाँचो मागमा आधारित तालिमको
गीता सिटौला, प्रशिक्षक
हाम्रो शिक्षक तालिम मागमा आधारित छैन । शिक्षकलाई के चाहिएको छ भन्ने तालिम प्रदायकलाई थाहा छैन । शिक्षक तालिममा आएका शिक्षकलाई ‘भरेर’ पठाउने गरिएको छ, त्यहाँ प्राकृतिक सिकाइ भएकै छैन । जब तालिममै प्राकृतिक र सहज सिकाइ हँुदैन भने तालिम लिएको शिक्षकले कसरी तालिम लागू गर्न सक्छ ? यो कुरा नबुझ्ी शिक्षकले घाम ताप्यो; पढाएन भनेर मात्र पुग्दैन, किन घाम ताप्यो ? भनेर खोज्नु पनि पर्छ । किनभने कसैले पनि म ‘ब्याड टिचर’ हुँ भनेर पढाउँदैन । नराम्रो गर्नेलाई ‘हाइलाइट’ गरेर सकारात्मक नतीजाको आशा गर्न सकिंदैन । अब सकारात्मक कुराबाट शुरू गर्नुपर्छ ।

साथै शिक्षक विकासमा पनि उत्तिकै ध्यान दिनु आवश्यक छ । राम्रो सुरुआत गर्न शिक्षक तालिमकै सन्दर्भमा पनि सफलताका कथाहरू छन् । नेपालका शिक्षक जाँगरिला छन् भन्ने देखाउन सफलताका कथा खोज्नुपर्छ त्यसले तालिम कक्षाकोठामा पु¥याउन सहयोग गर्छ ।

स्तरीय शिक्षाका निम्ति तालिम
दिनेशकुमार श्रेष्ठ, उपनिर्देशक, शिक्षा विभाग
स्तरीय शिक्षाको लागि तालिम अति जरूरी छ । तालिम डिजाइनमा खासै समस्या छैन । १० महीने तालिम आपूर्तिमा आधारित थियो, टीपीडी अहिले मागमा आधारित छ । विद्यार्थी शिक्षक अनुपात मिलेका, शैक्षिक सामग्री भएका स्कूलमा पनि तालिम कक्षामा गएको छैन । शिक्षक तालिम खासमा सिकाइ÷शिक्षण संस्कृति बन्न सकेन । विद्यालयको वातावरण÷कक्षाको स्थितिले पनि तालिम लागू गर्न कठिन परेको देखिन्छ ।

तालिम संस्कृति बने धेरै समस्या स्वतः समाधान हुन्छन् । शिक्षकलाई उत्प्रेरणा पुगेन, उनीहरूलाई आन्तरिक र बाह्य उत्प्रेरणा चाहिएको छ । त्यसका लागि हामीले केही प्रयास आरम्भ गरेका छौं । बढुवामा पनि सिकाइ सुधार जोडिएको छ । तैपनि कक्षामा राम्रो भएको धेरै उदाहरण फेला परेकोे छैन । एसएलसीमा राम्रो गर्नेलाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ । दरबन्दी मिलान र विद्यालय समायोजन अघि बढेको छ । दरबन्दी मिलानले दरबन्दी कटौती गर्दा तालिम लागू गर्न सजिलो हुन्छ कि भनेर सोचिएको हो, त्यसले पनि काम गरेको छैन । त्यसैले अब प्रअ र विव्यसले शिक्षकको अनुगमन गर्नुपर्छ । अब गुणस्तरीय शिक्षा र सिकाइ उपलब्धि सबैको मूल एजेण्डा बन्नुपर्छ । त्यही कुराले तालिम कक्षामा पु¥याउन सहयोग पुग्छ ।

उत्साही शिक्षकको कमी छ
युवराज न्यौपाने, प्रअ, वैष्णवी मावि, कीर्तिपुर
तालिमको भिजुअल रेकर्ड गर्ने प्रणाली बसाल्नुपर्छ । यसो गर्दा प्रशिक्षक र प्रशिक्षार्थीमा डर सृजना हुन्छ । शिक्षक तालिमका प्रशिक्षकको प्रस्तुतिमा पनि समस्या छ । राम्रो गर्नेलाई रिवार्ड गर्ने परम्परा थालनी गरे त्यसले मौजूदा निराशा कम गर्न सहयोग पुग्छ । मेरो विचारमा शैक्षिक सामग्री तयार गर्न नसक्ने शिक्षक राम्रा होइनन् । तालिमपछिको मूल्यांकन प्रणाली फितलो भएकोले पनि सिकेको सीप खल्तीमै राख्ने प्रवृत्ति बढ्दो छ । तालिम लिएका शिक्षकको तालिमको मार्कसीट स्कूलको भित्तामा टाँसेमा केही सुधार हुन्छ कि ! शिक्षकले बनाएका सामग्री सुरक्षित गर्ने र पुनःप्रयोग गर्ने पद्धति पनि छैन हाम्रा स्कूलमा । यसले पनि हतोत्साहित गरेको छ । गतिलो शिक्षकका निम्ति विद्यार्थी संख्या कहिल्यै समस्या हुँदैन । तर, तालिम लिएका शिक्षकलाई थोरै वा धेरै विद्यार्थी समस्या भएको छ । तालिम लिएको शिक्षक कक्षाकोठाको परिस्थिति अनुसार शिक्षण योजना बनाउन र लागू गर्न समर्थ हुन्छ । तर, हाम्रा स्कूलमा त्यस्तो दिन कहिले आउला ? 

प्रस्तुतिः बाबुराम विश्वकर्मा

Related Posts

/*sign up form*/