विज्ञान शिक्षकले जान्नुपर्ने चाहिं कति ?

by • • विज्ञान–व्याख्याComments (0)1316

Print Friendly, PDF & Email

प्राथमिक तहका विज्ञान शिक्षकहरूमा विद्यार्थीलाई सकेसम्म धेरै विज्ञानको ज्ञान दिनुपर्छ भन्ने धारणा बनेको हुन्छ । विज्ञान स्वभावतः तथ्यात्मक हुन्छ र यसका कतिपय तथ्य, सिद्धान्त र जानकारी प्राथमिक तहका प्रत्येक बालबालिकाले कण्ठ पार्नैै पर्छ भन्ने पनि उनीहरूलाई लागेको हुन्छ । प्रश्न उठ्छ, यस्ता धारणा कति सही हुन् ? र, एउटा शिक्षक स्वयम्ले कतिसम्म विज्ञान जान्न सक्छ वा जान्नु जरूरी छ ?

ज्ञानको बाढी
विज्ञान सम्बन्धी ज्ञान साँच्चै अथाह र अपरिमेय छ । ५० हजार भन्दा बढी त अनुसन्धानका क्षेत्र (विषय होइन !) नै छन् । विज्ञान सम्बन्धी जानकारी दिने १ लाख २० हजार भन्दा बढी प्राविधिक पत्रिका विश्वमा नियमित प्रकाशित हुन्छन् । हिसाब गर्दा के देखिएको छ भने, विज्ञान सम्बन्धी ज्ञानको यो भण्डारसँग ताल मिलाएर चल्न मानिसले एक मिनेटमा ४० लाख शब्दका दरले निरन्तर पढिराख्नुपर्ने हुन्छ । ज्ञानको यो भण्डार एक वर्ष नपुग्दै डबल भइसक्छ । अझ्, सन् २०२० सम्ममा त यो भण्डार अढाइ महीनामै दोब्बर हुँदै जाने वैज्ञानिकहरूको अनुमान छ । मान्छे नाथेले पढेर के पार लाओस् !

यसलाई एक छिन बिर्सिदिने हो भने पनि विज्ञानको क्षेत्र कति विस्तृत र विविधतापूर्ण छ भने कुनै पनि कक्षाका विद्यार्थीको अप्रत्याशित (तर विषय सम्बन्धी) प्रश्नको तथ्यात्मक उत्तर दिन कुनै पनि शिक्षकको बुताको कुरो हुँदैन । मानिलिनोस्, तपाईंले आफ्ना विद्यार्थीलाई कायान्तरण (मेटामर्फोसिस) पढाउने निधो गर्नुभयो र लार्भा कसरी पुतलीमा कायान्तरण हुन्छ भन्नेबारे आफ्नो ज्ञान ताजा गर्नुभयो । अन्य केही कीरा र पुतलीको कायान्तरणमा के समानता र फरक छ भन्नेबारे पनि अध्ययन गर्नुभयो । यसरी पूर्ण तयारी साथ कक्षामा, पढाइरहेको वेला कुनै बच्चाले झवाट्ट कनसुत्लोका बारेमा सोध्यो भने के गर्नुहुन्छ ? केही दिनअघि उसले आफ्नो घरमा कनसुत्लो देखेको हुन सक्छ र उसलाई त्यसबारे नै जान्ने बढी उत्साह हुन सक्छ । आफूले पढाउने कुराबारे त तपाईंलाई पर्याप्त थाहा छ तर कनसुत्लोका बारेमा थाहा छैन । अब के गर्ने ?

अथवा, तपाईं मशीन र त्यसको कार्यप्रक्रियाबारे सामान्य जानकारी दिइरहनुभएको छ । र, बच्चाहरूलाई आफंै मशीनहरूको ‘खोज’ गर्न प्रेरित पनि गर्दै हुनुुहुन्छ । फ्याट्ट एउटा बच्चाले क्रेनको कार्यप्रणालीबारे प्रश्न गर्छ । त्यसका बारेमा त तपाईंले अध्ययन गर्नुभएकै छैन । अब गर्नुहुन्छ के ?

कुरो बुझ्हिाल्नुभयो होला । विज्ञान सम्बन्धी जति अध्ययन गरे पनि, जति सिके पनि कहिल्यै पर्याप्त हुँदैन, चाहे प्राथमिक कक्षालाई पढाउन नै किन नहोस् !

असान्दर्भिक ज्ञान
विज्ञान सम्बन्धी तथ्यात्मक जानकारीमा बढ्तै जोड दिन थाल्दा अर्को कठिनाइ पनि आइलाग्छ । विज्ञान सम्बन्धी निश्चित ज्ञान अलिक पछि असान्दर्भिक÷अप्रचलित हुन सक्छ । जस्तै, सन् १९५६ सम्म बायोलोजीका शिक्षकहरू आफ्ना विद्यार्थीलाई मानव शरीरको एउटा कोशिकामा ४८ वटा (२४ जोडी) क्रोमोजोम हुन्छन् भन्ने ‘तथ्य’ कण्ठ पार्न जोड दिन्थे । कसैलाई त्यति पनि कण्ठ नभए उसको कन्सिरी तानिन्थ्यो । तर सन् १९५६ मा अनुसन्धानबाट के नयाँ तथ्य फेला प¥यो भने एउटा कोशिकामा ४६ वटा मात्र क्रोमोजम हुन्छन्, ४८ वटा होइन ! अब बायोलोजीका ती विद्यार्थीहरूको कल्पना गर्नोस्, जो मानव शरीरको एउटा कोशिकामा ४८ वटा क्रोमोजोम हुन्छन् भन्ने तथ्यात्मक ज्ञान कण्ठस्थ गरेर संसारभरि घुमिरहेका छन् । (एकपल्ट पढाइ सकिएपछि, विज्ञानमा कुन कुन विषयमा के के अनुसन्धान भए र तिनको निष्कर्ष के निस्क्यो भनेर ‘अपडेट’ गरी हिंड्न कसलाई पो फुर्सत हुन्छ र ?) यस्ता तथ्यात्मक गल्तीका बारेमा हामी के पो गर्न सकौंला र ?

भनिन्छ, इन्जिनियरहरूले अध्ययन गरेको ज्ञानमध्ये आधा त दुई–तीन वर्षभित्रै अप्रचलित÷असान्दर्भिक भइसक्छ र त्यसको ठाउँ नयाँ ज्ञानले लिइसक्छ । डाक्टरीदेखि कम्प्युटर प्रणालीसम्म सबैको कुरो यस्तै हो । त्यसैले प्रश्न उठ्छ— त्यस्ता वैज्ञानिक ‘तथ्य’हरू सिक्नु कति महŒवपूर्ण हो, जुन नयाँ खोज सामुन्ने आउनासाथ असान्दर्भिक हुन पुग्छन् ?

बदलिंदो ज्ञान
तथ्यात्मक ज्ञानमा जोड दिंदा आउने अर्को समस्या हो— बदलिंदो वैज्ञानिक ज्ञान । वैज्ञानिक अनुसन्धानहरूको फलस्वरुप पहिलेका मान्य सिद्धान्तहरूलाई कुनामा पन्छाएर नयाँ सिद्धान्त प्रतिपादित गरिन्छ । गहन अनुसन्धान, अध्ययन र बढी परिष्कृत प्रयोगका कारण आधारभूत तŒवहरू सम्बन्धी हाम्रो ज्ञान र समझ्दारीमा परिवर्तन आइरहन्छ । प्रकाशको सिद्धान्त यसको एउटा उदाहरण हो । आज विज्ञानका पाठ्यपुस्तकमा प्रकाशमा कण र तरंग दुवैका गुण पाइन्छन् भन्ने सिकाइएको हुन्छ । तर यो मान्यता, जसलाई म्याक्स प्लांक, अल्बर्ट आइन्स्टाइन र अन्य वैज्ञानिकहरूले विकसित गरेका हुन्, केवल ९० वर्ष पुरानो हो । यस अघिसम्म प्रकाशमा तरंगका गुण मात्र हुन्छन् भन्ने मान्यता थियो । त्यस्तै पढाइन्थ्यो ।

प्लेट टेक्टोनिक्सको सिद्धान्त पनि यस्तै हो । यसले पृथ्वीका महाद्वीप र महासागरहरू भौगर्भिक ‘प्लेट’ माथि रहेका छन् र ती प्लेट निरन्तर चलायमान छन् भन्दछ । आज सर्वमान्य रहेको यो सिद्धान्त करीब ४० वर्षअघि मात्र जन्मेको हो । त्यसअघिसम्म महाद्वीप र महासागरका आधारलाई स्थिर÷अचल मानिन्थ्यो ।

मुख्यतः यी तीन कारणबाट के स्पष्ट हुन्छ भने प्राथमिक (वा कुनै पनि) तहका विज्ञान–शिक्षकहरूलाई पर्याप्त मात्रामा विज्ञान सिक्न निकै गाह्रो हुन्छ । त्यसो भए तिनलाई विज्ञानको कति ज्ञान आवश्यक हुन्छ त ? यो यस्तो प्रश्न हो जसको कुनै जवाफ छैन । उसले कुन–कुन विषय–क्षेत्रको र कति हदसम्म वैज्ञानिक ज्ञान हासिल गर्नुपर्छ भन्ने प्रश्नको सर्वमान्य जवाफ कसैले दिन सक्तैन । तथापि, प्राथमिक तहका विज्ञान शिक्षकसँग वैज्ञानिक तथ्य र जानकारीको यतिसम्म ज्ञान त हुनैपर्छ, जसबाट उसलेः

–    वैज्ञानिक अनुसन्धानको प्रकृति, विज्ञानमा त्यसको मूल भूमिका र त्यसमा लाग्ने कौशल तथा विधिहरू बुझन सकोस् ।
–    विज्ञानका मुख्य शाखा र तिनको मूलभूत तथ्य र सिद्धान्त राम्ररी अवगत गर्न–गराउन सकोस् ।
–    विज्ञानका शाखाहरूबीच तथा गणित, प्रविधि र अन्य शैक्षिक विषयहरूबीच सैद्धान्तिक सम्बन्ध स्थापित गर्न सकोस् ।
–    व्यक्तिगत र सामाजिक मामिला÷विषयहरूमा वैज्ञानिक दृष्टिकोण अपनाउन सकोस् ।

प्राथमिक तहका विज्ञान–शिक्षकले विकासका तीन मूलभूत क्षेत्रहरू—जीव विज्ञान, भौतिक विज्ञान र भू–अन्तरिक्ष विज्ञानबारे अध्ययन गर्नु राम्रो हुन्छ । ती अन्तर्गत अनेक विषय पर्दछन् । तथापि, विज्ञानको विस्तृत ज्ञान सञ्चय गर्नुभन्दा बढी महŒवपूर्ण कुरा शिक्षकले आफूले जानेको कुरा पढाउने क्रममा कसरी उपयोग गर्छ भन्ने नै हो । प्राथमिक कक्षाका तीन जना शिक्षकले एउटा संयुक्त लेखमा विज्ञान–अध्यापनको शैली आफूहरूले कसरी विकसित गरे भन्ने उल्लेख गर्दै भनेका छन्ः “पहिले हामी विज्ञान पढाउन त्यति उत्साही थिएनौं किनभने त्यसका लागि पर्याप्त रूपमा तयार थिएनौं । तर पढाउने तरीका बदल्नासाथ सफल र फुर्तिला विज्ञान शिक्षक बन्न पुग्यौं । यस्तो दुई कारणले भयो । क) हामीले विद्यार्थीसँग मिलेर प्रयोग र खोज गर्ने तथा त्यसको माध्यमबाट सिक्ने बाटो अँगाल्यौं । ख) पढाउन जानुअघि सम्बन्धित विषयमा विज्ञानका मूलभूत सिद्धान्तका बारेमा आफूलाई स्पष्ट पार्ने ग¥यौं । यसप्रकार, विद्यार्थीलाई विज्ञान सिक्न उत्साहित गर्नुका साथै स्वयम् आफ्नै पनि ज्ञान बढायौं ।”

कुराको चुरो के भने, शिक्षकहरू विज्ञान सम्बन्धी जानकारीको ठूलो भारी बोक्न र बोकाउनतिर लाग्नुभन्दा विद्यार्थीलाई विज्ञान कसरी ‘गर्ने’ भन्ने सिकाउनु बढी महŒवपूर्ण हुन्छ । यस क्रममा तिनले वैज्ञानिक निरीक्षण गर्न, सृजन गर्न, नयाँ विचार अगाडि ल्याउन, संश्लेषण गर्न, विश्लेषण गर्न, मूल्याङ्कन गर्न आदि सिक्नुपर्छ । तिनलाई आफ्नो सिद्धान्त आफैं बनाउन आउनुपर्छ । तिनीहरू आफ्ना लागि के महŒवपूर्ण हो र के महŒवपूर्ण होइन भन्ने जान्न, बुझन र छुट्याउन सक्ने हुनुपर्छ ।

विज्ञान शिक्षकहरूले केटाकेटीको दिमागमा असंख्य तथ्य र सिद्धान्तहरू खाँदी–खाँदी भर्नु जरूरी छैन । उनीहरू तिनका लागि भविष्यमा यो ‘आवश्यक’ हुन्छ भन्ने गलत धारणाका कारण यसो गर्दछन् । विद्यार्थीलाई विज्ञानको बोझ् बोकाउने होइन, विज्ञान ‘गर्न’ सिकाउनुपर्छ । 

(साभारः शैक्षिक सन्दर्भ, फरबरी–मार्च २००२)
भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/