विज्ञान पठनपाठनमा कलाको स्थान – केरन हेडक

by • • विज्ञान–व्याख्याComments (0)385

Print Friendly, PDF & Email
विज्ञान सिक्न र सिकाउन कलाको उपयोग गरिएको हामी सबैले देखिरहेकै छौं । विज्ञानका पुस्तकमा फोटो, चित्रकारी र पेन्टिङका माध्यमबाट कुरा स्पष्ट पार्न÷बुझउन कोशिश गरिएको हुन्छ भने विद्यार्थीलाई चित्रकारीका माध्यमबाट कुरा बुझउन लगाउने गरिन्छ । तर यो प्रक्रियामा कलाको कति सदुपयोग र कति दुरुपयोग भइरहेको छ ? कलाको महŒव र यसको प्रभावलाई गम्भीरतापूर्वक लिइएको छ कि त्यतातिर कसैले ध्यान नै दिएको छैन ? कतै विद्यार्थीमा यसले भ्रम र नकारात्मक मनोवैज्ञानिक असर त सिर्जना गरिरहेको छैन ?
विज्ञानका पाठ्यपुस्तकलाई सजाउने र तिनको सुन्दरता बढाउने दृष्टिले पनि कलाको उपयोग गरिन्छ । यसबाट विद्यार्थी आकर्षित हुन्छन् भन्ने मान्यता छ । कुरा सही हो । तर कला वा चित्रले अप्रत्यक्ष रूपमा पनि धेरै कुरा भनिरहेको हुन्छ । विद्यार्थीको सांस्कृतिक दृष्टिकोण व्यापक बनाउन र सौन्दर्यप्रति उनीहरूको संवेदना जगाउन पनि यो सहयोगी हुन सक्छ ।

विद्यार्थीलाई विज्ञान सिक्ने क्रममा चित्र बनाउन लगाउँदा विज्ञानमा उनीहरूको रुचि बढ्छ । किनभने, चित्र बनाउँदा उनीहरू सुन्ने वा केवल देख्ने अवस्थाको तुलनामा सिक्ने प्रक्रियामा ज्यादा गहिराइका साथ शामेल हुन्छन् । पूर्ण एकाग्रताका साथ त्यसमा डुब्छन् । कला आफूलाई अभिव्यक्त गर्ने रोचक माध्यम त हुँदै हो । र, यसमा प्राप्त भएको कुशलता विज्ञान बाहेक अन्य विषय र क्षेत्रमा पनि उत्तिकै उपयोगी हुन्छ । त्यसैले कला, वस्तुतः पढाइ–लेखाइ अथवा गणित जत्तिकै जरूरी कुरा हो ।

अवलोकन क्षमता बढाउन
कुनै वस्तु हेरेर त्यसको चित्र बनाउँदा कुनै पनि वस्तुलाई मसिनोसँग हेर्ने र बुझने विद्यार्थीको क्षमता तिखारिन्छ । यो कुरा तपाईं स्वयं पनि एउटा सरल प्रयोगका माध्यमबाट परीक्षण गरी हेर्न सक्नुहुन्छ । गमलाको बिरुवालाई हेर्नुहोस् र त्यसको चित्र बनाउनुहोस् । तपाईंलाई स्वतः स्पष्ट हुन्छ— चित्र बनाउने प्रक्रियामा तपाईंले त्यस बिरुवाको उचाइ, पात, हाँगा आदि ज्यादै मसिनोसँग हेर्नुपर्ने हुन्छ; त्यसका विभिन्न भागको तुलना अथवा विश्लेषण गर्नुपर्ने हुन्छ । चित्र बनाउनु नपरेको भए तपाईं त्यसलाई यति मसिनोसँग, यति ध्यान दिएर शायद हेर्नु हुने थिएन । त्यसवेला, यसका पात एकातिर अलिक चुच्चा, अर्कातिर निकै गोला, आकाशतिर फर्किए पनि टुप्पोतिर पृथ्वीतर्फ नुहेका छन् भन्ने पनि शायद ख्याल गरिराख्नु हुने थिएन । यसको पात पलाउन आँटेको हो कि हाँगो भन्ने कुरा शुरूमा छुट्याउन गाह्रो हुँदोरहेछ भन्ने पनि तपाईंलाई शायद थाहा हुने थिएन ! अन्ततः तपाईंले पाउनुहुनेछ— पहिले हजारचोटि हेरिसक्दा पनि नदेखिएका अनेकौं कुरा एकपल्ट चित्र बनाउँदा देखिए, अनि त्यही एकपल्ट देखिएका कुरा तपाईंको दिमागमा जिन्दगीभर नमेटिने भएर छापिन पुगे !

विद्यार्थीको अवलोकन–कुशलता बढाउनको लागि जुन वस्तुको चित्र बनाउने हो त्यो वस्तु उनीहरूको सामुन्ने राखिदिनु जरूरी छ । ब्ल्याकबोर्डमा तपाईंले बनाइदिएको अथवा पुस्तकमा रहेको कुनै चित्र बनाउन (त्यसको नक्कल उतार्न) लगाउनुभयो भने तिनले चित्र बनाउन भन्दा नक्कल गर्न चाहिं सिक्छन् । यसमा रोचकता हुँदैन । तर वस्तु नै सामुन्ने राखिदिनुभयो भने तिनको अवलोकन–क्षमता पनि बढ्छ, हरेकले आ–आफ्नो दृष्टिले त्यसलाई हेरेर ‘मौलिक’ चित्र पनि बनाउँछन् जसमा कहिलेकाहीं तपाईंले सोच्तै नसोचेको आयाम पनि समेटिएको हुन सक्छ ।

उदाहरणका लागि, विद्यार्थीलाई हरियो तरकारीको चित्र बनाउन लगाउने अभ्यासकै कुरा गरौं । काउली, भन्टा, बन्दा, पालुङ्गो, रायो, खुर्सानी, सिमी आदि तरकारी तिनले देखिरहेकै हुन्छन् । तर कक्षाकोठामा, आफ्नो स्मृतिका आधारमा तिनको चित्र बनाउन लगाउनु निर्जीव अभ्यास मात्र हुन जान्छ । ती तरकारी उनका सामु राखिदिनुभयो भने चाहिं, चित्र बनाउने क्रममा तिनले तिनीहरूको आकार, नाप, बनावट, रेखा, चिल्लो वा खस्रोपन, गोलाइ वा चुच्चोपन, रंग आदिबारे थुप्रै कुरा मसिनोसँग थाहा पाउँछन् र त्यो सब तिनको दिमागमा अमिट भएर बस्न पुग्छ । यो सार्थक मात्र होइन रोचक र सजीव अभ्यास समेत बन्न पुग्छ ।

केटाकेटीले चित्र बनाउन सक्लान् कि नसक्लान् भनेर शिक्षक डराइरहनुपर्दैन । सबैभन्दा साना विद्यार्थी पनि रंगीन पेन्सिल अथवा क्रेयोन हातमा लिएर चित्र बनाउन सधैं तत्पर हुन्छन् । बरु अलिक ‘शिक्षा’ पाउँदै गएपछि चाहिं उनीहरूले भन्न सक्छन्— म त यसको चित्र बनाउन सक्तिनँ । विद्यार्थीहरूको डर हटाउन र तिनलाई प्रोत्साहित गर्न म एउटा तरीका अपनाउने गर्छु । म तिनका लागि कहिल्यै चित्र बनाइदिन्नँ, न त हात समातेर चित्र कोराइदिनेतिरै लाग्छु । म के मात्र भन्छु भने— ‘मलाई थाहा छ, तिमी चित्र बनाउन सक्छौ ।’ म सम्बन्धित विद्यार्थीसँगै बस्छु र उसले जे देखिरहेको छ त्यसको वर्णन गर्न लगाउँछु । एकछिन पछि उसले भन्छ— त्यहाँ हाँगो छ । मेरो प्रश्न हुन्छ— हो ? अनि त्यो कस्तो छ त ? सोझे छ कि, दाहिनेतिर मोडिएको छ कि देब्रेतिर मोडिएको छ ? यसो भन्दा म पनि त्यतै हेर्ने कोशिश गरिरहे जस्तो गर्छु । उसले भन्छ— त्यो यतातिर (हातले देखाउँदै) मोडिएको छ । ‘त्यसो भए कापीमा त्यतातिर मोडिएको रेखा बनाऊ त’, म भन्छु । उसले सजिलै त्यसो गर्छ । केही मिनेटसम्म यो प्रक्रिया अघि बढेपछि, हेर्दै–बनाउँदै गर्न लगाएपछि ऊ थाहै नपाई यो प्रक्रियामा डुब्छ र चित्र बनाउन एकाग्र हुन्छ । तपाईंले उसको इरेजर चाहिँ आफ्नो हातमा राख्न सके राम्रो, किनभने यसो गर्दा उसले बनाएको चित्र उसले मेटिसक्नुभन्दा पहिले तपाईंले हेर्न पाउनुहुनेछ । मलाई के पनि लाग्छ भने विद्यार्थीले रंग नलगाई, पेन्सिल वा कलमले मात्र चित्र बनाए भने बढी राम्रो । किनभने, चित्रका मसिना कुराहरू सेतो–कालोमा बढी स्पष्टसँग देखिन्छन् ।

यस क्रममा, शिक्षकका दिमागमा विद्यार्थीले बनाउनुपर्ने चित्रबारे पूर्व–धारणा रहेका छन् भने उनीहरूलाई केही निराशा पनि हुन सक्छ र त्यसको प्रतिक्रियाका कारण विद्यार्थीलाई आफ्नो चित्रकारी क्षमतामाथि अविश्वास पनि पैदा हुन सक्छ । तर शिक्षक त्यस्तो धारणाबाट मुक्त छ र विद्यार्थीलाई आफ्नै पाराले चित्र बनाउन पूरापूर स्वतन्त्रता दिन्छ भने कसैले निराश हुनुपर्दैन । यस्तो अवस्थामा विद्यार्थीले जुन चित्र बनाउँछन्, सबका–सब अद्भुत र मौलिक हुन्छन् ।

अवलोकन गरेर चित्र बनाउँदा विद्यार्थीले वस्तुलाई आ–आफ्नै दृष्टिकोणले हेर्ने गर्छन् । पाँच जना विद्यार्थीका बीचमा एउटा अंकुरित बीज राख्नुहोस् र त्यसको चित्र बनाउन लगाउनुहोस्— पाँचै जनाका चित्र बिल्कुलै पृथक् हुनेछन् । एउटाले जराका मसिना रौं देखाउनेछ, अर्काेले बीचको फाटेको कवचलाई देखाउन सक्छ, अझ् अर्काेले जराको टुप्पोको तीखोपन देखाएको हुन सक्छ । (चत्र–१—बायाँ पृष्ठ) यस प्रकार उनीहरू एक–अर्काबाट सिक्न सक्छन् । साथै तिनले के पनि सिक्न सक्छन् भने, कुनै वस्तुलाई हेर्ने एउटा मात्र तरीका हुँदैन र विज्ञानमा सधैंभरि कुनै एउटा मात्र सही उत्तर हुँदैन ।

केटाकेटीले देखेकै कुरा चित्रमा बनाएका हुन् कि होइनन् भन्ने सजिलैसँग थाहा पाउन सकिन्छ । जसले देब्रेतिरको चित्र बनायो, उसले किताबमा देखेको सूर्योदय बनाएको हो । दाहिनेतिरको चित्र बनाउनेले चाहिं साँच्चै आफंैले (आफ्नो घरबाट ?) सूर्य उदाउँदै गरेको दृश्य हेरेर त्यसको चित्र बनाएको हो । (चित्र–२)

शब्दभन्दा बढी प्रभावकारी
शब्दहरूको तुलनामा चित्रले बढी र स्पष्ट जानकारी दिन सक्छ र त्यो बढी उपयोगी हुन्छ । उदाहरणका लागि, महुवाका पात, फूल र फलको यो शाब्दिक वर्णन पढ्नुहोस्ः
पातका गुच्छा हाँगाका टुप्पामा हुन्छन् । हरेक पात ७–२०ह३–७ सेन्टिमिटरका, आकारमा अण्डा जस्ता, कलिलो छँदा अलिअलि रौं भएका, पछि गएर खस्रा हुन्छन् । फूल हाँगाहरूको टुप्पामा, घना गुच्छाको रूपमा लाग्छन् । हरेक फूलमा भेट्नो हुन्छ, ती अलिअलि झ्ुण्डिए जस्ता हुन्छन्, तिनमा केही पाउडर जस्तो वस्तु पनि हुन्छ, पुटक क्यालिक्स डेढ सेन्टिमिटर लामो र फेदसम्म छुट्टिएको हुन्छ । यो सामान्यतः चार खण्डमा बाँडिएको हुन्छ । दलपुंज कोरोला क्रीम रंगको, लगभग अढाइदेखि तीन सेन्टिमिटर चौडा हुन्छ । दलपुंजका करीब आठ–दश वटा कान हुन्छन् । पुंकेसर लगभग २५ वटा हुन्छन् । अण्डाशय लामा रौं भएको हुन्छ जसले अढाइ सेन्टिमिटर अथवा अलिक लामो वर्तिकालाई आड दिन्छ । फल गुदी भएका, हल्का रौंवाला, तीनदेखि पाँच सेन्टिमिटर लामा र अण्डाकार हुन्छन्, जो शुरूमा हरिया र पछि पहेंलो–रातो वा सुन्तला रंगका हुन्छन् । यिनमा एउटादेखि चार वटासम्म बीउ हुन्छ ।
(कमन ट्रीज, एच् सांतापाऊ, नेशनल बूक ट्रस्टबाट उद्धृत ।)

माथिको वर्णनमा पर्याप्त जानकारी छ तर यो पढेको भरमा महुवा कसले चिन्ने ? एक त यसमा रहेका पारिभाषिक÷अप्रचलित शब्द पार लगाउन नै सामान्य मान्छेलाई महाभारत पर्छ, त्यसमाथि यी शब्दसँग सुपरिचित मानिसका निम्ति समेत यो वर्णनका आधारमा भन्दा चित्रका आधारमा महुवाका पात, फूल र फलका बारेमा अनुमान लगाउन कता हो कता सजिलो हुन्छ । (चित्र–३)
यस सन्दर्भमा, फेरि पनि ख्याल गर्नुपर्ने कुरा के हो भने चड्किला रंग पोतिएका चित्रभन्दा श्याम–श्वेत र रेखाचित्र नै अधिकांश स्थानमा बढी उपयोगी हुन्छन् । तिनले मसिना कुराहरू निकै स्पष्टसँग देखाइदिन्छन् । महुवाको यो सादा रेखाचित्र हाम्रा लागि रंगीन तस्वीर त के, कम्प्युटरबाट हेरिने सीडी विश्वकोशको झ्लझ्लाकार रंगीन फोटोभन्दा पनि बढी उपयोगी छ । पुस्तकमा रंगीन तस्वीरको उपयोग प्रायः किन गरिन्छ भने प्रकाशकहरू ग्राहकलाई रंगद्वारा लोभ्याउने चक्करमा पर्छन् । त्यसको उपयोगितासँग तिनलाई खासै सरोकार हुँदैन । अनि, रंगीन फोटोग्राफका तुलनामा हातले मिहीन किसिमले बनाउनुपर्ने रेखाचित्र महँगा पनि त पर्छन् नि ! मुनाफाका कारण विज्ञानले नोक्सान खप्नुपरेको यो पनि एउटा उदाहरण हो ।

संरचना र प्रक्रियाको ज्ञान
अलग–अलग प्रकारका चित्रद्वारा विज्ञानका विभिन्न क्षेत्रमा घटना, कार्य प्रक्रिया, ढाँचा आदिको ज्ञान दिन, तिनलाई सम्झउन सकिन्छ । यसका निम्ति किसिम–किसिमका रेखाचित्र, ग्राफ, फ्लोचार्ट आदिको उपयोग गरिन्छ । जटिल ढाँचा र प्रक्रियाहरूलाई चित्र मार्फत सरल किसिमले बुझउन सकिन्छ । उदाहरणका लागि पक्षीको पाचनतन्त्र सम्बन्धी चित्र हेर्नुहोस् । (चित्र–४)

विज्ञानका पुस्तकमा चित्र र कतिपय फोटो पनि भ्रामक हुन सक्छन् । प्रायः लेखक र चित्रकारका बीच पर्याप्त संवाद÷छलफल हुँदैन अनि चित्रकारहरू चित्र बनाउनु अघि वस्तुहरूको मसिनोसँग अध्ययन गर्दैनन्, न त शोधलाई नै पर्याप्त समय दिन्छन् । प्रकाशकसँग समय र धैर्य दुवै हुँदैन, जतिसक्दो चाँडो पाण्डुलिपि÷पुस्तकमा चित्र टाँस्न पाए उनीहरूलाई पुगिहाल्छ । उदाहरणका लागि, विज्ञानका तमाम पुस्तकमा पाइने चन्द्रमाको कला सम्बन्धी चित्रलाई नै हेर्नुहोस् (चित्र–५) । चन्द्रमाको कला यसरी पूरै कालोबाट एकैचोटि पूरै सेतो, त्यसपछि बल्ल आधा सेतो हुँदै बढ्छ त ? यस्तो लाग्छ, मानौं चित्रकार महोदयले मुन्टो उठाएर आफ्नो जिन्दगीमा कहिल्यै चन्द्रमालाई हेरेकै छैनन् !

प्रायः विद्यार्थीलाई चित्रको नक्कल गर्न र परीक्षामा जस्ताको तस्तै बनाउन सिकाइन्छ । यो विधि कहिलेकाहीं उचित पनि हुँदोहोला तर यसले उनीहरूलाई अधिकांशतः घाटामा पार्छ । याद गर्ने क्षमतालाई त त्यतातिर पो मोड्नुपर्ने हो, जसले नयाँ–रोचक काम गर्न र उच्चस्तरीय आलोचनात्मक सोच विकसित गर्न बल पु¥याओस् । त्यसलाई नक्कल गर्ने काममा सीमित गराइदिनु जस्तो रद्दी काम के होला ? कुनै पनि चित्र सम्झ्एिर त्यस्तै अर्को चित्र कोरिदिनु कुनै कठिन काम होइन । यसका लागि त्यस्तो चित्र बुझ्रिाख्नु पनि उति जरूरी हुँदैन । सृजनात्मकताको त त्यहाँ कुरै आउने भएन !

सामाजिक–राजनीतिक दृष्टिकोणको प्रतिबिम्ब

विद्यार्थीको सिकाई–प्रक्रियाको सबैभन्दा ठूलो अवरोध हो— उनीहरूलाई आफ्नो क्षमतामाथि विश्वास नहुनु । खासगरी, पिछडिएका र गरीब विद्यार्थीसँग काम गर्दा शिक्षकले तिनीहरूको मनोविज्ञान बुझनुपर्छ । उनीहरूका निम्ति विज्ञान ‘विदेशी’ कुरा हो जसलाई त्यस्ता विद्यार्थीले सिक्छन् जो उनीहरू जस्ता छैनन् । विज्ञानका पुस्तकमा केटीका तस्वीर कम देखिन्छन् जसले गर्दा विद्यार्थीलाई लाग्छ— विज्ञान मुख्य रूपमा केटाहरू, पुरुषहरूको विषय हो । भएका तस्वीरमा पनि सक्रिय भूमिकामा केटाहरूलाई नै प्रस्तुत गरिएको हुन्छ, केटीहरूलाई सहायक वा दर्शकको भूमिकामा राखिएको हुन्छ ।

हामीकहाँ पढाइने विज्ञानका विदेशी पाठ्यपुस्तकमा देखाइएका अधिकतर मानिस युरोपेली जस्ता लाग्छन्, हाम्रो मुलुकका जस्ता होइन । ती गोरा हुन्छन्, गहुँगोरा वा काला होइन । यसो सोचिहेर्नोस्् त, हाम्रा विद्यार्थीले आफू जस्तै केटा÷केटीको चित्र विज्ञानका किताबमा देख्न पाए र तिनले सक्रिय रूपमा विज्ञानको प्रयोग गरिरहेको हेर्न पाए भने के होला ? तिनको आत्मविश्वास बढ्छ, तिनलाई आफ्नो महŒव थाहा हुन्छ, उत्साहमा वृद्धि हुन्छ र त्यसभन्दा महŒवपूर्ण कुरा, उनीहरूमा मानसिक दासताको बीउ रोपिंदैन । र, चित्रको शैली पनि निकै महŒवपूर्ण हुन्छ । पश्चिमी मुलुकहरूको शैलीका चित्रसँगै, हाम्रा केटाकेटीले बनाउने शैलीका चित्र पनि पुस्तकमा राख्ने हो भने त्यसको प्रभाव निकै सशक्त हुन्छ; उनीहरूले पुस्तकप्रति खास किसिमको निकटता र आत्मीयता अनुभव गर्छन् ।

चित्रहरूसँग सधैं खास दृष्टिकोण जोडिएको हुन्छ, भलै तिनलाई विज्ञान सिकाउन उपयोग गरिएको किन नहोस् । उदाहरणका लागि चित्र–६ (क) हेर्नुहोस् जसलाई विज्ञानको कुनै पाठ्यपुस्तकमा समावेश गरिन सक्छ । यसमा एउटा विद्यार्थी लठ्ठीको टुप्पामा बाँधिएको पोलिथिनको झेलाको माध्यमबाट हावा कसरी, कता बहिरहेको छ भन्ने प्रयोग गर्दैछ । धेरैले यसमा एउटा सुन्दर, आकर्षक बच्चो देख्नेछन् । तर तिनीहरूले नै चित्र–६ (ख) हेरे भने त्यसमा देखाइएको बच्चो तिनलाई त्यति सुन्दर र आकर्षक लाग्ने छैन । यी दुइटा चित्रमा कपालको मात्र अन्तर छ । त्यसका कारण पहिलो चित्रको बच्चो गोरो ‘ककेसियन’ लाग्छ र दोस्रो चित्रको चाहिं अर्कै ‘जात’ को । किताबमा यस्ता चित्र हेर्दा हेर्दा मानिसहरूको मनमा अनायास के धारणा जमिसकेको छ भने गोरा, सुनौलो कपालका मानिसहरू बढी सुन्दर हुन्छन् । र, बुद्धिमत्ताको धारणा पनि त्यसैगरी, थाहै नपाई, तिनीहरूसँगै जोडिन पुगेको छ ।
विज्ञानको पुस्तकमा यीमध्ये कुन चित्र समावेश गरिन्छ त्यसले त्यही अनुसारको फरक पार्छ । दोस्रो चित्र राख्ता धेरैलाई पुस्तक अनाकर्षक लाग्न सक्छ । तर, यसो गर्दा पुस्तकले ककेसियन अर्थात् गोराहरूको आधिपत्यलाई चुनौती दिनेछ र आउँदो पुस्ताको मानसिकता बढी स्वस्थ र सन्तुलित बनाउन योगदान गर्नेछ । आफ्नो जस्ता अनुहार भएका बच्चाको तस्वीर पुस्तकमा देखेर विद्यार्थीले त्यसलाई बढी आत्मीयताका साथ हेर्ने–पढ्ने सम्भावना त छँदैछ । साथै, दोस्रो चित्रका साथ तयार गरिएको विज्ञानको पुस्तकका ‘आशय’ पनि फरक हुनेछ । यस्ता ‘निहितार्थ’ लाई तपाईं रोक्न सक्नुहुन्न किनभने कसैले पनि त्यस्तो पुस्तक तयार गर्नै सक्तैन, जुन सामाजिक रूपले उदासीन या पूरै निरपेक्ष होस् ।

विज्ञान सिक्ने क्रममा विद्यार्थीहरूले अवलोकन गरेर चित्र बनाउँदा कतिपय यस्ता कुरा पनि गर्छन् जो पहिले उनीहरूलाई असम्भव लाग्थ्यो । यसले उनीहरूमा आफूभित्र सामथ्र्य रहेको अनुभूति गराउँछ । मैले कुनै विद्यार्थीले बनाएको चित्रका राम्रा कुराहरूको प्रशंसा गर्दा अथवा चित्रलाई बोर्डमा टाँसिदिंदा चित्रकारको अनुहारमा खुशी र आत्मविश्वासको चमक देख्ने गरेकी छु । यस्ता अवसरहरूमा उसभित्र रहेका असमर्थता र हीनताका सारा भावना पखालिन्छन् ।

यहाँनेर शिक्षकले ख्याल राख्नुपर्ने कुरा के हो भने अलग–अलग विद्यार्थीले बनाएका चित्रहरूबीच तुलना कहिल्यै गर्नुहुँदैन । चित्रहरूबीचको अन्तरबारे भने चर्चा अवश्य गर्नुपर्छ । किनभने, सबै विद्यार्थीले अलग–अलग शैलीमा चित्र बनाएका हुन्छन् र हरेक चित्र आफैंमा सुन्दर हुन्छ । त्यसको आफ्नै विशेषता हुन्छ । यस प्रक्रियाबाट विद्यार्थीमा आफूलाई कला मार्फत व्यक्त गर्न सक्ने विश्वास पैदा हुँदै जान्छ । साथै उनीहरू अर्काले बनाएका चित्रहरूबाट सिक्छन् र तिनको प्रशंसा गर्न पनि सिक्छन् ।

अन्त्यमा, विज्ञान शिक्षणमा कलाको महŒवलाई म दोहो¥याउन चाहन्छु । कलाको उपयोग कलाकारी गर्नमा मात्र होइन, कलालाई हेर्न–बुझनमा पनि हुन्छ । कलाकारी गरेर विद्यार्थीले केही न केही नयाँ सिर्जना गर्न सक्छन् र आफ्ना नयाँ विचार पनि अभिव्यक्त गर्न सक्छन् । कलालाई हेरेर–बुझ्ेर उनीहरू नयाँ दिशा र विचारद्वारा प्रेरित हुन सक्छन् । 
(बायो–फिजिक्सकी अनुसन्धाता केरन हेडक शैक्षिक क्षेत्रमा सक्रिय छिन् । उनी चित्रकार हुन् र उनले बालबालिकाका लागि पुस्तकहरू लेखेकी छन् ।)
साभारः शैक्षिक सन्दर्भ, अगस्त–सितम्बर २००२

भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/