विद्यार्थीलाई गरिखाने बनाउनुपर्छ !

by • • स्थलगतComments (0)427

Print Friendly, PDF & Email
धातानन्द थापा (६७), अध्यक्ष,
विद्यालय व्यवस्थापन समिति

सैनिक पृष्ठभूमिको मानिस, शिक्षा क्षेत्रमा कसरी आइपुग्नुभयो ?
मेरो पुख्र्यौली घर गुल्मी हो । २०२२ सालमा भारतीय सेनामा भर्ती भएँ । त्यहाँ २६ वर्ष नोकरी गरें । त्यहाँ मसित भर्ती भएका मध्ये एसएलसी पास गर्ने सबै अफिसर भए । तर कक्षा ५ सम्म मात्र पढेको कारणले म त्यो अवसरबाट वञ्चित हुनपुगें । त्यसले मलाई गहिरो पीडा दियो । त्यसपछि मैले अनौपचारिक रूपमा पढ्न थालें र म्याट्रिक पास गरें ।
त्रिवेणी भेला भर्न आउँदा साथीहरूले ‘तँ पनि यतै बस, जग्गा मिलाइदिन्छौं’ भनेपछि यहाँ बस्न आइपुगें । यहाँ भूपू सैनिकहरूको राम्रै बस्ती छ । २०४४ सालतिर श्रीमती र २ बच्चा लिएर यहाँ आएको हुँ ।

भारतीय सेनाबाट रिटायर्ड भएपछि आफ्नै केटाकेटी र गाउँका बालबालिकाको राम्रो शिक्षाका लागि केही त गर्नैपर्छ भन्ने सोच पलायो । त्यसै भएर यो स्कूल सपार्नतिर लागिपरें ।
व्यवस्थापन समितिको अध्यक्ष कसरी छानिनुभो ?
अभिभावकबाट नै व्यवस्थापन समितिको अध्यक्ष छानिने व्यवस्था ऐनमा भएपछि हाम्रो विद्यालयको अभिभावकको बैठकले सर्वसहमतिमा मलाई अध्यक्षमा छाने । २०५९ साल कात्तिक २३ गतेको कुरा हो । त्यसयता अभिभावकहरूले आजसम्म सर्वसम्मतिमा अध्यक्ष बनाएका छन् ।

अध्यक्ष भएपछि के के गर्नुभयो नि ?
म अध्यक्षमा पहिलोपटक छानिंदा हाम्रो स्कूल प्राथमिक तहसम्म मात्र थियो । त्यसलाई पहिले निमावि र पछि मावि बनाइयो । विद्यालयको भवन राम्रो थिएन । नयाँ र राम्रो भवन बनाउन धेरै दौडधुप गरियो र अन्ततः सफल पनि भइयो । तिनताका यहाँबाट भारतमा गोरुको राम्रो निर्यात हुन्थ्यो । त्यसबापत गाविसले राम्रो आम्दानी गर्दथ्यो । मैले गाविससित कुरा गरेर राम्रै रकम विद्यालय भवनमा पारें अनि जनतालाई परिचालन गरेर श्रमदान गराएर भवन ठड्याउन सफल भइयो । पछि जिल्ला शिक्षा कार्यालयले पनि एउटा थप भवन बनाइदियो ।

विद्यालय राम्रो त्यतिवेला मात्र हुन्छ, जब त्यो विद्यालयमा राम्रो शिक्षकको चयन हुन्छ । पहिले पहिले शिक्षक छनोट दलीय आधारमा हुन्थ्यो । विद्यालयको वातावरण र शिक्षाको स्तर गिराउन त्यो नै निर्णायक कारकतत्व हो भन्ने लाग्यो । त्यसै भएर निजी स्रोत, राहत, अस्थायी जति पनि ठाउँमा शिक्षक राख्ने समय आयो, मैले योग्यता र क्षमताका आधारमा मात्र छनोट गर्ने परिवेश तयार गरें । हाम्रा हेडमास्टर असल हुनुहुन्छ । उहाँ विद्यालयको प्रगतिको लागि पूरापूर समर्पित हुनुहुन्छ । अरू कुरामा जस्तै उहाँले यो काममा पनि मलाई उत्तिकै सहयोग गर्नुभयो ।

तपाईं आफैं पनि एउटा दलको कार्यकर्ता हुनुहुन्छ तर विद्यालयमा दलीय राजनीति नभिœयाउने भन्नुहुन्छ ?
हाम्रै छिमेकको नारायणी साधारण तथा संस्कृत मावि बिग्रिएको दलगत राजनीतिकै कारणले हो । त्यो मैले नजिकबाट देखें । त्यहाँ हेडमास्टर र व्यवस्थापन समितिबीच सधैं विवाद भइरहन्छ । शिक्षकहरू कुनै न कुनै दलको सदस्य भएर बसेका छन् । पढाउन भन्दा झ्गडामा ध्यान दिएका छन् । मैले त्यहींबाट सिकें । मैले माथि नै उल्लेख गरिसकें, म विद्यालय राम्रो बनाउने नै एक मात्र ध्येय बोकेर विद्यालयमा सक्रिय भएको हुँ । दलीय राजनीतिले विद्यालय बिग्रेको देखेपछि मैले भित्रैदेखि अठोट गरें, हाम्रो विद्यालयमा म कुनै हालतमा पनि दलीय राजनीति भिœयाउँदिनँ । म आएपछि निमाविमा ३, माविमा २ र प्राविमा ३ गरी ८ जना शिक्षकहरू भर्ना गरिए । तीमध्ये एक जना पनि मेरा नातेदार छैनन्, न त मैले काम गर्ने पार्टीका नै । सबैलाई प्रतिस्पर्धाको आधारमा छनोट गरिएको हो ।

अरू सार्वजनिक विद्यालयका व्यवस्थापन समितिलाई के सुझव दिनुहुन्छ ?
विद्यालय बालबालिकाको राम्रो शिक्षाको लागि स्थापना गरिएको हो । यो कुरा मनन गरौं । विद्यालयमा पक्षपात र दलीय राजनीति नघुसाऔं । यी दुई कुरा घुसाउनासाथ विद्यालय खत्तम भएर जाँदोरहेछ ।

आफूसित अधिकार र शक्ति छ रे भन्दैमा विषय नमिलेका र क्षमता नै नभएका मानिसलाई शिक्षक बनाउँदै नबनाऔं । शिक्षक छनोट योग्यता, क्षमता, प्रतिबद्धताका आधारमा गरौं । लिखित मात्र होइन, कक्षा अवलोकन गरिसकेपछि विद्यार्थीको राय लिएर मात्र शिक्षकको छनोट गर्नु उत्तम रहेछ ।

भावी योजना के छ नि ?
कलेज बनाउने सपना छ । तर त्यो अलि परको कुरा हो । पहिला यसैलाई उत्कृष्ट विद्यालयको रूपमा परिणत गर्ने सोच छ । सानो कक्षा राम्रो नभई ठूलो कक्षा राम्रो नहुने रहेछ । त्यसैले सानो कक्षामा विशेष ध्यान दिने विचार छ । माथिल्ला कक्षाहरूमा पनि सुधार गर्दै जानुछ । विद्यार्थीहरूलाई गरिखाने बनाउनुछ ।

Related Posts

/*sign up form*/