विद्यालयमा अभिभावकको संलग्नता

by • • विद्यालय र अभिभावकComments (0)709

Print Friendly, PDF & Email

स्कूलले बोलाउँदैनन् अभिभावक जाँदैनन्

विद्यालयमा अभिभावकको संलग्नता सम्बन्धी संवाद कार्यक्रम यसपटक १२ मंसीर २०७० मा सप्तरीको राजविराजमा आयोजना गरियो । उक्त संवाद कार्यक्रममा सप्तरी, सिरहा, धनुषा र उदयपुरका प्रअ, शिक्षक, अभिभावक, शिक्षा तथा स्थानीय विकास अधिकारी सहित ५० जना सहभागी थिए । उक्त छलफलमा मधेशका सार्वजनिक विद्यालय र छात्रछात्राको सिकाइ उपलब्धि सुधारमा आम अभिभावकको संलग्नताको अवस्था के कस्तो छ भन्ने बारेमा मात्र छलफल भएन, अभिभावकलाई स्कूल कसरी ल्याउन सकिन्छ भन्ने बारेमा पनि चर्चा गरियो । यहाँ उक्त संवादका मुख्य अंश प्रस्तुत गरिएका छन्ः

आएनन् भनेर मात्र पुग्दैन

भोगेन्द्रप्रसाद यादव, विनि, जिशिका, सप्तरी

अभिभावक स्कूलमा आए स्कूल सुधार हुन्छ । तर, अहिले विव्यस बनाउने क्रममा अभिभावक सक्रिय भए पनि शैक्षिक सुधारमा उनीहरूको खासै चासो छैन । अभिभावक स्कूल आएनन् भनेर गुनासो वा छलफल गरेर मात्र उनीहरूलाई विद्यालयमा ल्याउन सकिंदैन । अभिभावकलाई स्कूल ल्याउन नीतिगत तहमै विशेष व्यवस्था गर्नु जरूरी देखिएको छ ।

छोराछोरी फेल भए आउँछन्

विजयानन्द झ, सल्लाहकार, नेपाल शिक्षक यूनियन

स्कूलले भेला बोलाउँदा एक हजार अभिभावकमध्ये ५०÷६० जना मात्र सहभागी हुनु विडम्बना हो । विव्यसमा जाने रूचि भएका अभिभावक मात्र त्यस्तो भेलामा आउँछन् । उनीहरूको विद्यालयको पढाइ सुधार र छोराछोरीको शैक्षिक प्रगतिमा खासै चासो हुँदैन । अभिभावक र स्कूलबीच ‘¥यापोट’ नबनेका कारण यस्तो भएको हो । अभिभावकको चाहना बच्चा स्कूल जाओस् भन्ने मात्र हुन्छ, पढ्छ पढ्दैन भन्ने हुँदैन । स्कूल आए पनि चिट चोराउन, छोराछोरी जाँचमा फेल भएको कुरा प्रअ तथा शिक्षकलाई सिकायत गर्न आउँछन् । त्यसबाट स्कूल सुधार हुँदैन ।

छद्मभेषी अभिभावक !

बलराम साह, विज्ञान शिक्षक, संकटमोचन उमावि, जनकपुर

मधेश क्षेत्रका अधिकांश सार्वजनिक स्कूलमा छद्म अभिभावकको बोलवाला छ । जनकपुरका निजी स्कूलमा छोराछोरी पढाउने अभिभावकहरू कुचक्र रचेर सार्वजनिक विद्यालयको स्रोत साधन र शिक्षक नियुक्तिमा रजाइँ गर्न विव्यसको नेतृत्वमा पुग्ने गरेका छन् । स्कूलको सर्वाङ्गीण विकास र पढाइप्रति उनीहरूको कुनै चासो हुँदैन । विव्यसमा आउनेहरूमध्ये धेरैको उद्देश्य आफ्ना मान्छेलाई शिक्षक बनाउनु; भवन निर्माणमा भ्रष्टाचार गर्नु जस्ता व्यक्तिगत उल्टो सीधा गर्नुहुन्छ ।

छद्मभेषी अभिभावकले सार्वजनिक स्कूल संक्रमित भइसकेका छन् । म संकटमोचन उमाविमा पाँच वर्ष प्रअ भएँ । विव्यसले मलाई एक जना निजी स्रोत शिक्षकलाई दुई वर्षअघिको मितिमा नियुक्ति गर्न दबाब दियो । त्यो गर्न नमान्दा र जाँचमा चिट चोराउन नदिंदा मलाई प्रअबाट हटाइयो । यता आएर मैले उमाविमा पढाएको तलब पनि रोकिएको छ । स्कूलको पहिलो र अहिलेको अवस्था जोसुकैले हेर्न र तुलना गर्न सक्छ । छद्मभेषी अभिभावकले सार्वजनिक स्कूल तहसनहस नै पारिरहेका छन् । वास्तविक अभिभावक स्कूल आउने वातावरण र कानूनी आधार निर्माण गर्नुपर्छ । सार्वजनिक स्कूलमा राम्रो गर्ने शिक्षकहरूको पेशागत सुरक्षा छैन । राम्रालाई उल्टो दुःख दिइन्छ । शिक्षा पुरस्कार पनि कक्षामा नपढाउने शिक्षकले पाएका छन्, पढाउने शिक्षकलाई पुरस्कार होइन सास्ती दिइन्छ ।

नचाहिने दबाब आउँछ

गंगाप्रसाद साह, निप्रअ, कसोअनिरुद्रवती मावि, राजविराज

अभिभावकको सकारात्मक भूमिका विना स्कूल राम्रो हुन सक्दैन । तर व्यवहारमा त्यस्तो भइरहेको छैन । मेरो स्कूलमा यही ७ मंसीरमा तत्कालीन प्रअले अवकाश पाउनुभयो । त्यो दिन स्कूल तनावग्रस्त रह्यो । प्रअको योग्यता र मापदण्ड कुल्चेर कम योग्यताका व्यक्तिलाई नयाँ प्रअ नियुक्ति गराउने अभिभावकको दबाबका कारण यस्तो भएको थियो । स्वाभाविक रूपमा म प्रअ हुनुपर्ने थियो, भएँ । त्यसैको विरोधमा ८ मंसीरदेखि स्कूल तालाबन्दी गरिएको छ, पठनपाठन अवरुद्ध भएको छ ।

उदासीन शिक्षक, निष्क्रिय अभिभावक

राधेश्याम रमण, पूर्व अध्यक्ष केसोअनिरुद्रवती मावि, विव्यस, राजविराज

म २०५९ देखि २०६७ सम्म विव्यस अध्यक्ष रहें । सरकारी विद्यालय सुधार गर्ने हो भने विवादले भरिएको शिक्षा ऐन÷नियमावलीमा सुधार हुनुपर्छ । सरकारी स्कूलमा दाउपेच धेरै छन् । स्कूलप्रति अभिभावक उदासीन छन् । विव्यसले काम गरेकै छैन । स्कूल बाहिरका केटाकेटीलाई स्कूलमा ल्याउने, स्कूलको भौतिक सम्पत्ति रेखदेख गर्ने काममा अभिभावकको अग्रणी भूमिका हुनुपर्ने हो, तर शिक्षक भर्ना र स्रोतसाधन दुरुपयोगमा अभिभावकको ध्यान गएको छ । शिक्षक पनि सकेसम्म स्कूलमा पढाउनु नपरे हुन्थ्यो, ६ महीनासम्म स्कूल छुट्टी भइदिए हुन्थ्यो भन्ने चाहन्छन् । यसरी शिक्षकको उदासीनता र निष्क्रिय अभिभावकका कारण स्कूल बिग्रिएका छन् ।

छोराछोरी स्कूल ल्याऊ

कमलबहादुर सेन ठकुरी, जनता निमावि, नौनाडाबर सप्तरी

स्कूलको ड्राइभर प्रअ हो, ऊ सक्षम हुनुपर्छ । तर सँगै आजीवन प्रअ बस्न खोज्ने प्रवृत्ति अरू डरलाग्दो छ । सरकारी स्कूलका शिक्षकका छोराछोरी निजीमा पढ्छन् । शिक्षकले पनि छोराछोरी आफूले पढाउने स्कूलमा ल्याउनुपर्छ भने अभिभावकको चासो र लगानी दुवै बढाउनुपर्छ । विव्यस गठन गर्दा शिक्षा सम्बन्धी जानकारी भएका व्यक्तिलाई प्राथमिकता दिने हो भने त्यस्ता अभिभावकले शिक्षकले ठीक तरीकाले पढाए÷नपढाएको थाहा पाउने थिए । अभिभावकले छोराछोरीको स्याहार गर्ने, स्कूल ल्याउने÷लैजाने, सामाजिक परीक्षणमा संलग्न हुने; पढाए÷नपढाएको हेर्ने हो भने सरकारी स्कूलका सुदिन आरम्भ हुन बेर लाग्दैन ।

घोटाला गर्न स्कूल नआऊ

हीरालाल साह, शिक्षक, उमावि गोदार, धनुषा

सक्कली अभिभावकको विश्वास सरकारी स्कूलमा रहेन । त्यसैले अहिले अभिभावकलाई स्कूलमा तान्न सकिएको छैन । सरकारी शिक्षाले अभिभावकको विश्वास जित्न के के कुरामा ध्यान दिनुपर्छ भन्ने प्रश्नमा फर्किनु आवश्यक छ । किनकि शिक्षकको पनि सार्वजनिक स्कूलमा विश्वास नभएर छोराछोरी निजीमा पढाइरहेका छन् । यसको नकारात्मक प्रभाव अभिभावकमा परेको छ । त्यसैले सच्चा अभिभावक स्कूल आउँदैनन्, जो आउँछन् उनीहरू घोटाला गर्न, स्रोतसाधन कब्जा गर्न आउँछन् । स्कूल राम्रो पार्ने पवित्र उद्देश्यले स्कूल आउने अभिभावकहरू अत्यन्तै कम छन् ।

आत्मग्लानिले मर्न मन लाग्छ

महामायाप्रसाद सिंह, विव्यस अध्यक्ष केसोअनिरुद्रवती मावि, राजविराज

स्कूल र अभिभावकबारे यस्तो कार्यक्रम पनि हुँदो रहेछ भन्ने थाहा पाउँदा खुशी लागेको छ । अभिभावक स्कूलका लागि महŒवपूर्ण पक्ष हो भनेर स्वीकार नै गरिएको छैन, त्यसैले उनीहरूलाई स्कूलमा गन्दै नगन्ने परिपाटी छ । स्कूलको किचलोले गर्दा म विव्यस अध्यक्षमा सफल हुन सकिनँ । मलाई हात समातेर विव्यसमा राखियो तर काम गर्न नदिएका कारण मलाई आत्मग्लानि भएर मर्न मन लागेको छ । अस्वस्थ प्रतिस्पर्धामा शिक्षक अभिभावकसँगै छौं । स्कूलमा शिक्षक–अभिभावकको प्रतिस्पर्धा बन्द नगरी हाम्रा स्कूलका सुदिन आउँदैनन् । प्रअको दायित्व स्कूल राम्रो पार्ने हो तर उनीहरूको ध्यान त्यसमा भन्दा अन्यत्र बढी गएको छ ।

छात्रवृत्तिको पैसा दामासाहीमा

भवेन्द्र यादव, अध्यक्ष नेपाल शिक्षक यूनियन, सप्तरी

सरकारी स्कूलमा अचेल कोही फेल हुँदैन । कक्षा १० को टेस्ट परीक्षा पनि दिन छाडिएको छ । नपढ्नेलाई पनि फेल गर्न नमिल्ने अनि सिकाइ उपलब्धि निजी स्कूलको जस्तो खोज्ने प्रवृत्तिले सामुदायिक स्कूललाई सुधार्न सकिंदैन । विद्यालयको शैक्षिक वातावरण बिग्रनुमा डन राजनीति जिम्मेवार छ । विकृति कतिसम्म बढेको छ भने अहिले मधेशका स्कूलमा दलित छात्रवृत्ति दामासाहीले खाने गरिएको छ । त्यो पैसा पढाइमा खर्च भए केही सुधार हुन्थ्यो । तर, त्यसमा अभिभावकको चिन्ता छैन ।

छात्रवृत्ति लिन मात्र आउँछन्

माण्डपी देवकोटा, प्रअ, राजविराज रमेशनारायण दास आदर्श प्राथमिक विद्या मन्दिर

स्कूल समय नसकिंदै छोराछोरी स्कूलबाट लैजाने अभिभावकबाट हामीले के अपेक्षा गर्ने ? छोराछोरी स्कूल जाउन् र पढुन् भन्ने भावना बोक्ने भन्दा बढी छोराछोरीले घरायसी काम गरुन् र कमाएर ल्याउन् भन्ने चाहना राख्ने अभिभावक बढी छन् । साधारण अभिभावकको यस्तो अवस्था छ भने विव्यसमा बस्ने अभिभावकबाट पनि धेरै समस्या उत्पन्न हुन्छ । व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि स्कूल प्रशासनमा दबाब सृजना गर्न खोज्ने प्रवृत्ति मौलाउँदै गएको छ । छात्रवृत्ति बुझन आउने, अरू समयमा आयोजना हुने कार्यक्रम तथा अभिभावक भेलामा आउँदै नआउने अभिभावक बढी छन् । अभिभावकको भूमिका समग्रमा आशा लाग्दो छैन । तथापि अभिभावक मात्र दोषी छैनन् । शिक्षक÷प्रअले पनि जिम्मेवारी बोध गर्न बाँकी छ ।

स्वागत गरे पो जानु !

डम्बर राई, अध्यक्ष

शिक्षक–अभिभावक संघरानी मावि रुपनगर–२ सप्तरी

स्कूलहरूमा अभिभावकलाई बेवास्ता गरिन्छ । अभिभावक स्कूल नआए राम्रो हुन्थ्यो भन्ने भावना छ प्रअ÷शिक्षकहरूमा । सरकारी स्कूलमा पढाउने शिक्षककै निजी स्कूल छन् । तिनले कसरी सरकारी स्कूल सुधार गर्लान् ? विद्यालयमा अभिभावकलाई स्वागत गर्ने चलन छैन । सचेत अभिभावक भएका स्कूल राम्रा भएका छन् । अभिभावक कमजोर भएका स्कूल बर्बाद छन् । आज तराईका धेरै स्कूल प्रअ–शिक्षकको खिचातानीको शिकार भएका छन् । त्यसैले अभिभावक जाग्नै पर्छ स्कूल सुधार गर्न ।
भर्नाको वेला घरदैलो गर्न शिक्षक÷प्रअ तयार हुँदैनन् किनभने उनीहरूका छोराछोरी निजी स्कूलमा छन् । मेरो स्कूलका पाँचै जना शिक्षकका छोराछोरी बोर्डिङमा पढ्छन् । यस्तो प्रवृत्ति कहिले अन्त्य होला ?

खाँचो जागरुक अभिभावकको

विजय मण्डल, शाखा अधिकृत, जिशिका, सप्तरी

अभिभावक विना स्कूल उकालो लाग्दैन । विव्यस, शिक्षक अभिभावक संघ र गाउँ शिक्षा समिति मार्फत अभिभावकहरू स्कूल आउने कानूनी बाटो छ । यस बाहेक पनि अभिभावकहरू स्कूल आउने बाटो खोलिनुपर्छ । सप्तरीमा राजमार्गबाट उत्तरतिर निर्विरोध विव्यस बन्छ । बीचको क्षेत्रमा सहमतिमा बनाइन्छ र सीमा क्षेत्रमा चुनाव र लडाइँ नै हुने गरेको छ, विद्यालय व्यवस्थापन समिति गठन गर्दा । विव्यसको गठनमा २२० दिन स्कूल खुलेर पठनपाठन सुचारु तुल्याउन अभिभावक जागरुक हुनु आवश्यक छ ।

योग्य आए स्कूल सप्रिन्छ

रामवृक्ष ठाकुर, प्रअ, मोहन उमावि रामनगर, मिर्चैया–२, सिरहा

मेरो स्कूलमा १५ सय छात्रछात्रा छन् । विद्यालय व्यवस्थापन समिति गठन गर्दा बुद्धिजीवी अभिभावकलाई प्राथमिकता दिइएको छ । अहिले अवकाशप्राप्त शिक्षक विव्यस अध्यक्ष हुनुहुन्छ । उहाँले धेरै मिहिनेत गरेर स्कूल सुधार अभियान थाल्नुभएको र स्कूल राम्रो पनि भएको छ । विव्यसमा सही व्यक्ति आउँदा विद्यालय विकास सहज हुँदो रहेछ भन्ने मेरो स्कूलको अनुभवले देखाउँछ । अरू स्कूलमा पनि यस्तो अनुभव होला । त्यसैले विद्यालय विकासमा प्रअ, विव्यस, अभिभावक र दलहरूको सकारात्मक संलग्नता जरूरी छ ।

बिग्रेपछि आउने बढी

सरिता दास, शिक्षक, संकटमोचन उमावि, धनुषा

अभिभावक स्कूल त आउँछन् तर स्कूल बिग्रेपछि मात्र । शिक्षकले कक्षा नलिए वा छोराछोरीले स्कूल छाडे भने हाम्रो स्कूलमा अभिभावक आउँछन् । छोराछोरीको पढाइप्रति चाहिं अभिभावकको जागरुकता एवं उत्सुकता कम छ । अभिभावकको चासो हाम्रो स्कूलमा १० प्रतिशत मात्र छ । त्यो १०० प्रतिशत पुग्नुपर्छ । मेरा छिमेकी अभिभावकलाई मैले स्कूलमा आउन भन्ने गरेकी छु । तैपनि स्कूल आउनेहरू थोरै छन्, यसमा कसरी सुधार गर्ने भन्ने नै अहिलेको हाम्रो साझ चिन्ता हो ।

गर्नेलाई प्रशंसा चाहिन्छ

देवनाथ यादव, सिरहा, प्रअ, श्री निमावि, सिरहा

स्कूलमा विभिन्न संघ–संस्था र समिति बनाएर पनि अभिभावकलाई ल्याउन सकिन्छ । मूल कुरा अभिभावकबाट स्कूलमा चुनौती महसूस हुनु भएन । नियम एकातिर, काम अर्कातिर भइरहेको छ । प्रअ, शिक्षक, अभिभावक सम्पूर्ण निकायले सही काम गरे स्कूल राम्रो हुन्छ, नत्र केही हुन्न । नपढाउने शिक्षकलाई कारबाही गर्नुपर्छ । राम्रोसँग पढाउने शिक्षक र स्कूलको उन्नतिमा लागेका इमान्दार अभिभावकलाई सबैले हौसला प्रदान गर्नुपर्छ । तब मात्र अरू अभिभावक पनि स्कूल आउन थाल्छन् ।

गृहकार्य गर्ने वेला भो

रुद्रहरि भण्डारी, जिल्ला शिक्षा अधिकारी, सप्तरी

विद्यालय र अभिभावक परिपूरक हुन् । तर अहिले अभिभावकहरूको पढाइप्रति खासै चासो छैन । उनीहरू विव्यस गठनमा सक्रिय छन् भने पढाइप्रति निष्क्रिय छन् । गैरअभिभावक स्कूलमा आउनुहुँदैन भनेर यो जिल्लामा कार्यविधि बनाइएको छ । त्यसले गैरअभिभावक विद्यालय व्यवस्थापन समितिको नेतृत्वमा आउने कुरालाई केही नियन्त्रण गर्ने अपेक्षा गरिएको छ । तथापि, स्कूलमा सत्ता पक्ष र विपक्ष चाहिं पैदा भएका छन् । मेरा छोराछोरीलाई शिक्षकले राम्रोसँग पढाएनन्; स्कूलमा पढाइ भएन भनेर गुनासो लिएर जिशिअसमक्ष आउने अभिभावक छैनन् । स्कूलको नेतृत्व पाइएन, स्रोतसाधन पाइएन भनेर कराउने अभिभावक चाहिं थुप्रै छन् । सिकाइ÷पढाइको गुनासो गर्ने अभिभावकको संख्या नबढी स्कूलमा अभिभावकको संलग्नता सार्थक हुन सक्दैन ।

मधेशमा बढ्दै संक्रमण

डा. सुनिलकुमार झ, प्राध्यापक

हाम्रो पालामा शिक्षकहरू ‘अलराउण्डर’ हुन्थे, सबै विषय पढाउन सक्ने क्षमताका शिक्षक थिए । तर अहिले त्यस्तो छैन । योग्यहरूको कमी हुँदै गएको छ । शिक्षामा आएका नयाँ विकासलाई अनुसरण गर्ने शिक्षक चाहिएको छ । अभिभावकमध्येबाट योग्यलाई स्कूलको नेतृत्वमा ल्याए हालका समस्या कम हुँदै जान सक्छन् । संक्रमण बढी मधेशमा आउनुको कारण जिम्मेवारीबोध नभएकोले हो । पहिला कक्षा नलिने कोही शिक्षक थिएनन् । शिक्षण संस्थाहरूमा पनि भ्रष्टाचार थिएन । तर अहिले ठीक उल्टो भएको छ ।

कार्यकर्ता बन्ने प्रवृत्ति

कृष्णप्रसाद सापकोटा, स्थानीय विकास अधिकारी, सप्तरी

विद्यालयहरू शिक्षालय भएनन् । शिक्षकहरू राजनीति संस्कारले कार्यकर्ता बने र अभिभावकहरू दलका र शिक्षकका सहायक कार्यकर्ता बनेका छन् । सामुदायिक स्कूल अहिले जस्तो जर्जर कहिल्यै थिएनन् । यसैमा सुधार चाहिएको छ । शिक्षाको अधिक राजनीतिले अभिभावक र शिक्षक टाढा टाढा छन्, तिक्तता छ । यसमा सुधार गरिनुपर्छ, सुधार गर्न अनुगमन पनि चाहिएको छ । प्रअ नियुक्तिले धेरै स्कूलमा विवाद पैदा भएको देखिन्छ । सक्षम व्यक्तिलाई जिम्मेवारी दिंदा धेरै समस्या हल हुन्छ ।

बुझइमा समस्या

फाल्गुणी काफ्ले, शाखा अधिकृत, जिशिका, सप्तरी

अभिभावकलाई सचेत पार्ने नीति चाहिएको छ । सिकाइ उपलब्धि बारे जनचेतना जगाउन जरूरी छ अभिभावकमा । पढाइ भनेको पढ्नु लेख्नु मात्र हो भन्ने अभिभावकको बुझइले बालविकास केन्द्रमा नानीहरूलाई खेलाउँदा त्यसको बारेमा नकारात्मक टिप्पणी गर्ने अभिभावकहरू पनि छन् । त्यसैले अभिभावकमा जागरुकता बढाउनुपर्छ ।

लापरबाही नरोके अझ्ै बिग्रिन्छ

प्रा.डा. चिरञ्जीवी देव, क्याम्पस प्रमुख महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस, राजविराज

शिक्षण÷पठनपाठनमा अभिभावकको खासै संलग्नता छैन । स्कूलहरूमा पढाइ नै नहुने अवस्था अन्त्य गर्न अभिभावक जाग्नुपर्छ । शिक्षामा क्रान्तिकारी सुधार चाहिएको छ । गलत व्यवहार र जिम्मेवारीबोध नभएकोले स्कूल बिग्रिएको हो । शिक्षकको लापरवाही पनि रोकिनुपर्छ ।

झ्नै पो जर्जर रहेछ

चन्द्रबहादुर राई, प्रअ प्रावि ब्याङग्री सुकौरो, उदयपुर

आजको यो छलफलबाट मधेशका सार्वजनिक विद्यालयमा हाम्रो जिल्लामा भन्दा बढी धमिलो वातावरण रहेछ भन्ने अनुभव भयो । त्यसैले नकारात्मक होइन, अब सकारात्मक बाटोमा अघि बढ्नु जरूरी छ । सिकाइ उपलब्धि बढाउन अभिभावकले के गर्न सक्छन् त्यसबारेमा स्कूलले सोच्न÷कार्ययोजना बनाउन आवश्यक देखिन्छ । 

प्रस्तुतिः बाबुराम विश्वकर्मा

Related Posts

/*sign up form*/