बच्चाले बच्चाजस्तो हुन पाउनु पर्छ

by • • संवादComments (0)679

Print Friendly, PDF & Email

हीरा भण्डारी (अध्यक्ष, विव्यस, भूमिराज प्रावि, अमरगढी, डडेलधुरा)

कैलाली, धनगढीकी स्थायी बासिन्दा हीरा भण्डारी (३५) विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) डडेलधुरामा कार्यरत छन् । आफू निजी विद्यालयहरूमा पढेकी भण्डारीले आफ्ना छोरा–छोरीलाई चाहिं डडेलधुराकै एक सरकारी प्राविमा भर्ना गरेकी छन् । आफू राम्रो कमाई हुने जागिरमा, श्रीमान्को स्थापित व्यापार र परिवारको परम्परागत सम्पन्नता हुँदाहुँदै पनि हीराले आफ्ना छोरा–छोरीका निम्ति महँगा स्कूलको सट्टा सरकारी विद्यालय किन रोजिन् ?

प्रस्तुत छ ग्रामीण विकासमा स्नातकोत्तर गरेकी श्रीमती हीरासँग डडेलधुराको सदरमुकामस्थित उनका सन्तान पढ्ने विद्यालय (भूमिराज प्रावि) मा बसेर गरिएको कुराकानीको अंशः

राम्रो कमाइधमाइ भइकन पनि तपाईंले छोरा–छोरीका निम्ति किन सामुदायिक विद्यालय रोज्नु भयो ?
पहिले मेरा दुवै बच्चा धनगढीको निजी स्कूलमै पढ्थे । एउटामा चित्त नबुझ्ेपछि अर्कोमा लगें । दुई÷तीनवटै स्कूल फेरें । तैपनि चित्त बुझ्ेन । त्यहाँ कक्षा दुईको सानो बच्चालाई ५ कक्षाको उमेरका विद्यार्थीले पढ्ने किताब पढाइँदो रहेछ । अनि हरेक दिन किताब र कपीको भारी बोकेर बच्चा स्कूल जानु पर्ने । स्कूलबाट आएपछि खाजा खाइसक्न पाएको हुँदैन, गृहकार्यकै चपेटा हुन्छ । बिहान उठेर पनि बच्चा ‘मामु मेरो त होमवर्क बाँकी छ त्यही गर्छु’ भन्छ । ६÷७ वर्षको बच्चा बिहान उठेर खेल्न जानुपर्नेमा गृहकार्यको दबाब र तनावमा बस्नु पर्ने । हुँदा–हुँदा राति सपनामा समेत ‘मामु, मेरो होमवर्क बाँकी छ’ भनेर बर्बराउने ! कुनै दिन गृहकार्य गरेन भने स्कूलमा शिक्षकले नांगै पार्दा रहेछन् । शिक्षकले भनेको मानेन भन्ने नाममा कहिले हातमा त कहिले ढाडमा, कहिले कहाँ पिट्दा रहेछन् । आज बच्चाले नील डाम त बोकेर आएको छैन भनेर दिनदिनै मन झ्सक्क हुन्थ्यो । बच्चालाई यति डराउने बनाइएको रहेछ कि खेल्न जाऊ भन्दा पनि गृहकार्य गर्छु भन्थ्यो । यसरी मलाई मेरा छोराको बाल्यकाल खोसिएको अनुभूति भयो । त्यसले छोराको आत्मसम्मानमा ठूलो आघात पु¥याएको महसुस गरें ।

अनि बच्चाको निम्ति उपयुक्त विद्यालय कुन होला भनेर सोच्न र खोज्न थालें— त्यस्तो विद्यालय जहाँ बच्चालाई माया र स्नेह गरियोस्, अनुशासनका नाममा कठोर दण्ड नहोस्, पुस्तकको भारी बोक्नु नपरोस्, उमेर अनुसारका विषयवस्तुको पढाइ होस् । स्कूलको समग्र वातावरण यस्तो होस्, जहाँ बच्चा रमाओस्, स्कूलमा उसले चाहेको खेल्न, सिक्न, पढ्न, सोध्न पाओस् । घरमा फर्किएर आएपछि साँझ् थोरै गृहकार्य पनि गरोस् र धेरै समय खेल्न जाओस् ।

अनि यही सामुदायिक विद्यालय नै किन नि ?
धनगढीबाट झ्किेर डडेलधुरा ल्याएँ । यहाँको एउटा निजी विद्यालय राम्रो छ भन्ने सुनेकी थिएँ । हेरिहालौं न त भनेर दुई चार दिन बच्चाहरूलाई त्यहाँ पठाएँ पनि । त्यहाँ बच्चालाई भित्र राखेर शिक्षक त बाहिरै पो बस्दा रहेछन् ! अनि मेरो ध्यान सामुदायिक विद्यालयतिर जान थाल्यो ।

म यो स्कूलको बाटो भएर हिंडिरहन्थें । मैले सुनेकी थिएँ, यो स्कूलका शिक्षकहरू लगनशील छन्, स्कूललाई राम्रो बनाउँदै छन् । त्यो सुनेर एक दुई पटक म आफैं पनि यो स्कूलमा पसें । सुनेको कुरा सही पाएँ । अनि मलाई लाग्यो, मेरा बच्चाको निम्ति उपयुक्त विद्यालय यही हो । विद्यार्थी संख्या ठीक्क । म बसेको ठाउँबाट नजिक पनि । विद्यालयको कोर्स र पाठ्यपुस्तक पनि व्यावहारिक र बच्चाको उमेर सुहाउँदो लाग्यो ।

हो; यो स्कूलमा राम्रा भनिएका निजी विद्यालयमा जत्तिको राम्रो पढाइ छैन होला । तर यहाँ बच्चा बच्चा जस्तो हुन पाउँछन् । बच्चालाई बच्चैमा बूढो बनाउनु त भएन नि ! अहिले मेरा बच्चा खेलेका छन्, रमाएका छन्, अलिअलि पढेका पनि छन् । उमेर अनुसारको मानसिक, बौद्धिक, संवेगात्मक र शारीरिक विकास हुन पाएको छ । त्यसैले यहाँ बच्चा राखेकोमा मलाई पूर्ण सन्तुष्टि छ । म यति ढुक्क छु कि भविष्यमा पनि पछुतो हुने छैन, गर्व नै हुनेछ ।

यो विद्यालयको वातावरण बालमैत्री छ । शिक्षक र विद्यार्थीहरूबीच खुला र सहृदयी सम्बन्ध छ । बच्चाहरूले स्कूलबाट किताब घर लगेर पढ्ने, फर्काउने र फेरि नयाँ किताब लैजाने परिपाटी छ । शिक्षकहरू मिहिनेती छन् । प्रअ त विद्यालयलाई राम्रो कसरी बनाउन सकिन्छ भनेर धेरै नै खटिनु भएको रहेछ ।

तपाईं आफैं आवासीय विद्यालयमा पढेको मानिस । सरकारी विद्यालय राम्रो भन्ने सोच पैदा हुनुमा कतै तपाईंको निजी भोगाइको परिणाम त होइन ?
हो, मेरो स्कूले जीवन धेरै उल्लासपूर्ण थिएन । किताब रट्ने, गृहकार्य गर्ने नै सबथोक हो, यो मात्र पढाइ हो भन्ने भान परेको थियो । यो भन्दा बाहिर गएर व्यक्तित्व विकास, रुचिको काम गर्ने, रमाइलो गर्ने भन्ने कुराहरू मेरो स्कूले जीवनमा सोच्न पनि सकिएन । हामी सबै साथीहरूका निम्ति स्कूल जेल जस्तै थियो । त्यहाँ खुला वातावरण पटक्कै थिएन । शायद त्यही भोगाइले पनि होला, मेरा बच्चाहरूको निम्ति खुला वातावरण चाहिन्छ भन्ने मलाई लागेको ।

मेरा ९० प्रतिशत स्कूले साथीहरू विदेश गए । तर सरकारी स्कूलमा पढ्ने मेरा साथीहरू त धेरैजसो देशमै छन् । यहीं केही गर्न सकिन्छ भन्ने भावनाका साथ काम गरिरहेका छन् । उनीहरू सन्तुष्ट पनि छन् । सरकारी जागिर खाइरहेका छन्, सरकारी विद्यालयमा शिक्षक छन् । देशका लागि केही योगदान दिएका छन् । तर राम्रो भनिएको निजी स्कूलमा पढ्ने म र मेरा साथीहरूले देशलाई के योगदान दियौं त ? हामीले आफ्नो बन्दोबस्तमा मात्र ध्यान दिएका रहेछौं, देशका लागि केही गरौं भन्ने भावना समेत हामीमा पैदा हुन सकेन । शायद सरकारी स्कूलमा पढेको भए हामी पनि देशप्रति संवेदनशील हुन्थ्यौं कि !

सरकारी विद्यालय नपढ्नाले तपाईंले के ‘मिस’ गरें जस्तो लाग्छ ?
मेरो नेपाली भाषा राम्रो हुन पाएन । केही लेख्न खोज्यो केही न केही गल्ती भई हाल्छ । मलाई लेख्न मन लाग्छ, तर भाषाकै समस्या सामना गर्नु परिरहेछ । नेपाली भएर नेपाली भाषामै पोख्त नहुनु कति लाजमर्दो कुरा भो ! न अंग्रेजी राम्रो, न त नेपाली नै राम्रो । शायद सरकारी स्कूलमा पढेको भए मेरो नेपाली भाषा राम्रो हुन्थ्यो होला ।
मेरा बच्चा म जस्तो नेपालीमा कमजोर नहुन् भन्ने चाहेकी छु । त्यसको परिणाम देखिन पनि थालिसकेको छ । मेरो छोराले अहिले नै मलाई नेपाली सिकाउन थालिसक्यो । मैले केही नेपालीमा लेखेको हेरेपछि कतै न कतै गल्ती फेला पारिहाल्छ । भन्छ, ‘मामु यो यसरी पो लेख्नुपर्छ त !’

सार्वजनिक विद्यालयका राम्रा पक्ष अरू के पाउनुभयो ?
निजी विद्यालयमा बिहानदेखि बेलुकीसम्म पढ्ने, घोक्ने र गृहकार्य गर्ने तनावका बीच नै समय जान्छ । त्यहाँ बालबालिकाले सोच्ने समय नै पाउँदैनन् । जबकि सिर्जनात्मक सोचको विकास प्रकृति र समाजसितको जीवन्त अन्तरक्रियाबाट सम्भव हुने हो । त्यस्तो वातावरण सार्वजनिक विद्यालयमा धेरै छ । हो, त्यहाँका शिक्षकले सिर्जनात्मक सोच विकासमा धेरै योगदान गर्दैनन् । तर बच्चाले घरबाट स्कूलसम्म पुग्दा, स्कूलबाट घर फर्कंदा र घरमा बस्दा त्यस्तो वातावरण पाएको हुँदो रहेछ । गृहकार्यको बोझ् धेरै नहुने भएकाले साँझ् बिहान पनि बच्चाहरू छरछिमेका आफ्ना साथीहरूसित खेत–बारीमा खेल्न पाउँछन् । पर्याप्त सुत्न पाउँछन् । पूरा निदाएको बच्चा र कम निदाउन पाएको बच्चाको दिमागी विकास धेरै फरक हुने कुरा वैज्ञानिक अनुसन्धानले पनि पुष्टी गरिसकेको छ । निदाउन पाएको मानिस सिर्जनशील हुन्छ, अरूको पछि लाग्दैन भने निन्द्रा नपुगेको मानिस अरूमा बढी भर पर्न थाल्छ, उसको सिर्जनशीलता घट्दै जान्छ । पर्याप्त सुत्न र खेल्न पाउँदा बच्चाहरू सधैं ‘फ्रेस’ हुन्छन् । राम्रो मानसिक, बौद्धिक तथा संवेगात्मक विकासको निम्ति बच्चा सधैं ‘फ्रेस’ हुनु पर्दछ । सार्वजनिक विद्यालयमा बच्चाले त्यो वातावरण पाउँछन्, निजीमा पाउँदैनन् ।

बच्चाले खेल्न पाउनु भनेको उसमा सिर्जनात्मक सोचको विकास हुने अवसर पाउनु हो । खेल्दा, घुम्दा आफ्नो सोच र निर्णयले चल्न पाउँछन् । त्यसले उनीहरूमा स्वतन्त्र रूपमा चिन्तन गर्ने र निर्णय लिने क्षमताको विकास हुँदै जान्छ । यसबाट बच्चाको आत्मविश्वास बढाउन महŒवपूर्ण योगदान पुग्छ । स्कूलको मूल काम त बच्चामा आत्मविश्वास पैदा गर्ने नै हो । हामी हाम्रो बाल्यकालका यादगार क्षणहरूतिर फर्कौं न— स्कूलमा पढेको, सिकेको क्षण त कति नै याद आउँछ र ! तर साथीसित खेलेको, रमाइलो गरेको, चकचक गरेको, उटुंगो गरेको, अप्ठ्यारो काम गरेको, रूख चढेको, लडेको, भागेको, लखेटेको, नयाँ काम गरेको, सफलता मिलेको क्षणको मात्र याद आउँछ नि  ! स्कूले जीवन भनेको जीवनका यादगार क्षणहरू निर्माण गर्ने समय हो । खासमा स्कूलले त्यस्ता क्रियाकलापहरू गर्नु पर्ने हो, जुन क्षणलाई बच्चाले जीवनभर मीठो र स्मरणीय क्षणको रूपमा सम्झ्रिहोस् । त्यस्तो क्षण पाएको र अनुभूति गरेको बच्चा आफसे आफ सिर्जनात्मक हुन्छ । तर हामीकहाँ २४ सै घण्टा किताब हातमा लिए मात्र राम्रोसित सिक्छ भन्ने साह्रै ठूलो भ्रम छ । हाम्रा धेरै शिक्षक र अभिभावकहरूमा यही भ्रम व्याप्त रहेका कारण तिनका बालबालिका र विद्यार्थीहरू त्यसको शिकार भएका छन् । मलाई लाग्छ, हाम्रो शिक्षा पद्धतिको सबभन्दा अँध्यारो पक्ष यही हो ।

तपाईंको सोच र निर्णयसित श्रीमान् पनि उत्तिकै सहमत हुनुहुन्छ त ?
मेरो श्रीमान सरकारी विद्यालय पढेरै हुर्कनु भएको हो । गाउँमा स्वतन्त्र तरीकाले हुर्कनु भएकाले उहाँमा जोखिम लिने क्षमता उत्तिकै छ, निर्णय लिने क्षमता पनि उत्तिकै छ । आत्मविश्वास छ । फरक तरीकाले सोच्न सक्नु हुन्छ । उहाँसित सल्लाह गरेरै बच्चालाई सरकारी स्कूलमा पढाउने निर्णय गरिएको हो । उहाँ पनि सन्तुष्ट हुनुहुन्छ ।

व्यवस्थापन समितिको अध्यक्ष पनि बनिसक्नु भयो !
गत जेठको कुरा हो । अभिभावक र व्यवस्थापन समितिको भेला छ आउनुहोला भन्ने खबर स्कूलबाट आयो । उसै पनि हप्तामा एक दुई पटक स्कूलमा चासो दिएर आइरहने मलाई निम्ता आएपछि नआउने भन्ने कुरै भएन । म स्कूलमा उपस्थित हुनु भनेको मेरा बच्चाहरूको उत्साह बढ्नु हो । ‘हामीलाई हाम्रो मामुले धेरै ध्यान दिनु हुन्छ, माया गर्नु हुन्छ, हामीले पनि राम्रोसित सिक्नु, पढ्नु पर्छ’ भन्ने भावनाको विकास गराउनु हो । अभिभावकको उपस्थितिले शिक्षक र बच्चा दुवै सजग हुन्छन् ।

त्यो दिन अभिभावकहरूको ठूलै भेला भयो । विद्यालयलाई कसरी उँभो लगाउने भन्नेबारेमा थुप्रै विचार विमर्शहरू भए । अब काम गर्ने मानिसलाई व्यवस्थापनमा ल्याउनु पर्छ भन्नेमा सबैको मत मिल्यो । तर नेतृत्व कसलाई दिने भन्नेमा केही अभिभावकका बीचमा थोरै मनोमालिन्य पनि रहेछ । यस्तैमा एक जना अभिभावकले फ्याट्टै भन्नुभो, ‘उहाँ म्याडमलाई अध्यक्ष बनाउनु पर्छ ।’ व्यवस्थापन समितिमा बस्छु भनेर मैले कल्पना पनि गरेकी थिइन । मैले त्यही कुरा भनें । तर दुई चार जना अभिभावकहरू उठेरै भन्नुभो, “पढे लेखेको मानिस, कुरा बुझनुभएको छ । राम्रोसित नेतृत्व गर्न सक्नु हुन्छ । साँझ् बिहान समय दिए पुग्छ । हामी तपाईंलाई पछाडि बसेर सघाउँछौं ।” स्कूल सुधार गर्ने अभिभावको सपना देखेपछि मैले नाइनास्ती गर्न सकिनँ । मैले यसलाई अवसरकै रूपमा स्वीकार गरें ।

अध्यक्ष बनेपछि के के गर्नु भयो ?
सफलताको पहिलो आधार हो ठोस र सही योजना । शिक्षक र अभिभावकहरूसँग धेरै चरणमा छलफल गरेर हामीले विद्यालयलाई एउटा उत्कृष्ट सामुदायिक प्राथमिक विद्यालय बनाउने सोच बनाएका छौं । खासमा यो समय योजना बनाउनमै बित्यो । योजना बनाइसकेर अब हामी क्रमशः त्यसको कार्यान्वयनमा लागेका छौं । सर्वप्रथम विद्यालयमा बिजुली ल्याउन पोल गाड्ने काम गरियो । अब छिट्टै बिजुली आइपुग्छ । विद्यालयलाई कसरी बालमैत्री बनाउने भन्ने कुरामा हामीले विशेष जोड दिएका छौं । किनभने सिकाइको चुरो नै यसैमा रहेछ । जति राम्रो भौतिक पूर्वाधार भए पनि विद्यालयको वातावरण र सिकाइ प्रक्रिया बालमैत्री भएन भने विद्यार्थीले चाहे जति सिक्न र जान्न पाउँदैन । सकभर बच्चाहरूलाई दण्ड नदिउँ, दिनै परे पनि नाम मात्रको दिउँ भन्नेमा हाम्रो सहमति भएको छ । उदाहरणका लागि, कुनै बच्चाले ठूलै गल्ती ग¥यो भने उसलाई फूलमा पानी हाल्न लगाउने । त्यस्तै बच्चाहरूलाई उनीहरूको रुचिको काममा लगाउन बढी जोड दिएका छौं । विद्यालय भनेकै बच्चाको रुचि अनुसारको काम गर्न पाउने ठाउँ हो भन्ने धारणाको विकास गर्न पनि उनीहरूलाई त्यो वातावरण दिनु जरुरी छ, जसले उनीहरूलाई सिर्जनात्मक बनाउँछ, म गर्न सक्छु भन्ने आत्मविश्वास पैदा गर्दछ ।

विद्यालयमा हाल एउटा मात्र कम्प्युटर छ । अब कम्तीमा आधा दर्जन जति कम्प्युटर थप्नु छ । एउटा मल्टिमिडिया प्रोजेक्टर ल्याउनु छ । इन्टरनेट जोड्नु छ । त्यसपछि सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोग आरम्भ हुनेछ । इन्टरनेटले शिक्षकहरूलाई सिक्ने÷सिकाउने थुप्रै सामग्री र उपायहरू उपलब्ध गराइदिने छ । शिक्षकहरूले निरन्तर सिक्न पाउने छन् । विद्यालयले सिकाउन चाहेर मात्र हुँदैन, सिकाउने तरीका सही भएन भने सिकाउन सकिंदैन । हाम्रो मुख्य ध्यान त सिकाउने तरीकामै हुनेछ ।

त्यस्तै, विद्यालयमा बाल–पुस्तकहरू अझ्ै धेरै थप्नु छ । बच्चालाई उनीहरूको रुचि र उमेर अनुसारका कथाका किताबहरू पढ्ने अवसर उपलब्ध गराउन सकियो भने मात्र उनीहरूमा पढ्ने बानीको विकास हुन्छ । त्यसैगरी, खेलकुदका सामग्रीहरू थप्नु छ । सबैले घरमा खेल्ने सामग्रीहरू पर्याप्त जोड्न सक्दैनन् । फेरि खेल्ने साथीहरू त विद्यालयमै हुन्छन् । त्यसैले हामीले धेरै भन्दा धेरै खेल्ने सामग्री जोड्ने विचार गरेका छौं ।

तीन वर्षभित्र यस विद्यालयलाई वरिपरिका सबै बालबालिकाको पहिलो रोजाइको विद्यालय बनाउने योजना छ । जो निजी विद्यालयमा गएका छन्, तिनलाई पनि यही विद्यालयमा आकर्षित गर्न हामी सफल हुनेछौं । त्यतिबेला हाम्रो विद्यालय साँच्चैको विद्यालय जस्तो देखिने छ । शिक्षक र अभिभावक मिलेर गरे विद्यालयमा सुधार आउन सक्छ भन्ने कुरा देखाउने छौं । देशकै एउटा उत्कृष्ट प्राथमिक विद्यालय बनाउन सफल हुनेछौं भन्ने मलाई लागेको छ ।

तपाईं आफ्नो बच्चालाई के बनेको देख्न चाहनु हुन्छ ?
सानोमा मेरो कलाकार बन्ने रुचि थियो । मैले त्यो अवसर पाइनँ । व्यवस्थापन पढ्न बाध्य भएँ । म चाहन्छु, मैले जस्तो उनीहरूले बाध्यतावस् कुनै विषय छान्नु नपरोस् । उनीहरू आफ्नो रुचि र क्षेत्र आफैं पत्ता लगाउन र आफैं म यस्तो बन्छु भनुन् । अभिभावकका रूपमा मेरो काम उनीहरूको रुचि र छनौटको सम्मान गर्ने हो, सकेको सहयोग गर्ने हो । 

यो विद्यालयमा ५ कक्षासम्म मात्र छ । त्यसपछि छोरा–छोरीलाई कहाँ पढाउनु हुन्छ नि ?
यो प्रश्न मेरो निम्ति अत्यन्तै पेचिलो छ । छोरी त भरखर १ कक्षामा पढ्दैछ, उसको त ५ वर्ष बाँकी छ । छोरा चाहिं अर्को वर्षसम्म मात्र यहाँ पढ्छ । डडेलधुरा, धनगढी जता पनि निजी विद्यालयको अवस्था दयनीय छ । गतिलो सरकारी हाईस्कूल पनि भेटिएका छैनन् । हेर्दै जाउँ, त्यो बेलासम्म के हुन्छ ।

शहरमा निजी विद्यालयमा आफ्ना सन्तान पढाउने अभिभावकलाई केही सुझव छ ?
गाउँका बच्चा प्रकृति र समाजसित मज्जाले अन्तरक्रिया गरिरहेका छन् । तर शहरका बच्चाको कन्तबिजोग नै छ । न प्रकृतिसित अन्तरक्रिया गर्न पाएका छन्, न समाजसित । उनीहरूले राम्ररी खेल्न समेत पाएका छैनन् । केवल घरमा टिभी हेरेर बसेका छन् । घरमा टिभी धेरै हेर्न दिनु भनेको उसको कल्पनाशक्ति घटाउनु रहेछ । सिर्जनात्मक क्षमता कमजोर बनाउनु रहेछ । बच्चाको हातमा टिभीको रिमोट कन्ट्रोल होइन, टिभीको हातमा पो बच्चा चलाउने रिमोट कन्ट्रोल हुँदो रहेछ । त्यसैले मैले घरमा टिभी बन्द गरें । म पनि टिभी हेर्दिन, बच्चाहरू पनि हेर्दैनन् ।

आजका धेरैजसो अभिभावकहरू स्कूलमुखी भएका छन्, शिक्षामुखी छैनन् । अभिभावकलाई बच्चाले कस्तो शिक्षा पाउँछ भन्दा पनि महŒवपूर्ण स्कूलको ‘ब्राण्ड’ लाग्छ । लाग्छ, हामीलाई देखासेखी, आडम्बर नै बढी प्यारो छ, बच्चाको शिक्षा र भविष्य भन्दा । जहाँ राम्रो वातावरण छ, राम्रो पढाइ हुन्छ, बच्चाको चौतर्फी विकास हुन्छ, त्यहीं पो पढाउने हो त ! ब्राण्डले पढाउने त होइन नि ! हामी अभिभावकले नै आफ्नो बच्चामाथि खेलवाड गरिरहेका छौं । विद्यालयमा के भइरहेको छ ? बच्चाहरू रमाएका छन् कि छैनन् ? सिर्जनशील हुन पाएका छन्÷छैनन् ? रुचि अनुसार काम गर्न, पढ्न र सिक्न पाएका छन्÷छैनन् ? बच्चामा सही बानी व्यहोराको विकास भएको छ, छैन ? समाज र देशप्रति के धारणा बनाएका छन् ? भविष्यमा देश र समाजलाई के योगदान गर्ने विचार बनाएका छन् ? शिक्षा भनेको यी र यस्तै सवालसित जोडिरहेको रहेछ । यसमा उचित ध्यान पु¥याउनु पर्ने देख्छु । यी सब कुराहरूमा सुधार त्यतिबेला मात्र आउँदो रहेछ, जब अभिभावकले विद्यालयमा चासो राख्छ, सक्रिय हुन्छ र विद्यालय सुधारको सक्रिय साझ्ेदार बन्दछ ।

सामुदायिक विद्यालयका शिक्षकलाई पनि केही भन्न मन लागेको छ कि !
शिक्षक समर्पित र सक्रिय हुँदा विद्यालयमा धेरै सुधार आउँछ । अभिभावकलाई विद्यालयप्रति विश्वास जगाउने र परिचालनको निम्ति आधार बनाउने शिक्षकले नै हो ।
तराईतिर एउटै कक्षामा ८०–९० जना विद्यार्थी हुन्छन् । त्यति ठूलो कक्षामा शिक्षकले चाहेर पनि राम्ररी सिकाउन सक्दैनन् । यहाँनेर अभिभावकको भूमिका महŒवपूर्ण छ । भवन र शिक्षकको व्यवस्था गरेर थप सेक्सन चलाउनु पर्दछ ।

सरकारी विद्यालयमा समस्या नभएका होइनन् । धेरै छन् । तर शिक्षाको आँखाबाट हेर्दा सरकारी विद्यालयका शिक्षक र अभिभावकले हीन भावना पालेर बस्नु पर्ने कुनै कारण छैन । निजी विद्यालय भन्दा धेरै दृष्टिबाट सरकारी विद्यालयका सकारात्मक पक्षहरू बलिया छन् । आफूसित भएका राम्रा कुरा पहिचान गरौं । त्यसमा गर्व गरौं । शिक्षकहरूले मिहिनेत गरेर विद्यालयको समयलाई सिकाइमा सदुपयोग गरे भने अभिभावक पनि विद्यालयको सुधारमा हैंसे गर्न आई पुग्छन् र पाँच वर्षमै सामुदायिक विद्यालयको गुणस्तरमा कायापलट ल्याउन सकिन्छ । यसमा कुनै शंका छैन । 

सुदर्शन घिमिरे÷दीर्घराज उपाध्याय

Related Posts

/*sign up form*/