बाल कला

by • • साभारComments (0)393

Print Friendly, PDF & Email
बालकले जन्मकालदेखि नै आफ्नो भाव प्रकट गर्न विभिन्न माध्यमहरूको सहारा लिंदै आएको हुन्छ । बालक किन रुन्छ ? मनोभाव प्रकट गर्न रुन्छ र आफ्नो इच्छा पूर्ति नहुन्जेल बारबार यसैगरी रुँदै गर्छ । आफ्नो आवश्यकता पूर्ति भएपछि ऊ फेरि रुँदैन । यसरी रुवाइ बालकको भाव प्रकट गर्ने एक प्राकृतिक माध्यम हो । यसैगरी जब बालकलाई सही तरीकासँग शिक्षा दिइन्छ उसले चित्रद्वारा पनि आफ्नो मनोभाव प्रकट गर्ने प्रयास गर्छ । उसको चित्रले व्यक्तिगत अनुभव दर्शाउँछ । अनि बालकको चित्र र उसको व्यक्तित्वसँग ठूलो घनिष्टता रहन्छ । यसरी बालक चित्रद्वारा आफूमा रहेको विभिन्न गुण या दोषलाई प्रकट गर्दै जान्छ । उदाहरणको निमित्त सही तरीकासँग शिक्षा दिइएको बालकले कुनै हालतमा पनि एक ‘कुकुर’, ‘बिरालो’ को सिंगो चित्र लेख्दैन, बरु, बिरालोसँग खेलिरहेको चित्र लेख्छ । प्रश्नमा उसले बिरालोसँग खेलेको अनुभवको यथाशक्य पूरा बयान दिन खोज्छ । यो उदाहरणबाट यो कुरा सिद्ध हुन्छ कि बालकको मनमा विभिन्न चित्र बनाउने उद्देश्य मात्र रहेको हुँदैन । वल्कि उसले आफ्नो मनमा रहेको मनोवेग प्रकट गर्ने एक सुगम माध्यमको रूपमा चित्रलाई अपनाउँछ । चित्रद्वारा बालकले आफ्नो दुनियाँमा आफूले गरेको देखेको, अनुभवको चित्रण गर्ने प्रयास गर्छ । अनि हामी बालकको चित्रको राम्रो अध्ययन गरेर बालबालिकाको मनोवेग र बालकको संसारसँग परिचय प्राप्त गर्न सक्छौं । बालचित्र बालमनोभावसँग परिचय प्राप्त गर्ने एक जबर्जस्त माध्यम हो भनेर संसारका ठूलठूला दिग्गज शिक्षाशास्त्रीहरूले ठोकुवा गरेर प्रमाणसिद्ध गरिसकेका छन् । यसकारणले कुनै एक बालकको चित्रलाई उसको आफ्नो जिन्दगी सम्बन्धी पूरा बयान हो भनी सम्झ्ी तदनुसार व्यवहार गर्नु बिल्कुल बुद्धिमानीपन हो ।

अब प्रश्न आउँछ बालकलाई सही तरीकासँग चित्र लेख्नमा शिक्षा दिने संस्था कुन हो र त्यस्तो शिक्षा दिने व्यक्ति को हुन् ? उत्तर अति सुगम र सरल पनि छ । नेपाली बालकले शिक्षा, दीक्षा, अनुभव आदिको जग बसाल्ने संस्था घर नै हो । अतः घरैमा बालकले सही तरीकाबाट चित्र लेख्ने जग बसालिसकेको हुन्छ र हुनुपर्छ । अर्को कुरा यो पनि छ कि बालकमा नक्कल गर्ने गुण ठूलो मात्रामा पाइन्छ । धेरैजसो कुरा त बालकले आफ्नो मातापिताको अनुसरणबाट नै सिकिसकेको हुन्छ । यो भन्न सकिन्छ मातापिता नै सबैभन्दा पहिलो शिक्षक हो र स्वभावतः मातापिताको गुण वा अवगुणलाई बालकले अनुसरण गरेको पाइन्छ । यसै कारणले हरेक शिक्षित मातापिताले आफ्नो बालकको मनोभाव, विचार, प्रवृत्ति, शक्ति आदि आवश्यक कुराहरूसँग परिचय प्राप्त गर्नको निम्ति आफ्नो बालकलाई सही तरीकासँग चित्र लेख्ने आदतको जग बसाली दिनुपर्छ ।
समय, काल र परिस्थितिले गर्दा अब हाम्रा बालकहरूलाई शिक्षा दिने संस्था व्यक्तिगत घरमा मात्र सीमित नरही स्कूल, पाठशालासम्म पनि फैलिसकेको छ । त्यसैगरी शिक्षा दिने व्यक्ति पनि मातापितामा मात्र सीमित नरही शिक्षकसम्म पुगिसकेको छ । तसर्थ स्कूल नै उचित संस्था हो जहाँ बालकले सही तरीकासँग चित्र बनाउने तरीका सिक्छ, प्रयोग गर्छ र अनुभव गर्छ । शिक्षक नै मूल आधार हो जसको हातमा बालकको सारा जिन्दगी निर्भर गर्छ ।

१. हरेक स्कूलमा बालकहरूलाई चित्र लेखनमा प्रवेश गराउन चाहिने परिस्थितिको सृजना हुनुपर्छ । चित्र लेखन कार्य दैनिक कार्यक्रममा रहनु अति जरुरी छ । यसले बालकको सर्वाङ्गीण विकासमा ठूलो मद्दत पु¥याउँछ । बालकलाई चित्र लेखन क्रियामा सहुलियत नदिएमा उनको विकासको कार्यमा एउटा ठूलो अडचन राखिएको मानिनेछ ।
२. जसरी वामे सर्नु, हिंड्नु र बोल्नु बालकको निमित्त स्वाभाविक क्रिया हो, त्यसैगरी चित्र लेख्नु, लेखिएको चित्रमा रंग भर्नु इत्यादि बालकको निमित्त बिल्कुल स्वाभाविक क्रिया हो । बालकले सबभन्दा पहिले चित्र लेखनद्वारा आफ्नो मनको भाव व्यक्त गर्न सक्छ । अनि पछि मात्र उसले लेखद्वारा भाव व्यक्त गर्न सक्ने योग्यता प्राप्त गर्छ ।
चित्र लेखनले बालकको सर्वाङ्गीण विकास गराउँछ र साधारण शिक्षामा ठूलो योग पु¥याउँछ । जब बालकले कुनै चित्रबाट आफ्नो मनोभाव प्रकाश गर्ने समस्या लिन्छ त्यसबेला उसलाई आफ्नो जिन्दगीमा घटेका घटनाहरूको पुनःस्मरण गर्नुपर्ने हुन्छ । बालकले चित्र बनाउने क्रियामा लाग्दालाग्दै आफ्ना अनुभवहरूको एकीकरण गर्छ अनि ती अनुभवहरूलाई चित्रण गर्ने चेष्टा समेत गर्छ । यसो गर्दा उसको विचारधारा सिलसिलेवार रूपमा तयार गरी प्रकाशमा ल्याउनुपर्ने हुन्छ । यी सबै क्रियाले बालकको मानसिक विकासमा ठूलो मद्दत दिन्छ ।
३. माथि उल्लेख गरिए मुताविक चित्र लेखन अभ्यास बालकको निमित्त बिल्कुल स्वाभाविक र अनिवार्य शिक्षा हो भनी मान्यता दिए मुताविक शिक्षकले निम्नलिखित कुराहरूमा पूरापूर ध्यान पु¥याउनुपर्छ नत्र भने यो कार्य सफल हुने कुनै सम्भव छैन । शिक्षकको कल्पना, चातुुर्य, शिल्प समय सुहाउँदो क्षमता, परिस्थिति र स्थानको विचारले निम्नलिखित कार्य पूरा गर्नमा पूरा योग दिनेछ । 
क्रमशः
(आगामी अंकमा चित्रकला सिक्न–सिकाउन चाहिने सर–सामान र ज्याबलहरू)

(प्रस्तुत अंश अमेरिकाको ओरेगन विश्वविद्यालयबाट एमएड गरेका प्रा. दीर्घमान श्रेष्ठले कलेज अफ एजुकेसनको कला–कौशल (आर्टस् एण्ड क्राफ्ट) विभाग प्रमुख हुँदा २०१५ सालमा लेखी छपाएको ‘बाल कला कौशल किरण’ नामक पुस्तकबाट साभार गरिएको हो । ३६ पृष्ठको उक्त पुस्तकको बाँकी अंश क्रमशः प्रकाशित गरिनेछ –सम्पादक)

सौजन्यः दीपक अर्याल÷मदन पुरस्कार पुस्तकालय

Related Posts

/*sign up form*/