एकपटक दर्शन गर्ने कि !

by • • स्थलगतComments (0)388

गृहकार्यको ह्याङओभरबाट आजका विरलै विद्यार्थी मुक्त होलान् । गृहकार्यको तुलनामा कक्षा बढी प्रभावकारी हुने ठानिन्छ । तथापि शिक्षकको कार्यबोझ् र अल्छीपनका कारण कक्षाकार्यको अभ्यास सितिमिति हुने गरेको पाइँदैन । तर, कास्कीको पुम्दीभुम्दी–३ स्थित पोखरा दर्शनीय स्थल प्राविमा भने गृहकार्यमा भन्दा बढी कक्षाकार्यमा जोड दिइएको पाइयो ।

यस प्राविमा कक्षाकार्यका लागि छात्रछात्राको संख्या अनुसार हरेक कक्षामा अभ्यासपुस्तिका राख्ने गरिएको छ । स्कूलले नै किनेको अभ्यासपुस्तिकामा हरेक विद्यार्थीको नाम लेखिएको छ । कक्षाकार्यको समयमा विद्यार्थीले आफ्नो अभ्यासपुस्तिका झ्किेर प्रयोग गर्छन्, काम सकिएपछि पहिलेकै टेबलमा मिलाएर राख्छन् ।

दुर्लभ जस्तो लाग्ने यो अभ्यास दर्शनीय स्थल प्राविले हचुवाकै भरमा आरम्भ गरेको भने होइन । यस विद्यालयका प्रअ मातृकाप्रसाद बरालले गत वर्ष अष्ट्रेलिया भ्रमणका क्रममा त्यहाँका तीन वटा प्रावि, दुई वटा मावि र एउटा क्याम्पसको पठनपाठन शैलीको अवलोकन गर्ने अवसर पाएका थिए । उनले त्यहाँका स्कूलमा गृहकार्य भन्दा कक्षाकार्य र परियोजना कार्यमा जोड दिएको देखे । अष्ट्रेलिया भ्रमणको त्यही सिकाइलाई अहिले आफ्नो स्कूलमा लागू गर्न खोज्दैछु ।”

अष्ट्रेलियाबाट फर्किएपछि बरालले विद्यालयको कक्षा व्यवस्थापन र पठनपाठनलाई पनि नयाँ स्वरुप दिएका छन् । पोखरा दर्शनीय स्थल प्राविका कक्षा अरू स्कूलका जस्ता छैनन् । त्यहाँ विद्यार्थीलाई राउण्टेबलमा राखिएको छ । शिक्षकका लागि पनि हरेक कक्षामा कुर्सीको व्यवस्था गरिएको छ ।

सरकारी विद्यालय सुधार गर्न शिक्षकले चाहे गर्न सक्छन् भनेर अहिले एउटा अभियान नै चलाइएको छ । पोखरा दर्शनीय प्रावि  चाहिँ शिक्षकले चाहे गर्न सक्छन् भन्ने कुराको स्वयंममा एउटा प्रमाण हो । किनभने प्रअ र शिक्षकले चाहेकै कारण छोटो अवधिमा यो स्कूलको कायापलट भएको छ ।

२०६३ सालमा प्रअ भएर आएपछि बरालले सर्वप्रथम भर्ना अभियान चलाए । त्यसपछि क्रमशः शैक्षिक सुधार योजना लागू गरे, शिक्षकको टीमलाई पनि पूर्ण बनाए । उनीहरूको प्रयास ६ वर्षमै सफल भयो । यो विद्यालय कास्कीको क श्रेणीको प्रावि स्कूलमा दर्ता भइसकेको छ । अहिले यहाँका अभिभावक छोराछोरी भर्ना गर्न निजी स्कूल धाउँदैनन् । बरु निजीमा भर्ना भएका कतिपय केटाकेटीलाई पनि यही स्कूलमा ल्याएर भर्ना गरिएको छ ।

कस्तो स्कूल राम्रो भन्ने प्रश्नको सर्वस्वीकार्य जवाफ छैन । किनभने राम्रा स्कूल सम्बन्धी धारणाहरू फेरिंदैछन् । तथापि विश्वव्यापी रूपमा स्वीकार गरिएको राम्रो स्कूलको एउटा विशेषता हो– जुन विद्यालयमा बालबालिका रमाउँछन्, त्यो स्कूल राम्रोमा पर्छ । यस आधारमा पोखरा दर्शनीय स्थल प्रावि सानो तर राम्रो विद्यालयमा पर्छ, किनभने यो स्कूलमा बालबालिका रमाएर सिक्ने वातावरण छ ।

बालमैत्री विद्यालय नाम दिइएको यस स्कूलमा छात्रछात्रालाई दण्ड सजायको भागीदार बनाइँदैन÷दिइँदैन । शिक्षकले माया गरेर सिकाउने, समूहमा कक्षाकार्य गर्न लगाउने, स्कूलमै खाजा खान पाइने, विद्यालयले पोशाक तथा जुत्ता दिने गरेकोले स्कूलप्रति बालबालिका लोभिएका छन् । यिनै कारणले ६ वर्षअघि १५ जना छात्रछात्रामा सीमित यो प्राविमा अहिले ८६ जना छन् भने ८ जना शिक्षक ।

पढाइमा कमजोर नानीहरूलाई यहाँ विशेष सहयोगी कक्षा सञ्चालन हुन्छ । शिक्षकहरूले गठन गरेको फन क्लब ले हरेक शुक्रबार मनोरञ्जनका कार्यक्रम सञ्चालन गर्छ, जहाँ वरपरका विद्यालयका शिक्षक तथा छात्रछात्रा पनि आउँछन् ।

पोखरा दर्शनीय स्थल प्राविमा शिक्षकले नपिट्ने मात्र होइन विद्यार्थीसँग रिसाउन पनि नपाउने नियम छ । यहाँ शिक्षक हाँसेर कक्षामा जाने, नानीहरूको अगाडि नरिसाउने, कुनै विद्यार्थी रुँदै आएको छ भने उसलाई खुशी पारेर कक्षामा राख्ने गरिएको छ । यसले विद्यार्थीको दैनिक विद्यालय उपस्थिति दर शतप्रतिशत पु¥याएको छ ।

यस स्कूलमा पूर्वप्राथमिक तहका साना नानीहरूलाई कतिपय शिक्षकले बोकेर स्कूल ल्याउने–लैजाने गरेको समेत पाइन्छ । त्यस्तै शिक्षकमा पर्छिन् निजी स्रोतकी शिक्षक सन्ध्या नेपाली । उनी नर्सरीका सानो उमेरका नानीहरूलाई बोकेर स्कूल ल्याउने–लैजाने गर्छिन् । शिक्षकहरूको पेशागत निष्ठाको छाप बालबालिकाको मस्तिष्कमा पनि पर्न थालेको छ । शिक्षक प्रतिनिधिसँगको कुराकानीमा साना कक्षाका नानीले आफू ठूलो भएपछि आफ्ना सर–मिस जस्तो बन्ने लक्ष्य सुनाए ।

त्यहाँ साना कक्षाका नानीहरूलाई सकभर क्रियाकलाप तथा अभिनय विधिमा सिकाउने गरिएको छ । “क्रियाकलाप नगरी कतिपय कुरा बुझउन सकिंदैन । जस्तै आदेश दिनु र अनुरोध गर्नुबीचको भिन्नता बुझउन अभिनय नगरी हुँदैन । त्यसैले सिकाइलाई क्रियाकलाप र चित्रमुखी बनाइएको छ”, प्रअ बराल भन्छन् । अभिनय र नाचगानलाई शिक्षणको अभिन्न अंग बनाइएकोले कक्षाको वातावरण जीवन्त पाइन्छ ।

मूल्यांकनका लागि यहाँ निरन्तर विद्यार्थी मूल्यांकन (क्यास) लागू गरिएको छ । शैक्षिक सामग्रीको प्रयोग, वार्षिक शैक्षिक क्यालेण्डर अनि दैनिक पाठयोजना कडाइका साथ लागू गरिएकोले स्कूलको शैक्षिक स्तर उकालो लागेको छ । स्कूलको सफलताको अर्को महŒवपूर्ण सूत्र हो समयको पालना । प्रअ बरालसँगै सबै शिक्षक सधैं समयमा स्कूल पुग्ने गर्छन् । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकान्त बाँस्तोला प्रअ बरालको एकसूत्रीय लक्ष्य स्कूल चम्काउने भएकोले छोटो अवधिमै आफ्नो स्कूल उम्दा बन्न सफल भएको अनुभव सुनाउँछन् ।

सिकाइ उपलब्धिका दृष्टिले पनि पोखरा दर्शनीय स्थल प्रावि गतिलो स्कूलमा दरिन पुगेको छ । किनभने यो स्कूलको गएको शैक्षिक सत्रको औसत सिकाइ उपलब्धि ९० प्रतिशतको हाराहारीमा छ । स्रोतकेन्द्र स्तरीय अन्तर प्रावि अतिरिक्त क्रियाकलापमा २०६९ मा यो प्रावि प्रथम भएको थियो भने विगत तीन वर्षयता जिल्ला शिक्षा कार्यालय कास्कीको मूल्यांकनमा क श्रेणीको प्राविमा पर्दै आएको छ । 

पोखरा दर्शनीय स्थल प्राविको भौतिक पूर्वाधारको पाटो पनि कमजोर छैन । यसको चिटिक्कको भवन छ, जसलाई फलामको तारबारले घेरिएको छ । प्रावि स्कूलमा पुस्तकालय भेट्न सजिलो छैन । तर, यहाँ करीब १२०० पुस्तकसहितको पुस्तकालय छ । श्रव्य–दृश्य सामग्री सहितका करीब २०० जति शैक्षिक सामग्रीको व्यवस्था गरिएको छ । गाउँको स्कूल भए पनि चार वटा कम्प्युटर, साउण्ड सिस्टम, सांस्कृतिक कार्यक्रमका लागि पोशाक आदिको व्यवस्था छ ।

स्कूलका कक्षाकोठा र परिसर सफा देखिन्छन् । सरसफाइमा यो स्कूल गत वर्ष स्रोतकेन्द्रका अरू स्कूललाई उछिनेर प्रथम भएको थियो । छोरेपाटन उमावि स्रोतकेन्द्रका स्रोतव्यक्ति बोधराज भट्टराई सक्रिय प्रअको नेतृत्वमा उत्साहित शिक्षकले अभिभावकलाई जागृत गरेकाले यो स्कूल जिल्लाको उम्दा बालमैत्री स्कूल बन्न सफल भएको बताउँछन् । “पढाइमा मात्र होइन, जिशिकाका नीति निर्देशन तथा कार्यक्रम कार्यान्वयन गर्ने सवालमा पनि पोखरा दर्शनीय स्थल प्रावि जिल्लामा अग्रपंक्तिमा आउँछ”, उनले भने ।

धेरै कुरामा राम्रो हुँदाहुँदै पनि पोखरा दर्शनीय स्थल प्रावि चुनौतीरहित छैन । प्रअ बरालले विद्यालयलाई भौतिक रूपमा बलियो बनाउन विदेशी दाताहरूसँग सहयोग लिएर सबै नानीहरूलाई पोशाक, खाजा, कापी–कलम आदि जुटाउने गरेका छन् । प्राविका बालबालिकालाई खाजा अनिवार्य भएकोले खाजा र शैक्षिक सामग्री थप्नका लागि थप बजेटको खाँचो भने सधैं नै परिरहन्छ यसलाई । 

बाबुराम विश्वकर्मा

Related Posts

/*sign up form*/