समय

by • • साभारComments (0)397

समय बडो अनमोलको चिज हो, जुन समय बितेर जान्छ, त्यो समय फेरि फर्केर कहिल्यै पनि आउँदैन; समय रात–दिन बराबर चल्दछ, कहिल्यै पनि रोकिंदैन; यसकारण समयलाई व्यर्थमा नबिताउनू असल छ । सबै काम समयमै गर्नुपर्दछ । पढ्ने समयमा पढ्नुपर्दछ, खेल्ने समयमा खेल्नुपर्दछ, खाने समयमा खानुपर्दछ, सुत्ने समयमा सुत्नुपर्दछ । समयको हिसाब यस्तो किसिमले गर्नुपर्दछ । यसको वर्णन केही सूक्ष्म यहाँ देखाइएको छ ।

६० पलाको एक घडी, साढे सात घडीको एक प्रहर, आठ प्रहरको एक दिन–रात, सात दिन–रातको एक सप्ताह हुन्छ । दुई सप्ताहको एक पक्ष हुन्छ । दुई पक्षको एक महीना हुन्छ । बाह्र महीनाको एक वर्ष हुन्छ । यो एक रीत हो ।

अर्को रीत जो छ, त्यो अंग्रेजी रीत हो । ६० सेकेण्डको एक मिनेट, साठी मिनेटको एक घण्टा, चौबीस घण्टाको एक दिन–रात हुन्छ । सात दिनको एक हप्ता, चार हप्ताको एक महीना हुन्छ । बाह्र महीनाको एक वर्ष हुन्छ ।

घडीबाट समय ज्ञान हुन्छ । घडीमा दुई सुई हुन्छ । एक ठूलो सुई, अर्को सानो सुई । ठूलो सुई सानो सुईभन्दा धेरै गुणा अधिक चाँडो चल्दछ । यो सुई प्रति घण्टामा एक चक्कर खान्छ । सानो सुई बाह्र घण्टामा एक चक्कर खान्छ । ठूलो सुईबाट मिनेट याद हुन्छ । सानो सुईबाट घण्टा याद हुन्छ । घडीको भित्र एक कमानी हुन्छ । त्यो कमानीमा बाटुला पाङ्ग्रा हुन्छन् । जहाँतक कमानी कसिइरहन्छ, तहाँतक पाङ्ग्रा घुम्दै रहन्छन् । पाङ्ग्राको साथ सुई पनि चल्दछ ।

यी पाङ्ग्रा चल्नाले यो घडीको दुई सुई पनि चल्दछन् । जब कमानी ढिलो हुन्छ तब यो घडीको पाङ्ग्राहरू पनि घुम्न छोड्दछन् । घडी पनि चल्न बन्द हुन्छ । घडीमा एक साँचो हुन्छ । जब त्यो साँचोबाट दम दिइन्छ तब फेरि त्यो पाङ्ग्राहरू आफैं आफ चल्दछन्; त्यो कमानी साँचोद्वारा कसिन्छ । रोजरोज सो साँचोबाट दम ठीक ढाँचाले दियो भने घडी कैल्यै पनि बन्द हुँदैन । घडीबाट समय यस्तरी याद हुन्छ । यो समय अति अमूल्य छ, यस्तो समयलाई सुकर्म गरी बिताउनुपर्दछ ।

यदि कोही मानिसले प्रतिदिन दश पृष्ठको हिसाबले पुस्तक हेर्ने ग¥यो भने त्यो मानिसले वर्ष दिनमा ३ हजार ६५० पृष्ठ हेरी सक्दछ । यदि प्रत्येक पुस्तक ३०० पृष्ठको रहेछ भने पनि वर्षै भरमा १२ किताब हेरिसकिने हुन्छ । जो मानिस प्रति दिन दुई–दुई तीन–तीन घण्टा कुनै अन्य व्यसनादिमा बिताउँदछ भने त्यो मानिसको कमसे कम ४० पुस्तक हेर्ने समय व्यर्थ जान्छ । यदि कहिलेकाहीं पढ्न, कुनै काम गर्न इच्छा लागेन भने स्वास्थ्यका निमित्त हरियालीमा भ्रमण गर्नु किन्तु आलस्यलाई साथ लिएर यस्तो अमूल्य समय व्यर्थ नबितोस् । किन्तु सुकर्ममा नै विशेष दिन बित्न जाओस् । जो काम गर्नुपर्दछ सो काम टाइम टाइममा गर्ने गर्नुपर्दछ । यस्तो अमूल्य समयलाई देखेर सो समय व्यर्थ न जान पाओस्, सत्कर्तव्यमा अर्थात्, ईश्वरको ध्यान, स्तुति, सदाचार, धर्मकर्म इत्यादि असलकार्यमा बित्न जाओस् भनी यो दिग्दर्शन गराएका छन् इति ।  


स्रोतः गोर्खापत्र, १९७७ साल फागुन १७ गते सोमबार (लेखकको नाम उल्लेख छैन)

Related Posts

/*sign up form*/