हेराइ र बुझाइ
एउटा २४ वर्षको ठिटो गुडिरहेको रेलको झयालबाट बाहिर हेर्दै चिच्याउँछ, “बाबा, बाबा ! हेर्नुस् त, सबै रूख पछिल्तिर गइरहेका छन् !”
बाबु मुस्कुराए मात्र । सँगै बसेका दम्पतीले ‘यत्रो केटाले पनि के बच्चा जस्तो कुरा गरेको होला’ भन्ने भावमा हेयको दृष्टिले हेरे । यत्तिकैमा केटो फेरि करायो, “बाबा, हेर्नुस् त, हामी सँगसँगै बादल दौडिएको !”
ती दम्पतीलाई असह्य भयो । तीमध्ये लोग्नेचाहिँले बूढा मान्छेतिर फर्किएर भन्यो, “हैन, तपाईं यो छोरालाई डाक्टरकहाँ किन लैजानु हुन्न ?”
ती वृद्ध मानिस एकछिन मुस्कुराए अनि बोले, “अस्पताल लगेको छु नि । अहिले पनि हामी अस्पतालबाटै फर्किंदै छौँ । यो मेरो छोरो जन्मजातै अन्धो थियो । उपचार गर्दागर्दा उसले आजै मात्र आँखाको ज्योति पाएको हो ।”
पाठ : यस धर्तीका हरेक व्यक्तिका आफ्नै कथा हुन्छन् । वास्तविकता नबुझ् कहिल्यै पनि अरूको मूल्याङ्कन गर्ने हतार गर्नु हुँदैन । पछि प्रकट हुने सत्य आश्चर्यजनक हुन सक्छ ।

