विषय सन्दर्भ
यस पटक बालबालिकालाई उमेर अनुसारका निबन्ध लेख्न सिकाउने एउटा उपयोगी ढाँचा पस्किएका छौँ । ढाँचामा बसेर लेख्ता बालबालिकालाई फाइदा हुन्छ तर उनीहरूले लेख्ने विषय र शैली एकै खालको हुनुहुँदैन भन्ने कुरामा शिक्षक÷अभिभावकले विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
केदार शर्मा
यो लेखको शीर्षकमा जम्मा तीनवटा एकदमै सामान्य नेपाली शब्द छन्— सिर्जना, जस्तो र सुन्दर । कुरा केही छैन, खासै अर्थ पनि लाग्दैन । तर नेपाली साहित्यको सामान्य विद्यार्थीले पनि बुझ्हिाल्छ— यी तीनवटा शब्दलाई यस क्रममा राखेको राष्ट्रकवि माधव घिमिरेले हो, आफ्नो त्यही शीर्षकको कवितामा । त्यसको पूरा हरफ हो— सिर्जना जस्तो सुन्दर मैले देखिनँ क्यै पनि ।
शब्दले साहित्य बन्छ, अनि साहित्यले शब्दहरूको अर्थ, महत्व र घनत्व बढाइदिन्छ । भावले शब्द खोज्छ, शब्दहरूले भाव बोक्छन् । यो भाव र शब्दहरूको पारस्परिकता कस्तो गजबको हुन्छ भने कसैले ‘यो हल्लै हल्लाको देश हो’ भन्दा हामी ठ्याक्कै भूपी शेरचनलाई सम्झ्न्छौँ । ‘फर्सीको जरा’ भन्ने कविता एकसरो मात्र पनि पढ्ने मान्छे भेट्न हिजोआज गाह्रो हुन्छ तर नेपाली साहित्यको औसत विद्यार्थीलाई थाहा छ— त्यो कवि मोहन कोइरालाको सम्भवतः सबैभन्दा चर्चित कविताको शीर्षक हो । कहिलेकाहीँ ठ्याक्कै शब्द नै दोहोरिनु पर्दैन, कुनै भावविशेष पनि साहित्यकारबाटै चिनिएका हुन्छन् । असार महीनाको मेघ गर्जनसहितको वर्षाले नै कालिदासको मेघदूत सम्झउँछ । कसैले ‘मान्छेको जात हेरेर हुन्छ र ? मन पो हेर्नुपर्छ’ भन्यो भने हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन भन्ने मुनामदन सम्झ्न्छौँ । यस्ता उदाहरण हजारौँ हुन सक्छन् ।
“ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पीपल,
सिर्जनाशक्ति धर्तीमा कैल्यै हुँदैन विफल ।”
कविवर माधव घिमिरेका अत्यन्त प्रचलित हरफमध्येको हो यो । यसमा उहाँले सृजनशीलतालाई प्रतिभासित जोड्नुभएको छ । प्रतिभा छ भने त्यो जसरी पनि प्रष्फुटित भएरै छाड्छ भन्ने यो हरफको आशय हो । तर सँगसँगै ध्यान दिनुपर्ने कुरा के पनि हो भने, पहरामा वा मन्दिरको छानामा वा पर्खालमा उम्रिएको पीपल मलजल पाएन भने त्यत्तिकै टाक्सिएर जान्छ ।
महाकवि देवकोटाको अद्भूत प्रतिभा नेपाली वाङ्मयको एउटा ठूलो सम्पदा हो । तर नेपाली साहित्य जगत्मा देवकोटाका कारण केही गलत विश्वासहरूले पनि जरो गाडेका छन् । एक दिनमा खण्डकाव्य र नौ दिनमा महाकाव्य लेखिसक्ने देवकोटा आफ्ना सृजनालाई दोहोर्याएर समेत नहेरी प्रकाशनका लागि दिने कविका रूपमा परिचित छन् । उनका सबैजसो रचनाको प्रवाह र प्रभाव उस्तै छ । त्यही सिको गरेर केही मानिस ‘म आफ्नो रचनालाई दोहो¥याएर हेर्दिनँ’ वा ‘एक पटक लेखिसकेपछि सकियो !’ भन्छन् । त्यसो भन्दा हुन्छ तर त्यसो भन्नका लागि देवकोटामा जस्तो प्रतिभा पनि हुनुपर्छ भन्ने कुरा भने उनीहरू सोच्तैनन् ।
अर्कातिर बालकृष्ण सम, माधव घिमिरेहरू लामो समय लगाएर आफ्ना रचना सम्पादन, परिमार्जन गर्ने स्रष्टाका रूपमा चिनिन्छन् । “ढुङ्गाको काप फोरेर पनि उम्रिन्छ पीपल” लेख्ने कवि ‘प्रतिभाले मात्र पुग्दैन, निरन्तरको साधनाले त्यसलाई परिमार्जित गरिरहनुपर्छ’ भन्ने कुराको सजीव उदाहरण हुन् । सृजनाशक्ति पीपलको बीउ जस्तै हो, जो अप्ठ्यारामा पनि उम्रिन्छ तर फस्टाउनका लागि राम्रो माटो र मल नै चाहिन्छ । कसैले फेदमा चौतारो बनाइदियो भने त्यसले पीपलको शान बढ्छ । अनि बरपीपलसँगै भए भने सौन्दर्य र गरिमा दुवै बढ्छ । यस उदाहरणलाई ‘स्रष्टाको सामथ्र्य सङ्गतमा पनि भर पर्छ’ भनेर पनि अथ्र्याउन पनि सकिन्छ ।
लामो समयपछि हामीले यस पटक सृजनशील लेखन सम्बन्धी एउटा व्यावहारिक सामग्री छापेका छौँ । हामीले सृजनशील लेखनका बारेमा शिक्षक मासिकको दोस्रो अङ्क (२०६४ फागुन) मा छापेको ‘लेख्न सिकाउन सकिन्छ’ भन्ने लेख हाम्रो वेबसाइटमा उपलब्ध छ । त्यो संस्मरण लेख्न सिकाउने विधि थियो, यस पटक बालबालिकालाई उमेर अनुसारका निबन्ध लेख्न सिकाउने एउटा उपयोगी ढाँचा पस्किएका छौँ । ढाँचामा बसेर लेख्ता बालबालिकालाई फाइदा हुन्छ तर उनीहरूले लेख्ने विषय र शैली एकै खालको हुनुहुँदैन भन्ने कुरामा शिक्षक÷अभिभावकले विशेष ध्यान दिनु आवश्यक हुन्छ ।
बालबालिकालाई लेख्न सिकाउनुका फाइदा धेरै छन् । आफ्ना कुरा राम्रोसित लेख्न जान्ने बालबालिकाले स्कूलको परीक्षामा मात्र राम्रो गर्न सक्ने होइन, व्यावसायिक जीवनका अनेक पक्षमा उत्कृष्ट परिणाम हासिल गर्न सक्छन् । उनीहरू साहित्य, संस्कृति जस्ता सार्वनजिक चासोका विषयहरूमा अगि बढ्न सक्छन् । धेरै वर्षअगि मलेसियाका एक जना शिक्षक समसुद्दीन बिन हुसैनले यस पंक्तितकारसित भनेका थिए, “जब आफूभन्दा शिक्षित र धनी मानिसहरू आफ्ना छोराछोरी समेत लिएर मलाई भेट्न आउँछन् र छोराछोरीलाई चिनाउँछन्, ‘उहाँ मेरो गुरु, उहाँ नभएको भए म यस ठाउँमा आइपुग्ने थिइनँ’ भन्छन्, मलाई आफू शिक्षक भएको र बालबालिकालाई राम्रोसित पढाएकोमा सबभन्दा खुशी र गर्व लाग्छ ।” (शिक्षक, असार २०६६)
नेपाली साहित्यमा चम्केका, जीवनका विभिन्न क्षेत्रमा सफल भएका, सुनाम कमाएका व्यक्तिहरूले पनि धेरै मेहनत गरेर र लामो बाटो धाएर आफ्ना शिक्षकलाई भेटेका धेरै प्रसङ्गहरू हामीले थाहा पाएका छौँ । यस्तो सधैँ हुन्छ । आजका यी बालबालिकालाई सृजनशीलताको सुन्दर बाटोमा अग्रसर गराइदिनुहोस्, भोलि आफ्नो क्षेत्रमा नाम कमाएर उनीहरू पनि तपाईंलाई भेट्न त्यसरी नै कृतज्ञ र विनयशील भएर आउनेछन् ।

