साहित्यसेवी बाबुछोरा

by • • 2072_06, बोलीको लोली–११Comments (0)398

Print Friendly, PDF & Email

बोलीको लोली–१५

साहित्यसेवी बाबुछोराको अर्को जोडी
जगन्नाथ र बैजनाथ सेढाञी

क.दी.

kamal dixit
शिक्षक को गताङ्क (भदौ) मा छापिएका होमनाथ र केदारनाथ जस्तै जगन्नाथ र बैजनाथ सेढाञीका बाबुछोरालाई पनि सँगै सम्झ्नुपर्छ । यी दुई कवि बाबुछोरालाई पनि उसै गरी बिर्सिएका छन् नेपाली साहित्यिकले । हुन त, होमनाथका बाबुछोरा जस्तै यिनका पनि बाबुभन्दा छोराका प्रकाशित पुस्तक बढी छन् तर अमुद्रित काव्यहरूको अवलोकन गर्दा भने छोराभन्दा बाबु अलि माथिल्ला स्तरका कवि थिए कि भनी सकार्नुपर्छ ।

बुइँगल (२०१८) ले त यी दुवैलाई उचित स्थान दिएकै हो तर किन हो हाम्रा समालोचक विद्वान्हरूको नजर यिनमा परेन, यी ओझ्लको ओझ्लमै रहे । जगन्नाथ सेढाञी (वि.सं. १९२४–८५) का बारेमा बुइँगल भन्छ— “आफ्ना छोरा बैजनाथ (वि.सं. १९४६–२००९) सँग संयुक्त भएर महाराज चन्द्रशमशेरको स्तुतिकाव्य चन्द्रमयूख र भूचन्द्रचन्द्रिका संवत् १९७० मा यिनले प्रकाशित गराएका छन् । सुन्दरी मा एकाध समस्यापूर्ति र सूक्तिसिन्धु मा एउटा कविताबाहेक यिनका अरू रचना देखिएका थिएनन् । तर अमुद्रित अवस्थामा रहेका यिनका रचनाहरूको एउटा भण्डारै फेला प¥यो । मदन पुरस्कार पुस्तकालयमा आइपुगेका विक्रम–मञ्जरी या नरहरि पान भन्ने एउटा १२०९ श्लोकी काव्य र त्यस्तै ठूलो अर्को एक राम चरित्र भन्ने वेदान्तप्रधान पद्यप्रबन्ध भेट्टाइयो । ती दुवै ग्रन्थको लेखोट र चन्द्रमयूख भूचन्द्रचन्द्रिका हेर्दा यी कवि कतिका मेहनती रहेछन् भन्ने कुरा जानिन्छ । तर यी अझ्सम्म अज्ञातै जस्ता छन् ।”

कवि जगन्नाथका सुपुत्र बैजनाथ पनि त्यत्तिकै मेधावी कवि तथा साहित्यिक थिए भन्ने देखिन्छ । किनभने १५ वर्ष साप्ताहिक ‘गोरखापत्र’ को सम्पादक भएर काम गर्दा यिनले त्यस पत्रको रूपरङ नै फेरिदिए भन्थे पछिका सम्पादक प्रेमराज शर्मा पनि । यिनले कृष्णचन्द्र अर्यालसँग मिलेर प्रकाशित गरेको गोरखा भाषा भन्ने मसिनो किताबमा पनि नेपाली भाषा र साहित्यबारे सूचना र सामान्यज्ञान यति भरिदिएका छन्, पढ्दा अचम्म लाग्छ । नेपाली भाषा र साहित्यका प्रेमी मात्र होइन, ठूला सेवक पनि थिए । नेपाली साहित्यको सेवकै भएर यिनले पुस्तक प्रकाशक र विक्रेता भएर समेत काम गरे कुनै बेला । मपुपुमा बैजनाथ सेढाञीका पुस्तकहरू खोज्दा १० ओटा देखिन्छन् संयुक्त लेखन समेत गन्दा ।
Jaggannath_Baijanath_1
यी दुई बाबुछोराको एकैसाथ कुरा गर्दा १५x२० इन्चीको ठूलो साइजको एउटा भव्य पुस्तकको कुरा उठाउनुपर्छ, संयुक्त चन्द्रमयूख भूचन्द्रचन्द्रिका (१९७५) को । श्री ३ महाराज चन्द्रशमशेरलाई रिझउने एक मात्र उद्देश्य राखेर प्रकाशित गरिएको स्तुतिकाव्य हो त्यो । त्यसै हुँदा साह्रै अनमोल वस्तु हुँदाहुँदै पनि त्यसले प्रशंसा पाएन । अपहेलित नै भयो भनूँ । तर त्यस प्रकारको अर्को पुस्तक नेपाली भाषाले फेरि पाएको छैन । नेपालीको त के कुरा, भनिन्छ कुनै भारतीय भाषामा समेत यस्तो श्रमसाध्य किताब निस्कन सकेको छैन भनेर यो प्रशंसित भएको थियो रे, १९७० सालमा निर्णयसागर प्रेस बम्बईमा यो छापिएर निस्कँदा । वास्तवमा अलङ्कारशास्त्रको परिभाषा अनुसार यो पुस्तक चित्रालङ्कारयुक्त चित्रकाव्य कहलिन्छ । मुखले भनेको सुनेर या लेखेको पढेर यो चन्द्रमयूख को गरिमा बुझ्ँदैन, आफ्नै आँखाले हेर्नुपर्छ । (मपुपुमा त्यो पुस्तक हेर्न सकिन्छ) ।

बैजनाथका बारेमा मौका परे अर्को कुनै बेला अलि बढ्ता चर्चा गरौँला । अहिले चाहिँ बाबु जगन्नाथका बारेमा, उनको काव्यकारिता र कवित्व शक्तिको अलिकता बखान गरौँ । बुइँगल ले जगन्नाथबारे लेख्ता अत्यन्त संक्षेपमा लेख्यो । सयौँ जनाका बारेमा बोल्नुपर्ने भएकाले त्यहाँ बढी लेख्ने ठाउँ पनि थिएन । भए पनि, बुइँगल ले त्यसरी उठान गरिदिएपछि त्यस अध्ययनलाई कुनै अध्येताले अलि अगाडि बढाउनुपर्ने हो । तर केही भएन र ऐले झ्ण्डै ६० वर्षपछि फेरि लेख्नुप¥यो । विभिन्न छन्दका श्लोकले सजिएको नरहरि पान या विक्रम मञ्जरी महाकाव्यको १४७४रौँ (अन्तिम) श्लोक भन्छ :


“विक्रम् सेन् मञ्जरी यो रस पनि छ अनेक् ग्रन्थको नाम यै हो

पैला यो खण्ड राजन्, बुझ्किन पढदा नौ रसैको घरै हो ।
जस्ले बीचार गर्ला पिइकन रस यो स्वाद लेला मजैको,
संसारदेखी त पार भै हरिसित बसला विष्णुपूरी गई त्यो । ।”

पहिलो खण्ड नै यति ठूलो भएको यो ग्रन्थ अन्तमा कति ठूलो बनाउने उपक्रममा थिए कविजी, थाहा भएन तर यस काव्यको अर्को भाग पाइएको छैन । बरु माथि भनिए जस्तो यस्तै अमुद्रित अवस्थामा एउटा अर्को काव्य पाइएको छ । त्यसको नाम हो निर्माण चन्द्रिका । बुइँगल मा त्यसलाई रामचरित्र भनेको भए पनि त्यो ठीक होइन । रामचरित्र त त्यस ग्रन्थभित्रको एउटा शीर्षक मात्र हो । त्यस्ता धेरैओटा शीर्षक छन् त्यसमा । ती सबैले ज्ञानगुनका व्याख्या गर्छन् । श्लोकहरूले मात्र कुरा नबुझ्निे ठानी कविजीले प्रत्येक शीर्षक या कथाका तल तल भावार्थ पनि लेखेका छन् । जस्तो :

“कर्म गर्दा शुद्ध हुन्छ जस्को हृदय पद्म ता ।
जस्मा ज्ञान गई मिल्दा मोक्ष हुन्छ उ काल ता ।।
भित्र चित्त जहाँसम्म शुद्ध हुन्न मनुष्यका ।
तब तक् ज्ञान मात्रैले मोक्ष पाइन्न सर्वथा ।।
दुवै पखेटाले मात्र उड्दछन् पक्षि बेगमा ।
कर्म ज्ञान पनि त्यस्तै मोक्ष पद्मा पुराउन्या ।

(भावार्थ : कर्म गर्दा चित्त शुद्ध निर्मल हुन्छ, फेरि तेस्ता चित्तमा ज्ञान मिल्दाहुँदी मोक्ष हुन्छ । जस्तै पक्षी दुई पखेटाले सफा गरी वेगले उड्न सक्तछन्, जहाँतहाँ पुग्दछन्, कर्म ज्ञान भनेका पनी तेस्तै हुन् ।” इत्यादि ।
संक्षेपमा यत्ति नै भनौँ— आज साहित्यसेवी यी सेढाञी पितापुत्रका बारेमा ।

Related Posts

/*sign up form*/