गुनकारी गिद्ध: मांसहारी हो तर हिंसा गर्दैन !
गिद्धहरू मांसपिपासु प्राणी भएर पनि यिनका अधिकांश प्रजाति अहिंसाका पुजारी हुन् । अरू मांसहारी प्राणीले झ्ँ यिनीहरू अरू प्राणीको हत्या गर्दैनन् । मरेका खान्छन्, मारेर खाँदैनन्; सिनो पाएनन् भने बरु आफै मरेर जान्छन् ।
आदौ राम तपोवनादिगमनं हत्वा मृगं काञ्चनं ।
वैदेही हरणं जटायु मरणं सुग्रीव सम्भाषणम् ।
बाली निर्दलनं समुद्र तरणं लङ्कापुरी दाहनं ।
पश्चाद्रावण कुम्भकर्ण हननं चैतद्धि रामायणम् ।
प्रायः प्रत्येक बिहान रामायणका सातै काण्ड पाठ गर्ने मेरी आमा अहिले साँघुरिँदै साँघुरिँदै एक श्लोकी रामायणमा सीमित हुन पुग्नुभएको छ । त्यसमा पनि बीच बीचमा सम्झइदिनुपर्छ । यही आउँदो असोज ११ गते १०३ वर्षमा प्रवेश गर्न लागेकी आमाको मुखबाट यति पाउनु पनि मेरो अहोभाग्य हो । त्यसैले प्रत्येक बिहान जटायुको प्रसंग मेरो मनमा ठोक्किन आइपुग्छ । जटायु भनेपछि लंकाका राजा रावणले सीतालाई हरेर लाँदा बीचआकाशमा रावणसँग एक्लै युद्ध गर्दै वीरगति पाउने रामायणको योद्धा गिद्धलाई सम्झ्न्छौँ ।
यही भदौ १० गते (अगष्ट २७, २०१५) को इन्टरनेशनल न्युयोर्क टाइम्स को मुखपृष्ठमा प्रकाशित अफ्रिकी गिद्धहरूको ह्रासोन्मुख अवस्था र तिनले सिर्जेको वातावरणीय समस्याबारेको समाचार–कथामा मेरो ध्यान आकर्षित गराउनुभयो सम्पादक राजेन्द्र दाहालले । प्रत्येक सेप्टेम्बरको पहिलो शनिवारलाई गिद्ध दिवसका रूपमा मनाएर अन्तर्राष्ट्रिय स्तरमा गिद्ध संरक्षणको चेतना जगाउने प्रयत्न पनि शुरू भएको छ । न्यूयोर्क टाइम्स ले पनि त्यही सन्दर्भलाई समातेको हुन सक्छ ।
गिद्ध डाँफे, मुनाल वा मयुर जस्तो रूप र रङले सुन्दर र सुशोभित पक्षी होइन । खुइलिएको तालु, देख्तै डरलाग्दो चुच्चोको ठोँड, नाङ्गो लामो गर्धन, देख्तै घिन लाग्ने र भद्दा जिउडाल— गिद्धको सामान्य स्वरूप हो यो । त्यसमा पनि सधैँ सिनो खाने फोहोरी पक्षीले अन्तर्राष्ट्रिय अखबारमा स्थान पाउनुको रहस्य बेग्लै छ । आजको मूल चिन्ता ‘गिद्ध मरे’ भन्दा पनि ‘सिनो सड्ने भो’ भन्ने हो ।
अफ्रिकाका ठूलठूला घाँसे मैदानमा प्रत्येक वर्ष लाखौँ वन्यजन्तु; विशेष गरेर वाइल्डएबिस्ट (Wildebeest) मौसम अनुसार घाँस, पानी र वासस्थानको खोजीमा हिँड्दाहिँड्दै बाटैमा मर्छन् र सिनोमा परिणत हुन्छन् । त्यस्तै, दक्षिण एसियामा विशेष गरेर भारत, नेपाल र पाकिस्तानमा पनि वर्षेनी लाखौँ पाल्तु गाईवस्तु मर्छन् र सिनो पल्टन्छन् । यसरी पैदा हुने सिनो व्यवस्थापन गर्ने मूल जिम्मेवारी प्रकृतिले गिद्धहरूको काँधमा सुम्पिएको छ । त्यसो त कुकुर, स्याल र हुँडारहरू पनि सिनोको स्वादमा पल्केका हुन्छन् । तर ती जन्तुले गिद्धले जस्तो तीव्र गतिमा सबै सिनो सफाचट गर्न सक्तैनन् । गिद्धको पाचन प्रणाली अरू पशुपक्षीको भन्दा भिन्नै हुन्छ । यसको पेटमा परेपछि विभिन्न रोगका सूक्ष्म कीटाणु समेत भष्म हुन्छन् । रेविज, प्लेग, हैजा आदिका सूक्ष्म कीटाणुलाई पनि गिद्धले पचाइदिन्छ । तर हुँडार, स्याल, कुकुर आदि जन्तुले त्यसो गर्न सक्तैनन् । बरु, यिनले सिनोमा मौलाएका रोगका कीटाणुलाई अन्यत्र फैलाउने काम गर्छन् । त्यसबाट महामारी पैलन सक्छ । त्यसैले हाम्रो पारिस्थितिक प्रणाली जोगाउने अत्यन्त प्रभावशाली रक्षाकवच हो गिद्ध ।
गिद्धको महव त्यस बेला चाल पाइयो, जब संसारभर लाखौँ गिद्ध मर्न थाले । सन् १९८० ताका ८ करोडभन्दा बढी संख्यामा रहेको डंगर गिद्धको संख्या २५–२६ वर्षभित्रै ९७ प्रतिशतले घट्न पुग्यो । सन् १९९० तिर भारतका वैज्ञानिकहरूले गिद्धको संख्या असामान्य रूप र अति तीव्र गतिमा घट्न थालेको चाल पाएपछि नेपाल र पाकिस्तानका चरा विशेषज्ञहरूलाई पनि त्यसबारे जानकारी गराए । त्यसपछि मात्र गिद्ध लोप हुनाको कारणमा गहन खोजिनिती शुरू भयो । विश्व समुदायको ध्यान पनि यसतर्फ आकृष्ट भयो । किनभने गाईवस्तु र वन्यजन्तुको सिनो सडेर, गलेर वातावरणमा प्रतिकूल असर परिरहेको थियो । रोगब्याध, विशेष गरेर हैजा, रेविज र प्लेगको प्रकोपमा हजारौँ–लाखौँ मानिसले दुःख पाउने स्थिति सिर्जना हुन थाल्यो । तर धेरै पछिसम्म पनि गिद्ध मर्नाको कारण भने पत्ता लागेन । कुनै रोगाणु ब्याक्टेरिया, भाइरसले ती गिद्ध मरेका थिएनन् ।
नेपाल र भारतका गिद्धबारे विस्तृत अनुसन्धानपछि के थाहा लाग्यो भने पाल्तु गाईवस्तुलाई ज्वरो आएको बेला पशुरोग विशेषज्ञहरूले खुवाउने ‘डाइक्लोफेनेक’ नामक कृत्रिम रासायनिक औषधिको अवशेष मरेका जन्तुको सिनोमा कायम रहने र त्यस औषधिले मृगौलामा क्षति पुग्दा गिद्धहरू मर्ने गरेका रहेछन् । कृत्रिम रासायनिक औषधिको यस्तो दूरगामी अप्रत्यासित असरको ज्वलन्त उदाहरण बन्न पुग्यो गिद्ध विनाश । मानिसहरूमा पनि सो औषधि प्रयोग हुने गरेको छ । उच्च लेकाली भोट प्रदेशका बासिन्दा र त्यस्तै पारसी धर्मावलम्बीहरू पनि मृत मानिसका लास गिद्धलाई अर्पण गर्छन्, खुवाउँछन् । ‘गिद्ध बचाउ’ आन्दोलनको ध्यान त्यतातिर अझ् गएको छैन । पशुचिकित्सामा भने निकै महवपूर्ण उपलब्धि हासिल भएको छ । नेपाल र भारतले सन् २००६ देखि नै ‘डाइक्लोफेनेक’ माथि प्रतिबन्ध लगाएका छन् । त्यो औषधिको सट्टा अर्को औषधि ‘मेलोक्सिक्याम’ देशभित्रै उत्पादन गरी ‘डाइक्लोफेनेक’ लाई विस्थापित गर्न सफलता मिलेको छ । आज भारत र नेपालको पशुचिकित्सामा गिद्धमारा ‘डाइक्लोफेनेक’ को प्रयोग हुँदैन ।
उपरोक्त सफलताले ह्रासोन्मुख अवस्थामा पुगेको गिद्धको संख्या उकास्नका लागि ‘नेपाल पक्षी संरक्षण संघ’ ले विभिन्न सरकारी, गैरसरकारी संघसंस्था एवं स्थानीय समुदायसँग हातेमालो गरेर गिद्ध संरक्षणमा नवीन प्रयासहरू थालेको छ । तीमध्ये ‘गिद्ध रेस्टुराँ को सञ्जाल स्थापना गर्ने प्रयास विशेष उल्लेखनीय छ । जोत्न वा दूध दिन छाडिसकेका घरपालुवा पशुहरूलाई पशुवृद्धाश्रममा एकत्रित, सुरक्षित र सम्मानजनक अवस्थामा पाल्ने र ती पशुचौपाया मरेपछि गिद्धको आहारा बनाउने कार्यक्रम बिस्तारै देशव्यापी बन्दै छ । स्थानीय समुदायलाई परिचालन गरी नवलपरासीको पिठौली, लुम्बिनीको गैडहवा, कास्कीको घाचोक, दाङको लालमटिया र बिजौरी तथा कैलालीको खुटियामा ‘जटायु रेस्टुराँ स्थापना भएका छन् । यसै गरी गिद्ध प्रजनन केन्द्र चितवन राष्ट्रिय निकुञ्जको कसरामा स्थापना भएको छ ।
गिद्धले विशेष गरेर अग्ला रूखमा गुँड बनाउँछ । त्यसमा पनि नेपालमा सिमलको रूखलाई विशेष रुचाउँछ । एक हिसाबले गिद्ध जोगाउनका लागि सिमल जोगाउनु पनि उत्तिकै जरूरी देखिएको छ । तसर्थ वनजंगलको संरक्षण भएन भने गिद्ध संरक्षणका अरू प्रयास सफल हुन सक्तैनन् । प्रकृति संरक्षणमा पारिस्थितिकीय प्रणाली अनुरूप समष्टिगत प्रयास भएन भने आशातित सफलता प्राप्त हुँदैन ।
प्रकृतिका पाँच तव— जल, स्थल, वायु, आकाश र प्रकाश तथा पृथ्वीमा विद्यमान ९३ वटा रासायनिक तत्व एवं तिनबाट बनेका हजारौँ रासायनिक यौगिकहरूको आपसी योग र संयोगबाट जीवात्मा प्राणीको सृष्टि हुन्छ । सृष्टि, जीवन (पालन) र संहारको चक्र–परिचक्रमा पारिस्थितिकीय प्रणालीहरू क्रियाशील रहन्छन् । प्रकृतिको त्यस प्रणालीभित्र कृत्रिम रासायनिक पदार्थहरू (Synthetic chemical substances) को प्रवेशले निम्त्याउने समस्याको एउटा सानो उदाहरण हो गिद्ध विनाश । गिद्ध विनाशले गर्दा सिर्जना हुने भयावह अवस्था अफ्रिकाका लाखौँ वाइल्डबिस्ट र दक्षिण एसियामा दशौँ लाख पाल्तु गाईवस्तुको सड्दै गरेको सिनोको दुर्गन्धमा साकार हुन्छ । त्यसैले, गिद्धलाई ‘प्रकृतिका कुचिकार’ भन्ने संज्ञा पनि दिइने गरेको छ । वास्तवमा यी कुचिकारका अतिरिक्त बहुगुणकारी प्राणी पनि हुन् । नेपाल पक्षी संरक्षण संघका खडानन्द पौडेल, बर्दिया प्रकृति संरक्षण क्लबका राजन चौधरी, चरा विशेषज्ञ डा. हेमसागर बराल तथा हरिशरण नेपाली लगायतका लेख–रचनाहरूबाट गिद्धको अस्तित्व किन कायम राख्नुपर्छ भन्ने स्पष्ट हुन्छ ।
आज विश्वमा प्रत्येक दिन औसतन १० प्रजातिका जीवहरू लोप हुन थालेका छन् भन्ने जानकारी विशेषज्ञहरू हाम्रा सामुन्ने पस्कने गर्छन् । विश्वमा २३ प्रजातिका गिद्ध छन् । दक्षिण एसियामा पाइने नौ प्रजातिका गिद्धहरू नेपाली आकाशमा उड्छन्, हाम्रा वन र बगरमा विचरण गर्छन् । तीमध्ये चार प्रजाति विश्व प्रकृति संरक्षण संघ (आईयूसीएन) को अति संकटापन्न पक्षीको सूचीमा परेका छन् । तीमध्ये डंगर गिद्ध (White-rumped vulture), सानो खैरो गिद्ध (Slender-billed vulture) र लामो ठुँडे गिद्ध (Log-billed vulture) प्रति हामी ज्यादै सचेत र चनाखो हुनुपर्ने अवस्था छ । नेपाली आकाशमा विशेष गरेर हिमाली क्षेत्रमा चहार्ने हाडफोर गिद्ध (Lammergeier/Bearded vulture) ले आफ्ना पखेटा फिँजाउँदा ९ फुट आकाश ढाक्छ । यो लम्बाई विश्व कीर्तिमान पनि हो । यसकै हाराहारीमा पुग्ने अर्को गिद्ध एन्डिज पर्वतको शानको रूपमा चित्रण गरिन्छ । त्यसलाई एन्डियन कन्डोर (Andean condor) भनिन्छ । तिनको सहोदर अर्को नातेदार हो क्यालिफोर्निया कन्डोर । यिनका समकक्षी हाम्रा हाडफोर गिद्धको विशेषता बेग्लै छ । हाडफोर गिद्धले सिनोका ठूला हाडलाई माथि आकाशमा उडाएर चट्टानी क्षेत्रमा बज्रने गरी खसाल्छ । त्यसरी खसाल्दा छताछुल्ल हुने गरी फुटेको हाड र हाडभित्रको मासी (Bonemarrow) यसको प्रिय आहारा हो । हाडफोर गिद्ध अरू गिद्धझ्ँ तालुखुइले हुँदैन ।
गिद्धहरू मांसपिपासु प्राणी भएर पनि यिनका अधिकांश प्रजाति अहिंसाका पुजारी हुन् । अरू मांसहारी प्राणीले झ्ँ यिनीहरू अरू प्राणीको हत्या गर्दैनन् । मरेका खान्छन्, मारेर खाँदैनन्; सिनो पाएनन् भने बरु आफै मरेर जान्छन् ।
गिद्धलाई रामायणको कथासँग जोड्दा यो जातिको वीरता र न्यायप्रेमी स्वभाव आफै प्रस्ट हुन्छ । रामायणमा गिद्धको प्रतिद्वन्द्वी अर्थात् शत्रुका रूपमा लङ्का नरेश रावण चित्रित हुन्छ । संयोग हो वा यथार्थ; नेपाल र भारतका गिद्धहरू श्रीलंकाका आकाशमा उड्दैनन् । सालिम अली एवं डिलं रिप्ले जस्ता विश्व प्रख्यात चरा विशेषज्ञहरूले लेखेका छन्— हाम्रा डंगर गिद्ध, हिमाली गिद्ध र सुन गिद्ध श्रीलङ्कामा पाइँदैनन् ।
गिद्धका विशेषताहरूलाई पहिल्यायौँ भने ‘गिद्ध–दृष्टि’ लाई अरूले उछिन्न सक्तैन । ६ हजार मीटरको उचाइमा उडिरहेको गिद्धले जमीनमा मरेको ३ फुटको सिनोलाई सहजै ठम्याउन सक्छ । अर्थात् माछापुछे हिमालको शिखरमा कावा खाइरहेको गिद्धले सेतीको बगरमा मिल्किएको सिनो ठम्याउँछ । उता अफ्रिकामा हस्तीहाडका तस्कर शिकारीले हात्ती मारेको आधा घण्टाभित्र गिद्धहरू त्यहाँको आकाशमा झ्म्मिन थाल्छन् । त्यो सन्दर्भमा तस्करका शत्रु पनि बन्न पुग्छन् गिद्धहरू । त्यसैले पनि गिद्ध सफाया गर्न सिनोमा विष राख्न थालेका रहेछन् अफ्रिकी तस्करहरूले । गिद्ध र सिनोको सम्बन्ध कति सुमधुर हुन्छ भन्ने बुझन सकिएन भने त्यसको प्रतिकूल असर भोग्न बाध्य हुनेछौँ हामी । त्यसैले यो गुनकारी पक्षीको सुरक्षा र संरक्षणमा हामी सबैको चेत खुल्नु जरूरी छ । गुनकारी गिद्ध संरक्षणमा लाग्ने सबैलाई सलाम !


