
एउटा किराना पसलको वरिपरि थुप्रै मुसा बस्थे । तिनले पसलेको अन्न मात्रै खाँदैनथे; बोरा, लुगा काटेर, फोहोर गरेर थप नोक्सान पनि गरिदिन्थे । मुसाको ज्यादतीबाट दिक्क भएको पसलेले एकदिन एउटा मोटोघाटो बिरालो घरमा ल्यायो । बिरालोको आगमनसँगै मुसाहरूलाई निद्रा पर्न छोड्यो । बिरालोको आतंकबाट कसरी आफूलाई जोगाउने भन्ने उपाय खोज्न मुसाहरूको मिटिङ बस्यो ।
नेता जस्तो लाग्ने एउटा ठिटो मुसाले प्रस्ताव राख्यो— “यो बिरालो एकदम विस्तारै चाल मारेर हिंड्छ । यो नजीक आएको थाहा पाउन पनि मुश्किल पर्छ । त्यसैले सबैभन्दा पहिले यसको घाँटीमा एउटा घन्टी चाहिं झुन्ड्याइहाल्नु प¥यो ।”
फुच्चे मुसाको प्रस्ताव पाकाहरूलाई पनि मन प¥यो । सबैले ताली बजाए । त्यसै अनुसार बैठकको निर्णय लेखियो “बिरालोको घाँटीमा घन्टी झुन्ड्याउने ।”
एकछिनको सन्नाटा पछि एउटा बूढो मुसोले मुख खोल्यो “अनि बिरालोको घाँटीमा घन्टी चाहिं कसले झुन्ड्याउने नि ?”
कहीं कतैबाट जवाफ आएन ।
केहीबेरको चकमन्नता पछि सहभागी मुसाहरू एकएक गर्दै चूपचाप बैठकस्थलबाट बाहिरिए ।
त्यसदिनको बैठकले गरेको त्यो निर्णय अहिलेसम्म पनि कार्यान्वयन भएको छैन !
(हाम्रो व्यक्तिगत जीवन, परिवार, टोलछिमेक, विद्यालय र देशमा पनि यस्ता क्रान्तिकारी प्रस्ताव राख्ने र निर्णय गर्ने क्रम चलेकै छ । त्यसमध्ये कार्यान्वयन हुन बाँकी यस्ता निर्णय के कति होलान् ? छलफल गरौं ।)
शिक्षक मासिक, २०७३ चैत अंकमा प्रकाशित

