हाम्रो विद्यालय यसरी बनायौं राम्रो

by • • विविधComments (0)1461

धनञ्जय शर्मा अधिकारी

दुई जना महिला शिक्षकको मनमा ‘पूर्वप्राथमिक कक्षा आवश्यक छ’ भन्ने कुरा यसरी गढ्यो कि उहाँहरू भाडामा घर लिएर भए पनि कक्षा सञ्चालन गरौं भनेर कस्सिनुभयो । उहाँहरूकोे त्यही अठोट नै ज्ञानोदय माविको उन्नतिको आधार बन्यो ।
विद्यालयको जग–पूर्वप्राथमिक कक्षा
बालबालिकालाई योग्य, सक्षम र असल बनाउन शिक्षालयको जति भूमिका हुन्छ त्यसभन्दा बढी आमाबाबु वा अभिभावकको हुन्छ । यो हामी सबैले थाहा पाएकै कुरा हो । हाम्रा मनीषीहरूले पनि उतिबेलै यो कुरा भनेका थिए:

उपाध्यायान् दशाचार्यः आचार्याणां शतं पिता ।
सहस्रं तु पितृन् माता गौरवेणातिरिच्यते ।।

अर्थात् हामी जस्ता पारिश्रमिक लिएर अध्यापन गर्ने दश जना शिक्षक बराबर एकै जना आचार्य (आचारसमेत सिकाउने) हुन्छन् रे । त्यस्ता सय जना आचार्य बराबर एकै जना पिता हुन्छन् र त्यस्ता हजार जना पिता बराबर एउटी आमा महत्वपूर्ण हुन्छिन् । हाम्रो व्यवहारमा पनि, घरमा आमाबाबु शिक्षककै रूपमा रहेका हुन्छन् । बालबालिकाले विद्यालयमा भन्दा घरमा बढी समय बिताउँछन् र घरमै धेरै कुरा सिक्छन् । सामाजिकता र व्यावहारिक ज्ञान सिकाइको उत्तम स्थल विद्यालयभन्दा घर नै हुन्छ । यस अर्थमा बालबालिकाको विकासमा शिक्षकको भन्दा आमाबाबुको भूमिका बढी हुन्छ; कम हुँदैन । तर हाम्रो विद्यालय शिक्षामा अभिभावकको भूमिका ओझेलमा परेको छ । राज्य, गैरसरकारी संस्था र विद्यालय समेतले अभिभावक विद्यालय शिक्षाको प्रक्रियामा अभिभावकको संलग्नता र सहयोग कसरी लिन सकिन्छ भन्ने कुरालाई खासै वास्ता गरेको पाइँदैन । यसको नकारात्मक असर हाम्रो शिक्षा र विद्यालय तहका बालबालिकामा परेको छ ।


सबै अभिभावक आफ्ना छोराछोरी लायक बनून्; सक्षम बनून्, जीवनमा नाम–दाम दुवै कमाउन सक्ने होऊन् भन्ने चाहना राख्छन् । तर सन्तानलाई चाहे जस्तो बनाउन आफ्नो भूमिका कस्तो हुनुपर्ने हो भन्ने कुरामा अधिकांश नेपाली अभिभावक स्पष्ट छैनन् । आफ्ना छोराछोरीप्रति अभिभावकको भूमिका के र कस्तो हुनुपर्ने भन्ने बारेमा हामी शिक्षकले पनि अभिभावकलाई प्रष्ट्याउन सकेका छैनौं । उल्टो हामी शिक्षकहरू, अभिभावकप्रति गुनासो पोख्छौं— ‘अचेलका अभिभावकलाई छोराछोरीको पढाइ र सिकाइप्रति चासो नै छैन, छोराछोरीको आचरण र व्यवहार सुधार्न ध्यान दिंदैनन्, विद्यालयले डाक्दा पनि आउँदैनन्, शिक्षक र विद्यालयलाई मात्र दोषी ठान्छन्; अभिभावकमा चेतना नै छैन ।’ तर जसले जसलाई दोषी देखे पनि अन्ततः शिक्षक, अभिभावक र विद्यार्थी एकअर्कासँग अभिन्न रूपमा गाँसिएका छन् । वास्तवमा विद्यालय शिक्षालाई सार्थक बनाउन यी तीनवटै पक्षको समान भूमिका रहन्छ । यी एकअर्काका पूरक हुन् ।

शिक्षकको इच्छाशक्ति र अभिभावकको सचेतना
हाम्रो विद्यालयको भौतिक संरचना कमजोर, प्राज्ञिक पक्ष दयनीय, विद्यार्थी र शिक्षक पनि न्यून रहेको अवस्थामा २०४० साल माघ महीनातिर शिक्षक साथीहरू र केही उपलब्ध अभिभावकबीच विद्यालय कसरी सुधार्ने र सुधारको थालनी कहाँबाट गर्ने भन्ने विषयमा छलफल भयो । अन्त्यमा पढाइको गुणस्तर बढाउन र जग बलियो पार्न पूर्वप्राथमिक कक्षा सञ्चालन नगरी हुँदैन भन्ने निष्कर्षमा पुगियो । कक्षाकोठाको अभाव थियो । अन्य पूर्वाधार पनि केही थिएन । तर दुई जना महिला शिक्षकको मनमा ‘पूर्वप्राथमिक कक्षा आवश्यक छ’ भन्ने कुरा यसरी गढ्यो कि उहाँहरू भाडामा घर लिएर भए पनि कक्षा सञ्चालन गरौं भनेर कस्सिनुभयो । उहाँहरूकोे त्यही अठोट नै ज्ञानोदय माविको उन्नतिको आधार बन्यो ।
सुधारको थालनी गर्न धेरै मान्छे र ठूलो योजना पनि नचाहिंदो रहेछ । कहीं न कहींबाट थालनी चाहिं गरिहाल्नु पर्दोरहेछ । उत्साहित शिक्षकको उत्साहलाई मर्न नदिन स्कूल सँगैको घरको भुईं तलामा पाँच वटा कोठा भाडामा लिइयो । नयाँ शैक्षिक सत्रदेखि कक्षा सञ्चालनको निम्ति कक्षा कोठा सिंगार्ने र फर्निचरको व्यवस्था गर्ने काम गरियो । माथिल्लो कक्षाका विद्यार्थीले ज्ञानोदयमा शिशु कक्षा शुरू हुँदैछ भन्ने सन्देश घरघरमा छरछिमेकमा पु¥याएर विज्ञापनको काम गरे । नयाँ शैक्षिक सत्र शुरू हुँदा शिशु कक्षामा ४० जना जति बालबालिका भर्ना भए । भर्ना शुल्क रु.१०० र मासिक शुल्क रु.२५ तोकियो । त्यतिबेला रेवरत्न बज्राचार्य हेडसर हुनुहुन्थ्यो । त्यसअघि विश्वनिकेतन र सिद्धार्थ वनस्थली स्कूलमा सहायक हेडटिचर भएर काम गरेको अनुभव उहाँसँग थियो । शिक्षकको इच्छाशक्ति, र हेडसरको अनुभव एकै ठाउँमा मिसायौं, पूर्वप्राथमिक कक्षाको शुरूआत ग¥यौं ।
हामी शिक्षकहरू सामान्यतः ‘हाम्रा अभिभावक अशिक्षित छन्, उनीहरूमा चेतनाको कमी छ’ भन्ठान्छौं । तर यथार्थ त्यस्तो छैन । यसबीच अभिभावकमा प्रशस्त चेतना जागेको छ । विशेषगरी ‘आफ्ना छोराछोरीलाई गतिलो शिक्षा दिनुपर्छ’ भन्ने कुरा उनीहरूको मनमा राम्ररी गढेको छ । अभिभावकको यही मनोविज्ञानका कारण बग्रेल्ती खुलेका मन्टेसरी र संस्थागत विद्यालयहरू विद्यार्थी बटुल्न सफल भएका हुन् ।
हाम्रो पूर्वप्राथमिक कक्षा सञ्चालन भएको दुई महीना जति पछि, साना नानी–बाबुलाई स्कूल पु¥याउन आउने अभिभावकबाट शिकायत र सुझव आउन थाल्यो— ‘खै पढाइ नै भएन ? ए, बी, सी, डी पनि चिनेनन् । क, ख पनि जानेनन् !’ यसरी नानीबाबुको पढाइका बारेमा चिन्ता व्यक्त गर्ने अभिभावकको संख्या बढ्दै गयो । त्यसअघि छोराछोरीको पढाइबारे गुनासो लिएर अभिभावकहरू खासै आउँदैनथे । यसबाट हामीले दुइटा कुरा बुझयौं— ‘पैसा तिरेपछि अभिभावकको चासो बढ्दो रहेछ । अनि दोस्रो, स्कूलमा आउ–जाउ बढेपछि स्कूलका गतिविधि बारे जानकार बन्दोरहेछ र सोधपुछ गर्दोरहेछ ।’ यसपछि स्कूलमा अभिभावकको आउ–जाउ कसरी बढाउने र उनीहरूसँग अधिकतम संवाद कसरी गर्ने भन्ने कुरामा केन्द्रित भयौं । त्यस अनुसार प्रत्येक महीनाको अन्तिम शनिबार बिहान ७ः०० बजे पूर्वप्राथमिक कक्षाका अभिभावकको बैठक राख्ने निर्णय ग¥यौं । यस्तो निर्णय अभिभावककै सल्लाहमा लिइएको थियो ।

साना नानीबाबुले खेलेर सिक्छन्
पहिलो बैठकमै ५० प्रतिशत अभिभावक उपस्थित भए । जति अभिभावक आउनुभयो, उहाँहरूका कुरा ध्यान दिएर सुन्यौं । यस्तो बैठकमा पूर्व–प्राथमिक तहका शिक्षक, सहयोगी दिदीहरू; प्रअ र स.प्रअ समेत सहभागी थियौं । धेरैजसो अभिभावकले ‘बच्चाले पढ्न–लेख्न नजानेको, अंग्रेजी बोल्न नसिकेको, लडेर; चलेर चोटपटक लागेको, विद्यालयले सुरक्षाको जिम्मेवारी लिन नसकेको, किताब, कापी च्यातेको’ जस्ता गुनासा सुनाउनुभयो । अभिभावकको कुरालाई सकारात्मक रूपमा लिंदै हामीले हाम्रा कुरा यसरी राख्यौं:


“पूर्व–प्राथमिक कक्षा भनेका पढ्ने–लेख्ने भन्दा पनि खेल्ने कक्षा हुन् । सिकाइ भनेको अक्षर पढ्न–लेख्न जान्नु मात्र होइन । नानी बाबुहरूले बोली, व्यवहार दैनिक जीवनमा नभई नहुने वस्तुको प्रयोग, आफ्ना सामानको राखन–धरन गर्ने कुरा सिकिरहेका छन् । सामान्य बोलीचालीमा प्रयोग हुने भाषाको सामथ्र्य पनि बढाइरहेका छन् । आफूभन्दा ठूलालाई आदरसूचक र सानालाई स्नेहसूचक सम्बोधन गर्न सिकाइँदैछ । साथीहरूसँग मिलेर बस्ने, मिलेर काम गर्ने, मिलेर खेल्ने, आफ्ना सामानको स्याहार गर्ने अरूको सामान नबिगारी दिने जस्ता कुरा पनि सिकिरहेकै छन् । जुन वस्तु जहाँबाट झ्क्यिो, प्रयोग गरिसकेपछि सोही ठाउँमा राख्ने बानीको पनि विकास भएको छ । दिसा–पिसाब गर्दा अपनाउनुपर्ने सचेतता र सरसफाइबारे पनि धेरै कुरा जानिसकेका छन् ।
नानी बाबुहरूलाई सामाजिकीकरण गर्नु पूर्वप्राथमिक कक्षाको उद्देश्य हो । खेलका माध्यमबाट रमाइलो गरी सिकाउँदा नानी बाबुहरूमा समूहमा काम गर्ने, हार–जीतलाई स्वाभाविक रूपमा ग्रहण गर्ने बानीको विकास हुन्छ । रंगको प्रयोग, पहिचान र नाम समेत जान्ने भइसकेका छन् । घरपरिवारका सदस्य, घरपालुवा जनावर, घर वरपरका वनस्पति र कीराफट्याङ्ग्राबारे पनि प्रारम्भिक जानकारी गराइँदैछ । कलम समेत राम्ररी समात्न नसक्ने कमलो हात भएका यस्ता साना नानीहरूले राम्रा अक्षर लेखून्, स्कूलले तुरुन्तै त्यस्तो बनाइ देओस् भन्ने अपेक्षा राख्नुहुन्न । यस्ता नानी बाबुहरूको शब्द ग्रहण गर्ने र सम्झ्ने क्षमताको विस्तारै विकास हुन्छ । अहिले नै धेरै शब्द बोल्न जानून्; शुद्ध उच्चारण गरून् भन्ने आशा तपाईंहरूले नगर्नुहोला । उनीहरूको कमलो शरीर र मस्तिष्कमा बल पर्ने पढाइ–लेखाइको काम लगाउनु उचित हुँदैन । चकचक गर्ने, सामानहरू चलाउने, छिरल–छारल पार्ने, उछलकुद गर्ने उनीहरूको प्राकृतिक स्वभाव हो । यस्तै चकचकबाट उनीहरू सिक्दै जान्छन् ।
बालबालिकाको शारीरिक र मानसिक विकासका निम्ति चकचक, उछलकुद र तोडफोड स्वाभाविक प्रक्रिया हुन् । साना बालबालिका सुनेर भन्दा गरेर छिटो सिक्छन् । त्यसैले हामीले पनि भनेर भन्दा गरेर सिकाउनतिर जोड दिनुपर्छ । आफ्ना प्रत्येक क्रियाकलापबाट उनीहरू केही न केही सिकिरहेकै हुन्छन्् । आफ्नो हातबाट कुनै वस्तु टुट्यो, फुट्यो वा हानि–नोक्सानी भयो भने उनीहरू तत्काल गल्ती महसूस गरिहाल्छन् । ज्या ! भन्ने विचार उनीहरूको मनमा उत्पन्न भइहाल्छ । यस्तो बेलामा बच्चालाई चर्को डाँकोले हप्काउनु; हकारपकार र झँगलझ्ुगल पार्नुहुँदैन  । किनभने जानाजान उनीहरूले त्यस्तो गरेका होइनन् । यस्ता नानीबाबुहरूले एक पटक सिसाको गिलास फुटाले पछि मात्र ओहो ! यो त फुट्ने चीज रहेछ । यसलाई समात्दा सावधानी अपनाउनुपर्ने रहेछ भनेर बुझछन् । हामी पाका मानिसमा भन्दा उनीहरूमा बढी समझ्दारी हुन्छ । अर्को पटक सिसाको गिलास समात्दा बडो सावधानीपूर्वक समात्छन् । सकभर गल्ती नदोहोरियोस् भन्ने कुरामा पूर्ण सचेत रहन्छन् ।”
यस पछिका दिनमा अभिभावकहरू क्रमशः हाम्रा कुरा ध्यान दिएर सुन्न थाले । चित्त बुझ्ेका कुराको समर्थन गर्न थाले । हामी हौसियौं । संवादलाई निरन्तरता दियौं । हामीले उहाँहरूलाई बारम्बार सम्झायौं– “साना–साना नानीबाबुहरू ईश्वरका प्रतिरूप हुन् । यिनीहरू खराब हुँदै हुँदैनन् । तपाईंहरूका काखमा हुर्किंदै गर्दा, हाम्रा स्कूलमा पढ्दै गर्दा, स्कूलका र छरछिमेकका समान उमेरका साथीहरूसँग खेल्दै गर्दा नै उनीहरू राम्रा या नराम्रा भएर निस्कने हुन् । तपाईंको घरमा आउ–जाउ गर्ने तपाईंका नातागोताका छोराछोरीसँगको सरसंगत र हामी पाका मानिसहरूको काम, बोली, व्यवहार र आचरणको प्रभावबाट नै उनीहरूले खराब बानीबेहोरा सिक्ने हुन् । साना नानीबाबु खराब बानीव्यहोराका भए भने यसमा उनीहरूको कुनै दोष रहँदैन । दोषी त हामी अभिभावक र शिक्षक पो हौं त ! सामान्यतया हामी आफ्ना कमजोरी लुकाउन नानीबाबुहरूलाई भन्ने गर्छौं, “तिमी साना छौं, अहिले गर्नुहुँदैन ।” तर उनीहरूलाई लाग्छ— बाबाले गर्नु हुने, आमाले गर्नु हुने, दाइदिदीले गर्नु हुने, स्कूलका सर मिसले पनि गर्नु हुने, मैले गर्नु किन नहुने ? यसको सही उत्तर हामीले दिन सकिरहेका हुँदैनौं । ‘तिमी सानै छौ’ भन्ने सहज उत्तर दिन्छौं । उनीहरूको मनमा के लाग्छ भने, “अहिले म सानो भएर पो त ठूलो भएपछि गर्नु भै’हाल्छ नि !” क्रमशः
नेपालका केही अब्बल सामुदायिक विद्यालयमध्ये काठमाडौं, बाफलको ज्ञानोदय मावि पनि पर्छ । केही वर्षअघि निवृत्त हुनुअघि धनञ्जय शर्माले सो विद्यालयमा शिक्षक, सहायक प्रअ र प्रअ भएर ३२ वर्ष बिताइसक्नुभएको थियो । २० वर्ष त उहाँ प्रधानाध्यापककै भूमिकामा रहनुभयो ।
ज्ञानोदय स्कूल एउटा अब्बल कसरी बन्न सक्यो ? के गर्दा स्कूल राम्रो बनाउन सकिंदोरहेछ ? राम्रो स्कूल बनाउन कुन–कुन पक्षको विशेष भूमिका हुँदोरहेछ ? यी र यस्तै प्रश्नमा अनुभव साटासाट गर्नु यो स्तम्भको उद्देश्य हो । एउटा विद्यालयको उत्थानमा आफैं पनि कम्मर कसेर लाग्नुभएका सफल प्रअ शर्माका चाखलाग्दा र उपयोगी अनुभव एवं विचार नरित्तिंदासम्म यो स्तम्भ कायम रहनेछ ।
सम्पादक

Related Posts

/*sign up form*/