हाम्रो विद्यालय यसरी बनायौं राम्रो– २ मुख्य कडी अभिभावक सहभागिता

by • • अनुभव र सिकाइComments (0)232

– धनञ्जय शर्मा अधिकारी

ज्ञानोदय स्कूलबाट पूर्व प्राथमिक कक्षा पूरा गरेका प्रारम्भिक कालका बालबालिका ।

संस्कार आमा–बाबुले नै दिने हो !
साना नानी–बाबुहरूले राम्रा वा नराम्रा काम आमा, बाबु, शिक्षक आदि ठूलाहरूबाटै सिक्ने हुन् । त्यसैले आफ्ना विद्यार्थीले वा छोराछोरीले जे नसिकून्, जे नगरून् भन्ने तपाईं चाहनुहुन्छ, त्यो गर्दै नगर्नुहोस् । अझ् उनीहरूका अगाडि त गर्नै हुँदैन । उनीहरू आफ्ना आमा–बुबा र स्कूलका सर–मिसलाई ‘रोल मोडल’ ठान्छन् । तपाईंका बानी, बेहोरा, बोलीवचन र क्रियाकलापको तिनले तुरुन्तै नक्कल गर्छन् । अगाडि तपाईंले गर्न दिनु भएन भने पनि तपाईंको पिठ्यूँ पछाडि उस्तै अभिनय गर्छन् । जे देख्छन्, जे सुन्छन्, त्यसको हुबहु नक्कल गर्नु उनीहरूको स्वभावै हो । त्यसैले अभिभावकका हरेक क्रियाकलापको प्रभाव उनीहरूमा पर्छ । घर र वरपरको वातावरणको प्रभाव पनि उत्तिकै पर्छ ।
एकदिन विद्यालय (ज्ञानोदय मावि, बाफल, काठमाडौं) मा हामी माथिका कुराहरू अभिभावकलाई सम्झउने प्रयास गरिरहेका थियौं । यत्तिकैमा एकजना अभिभावक केही बोल्न उत्सुक देखिनुभयो । उहाँले भन्नुभयो, “हेर्नुस् सर ! तपाईंहरूले शिक्षा दिनुहोला, सीप सिकाउनुहोला, चरित्र र संस्कार दिनुहोला भनेर पो तपाईंहरूका पोल्टामा हामीले छोराछोरी सुम्पेका हौं । सबै हामीले नै गर्नुपर्ने भए तपाईंहरूको के काम ?” उहाँको विचारको सम्मान गर्दै हामीले भन्यौं, “तपाईंले भनेका कुरा पनि ठीकै हुन् । तपाईं हामी मिलेर गर्नुपर्छ । स्कूलले साना नानीबाबुलाई शिक्षा दिन सक्छ, सीप सिकाउन पनि सक्ला, केही हदसम्म चरित्र पनि देला, तर पनि संस्कार भने आमा बाबुले दिने हो । नैतिकता, मानवीय मूल्य, अहिंसा, सत्य आचरण, सांस्कृतिक मूल्यमान्यताप्रतिको लगाव, सात्विक आहारविहार, बन्धुत्व, धार्मिक आस्था, सकारात्मक मनोवृत्ति आदिको विकासमा स्कूलको भन्दा घरपरिवारकै बढी भूमिका हुन्छ ।”

बालबालिका देवरुप हुन्
छलफलकै क्रममा एक महिला अभिभावकले आफ्नो सानो छोरा साह्रै चकचके भएको गुनासो गर्दै भन्नुभयो, “कोठामा एक्लै छोड्नै हुँदैन । उधुम मच्चाउँछ उधुम ! सामान छिरलछारल, तोडफोड गरेर हेरिसाध्य हुँदैन । बिगार बाहेक केही जानेकै छैन । म त दिक्क भइसकें ।” उहाँलाई हामीले सोध्यौं, “तपाईं धर्म र देवी देउता माथि विश्वास राख्नुहुन्छ ?” उहाँको झ्टपट जवाफ थियो, “धर्म पनि मान्छु, देवतालाई पनि मान्छु । कोठामै कृष्णको सानो मूर्ति पनि राखेकी छु । सधैं पूजा गर्छु ।” हामीले भन्यौं, “त्यसो भए सुन्नुहोस् — यो उमेरका नानीबाबुहरू साक्षात ईश्वरका अवतार हुन् । बाल गोपाल हुन् । कृष्ण जस्तै हुन् । यिनीहरू निर्दाेष हुन्छन् । कसैको कुभलो गर्ने, बिगार्ने, हानिनोक्सानी पु¥याउने यिनीहरूको मनसाय हुँदैन । सफा नियत, सफा मन, सरल स्वभावका यिनीहरूले कसैलाई ठग्ने, ढाँट्ने पनि गरेका हुँदैनन् । जानी जानी कसैको चित्त दुखाउने काम पनि यिनीहरूबाट भएको हुँदैन । यिनीहरू निस्पाप हुन्छन् । सिंगो संसारलाई स्वर्ग बनाउन सक्ने क्षमताको बीउ बोकेका हुन्छन् यिनले । महाभारतका कृष्ण, जसको मूर्ति तपाईंले कोठामा राख्नुभएको छ, सम्झ्नुहोस् त, तिनको बाल्यकाल कस्तो थियो ? उनी उत्पात र उधूम मच्चाउँथे, सारा छिमेकीलाई दुःख दिन्थे । दही, नौनी चोरेर खान्थे । गोपिनीहरूलाई सताउँदा मजा मान्थे । तर, त्यसलाई हामी कृष्ण चरित्र, कृष्ण लीला भनेर हेर्न, सुन्न मन पराउँछौं । कृष्णका तिनै क्रियाकलापलाई हामी आनन्ददायक मान्छौं । उनका यस्ता उधूम नै पूजनीय र प्रशंसनीय भएका छन् । त्यसैले, तपाईंहरूको आफ्नै कोखबाट जन्मेका र हुर्कंदै गरेका आफ्ना नानीबाबुको चकचकमा पनि कृष्णको चरित्र खोज्ने प्रयास गरौं । वास्तवमा सानासाना शिशुहरू सबै कृष्णकै रूप हुन् । उनीहरूका प्रत्येक गतिविधिमा निर्दोषपना हुन्छ ।”
“यस्ता स–साना नानीबाबुको चकचकमा एउटा आनन्द हुन्छ । यिनीहरूले उछलकुद गरेनन् । एउटा कुनामा दुब्केर बसे भने बच्चा बिरामी पो भएछ क्यारे ! भनेर बुझनुपर्ने हुन्छ । उनीहरूको बालापन र निश्छल क्रियाकलापमा रमाउन सिक्यौं भने मात्रै रमाइलो हुन्छ । आफू पनि केटाकेटी झ्ैं बनेर खेल्दा, जिस्किंदा सन्तानसुखको वास्तविक आनन्द लिन सकिन्छ । यस्तै चकचक र उछलकुदबाट नै उनीहरूको शारीरिक र मानसिक विकास हुने हो ।”


मुसुमुसु हाँस्दै एकजना बहिनीले थप्नुभयो, “अँ सरले भने जस्तो कहाँ गर्न सकिन्छ र हामी गरीबले ? बिहान बेलुका घरको काम धन्दा, दिउँसो बाहिरको । छोराछोरीसँग जिस्किएर खेलेर बस्न कहाँ भ्याउनु ? त्यसमा पनि एउटा हो र तीन तीन ओटासँग !” तीस वर्षकी जस्ती देखिने ती बहिनीले तीन तीन ओटा सन्तान जन्माइसकेको सुनेर केही आश्चर्यमिश्रित स्वरमा हामीले सोध्यौं, “तीन तीन ओटा किन पाउनुभएको त ? हो; गृहस्थ जीवनको सार्थकता सन्तान प्राप्तिमा हुन्छ । तर पनि आफूले पालनपोषण गर्न सकिंदैन; शिक्षादीक्षा दिन सकिंदैन भने बढी सन्तान जन्माउने हक कुनै पनि आमाबाबुलाई हुँदैन । प्रचलित ऐन–कानून, नीतिनियम र कुनै पनि धर्म–सम्प्रदायले पाल्ने सामथ्र्यभन्दा बढी सन्तान जन्माउने अनुमति दिंदैन । धेरै सन्तान जन्माएर जन्मिसकेको सन्तानमाथि अन्याय गर्नुहँुदैन । आमाबाबुको पूरापूर स्नेह र परवरिश पाउनु जन्मेका प्रत्येक बच्चाको हक हो । धेरै सन्तान जन्माएर हामी आमाबाबुले ती अबोध बच्चाहरूको हक खोस्नुहुँदैन । जहाँसम्म गरीबीको कुरा छ, त्यसको अचूक औषधि उद्यम हो । कर्मशीलता हो । निरन्तर परिश्रम हो । विपन्नतालाई अथक् परिश्रमले भगाउने हो । निरन्तर ऊसँग लडिरहने हो । साहसी र कर्मयोगी मान्छेका अगाडि विपन्नता टिक्नै सक्दैन । भाग्यवादीलाई भने विपन्नताले छोड्दै छोड्दैन । त्यसैले कर्मवादी बन्नुहोस्, विपन्नतामाथि निश्चित रूपमा विजय पाउनुहुनेछ । जति बेफुर्सदी भए पनि आफ्ना नानीबाबुहरूका निम्ति निश्चित समय छुट्याउनै पर्छ । यो तपाईंको इच्छाशक्तिमा भर पर्ने कुरा हो । कहिलेकाहीं तिनीहरूसँग खेलेर, जिस्किएर रमाएर त हेर्नुहोस्, तपार्इंको सारा थकान मेटिन्छ । बच्चासँग मनैदेखि रमाउनुहोस्, शारीरिक थकान निश्चित रूपमा कम हुन्छ । शरीर र मन दुवैले नयाँ ऊर्जा प्राप्त गर्नेछन् ।”

सक्नेसँग लिने, नसक्नेलाई दिने शुल्क पद्धति
यस्ता अभिभावक बैठकलाई निरन्तरता दिंदै गयौं । बैठकमा अभिभावकको उपस्थिति पनि क्रमशः बढ्दै गयो । अर्को वर्ष नर्सरी कक्षा के.जी.मा उक्लियो । साना नानीबाबुको सङ्ख्या पनि थपियो । झ्लििमिली कक्षा कोठा, मायालु गुरुमा, कक्षा शिक्षणको व्यवस्था; सुरक्षाको ग्यारेन्टी जस्ता कुराले अभिभावकलाई आकर्षित ग¥यो । नानीबाबुहरू स्कूल आएपछि आमाबाबु र घर सम्झ्ेर नरोऊन्, घरकै जस्तो माया र सुरक्षा स्कूलमा पाऊन् भन्ने कुरालाई मूल मन्त्र बनाइयो । साना नानीबाबुको कक्षाका निम्ति महिला शिक्षकको व्यवस्था गरियो । उनीहरूलाई उचित तालीम पनि दिइयो । उहाँहरूले पनि साना विद्यार्थीलाई आफ्नै छोराछोरी सरह माया दिनुभयो, हेरचाह गर्नुभयो ।
साना साना नानीहरूमा एउटा अचम्मको क्षमता हुँदोरहेछ । त्यो के भने, उनीहरूलाई काखमा लिने, मुसार्ने, थपथपाउने, चुप्पा खाने मिसहरूमध्ये कसले हृदयदेखि नै माया गरेको हो र कसले चाहिं मायाको अभिनय मात्र गरेको हो भन्ने तिनले सहजै थाहा पाउँदा रहेछन् । शिक्षकको स्पर्श स्नेहसिक्त छ वा छैन तुरुन्तै छुट्याउन सक्दा रहेछन् । हृदयदेखि नै माया गर्ने शिक्षकप्रति ती साना बच्चाहरूको पूर्ण भरोसा हुँदोरहेछ । माया गर्नेबाट माया पाउने हक स्वतः राख्दोरहेछ । यो रहस्य बुझ्ेपछि हामीले बच्चालाई माया दियौं, अभिभावकलाई माया दियौं । शिक्षकलाई माया दियौं । मायाले विश्वास जित्यौं । यही विश्वास नै हाम्रो विद्यालयको सफलताको सोपान बन्यो ।
साना नानीबाबुका लागि जति राम्रो प्रबन्ध मिलाए पनि एउटा कुराले निरन्तर पिरोलिरह्यो । त्यो के भने, यो उमेर समूहका विद्यार्थीलाई ३–४ घण्टामा भोक लाग्छ । हामीले उनीहरूका निम्ति खाजाको प्रबन्ध गर्न सकेनौं । सामुदायिक विद्यालयका निम्ति यो कठिन काम नै थियो । उता केही वर्षमै पूर्व प्राथमिक तहमा साढे चार सय विद्यार्थी पुगिसकेका थिए । १४ सेक्सन सञ्चालित थियो । घरबाट टिफिन ल्याउन अनिवार्य गरिए पनि साना बालबालिकाका निम्ति उपयुक्त, पौष्टिक र सन्तुलित खाजाको व्यवस्था सबै अभिभावकले गर्न सकेनन् । उनीहरूको टिफिनप्रति सन्तुष्ट नभइकनै मेरो शिक्षणका तीनदशक गुज्रे ।
पूर्व प्राथमिक कक्षाबाट शुरू गरिएको शुल्क पद्धति क्रमशः एक, दुई, तीन, चार गर्दै सबै कक्षामा लागू गरियो । ‘सक्नेसँग लिने, नसक्नेलाई दिने’ नीति अनुसारको शुल्क पद्धतिबाट अति कमजोर अभिभावकले राहत पाए । अरूले पनि यसलाई न्यायपूर्ण मानेर सहमति जनाए । थोरै भए पनि अभिभावकको आर्थिक लगानी भएकोले अभिभावकमा विद्यालयप्रति स्वामित्व र अपनत्वको भावना पलायो ।

 

पूर्व प्राथमिक तहबाट शुरू गरिएको अभिभावक—शिक्षक बैठकलाई क्रमशः दश कक्षासम्मै विस्तार गरियो । प्रत्येक शनिवार एउटा एउटा कक्षाका अभिभावकलाई डाक्ने गरियो । पछि पछि त नब्बे प्रतिशतभन्दा पनि बढी अभिभावकको उपस्थिति हुन थाल्यो । आफूलाई लागेको कुरा निर्धक्क भन्न अभिभावकलाई प्रेरित गरियो । कतिपय अभिभावकले व्यक्तिगत समस्या पनि राख्नुहुन्थ्यो । त्यस्ता समस्यालाई पनि हामी ध्यान दिएर सुन्थ्यौं । समाधानका उपाय सुझउँथ्यौं ।
यस्ता बैठकहरूमा सम्बन्धित कक्षा शिक्षक र विषय शिक्षकको उपस्थिति अनिवार्य गरिएको थियो । शुरू शुरूमा कतिपय अभिभावकले बैठकमा, शिक्षकको नामै किटेर ‘उहाँ राम्रो पढाउनुहुन्न, गृहकार्य दिनुहुन्न, गृहकार्य दिए पनि राम्ररी चेक गरिदिनुहुन्न, बच्चालाई पिट्नु हुन्छ, झ्पार्नुहुन्छ, किताब हेरेर पढाउनुहुन्छ, रिसाउनुहुन्छ’ जस्ता शिकायत गरे । यसरी सबैका अगाडि अभिभावकले शिकायत गर्दा पनि शिक्षक साथीहरूले तत्काल प्रतिवाद गर्नु भएन । तर पछि मसँग जङ्गिनुभयो । “यो बैठक शिक्षकको अपमान गर्न डाकिएको हो । शिक्षकको विरोध गर्दा पनि खै ! हेडसरले प्रतिरक्षा गरेको ? हामी यो बेइज्जती सहँदैनांै । यस्तो बैठकमा हामी आउँदैनौं ।” शिक्षक साथीहरूलाई मनाउन निकै कसरत गर्नुप¥यो । प्रत्यक्ष आरोप नलगाउन अभिभावकलाई सम्झइयो । पछि पछि भने यस्ता कुरा सुन्ने बानी पर्दै गयो । अभिभावक पनि अभ्यस्त हुँदै गए ।
साना–ठूला बाधा–विरोधका बाबजूद पनि शिक्षक–अभिभावक सम्वादलाई विस्तार गर्दै गयौं । त्यो सँगै विद्यालयका क्रियाकलापमा अभिभावकहरूको सहभागिता पनि बढ्दै गयो । त्यही सहभागिता ज्ञानोदय माविको पुनरोदयको महŒवपूर्ण कडी बन्न पुग्यो । ७

ज्ञानोदय मावि बाफल, काठमाडौंका पूर्व प्रअ शर्माको
अनुभव श्रृंखला आगामी अंकमा पनि जारी रहनेछ । –सं.

शिक्षक मासिक, २०७४ साउन अंकमा प्रकाशित 

 

Related Posts

/*sign up form*/