स्वास्थ्य बिगार्ने अस्वस्थ विज्ञापन !

by • • चिन्तनComments (0)411

Print Friendly, PDF & Email

बाँके, नेपालगञ्जको एक स्कूलमा १४–१७ वर्ष उमेर समूहका किशोरीलाई प्रजनन स्वास्थ्य र पोषणका बारे जानकारी दिन आयोजित कार्यक्रममा सहभागी हुने मौका मिल्यो । करीब ४० जना किशोरीसँग लामो कुराकानी गर्दा उनीहरूको कुपोषणको कारण के रहेछ भन्ने स्पष्ट भयो ।
सरकारी स्कूलको ८ देखि १० कक्षामा पढ्ने यी किशोरी आर्थिक हिसाबले निम्न र मध्यम वर्गका थिए । खाजामा के–के खान्छौ भनेर प्रश्न गर्दा धेरैले चाउचाउ, बिस्कुट, पानीपुरी भने । ‘यस्तो अस्वस्थकर र महँगो खाजा खाने पैसा तिमीहरूले कहाँबाट पाउँछौ ?’ भन्ने अर्को प्रश्नको जवाफमा उनीहरूले भने “चाउचाउ त स्वस्थकर खाना हो नि !” हुन पनि, भ्रमपूर्ण विज्ञापनले गर्दा प्रायः सबै बालबालिकाको मस्तिष्कमा चाउचाउ सस्तो र स्वस्थकर खाजा हो भन्ने छाप पारिदिएको पाइन्छ । मैले तयारी चाउचाउ र बिस्कुट कसरी शून्य पोषण भएका खानेकुरा हुन्; यिनले मानिसलाई कसरी अस्वस्थ बनाउँछन्; कसरी दाँत बिगार्छन्; प्रोटिन र क्याल्सियमको कमी गराएर कसरी प्रजनन स्वास्थ्यलाई पनि खराब तुल्याउँछन् भनेर फोटोसहित देखाउँदा किशोरीहरू छक्क परेका थिए । ‘१०० ग्राम भटमासको रु.१०–१२ पर्छ । भुटेर, पकाएर, उसिनेर वा जसरी खाए पनि त्यसमा झ्ण्डै ४३ ग्राम प्रोटिन पाइन्छ । तर रु.२० पर्ने चाउचाउमा २ ग्राम मात्र प्रोटिन पाइन्छ र यसमा भएको नून, मैदा र रसायनले बढ्दो उमेरका केटाकेटीको स्वास्थ्यमा असर पार्छ, उच्च रक्तचाप र मोटोपन गराएर रोग समेत लाग्छ’ भन्ने जानकारी पनि मैले उनीहरूलाई दिएँ ।
त्यो कक्षामा किशोरीहरूसँगै तिनका शिक्षक पनि उपस्थित थिए । शिक्षकहरूले समेत आश्चर्य मान्दै भने “चाउचाउ महँगो र अस्वस्थकर भन्ने त हामीलाई थाहा नै थिएन । घरको खाना जस्तो राम्रो हुँदैन भन्ने त थाहा थियो, तर के गर्ने हामीलाई त घरबाट खाजा ल्याउन अल्छी लाग्छ । फेरि घरमा यति काम हुन्छ कि खाजा बनाइदेऊ भनेर कसलाई भन्नु ?”
मैले विशेषतः त्यहाँ उपस्थित शिक्षकहरूलाई लक्षित गरेर भनें “अहिले तपाईंहरू समय छैन भन्नुहुन्छ, तर यसरी प्याकेटका खानेकुरा खाँदा तपाईंको मुटु, कलेजो, पेट क्रमशः खराब हुन्छ र पछि गएर मुटुरोग, चिनी रोग, उच्च रक्तचाप हुन्छ । यसतर्फ विचार गर्नुभएको छ ? अहिले एकछिन स्वस्थकर खाजा पकाउन अल्छी लाग्यो भनेर चाउचाउ खाँदा पछि बिरामी भएर अस्पताल र औषधिको चक्करमा पर्दा चाहिं समयको अभाव हुँदैन र ?” मेरो कुरा केही शिक्षकलाई घत लागेछ; उनीहरूले छात्राहरूतिर फर्केर भने “लुः अबदेखि हामी यस्तो प्याकेटको खानेकुरा नखाने है !”
त्यो दिन दिउँसोको खाजामा उसिनेको अण्डा र भुटेको चना दिइयो । “स्वस्थकर खाजाको शुरूआत त आजबाटै भएछ” मैले शिक्षकहरूतिर फर्किएर भनें ।
त्यो एक दिनको छलफलले नै ती शिक्षक छात्राहरूको अस्वस्थकर खाजा खाने बानी छुट्यो होला भन्ने विश्वास लाग्दैन; तर ती छात्राहरूलाई त्यसपछि पनि बारम्बार स्कूलमा, घरमा रेडियो, टिभी आदिबाट यस्तो अस्वस्थकर खाना खानुहुँदैन भनेर सन्देश दिइरहन सक्ने हो भने चाहिं उनीहरूको बानीमा केही न केही सुधार अवश्य हुनेछ ।

instant-chemicals-1
टिभीमा आउने खानेकुराका प्रायः विज्ञापन भ्रमपूर्ण हुन्छन् । विज्ञापनमा बढाइचढाइ गरिएन भने मानिसले वास्ता नै गर्दैनन् भन्ने व्यापारीहरूको बुझइ हुन्छ । अर्थात् धेर–थोर झुटो नबोली मालसामान बिक्न गाह्रो हुन्छ भन्ने उनीहरूको मान्यता हुन्छ । परिणामतः शिक्षक, बालबालिका, किशोरकिशोरी सबै नै भ्रामक विज्ञापनको भरमा अस्वस्थताको भुंग्रोमा फस्छन् । तर शुरूदेखि नै शिक्षकले आफू सिकेर विद्यार्थीलाई पोषणको बारेमा सही जानकारी सँगै पोषिलो खाना खान प्रेरणा दिए बालबालिकालाई कुपोषणको शिकार हुनबाट अवश्य पनि बचाउन सकिन्छ ।
टेलिभिजन, रेडियोहरूमा विज्ञापन बज्छन्– “मुटुलाई स्वस्थ राख्ने तेल”; “भिटामिन र रेसादार पदार्थ मिसिइएको तयारी चाउचाउ”; “एक गिलास दूध बराबरको क्याल्सियम भएको बिस्कुट” आदि आदि । वास्तवमा, भोजन र पेयपदार्थका बारेमा आउने धेरैजसो विज्ञापनमा यस्तै गलत र भ्रमपूर्ण जानकारी दिइएको हुन्छ । उपभोक्ताहरू पनि त्यसरी दिइने जानकारी त ठीक नै होला भनेर विज्ञापनमा देखाइएका वस्तु किनिहाल्छन् । आफू ठगिएको थाहा नै पाउँदैनन्, त्यसैले उनीहरूले आवाज पनि उठाउँदैनन् ।
हाम्रो पेटको क्षमता सीमित हुन्छ । त्यसैले जब हामी चाउचाउ, बिस्कुट र नून या चिनीयुक्त खाना धेरै खान्छौं त्यसबेला प्रोटिन, भिटामिनयुक्त खानाको लागि पेटमा ठाउँ रहँदैन । फेरि चिनीयुक्त खानामा स्वाद बस्न जाँदा अरू खानाप्रति कम रूचि हुन्छ । मिठाइ, सिरप, चकलेट, आइसक्रीम खान खोज्नेले दालभात, फलफूल, सलाद नखाने वा कम खाने हुन्छन् । अनि, चिनी र नून बढी तथा रेसादार पदार्थ कम हुने चाउचाउ, बिस्कुट जस्ता खानाको उपयोग जति बढ्छ, उति नै मुटुको समस्या थपिंदै जान्छ ।
केही समयअघि, फलफूलको रस भनेर बेचिने एउटा ब्राण्डको बोतलमा दूषित पदार्थ पाइयो भनेर धेरै समाचार, विश्लेषण आए । केही दिन त त्यसको बिक्री पनि कम भयो तर, विस्तारै त्यही जूस पुनः मज्जासाथ बिक्री भइरहेको छ । जबकि सबैलाई थाहा छ, फलफूलको जूस भनिने त्यस्ता पेयपदार्थमा फलफुल नाम मात्रको हुन्छ । त्यसमा चिनी र अन्य रासायनिक पदार्थहरू अत्यधिक मिसाइएका हुन्छन् । तिनको विज्ञापन गर्दा “यसमा कुनै पनि रासायनिक पदार्थ मिसाइएको छैन । शुद्ध रस मात्र हो” भनिए पनि त्यसमा पत्यार गर्ने कुनै आधार छैन । किनभने कुनै पनि फलफूलको शुद्ध रस दुई–तीन दिनपछि नै सड्न थाल्छ । त्यसमा मिसाइएका रासायनिक पदार्थले मात्रै त्यसलाई लामो समयसम्म सुरक्षित राख्ने हो । र बट्टामा भएका कुनै पनि जूसको विज्ञापन गर्दा भन्ने गरिन्छ, “फलफूल जस्तै शक्ति दिन्छ ।” जबकि स्वास्थ्य विज्ञानले भन्छ, “फलफूलको रसभन्दा सम्पूर्ण फलफूल खानु नै उत्तम हुन्छ ।

Related Posts

/*sign up form*/