स्थानीय भाषामा स्थानीय कुरा विद्यार्थी र अभिभावक दुवै दङ्ग !

by • • रिपोर्टComments (0)217

रोश्ना सुब्बा
स्थानीय पाठ्यक्रम बनाउने क्रममा छलफल गर्दा स्थानीयवासीहरू आफ्नो संस्कृति, ठाउँ, गाउँ, सम्पदाका बारेमा किताबमा आउने भयो भनेर प्रफुल्ल भएको अनुभव स्रोतव्यक्ति लामिछानेले सुनाए । स्थानीय भाषामा नसके नेपाली भाषामै भए पनि तयार गरे हुन्छ भनेर उनीहरूले सुझव दिएका थिए ।

भिमसेन आधारभूत विद्यालयका प्रअ रामसुन्दर यादव तामाङ भाषामा पढाउँदै ।

 

देशका धेरैजसो विद्यालयमा कक्षा १–८ मा १०० पूर्णाङ्कको स्थानीय विषय पढाइँदैन । कतिपय विद्यालय र शिक्षकलाई त पढाउनुपर्ने त्यस्तो विषय छ भन्ने पनि हेक्का छैन । तर रसुवा जिल्लाका दुई वटा स्रोतकेन्द्रअन्तर्गतका विद्यालयले भने स्थानीय पाठ्यक्रम बनाएर त्यस्तो विषयको पठनपाठन नै गराइरहेका छन् । कोमिन श्यामेवाङ्फेल मावि, स्याफ्रु स्रोतकेन्द्र र रसुवा मावि, धुन्चे स्रोतकेन्द्रअन्तर्गतका २० वटा विद्यालयमा स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ कक्षा १—५ मा पढाइन थालेको हो । कक्षा १—३ मा पाठ्यक्रमको आधारमा मात्र सो विषयको पढाइ हुने गरेको छ भने ४ र ५ कक्षाका विद्यार्थीका लागि भने तत्सम्बन्धी छुट्टै पुस्तक समेत छापिएको छ ।
स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ कोमिन श्यामेवाङ्फेल मावि, स्याफ्रु स्रोतकेन्द्रअन्तर्गतका आठ वटा विद्यालयमा २०६९ र रसुवा मावि, धुन्चे स्रोतकेन्द्रअन्तर्गतका १२ वटा विद्यालयमा २०७३ सालदेखि लागू भएको हो । फेरिएको समय, सन्दर्भ र आवश्यकता समेट्न ‘लाङटाङको सेरोफेरो’ पाठ्यक्रममा भर्खरै परिमार्जन पनि गरिएको छ । यसमा नयाँ विषयका रूपमा ‘प्रकोप/विपत्को पहिचान, व्यवस्थापन र असर न्यूनीकरण’ थप गरिएको छ । २०७२ सालको भूकम्प र यसले पु¥याएको क्षतिपछि बालबालिकालाई सानैदेखि प्रकोप तथा विपत् व्यवस्थापनसम्बन्धी जानकारी दिन आवश्यक रहेछ भन्ने ठानी यसबारे पाठ्यक्रममा राखिएको रसुवा मावि, धुन्चे स्रोतकेन्द्रका स्रोतव्यक्ति धु्रव लामिछानेले जानकारी दिए ।
यो पाठ्यक्रमले मूलभूत रूपमा लाङटाङ राष्ट्रिय निकुञ्ज र त्यस आसपासका गाउँ–बस्तीलाई समेट्ने प्रयास गरेको छ । कक्षा १ देखि ५ सम्मका बालबालिकालाई आफ्नो क्षेत्रको प्राकृतिक, सामाजिक, सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक सम्पदाहरूको बारेमा परिचित गराउने उद्देश्यले पाठ्यक्रममा निम्न विषयहरू राखिएका छन्ः
१. भौगोलिक स्थितिको पहिचान,
२. स्थानीय वातावरण, वनस्पति, पशुपक्षीहरूको पहिचान र संरक्षण,
३. प्रकोप/विपत्को पहिचान, व्यवस्थापन र असर न्यूनीकरण,
४. स्थानीय ऐतिहासिक, सांस्कृतिक सम्पदाको पहिचान र संरक्षण,
५. सामाजिक मूल्यमान्यता र सकारात्मक व्यवहार,
६. स्थानीय पेशा, व्यवसाय र आर्थिक क्रियाकलाप ।

पाठ्यक्रममा, यी विषयमा कक्षागत रूपमा बालबालिकाहरूले हासिल गर्न सक्ने सिकाइ उपलब्धि, विषयवस्तुको विस्तृतीकरण, शिक्षण सिकाइ क्रियाकलाप, मूल्याङ्कन प्रक्रिया र पाठ्यभारसमेत तोकिएको छ । स्थानीय पाठ्यक्रम (‘लाङटाङको सेरोफेरो’) पढाइ हुन थालेपछि यसको प्रभाव कस्तो परेको छ भन्ने बुझन विभिन्न विद्यालय पुगेर विद्यार्थीसँग छलफल गरिएको स्रोतव्यक्ति लामिछानेको भनाइ छ । स्थानीय पाठ्यक्रम र त्यस अनुरूपको पाठ्यपुस्तकको लेखनमा समेत संलग्न लामिछाने भन्छन्, “विद्यार्थीलाई पहिले गोसाईंकुण्ड भनेको के हो, त्यसको के महत्व छ भन्ने थाहा थिएन, अहिले यसका बारेमा उनीहरू सहजै भन्न सक्ने भएका छन् । उनका अनुसार यो विषयमा विद्यार्थीले राम्रो अंक समेत ल्याउने गरेको पाइएको छ ।
कोमिन श्यामेवाङ्फेल मावि, स्याफ्रु स्रोतकेन्द्रअन्तर्गतको भीमसेन आधारभूत विद्यालयकी छात्रा तारा तामाङलाई आफू गोसाईंकुण्ड गए पनि त्यो पवित्र तीर्थस्थल हो भनेर स्कूलमा पढेपछि मात्र थाहा भएको अनुभव सुनाउँछिन् । उनी भन्छिन्, “साउन भदौमा त्यहाँ ठूलो मेला लाग्छ । त्यसबेला धर्म मान्ने धेरै मान्छे त्यहाँ जान्छन् ।” त्यस्तै लाङटाङ राष्ट्रिय निकुञ्जमा रेड पाण्डा अर्थात् हाब्रे जस्तो दुर्लभ जनावर भएको पनि उनले ‘लाङटाङको सेरोफेरो’ पढेर थाहा पाइन् । “विदेशी पर्यटकहरू रसुवा आउनुको एउटा कारण लाङटाङ राष्ट्रिय निकुञ्ज रहेछ”, उनी भन्छिन् ।
रसुवा माध्यमिक विद्यालय, धुन्चेमा कक्षा ५ मा पढ्ने एक छात्रा यो किताब पढेर आफ्नो गाउँको बारेमा भन्न सिकेको बताउँछिन् । उनले आफ्नो गाउँको बारेमा भनिन्, “मेरो गाउँको नाम भोर्ले हो । त्यहाँ हजुरबुबासहित आमा–बुबा बस्नुहुन्छ । मेरो गाउँमा स्याउ अनि अरू फलफूल पनि फल्छन् । रोड पनि पुगिसकेको छ । गाडी चल्छ ।”
पाठ्यक्रम भए पनि सन्दर्भ सामग्री अर्थात् पुस्तक नहुँदा कक्षा १–३ मा भने यसको पठन–पाठन राम्ररी हुन नसकेको शिक्षकहरू बताउँछन् । कक्षा १–३ को पाठ्यक्रम मात्र छ, पाठ्यपुस्तक छैनन् । विषय सजिलै भए पनि ती कक्षामा पढाउने कैयौं शिक्षक जिल्ला बाहिरका छन्, जसलाई स्थानीय स्रोत, साधन, रीतिरिवाज, भूगोल बारे राम्रो जानकारी हुँदैन । तर भीमसेन आधारभूत विद्यालयका प्रधानाध्यापक रामसुन्दर यादव भने बाहिरका भए पनि यो विषय आफैं पढाउँछन् । अरू शिक्षकहरूले पाठ्यपुस्तक छैन के गर्ने, कसरी पढाउने भन्न थालेपछि उनी आफैं पढाउन अग्रसर भएका हुन् । उनी भन्छन्, “स्रोतकेन्द्रले बनाएको स्थानीय पाठ्यक्रम पढ्न जाँगर चलाउने हो भने विद्यार्थीलाई के सिकाउने, कसरी सिकाउने, कसरी मूल्यांकन गर्ने भनेर अल्मलिनु नै पर्दैन, सबै कुरा त्यसमै प्रष्ट र सरल रूपमा भनिएको छ ।” सिरहाका स्थायी बासिन्दा यादव रसुवाको भाषा–संस्कृति र भूगोलमा राम्रैसँग डुबेका छन् । झण्डै ४० वर्षदेखि उत्तरी रसुवाका विभिन्न विद्यालयमा क्रियाशील प्रअ यादव तामाङ विद्यार्थीसँग तामाङ भाषामै कुरा गर्छन्, तामाङ भाषामै पढाउँछन् । पुस्तक विना शिक्षकहरूले पढाउन गाह्रो मान्ने गरेको स्रोतव्यक्ति ध्रुव लामिछाने पनि स्वीकार्छन् । रसुवा जिल्लाको वस्तुगत विवरण समेटेर जिल्ला विकास समितिले तयार पारेको स्रोत सामग्री शिक्षकका लागि उपयोगी हुने देखेर सबै विद्यालयलाई उपलब्ध गराइएको जानकारी पनि स्रोतव्यक्ति लामिछानेले दिए ।
देशका हरेक गाउँ–ठाउँका कला, संस्कृति, सम्पदा, परम्परा, ज्ञान र सीप केन्द्रीय पाठ्यक्रमले समेट्न नसक्ने हुँदा त्यसको जिम्मा स्थानीय तह अर्थात् विद्यालयलाई दिइएको हो । प्राथमिक शिक्षा पाठ्यक्रम, २०६२ (कक्षा १–३) तथा २०६५ (कक्षा ४–५) अनुसार कक्षा १–५ मा सामाजिक अध्ययन, शारीरिक शिक्षा र सिर्जनात्मक कला विषयको ८० प्रतिशत पाठ्यक्रम केन्द्रले र २० प्रतिशत पाठ्यक्रम स्थानीय तहमै निर्माण गर्ने प्रावधान छ । यसबाहेक १०० अंकको स्थानीय विषय वा मातृभाषाको पाठ्यक्रम बनाएर अध्यापन गर्नुपर्ने व्यवस्था छ । पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्ने दायित्व पनि स्थानीय तह (विद्यालय, स्रोतकेन्द्र र जिल्ला) लाई दिइएको छ ।
राष्ट्रिय पाठ्यक्रम रूपरेखामा स्थानीय पाठ्यक्रमसम्बन्धी स्पष्ट व्यवस्था भए पनि औंलामा गन्न सकिने विद्यालयहरूले मात्र त्यस्तो पाठ्यक्रम बनाएर कार्यान्वयन गरेको पाइन्छ । अधिकांश विद्यालयहरूले स्थानीय विषयका ठाउँमा अंग्रेजी, गणित जस्ता विषयहरू अतिरिक्त कक्षाका रूपमा पढाइरहेका छन्, जुन आफैंमा अनिवार्य विषय पनि हुन् । कतिपय विद्यालयहरू अंग्रेजी र गणित जस्ता विषयमै पोख्त बनुन् भन्ने अभिभावकको चाहना रहेकोले स्थानीय विषयको पाठ्यक्रम लागू गर्न नसकिएको बताउँछन् । तर अनिवार्य विषयको घन्टीमै राम्रोसँग पढाइदिएमा अंग्रेजी र गणितको पढाइ विद्यार्थीका लागि काफी हुन्छ । अतिरिक्त विषयका रूपमा पढाउँदैमा यी विषयमा विद्यार्थी अति जान्ने हुने पनि होइनन् । अहिले जताततै स्थानीय रहनसहन; भाषा, ज्ञान र सीपप्रति बालबालिकाको मोह कम हुँदै गएकोमा चिन्ता व्यक्त गरेको सुनिन्छ । उनीहरूमा यी विषयप्रति रुचि जगाउन विद्यालय, स्रोतकेन्द्र वा जिल्ला शिक्षा कार्यालयहरू समेत तात्नुपर्ने देखिन्छ ।

यसरी बन्यो स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ कक्षा १—५


स्थानीय पाठ्यक्रम निर्माणका लागि कोमिन श्यामेवाङ्फेल मावि, स्याफ्रुबेसी स्रोतकेन्द्रका तत्कालीन स्रोतव्यक्ति ध्रुवप्रसाद लामिछानेको अगुवाइमा यो केन्द्रअन्तर्गतका विद्यालयका प्रअ÷शिक्षकहरूका निम्ति अभिमुखीकरण कार्यशाला आयोजना गरियो । २०६८ साल वैशाख ४ गतेदेखि ७ गतेसम्म यो कार्यशाला चल्यो । त्यसपछि अर्को चरणमा विद्यालय व्यस्थापन समितिका अध्यक्ष, अभिभावक शिक्षक संघ (पीटीए) का प्रतिनिधि, प्रधानाध्यापक तथा शिक्षकबीच स्थानीय विषयवस्तु तथा आवश्यकता पहिचानका बारेमा छलफल भयो । तेस्रो चरणमा विषयहरूको प्राथमिकीकरण गरी पाठ्यक्रम निर्माणका लागि स्रोतव्यक्ति लामिछानेको संयोजकत्वमा मस्यौदा समिति बन्यो । यो मस्यौदा विद्यालयका प्रअ, विव्यस अध्यक्ष, अभिभावक शिक्षक संघका प्रतिनिधि, जिल्ला शिक्षा अधिकारी तथा विद्यालय निरीक्षकमाझ् प्रस्तुत तथा छलफल गरी सुझव लिइयो । विद्यार्थीलाई ज्ञान दिंदा गल्ती नहोस् भनेर पाठ्यक्रम तयार गर्ने क्रममा पाठ्यक्रम विकास केन्द्रका प्राविधिक टोलीसँग पनि सल्लाह गरेको लामिछानेको भनाइ छ ।
यसरी तयार गरिएको मस्यौदाका आधारमा २०६९ सालको शैक्षिक सत्रदेखि परीक्षणका रूपमा यो पाठ्यक्रम कोमिन श्यामेवाङ्फेल मावि, स्याफ्रुबेसी स्रोतकेन्द्रका विद्यालयहरूमा लागू गरिएको हो । यो स्रोतकेन्द्रमा स्याफ्रु, बृदिम, लाङटाङ र टिमुरे गाउँपालिकाका विद्यालय छन् । स्रोतव्यक्ति लामिछानेका अनुसार परीक्षणपछि, २०६९ साल असोज १९ गते बसेको जिल्ला पाठ्यक्रम समन्वय समितिको बैठकले अनुमोदन गरेको हो ।
यसैगरी रसुवा मावि, धुन्चे स्रोतकेन्द्रले पनि यस पाठ्यक्रमको महत्वलाई आत्मसात् गरी २० चैत २०७२ मा बसेको स्रोतकेन्द्रस्तरीय प्रअ बैठकले शैक्षिक सत्र २०७३ देखि लागू गर्ने निर्णय ग¥यो । यस स्रोतकेन्द्रअन्तर्गतका धुन्चे र हाकु गाउँपालिकामा १२ विद्यालय छन् । स्थानीय पाठ्यक्रम बनाउने क्रममा छलफल गर्दा स्थानीयवासीहरू आफ्नो संस्कृति, ठाउँ, गाउँ, सम्पदाका बारेमा किताबमा आउने भयो भनेर प्रफुल्ल भएको अनुभव पनि स्रोतव्यक्ति लामिछानेले सुनाए । स्थानीय भाषामा नभए/नसके नेपाली भाषामै भए पनि तयार गरे हुन्छ भनेर उनीहरूले सुझव दिएका थिए ।
सरकारले स्थानीय पाठ्यक्रम निर्माणको निम्ति आवश्यक अभिमुखीकरणका लागि मात्र बजेट दिने गरेको छ । पाठ्यक्रम निर्माणका लागि कार्यशाला गर्न, स्थानीय रूपमा जानकारी संकलन गर्न, विज्ञको परामर्श लिन, पाठ्यक्रम तथा सन्दर्भ सामग्री छपाइका लागि चाहिने खर्च भने उपलब्ध गराइएको हुँदैन । त्यसैले पनि पाठ्यक्रम निर्माण गरी कार्यान्वयन गर्न नसकिएको भनेर धेरै विद्यालय तथा स्रोतकेन्द्रहरू पन्छिने गरेका छन् । “पक्कै पनि यो समस्या छ । अन्य विद्यालयहरूले पनि स्थानीय पाठ्यक्रमको माग गरेका छन् । छपाइका लागि स्रोत नहुँदा दिन नसकिएको स्थिति छ । फरक फरक पृष्ठभूमि समेटेर सन्दर्भ सामग्री तयार गर्न पनि रकम आवश्यक पर्छ”, लामिछाने भन्छन् । तर उनी विश्वासका साथ भन्छन्, “विद्यालय वा स्रोतकेन्द्रले स्रोत खोज्न पहल गर्ने हो भने स्थानीय पाठ्यक्रम बनाएर पठनपाठन गर्न सकिन्छ ।”

शिक्षक  मासिक, २०७४ असार अंकमा प्रकाशित

Related Posts

/*sign up form*/