स्थानीय पाठ्यक्रम हाम्रै लागि हो, पाठ्यक्रम बनाऔं, पढाऔं !

by • • विषय-सन्दर्भ / सम्पादकीयComments (0)1208

– राजेन्द्र दाहाल


नेपालका प्रायः सबै विद्यालयको आधारभूत तहका कक्षामा अधूरो पाठ्यक्रम पढाइ भइरहेको छ । ६०० पूर्णाङ्क पढाइ हुनुपर्ने प्राथमिक तहका कक्षा १–३ मा ४६० र कक्षा ४–५ मा ४७५ अंकको पाठ्यवस्तु मात्र पढाइन्छ । त्यस्तै कक्षा ६–८ को निम्ति निर्धारित ८०० पूर्णाङ्कमध्ये १०० अंकको पाठ्यविषय सामान्यतः पढाउँदै नपढाइ छोड्ने गरिएको छ । त्यसरी छोडिने गरेको स्थानीय पाठ्यविषय नै हो ।

एकातर्फ हामी; बालबालिकाले आफ्नो मूल्यमान्यता, भाषा–संस्कृति, धर्म एवं रीतिरिवाज र मौलिकता भुले; स्थानीय परम्परागत ज्ञान, सीप र प्रविधि लोप भएर जाने भो भनेर चिन्ता गरिरहेका छौं । अर्कातर्फ यिनै कुराहरू सिकाउनको लागि व्यवस्था गरिएको स्थानीय पाठ्यक्रमप्रति हाम्रो ध्यान जान सकेको छैन । खासमा, स्थानीय पाठ्यक्रमको मर्म र महत्वलाई हामी शिक्षक, प्रअ, शिक्षाका प्रवद्र्धक आदि कसैले पनि आत्मसात् गर्न सकेको पाइँदैन । तर, अब यस्तो हुनुहुँदैन ।

राष्ट्रिय पाठ्यक्रमले समेट्न नसक्ने तर स्थानीय समुदाय र त्यहाँको जनजीवनका निम्ति अति आवश्यक प्राकृतिक, सांस्कृतिक, सामाजिक, आर्थिक, जैविक र व्यावहारिक ज्ञान, सीप, स्रोत र सम्पदाको संरक्षण गर्न तथा त्यस्तो स्रोत र सीप भावी पुस्तालाई हस्तान्तरण गर्नको लागि हरेक विद्यालय अथवा स्रोतकेन्द्रहरूले स्थानीय पाठ्यक्रम बनाएर पठन–पाठन गर्नु एकदमै जरूरी छ ।

स्थानीय पाठ्यक्रमको उद्देश्य, औचित्य, महत्व र आवश्यकता बारे बुझन चाहनेहरूका निम्ति शिक्षक का २०७४ जेठ, असार र असोज अंकमा विज्ञका विचार, कार्यपत्र र केही विद्यालयमा भइरहेका स्थानीय पाठ्यक्रमका अभ्यास र प्रयोग सम्बन्धी रिपोर्टहरू प्रकाशित छन् ।
स्थानीय पाठ्यक्रम निर्माण गर्न उत्सुक कुनै विद्यालयलाई यस सम्बन्धमा थप जानकारी र मार्गदर्शन अथवा विज्ञको सहयोग आवश्यक परेमा हामी (शिक्षक मासिक) लाई भन्नुहोला । हामी आफ्नो तर्फबाट सहजीकरण गर्ने सक्दो प्रयास गर्नेछौं । यसमा हाम्रो एकमात्र उद्देश्य— हाम्रा बालबालिकाका निम्ति आफ्नै गाउँ–ठाउँ पराइ नहोस्; उनीहरूले पहिला आफ्नो गाउँ–ठाउँ चिनुन्, अनि देश र विश्व बुझुन भन्ने हो ।

Related Posts

/*sign up form*/