स्कूल शिक्षामा तहगत विभेद

by • • Uncategorized, आलोपालोComments (0)275

प्रमोद भट्ट

नेपालको शिक्षामा विद्यमान लैङ्गिक, जातीय, वर्गीय तथा भौगोलिक विभेदबारे हामी थुप्रैले विभिन्न टीकाटिप्पणी गर्दै आएका छौं । तर स्कूले शिक्षाको संरचनाभित्र हुने तहगत वा कक्षागत विभेदबारे भने त्यति धेरै बोलेका छैनौं । यो टिप्पणी नेपालका सामुदायिक जनिएका सार्वजनिक विद्यालयभित्र हुने गरेका तहगत विभेदमा केन्द्रित छ ।
शिक्षा विभागले वार्षिक रूपमा देशभरका विद्यालयबाट संकलन गर्ने तथ्याङ्कले के देखाउँछ भने विद्यालय शिक्षामा तल्लो कक्षा वा तहका भन्दा माथिल्लो तहका शैक्षिक सूचक सबल छन् । विगत केही वर्षको कक्षागत औसत उपस्थिति हेर्दा कक्षा १ को औसत उपस्थिति सबैभन्दा कम छ भने कक्षा १० मा सबैभन्दा बढी । त्यसैगरी, समयमै पाठ्यपुस्तक पाउनेको प्रतिशत पनि कक्षाअनुसार बढ्दै जान्छ । विद्यालय छोड्ने, कक्षा दोहो¥याउने र कक्षोन्नतिको दर पनि माथिल्ला कक्षामा उच्च छ । कक्षा ३, ५ र ८ का विद्यार्थीको राष्ट्रिय सिकाइ उपलब्धि परीक्षणले के देखाउँछ भने नेपाली विद्यार्थीको औसत सिकाइ उपलब्धि तल्ला कक्षादेखि नै न्यून हुँदै आएको छ । तर यसको डरलाग्दो पक्ष के छ भने माथिल्ला कक्षामा पनि सिकाइ उपलब्धिमा कुनै सुधार भइरहेको छैन । अर्थात्, तल्ला कक्षाहरूमा विद्यार्थीले अपेक्षित नसिके पनि त्यो हाम्रा लागि चिन्ताको विषय भइरहेको छैन ।
यसैसँग सम्बन्धित अर्को पक्ष के छ भने एउटै विद्यालयमा थरी थरीका शिक्षक (स्थायी, अस्थायी, राहत, निजी, अन्य) त छन् नै, शिक्षकबीच तहगत विभेद पनि छ । त्यसो त शिक्षाशास्त्रको दर्शनअनुसार पनि विभिन्न तहका लागि भिन्न योग्यता भएका शिक्षकको आवश्यकता हुन्छ । हामीले प्राथमिकभन्दा निम्नमाध्यमिक र निम्नमाध्यमिकभन्दा माध्यमिक तहका शिक्षकका लागि बढी शैक्षिक योग्यता तोकेका छौं, र तलब पनि माथिल्ला तहमा पढाउनेलाई नै बढी दिन्छौं । तर हामीकहाँ विडम्बना के छ भने जम्मा १२ कक्षा पास गरेका शिक्षकले कक्षा ८ सम्म पढाउन पाउँछन् जबकि तिनले सो तहमा अध्यापन गर्नका लागि विशिष्टीकृत पूर्वसेवाकालीन तालीम भने पाएका हुँदैनन् । अझ् पूर्वप्राथमिक शिक्षकका लागि त जम्मा १० कक्षा बराबरको योग्यता भए पुग्छ । विशिष्टीकृत शिक्षकलाई हामीले केवल विषयगत दक्षतासँग मात्र जोडिरहेका छौं, न कि तहगत विशिष्टीकरणसँग ।
यस्ता विभेद विद्यालयको दैनिकीमा पनि स्पष्ट देख्न सकिन्छ । तल्ला कक्षाहरूमा समग्र शैक्षिक पूर्वाधार त कमजोर छ नै, विद्यार्थी तथा शिक्षक नियमितताबारे पनि माथिल्ला तहमा जस्तो कडिकडाउ हुँदैन । विद्यार्थीले विद्यालयमा नाम लेखाइसकेपछि ऊ विद्यालय आओस् कि नआओस् सम्बन्धित विद्यालयका लागि त्यति चासोको विषय हुँदैन । शिक्षक र अभिभावकले एकअर्कालाई दोष देखाएर उम्किने बहाना मात्र भइरहेको छ । त्यसैले सहजै के भन्न सकिन्छ भने तल्ला कक्षामा हामीले खासै पढाइरहेका छैनौं । विद्यार्थीहरूले के र कति सिकेका छन् र छैनन् भन्नेमा हामीले चिन्ता र चिन्तन दुवै गरिरहेका छैनौं । अधिकांश विद्यालयमा यस्तो चिन्ता माध्यमिक तहमा मात्र प्रकट हुन थाल्दछ । केही विद्यालयमा कक्षा ८ र अन्य धेरैमा ९ वा १० कक्षा पुगिसकेपछि मात्र शिक्षक र समग्र विद्यालय परिवारले विद्यार्थीको पढाइको बारेमा चासो दिन थाल्दछन् । र यस्तो चासो अन्त्यमा आएर परीक्षाकेन्द्रित पढाइ हुन पुग्दछ । अन्य कक्षामा भन्दा यी कक्षामा शिक्षकलाई पाठ समयमै वा सोभन्दा अगाडि सक्ने दबाब र चटारो हुन्छ । नियमित कक्षाले मात्र परीक्षामा पास हुन सम्भव नहुने देखेपछि विद्यालयले कोचिङ र अतिरिक्त कक्षा सञ्चालनमा जोड गर्न तथा विद्यार्थीले ट्यूसन पढ्न थाल्दछन् । यी सबैको ध्याउन्न पुराना प्रश्नपत्रमा केन्द्रित हुन्छ । हरेक हप्ता एसएलसीका नमूना परीक्षा लिइन्छन् ताकि विद्यार्थी बोर्ड परीक्षाका लागि अभ्यस्त होउन् । विद्यालयमा मात्र होइन घरपरिवारभित्र पनि यस्ता परीक्षाले विशेष महत्व राख्दछन् ।
जुन कक्षा वा तहमा जिल्लास्तरीय वा राष्ट्रिय परीक्षा हुन्छ त्यस तहमा बढी ध्यान दिनु स्वाभाविक त हो, किनभने विद्यालयको गुणस्तरको आधार यसैलाई नै मानिंदै आएको छ । तर आधुनिक शिक्षाको सबैभन्दा ठूलो विडम्बना पनि यसैमा अन्तर्निहित छ । यस्तो प्रवृत्तिले एकातिर पढ्नु भनेको जसरी भए पनि जाँच पास गर्नुमा सीमित भएको छ भने अर्कोतिर पढ्नै पर्ने विषयवस्तुको ज्ञान प्राप्त गर्ने बाहेकका अन्य जीवनोपयोगी सीप र क्षमताहरूको विकास हुन सकिरहेको छैन । यसरी एकातर्फ हामी तल्ला कक्षाहरूमा खासै केही नगरिकन एकैचोटि माथिल्ला कक्षामा जोड दिइरहेका छौं, र माथिल्ला कक्षामा पनि हामीले दिइरहेको जोड केवल परीक्षाकेन्द्रित तालीम मात्र बन्न पुगेको छ । यस्तो कार्य विद्यार्थीका लागि त प्रत्युत्पादक छ नै, समग्र शैक्षिक प्रणालीका लागि पनि अत्यन्तै दुःखद् भइरहेको छ । आशा गरौं, नयाँ वर्ष र नयाँ शैक्षिक सत्रको आगमनसँगै शिक्षाको यस्तो साँघुरो दायराबाट मुक्त हुन आवश्यक प्रयत्न गर्नेछौं ।

शिक्षक  मासिक, २०७४ वैशाख अंकमा प्रकाशित

Related Posts

/*sign up form*/