स्कूल एउटा, माध्यम दुइटा के पर्छ असर ?

by • • रिपोर्टComments (0)1466

Print Friendly, PDF & Email

रोश्ना सुब्बा
नेपालका सामुदायिक र संस्थागत विद्यालयबाट दुईथरी नागरिक उत्पादन भए वा गरिए भनेर चिन्ता प्रकट गर्दै बेलाबेलामा शैक्षिक समानता बारे बहस हुने गर्छ । तर अर्कोतर्फ राज्यको समेत लगानी रहेका कतिपय सामुदायिक विद्यालयले नै दुई वर्गका नागरिक उत्पादन गर्दै गरेको पनि पाइन्छ । त्यस्ता विद्यालयमा एकथरी विद्यार्थीलाई अंग्रेजी र अर्कोथरीलाई नेपाली माध्यममा पढाउने गरिन्छ । काठमाडौंको धापासीस्थित तिलिङ्गाटार माध्यमिक विद्यालयमा कक्षा ५ सम्म एउटै माध्यम अर्थात् अंग्रेजीमा पढाइन्छ भने कक्षा ६ देखि अंग्रेजी र नेपाली माध्यमका छुट्टाछुट्टै कक्षा संचालन गरिन्छन् ।

सो विद्यालयका प्रधानाध्यापक सरोज पाण्डेका अनुसार कुनै कक्षाका तीन वटा सेक्सनमध्ये ‘ए’ र ‘बी’ मा अंग्रेजी र ‘सी’ मा नेपाली माध्यम प्रयोग गर्ने गरिएको छ । प्रअ पाण्डेको भनाइमा अंग्रेजी माध्यममा पढ्न नसक्ने विद्यार्थीलाई नेपालीमा पढाइने गरेको हो । एउटै विद्यालयमा यसरी किन फरक फरक माध्यममा पढाएको भन्ने प्रश्नमा प्रअ पाण्डे भन्छन्, “नसक्नेलाई जबर्जस्ती अंग्रेजी माध्यममा पढाएर पनि भएन । कि त बाहिरबाट आएका अंग्रेजी कमजोर भएका विद्यार्थीलाई भर्ना नै लिन्न भन्नु प¥यो । तर यसो गर्न पनि हामीले मिल्दैन ।”

तिलिङ्गाटार मावि, काठमाडौं

तिलिङ्गाटार माविमा पहिले नेपाली माध्यमका दुईवटा सेक्सन थिए भने अंग्रेजीको एउटा मात्र । तर यताका दिनमा अंग्रेजी माध्यमका स्कूल खोज्ने अभिभावकको संख्या बढ्दै गएका कारण अंग्रेजी सेक्सन पनि थपिंदै गएका छन् । विशेषतः काठमाडौंलगायतका शहरी क्षेत्रमा जो पनि अंग्रेजी नै खोज्ने भएका छन् । प्रअ पाण्डेको भनाइमा अंग्रेजी माध्यम नराख्ने हो भने शहरका सामुदायिक विद्यालय छिट्टै रित्तिने छन् । उनी भन्छन्, “अब नेपाली माध्यममा मात्र पढाए त चरोमुसो पनि आउँदैन । त्यो अवस्थामा कि विद्यालय सुकाउनुप¥यो र जागिर मात्र खाइदिनुप¥यो । हामी जागिर मात्रै खानेतिर लागेको भए हाम्रो विद्यालयमा यी १६०० विद्यार्थी हुने थिएनन् ।”

दाङ जिल्लाको घोराहीमा रहेको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा पनि कक्षा ५ सम्म अंग्रेजी र ६ देखि दुईथरी माध्यममा पढाइ हुन्छ । सो विद्यालयका प्रधानाध्यापक कृष्णराज डीसी भन्छन्, “हाम्रो विद्यालयमा अहिले कक्षा १० सम्म दुई हजारभन्दा बढी विद्यार्थी छन् र तीमध्ये आधाभन्दा धेरै अंग्रेजी माध्यममै छन् ।” दाङका साथै सल्यान, रुकुमजस्ता आसपासका जिल्लाबाट नेपाली माध्यममा पढेर आएका, एकैचोटि अंग्रेजी माध्यममा पढ्न नसक्ने विद्यार्थीले पनि आफ्नो विद्यालयमा पढ्न पाउन् भनेर दुवैथरी माध्यम अपनाइएको प्रधानाध्यापक डीसीको भनाइ छ । प्रअ डीसीका अनुसार नेपाली माध्यमबाट पढेका विद्यार्थीले पनि चिकित्साशास्त्र र इन्जिनियरिङमा छात्रवृत्ति पाएका छन् ।

अंग्रेजी माध्यम शुरू गर्ने धेरैजसो सामुदायिक माविले अंग्रेजी माध्यम थालनी गर्दा तलबाट माथि अर्थात् कक्षा १ बाट शुरू गरी माथि लग्दै गएको पाइन्छ । तर कन्काई माध्यमिक विद्यालय, सुरुङ्गा, झपाले भने २०६८ सालमा एकैचोटि कक्षा ८ बाट अंग्रेजी माध्यम शुरू ग¥यो । प्रधानाध्यापक निर्मलकुमार खतिवडाका अनुसार बोर्डिङका विद्यार्थी कक्षा ८ मा भर्ना हुन आएपछि ८ बाटै शुरूआत गरिएको हो । यहाँ अहिले कक्षा ४ सम्म अंग्रेजी र त्यसभन्दा माथि दुई माध्यममा पढाइ हुन्छ । प्रअ खतिवडा भन्छन्, “केही समय हामीले अन्तबाट नेपाली माध्यममा पढेर आउने नानीहरूलाई तल्ला कक्षामा लिएनौं । तर फिडर स्कूलबाट आउनेहरूले पनि पढ्न पाउनुपर्छ भनी ती कक्षामा नेपाली माध्यम शुरू गर्ने तयारी गरिसकेका छौं ।” उनको भनाइमा कन्काई माविमा कक्षा १२ सम्म दुई हजार विद्यार्थी छन् ।

मकवानपुर जिल्लाको हेटौंडामा अवस्थित प्रगति माध्यमिक विद्यालयमा पनि कक्षा ५ देखि ९ सम्म अंग्रेजी र नेपाली माध्यममा पढाइ हुने गरेको छ । आउने नयाँ शैक्षिक सत्रदेखि यसको १० मा पनि अंग्रेजी माध्यम अपनाइँदैछ । सामुदायिक विद्यालयमा पढेपछि पछि उच्च शिक्षाका लागि छात्रवृत्ति पनि पाइने र कम पैसामा अंग्रेजी माध्यममा पढ्न पाइने हुँदा अं ग्रेजी माध्यमका सामुदायिक विद्यालयप्रति आकर्षण बढ्न थालेको प्रगति माविका प्रधानाध्यापक निरन्जन ढकालको बुझइ छ । तर अन्तबाट आएका, अंग्रेजी माध्यममा पढ्न नसक्ने विद्यार्थीका कारण नेपाली माध्यमलाई पनि निरन्तरता दिइएको उहाँ बताउनुहुन्छ ।

निजी स्रोतका शिक्षकमाथिको भरोसा
अंग्रेजी भाषाप्रति अभिभावकको बढ्दो मोह र निजी विद्यालयसँग प्रतिस्पर्धा गरी टिक्नुपर्ने कारण काठमाडौं जस्तै अन्य शहरी तथा सुगम क्षेत्रका सामुदायिक विद्यालयले पनि अंग्रेजी माध्यममा पढाउनुपर्ने बाध्यता बढ्दै गएको सम्बद्ध व्यक्तिहरूको कथन छ । अंग्रेजीको मागसँगै पुराना शिक्षकले अंग्रेजी माध्यममा पढाउन नसक्ने हुँदा त्यो प्रयोजनको निम्ति निजी स्रोतका शिक्षक राख्ने विद्यालयको बाध्यता भएको छ । नेपाली माध्यममा पढाउँदा अभिभावकले विद्यार्थी झ्किेर संस्थागत विद्यालयमा लगेको र संख्या घटेको अनुभव यी विद्यालयको छ । त्यसैले सक्ने र आँट्ने विद्यालयहरू निजी स्रोतका शिक्षक राखेर भए पनि अंग्रेजीमा पढाउन तयार भएका देखिन्छन् ।

अंग्रेजी माध्यममा पढाउन भनेर राखिएका अतिरिक्त शिक्षकहरूको तलबका लागि अभिभावकले विद्यालयलाई पैसा तिर्नुपर्छ । यसलाई सीधै शुल्क नभनिकन सहयोग भनिन्छ । अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका अभिभावकले कतिपय विद्यालयमा यसनिम्ति ठूलै रकम तिर्नुपर्छ । जस्तो; दाङ, घोराहीको पद्मोदय पब्लिक नमूना माध्यमिक विद्यालयमा अंग्रेजी माध्यममा पढाउने अभिभावकले कक्षा १० का लागि मासिक सहयोगका नाममा रु.१२०० तिनुपर्छ । त्यहाँ नेपाली माध्यममा पढाउने अभिभावकले पनि रु.२०० चाहिं तिर्नै पर्छ । प्रगति मावि हेटौंडाका प्रअ निरन्जन ढकाल पनि ‘सहयोग लिंदा अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका अभिभावकबाट अलि बढी लिने गर्छौं भन्छन् ।

“अंग्रेजी माध्यममा कक्षा चलाउनु सबै सामुदायिक विद्यालयको बाध्यता भएको छ । तर त्यसनिम्ति पुराना शिक्षकको अंग्रेजीले पुग्दैन । त्यसैले निजी स्रोतका शिक्षक नराखी सुखै छैन । तलबका लागि अभिभावकसँग सहयोग लिनै प¥यो” गुल्मी, तम्घास स्थित महेन्द्र नमूना माविका प्रधानाध्यापक केशरबहादुर थापा आफ्नो अवस्था र बाध्यताको वर्णन गर्छन् । प्रअ थापाका अनुसार पछिल्लो समय आएका सरकारी शिक्षक भने अंग्रेजीमा राम्रा छन् । अहिलेका शिक्षक अंग्रेजीमा राम्रो भएको तिलिङ्गाटार माविका प्रअ सरोजकुमार पाण्डेको पनि ठम्याइ छ । पाण्डेको भनाइमा अंग्रेजी माध्यमका विद्यालयमा विद्यार्थी संख्या धेरै र शिक्षक दरबन्दी कम हुने भएकोले पनि त्यस्ता स्कूलले निजी स्रोतका शिक्षक राख्नै पर्ने बाध्यता हुन्छ ।

असमतामूलक अभ्यास
बालबालिकामाथि पहुँच, सहभागिता र सिकाइ उपलब्धिका आधारमा विभेद हुनुहुँदैन भनेर शिक्षा मन्त्रालयले विद्यालय शिक्षाका लागि एकीकृत समता रणनीति २०७१ तयार पारेको छ । तर एउटै विद्यालयमा दुईथरी माध्यमबाट शिक्षा दिनुलाई सम्बद्ध विद्यालयका प्रअहरू असमान वा भेदभावपूर्ण ठान्दैनन् । प्रगति माविका प्रधानाध्यापक निरन्जन ढकाल आफ्ना विद्यार्थीले कुनै पनि खालको विभेद महसूस नगरेको दाबी गर्दै भन्छन्, “डेस एउटै छ । सरकारबाट पाउने सेवा–सुविधा समान रूपमा पाउँछन् । खाली माध्यम मात्र फरक हो ।”

महेन्द्र नमूना मावि, तम्घास, गुल्मी

कन्काई मावि, झपामा फरक माध्यममा पढ्ने विद्यार्थीका लागि भवन नै फरक–फरक छन् । व्यवस्थापन पनि फरक फरक छ । तर प्रअ निर्मलकुमार खतिवडा भन्छन्, “भवन र व्यवस्थापन फरक फरक भए पनि एसेम्बली एकै ठाउँमा हुन्छ । कतिपय शिक्षक दुवै माध्यममा एक छन् ।”

तिलिङ्गाटार माविका प्रअ सरोजकुमार पाण्डे विद्यार्थीलाई माध्यम चयन गर्ने अधिकार दिइएकोले कुनै विभेद नभएको तर्क गर्छन् । उनी भन्छन्, “हामीले जिम्मेवारीबोध गरेर नेपाली माध्यममा पढ्न आउने विद्यार्थीलाई पनि पढाएका छौं । दुवै माध्यम प्रयोग गर्न सकिने भनेर सरकारले नै ‘अप्सन’ दिएको हो ।”
महेन्द्र नमूना मावि, तम्घासका प्रअ थापाको अनुभव भने अरूको भन्दा फरक छ । प्रअ थापा भन्छन्, “नेपाली माध्यममा पढ्नेले अंग्रेजी माध्यममा पढ्ने भन्दा आफूलाई तल्लो स्तरका, अलि कमजोर र तुच्छ महसूस गर्ने रहेछन् । अनि अंग्रेजीमा पढ्नेलाई चाहिं आफूभन्दा सुपेरियर ठान्दा रहेछन् ।” विद्यालय तथा शिक्षकले विभेद वा पक्षपात नगरे पनि दुई माध्यमका विद्यार्थी र अभिभावक बीच भने स्पष्टै भिन्नता देखिने गरेको उनको अनुभव छ । यस सम्बन्धमा थप स्पष्ट पार्दै प्रअ थापा भन्छन्, “अंग्रेजी माध्यममा पढ्ने विद्यार्थीका अभिभावकले सधैं टाइ, बेल्ट लगाएर टिफिनसहित केटाकेटी पठाउने तर नेपाली माध्यममा पढाउने अभिभावकले कम वास्ता गर्ने गरेको पाइन्छ ।”

विद्यालयभित्र एकै ठाउँमा एसेम्ब्ली हुनु, एउटै पोशाक हुनु, छात्रवृत्ति; पाठ्यपुस्तक जस्ता सरकारी सेवा सुविधा समान रूपमा पाउनु, पानी; शौचालयलगायतका समान भौतिक पूर्वाधार उपलब्ध हुनु, लैङ्गिक या जातीय रूपमा विभेद नगरिनु मात्र समतामूलक शिक्षा भन्ने बुझइ या तर्क प्रायः प्रअ तथा शिक्षकमा पाइन्छ । तर “यति मात्र समताका सूचक होइनन्” त्रिभुवन विश्वविद्यालयकी सह प्राध्यापक डा.सुशन आचार्य भन्छिन्, “इक्विटी (समता) भनेको मनोवैज्ञानिक रूपमा पनि बालबालिकालाई हीनताबोध हुन नदिनु हो । विद्यालय हाता वा कक्षाकोठाभित्र उनीहरूले इज्जत महसूस गर्नुपर्छ ।”
डा. आचार्यको विचारमा दुई वटा माध्यम भाषाको व्यवस्थाले एकथरी विद्यार्थीलाई ‘तिम्रो अंग्रेजी कमजोर छ, तिमी यो माध्यममा पढ्न सक्दैनौ’ भनेर असमतामूलक अभ्यास भइरहेको छ । उनका अनुसार यसरी विद्यार्थीलाई तिमी कमजोर हौ भनेर ‘लेबल’ लगाइदिंदा, उसको व्यक्तित्व नै त्यसैअनुसार विकास हुन्छ । डा. आचार्य प्रश्न गर्छिन्, “कमजोरलाई कसरी सक्षम बनाउने भनेर समतामूलक गुणस्तरीय शिक्षाको नीति ल्याउने, तर आफ्नै संस्थाभित्र असमतामूलक शिक्षा प्रणाली लागू भइरहँदा सरकार, शिक्षा मन्त्रालय के हेरेर बसेको छ ?”

यो शिक्षा मन्त्रालयलाई थाहा नभएको विषय पनि होइन । यसबारेमा कुरा गर्दा अंग्रेजी माध्यममा चलेका कतिपय सामुदायिक विद्यालयले ‘त्यसो भए हामी बाहिरबाट आउने अंग्रेजीमा कमजोर विद्यार्थीलाई भर्ना लिन सक्दैनौं’ समेत भनेको शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्साल बताउँछन् । उनका अनुसार शिक्षा ऐनमा माध्यम नेपाली वा अंग्रेजी वा दुवै हुनसक्ने भन्ने प्रावधान पनि रहेका कारण यस्तो अभ्यासलाई अन्यथा ठान्न मिल्ने अवस्था छैन ।
सामुदायिक विद्यालयभित्रै यस्तो विभेदकारी प्रणालीलाई निरन्तरता दिंदा यसको असर समाजमा के पर्न सक्छ ? कसरी कमजोरलाई उकास्न सकिन्छ ? के कारणले यी कमजोर भए ? निजी स्रोतमा शिक्षक राख्दै चलिरहेको अंग्रेजी माध्यमको गुणस्तर कस्तो छ ? यी र यस्ता प्रश्नमा प्राज्ञिकदेखि नीतिगत तहमा गम्भीर छलफल भई उचित निकास पहिल्याउन ढिलो भइसकेको देखिन्छ ।

Related Posts

/*sign up form*/