स्कूलः पिंजडा होइन, गुँड

by • • चिन्तनComments (0)1753

आजभन्दा ५० वर्ष अघि कुनै देवदूतले आएर मलाई जापानका शिक्षकहरूको भेलामा शिक्षाबारे आफ्ना विचार प्रस्तुत गर्न भनेको भए म झ्स्कन्थें होला । यस्तो कुरा त मैले सपनामा पनि सोचेको थिइनँ । तपाईंहरूमध्ये कैयौंलाई थाहै होला, १३ वर्षको उमेर पछि मैले कुनै स्कूल–कलेजमा पाइला हालिनँ । अँ, कविका रूपमा नाम कमाएपछि र शैक्षिक व्याख्यानका लागि बोलाइँदा भने यस्तो अवश्य भएको छ ।

जुन वेला मैले केटाकेटीका लागि एउटा स्कूल प्रारम्भ गर्नु मेरो दायित्व हो भन्ने महसूस गरें, त्यसवेला मसँग शिक्षा सम्बन्धी कुनै अनुभव थिएन । सम्भवतः यो नै मेरा लागि लाभजनक अवस्था पनि थियो । शिक्षाको कुनै बनिबनाउ, पकिपकाउ सिद्धान्त मसँग नभएका कारण मैले प्रयोग र असफलताको बाटोबाट हिंड्दै आफ्ना अनुभवबाट गुज्रिनुपर्‍यो । जब म केटाकेटी थिएँ, त्यसैवेला मलाई ‘शिक्षा’ का कमजोरीहरूको गहिरो अनुभूति गराइसकिएको थियो । यही भएर स्कूल मबाट टाढा हुँदै गयो र जुनवेला म हुर्केर ठूलो भएँ त्यसवेला मैले यस्तो शिक्षण संस्था स्थापना गर्ने निर्णय लिनुपर्‍यो जहाँ ती कमजोरी नहुन्— जसबाट म बालापनमा सन्त्रस्त थिएँ ।

लगभग पाँच वर्षको उमेरमा जब मलाई स्कूल जान दबाब दिइयो, मेरो मन वितृष्णा र विद्रोहको भावले भरिएको थियो र त्यस व्यवस्थाप्रति— जसमा जिन्दगीका रंग अलिकति पनि थिएनन्, जीवनको चपलता पटक्कै थिएन र जहाँ पढाइने पाठको परिवेशसँग कुनै सम्बन्ध थिएन । त्यहाँ मलाई त्यो आनन्दलोकबाट निर्वासित गरेर ल्याइएको थियो— जहाँ मेरो जन्म भएको थियो, जहाँ प्रकृतिका हरेक कुरा सुन्दर थिए, जहाँ जिन्दगी रंगीन र गतिमान थियो । यो सब मैले कुनै अपराध गरेका कारण भएको थिएन; भएको थियो त म सानो र अबोध भएका कारण मात्र । मलाई लाग्थ्यो, म पिंजडामा बन्द गरिएको छु र मलाई शिक्षा यसरी दिइँदैछ जसरी चरालाई पिंजडा बाहिरबाट चारो दिइन्छ । त्यसवेला म सानै थिएँ, तैपनि मेरो मन यस व्यवहारबाट उद्वेलित हुन पुगेको थियो ।

हाम्रो शिक्षा व्यवस्थाले केटाकेटीलाई केटाकेटी स्वीकार्न इन्कार गर्छ । केटाकेटीलाई ‘तिनले ठूला मान्छेको जस्तो व्यवहार गरेनन्, केटाकेटीले जस्तो हल्ला र चकचक गर्ने धृष्टता गरे’ भनेर दण्ड दिइन्छ । शिक्षकलाई कि त यो कुरा थाहै छैन अथवा उनीहरू यसलाई स्वीकार्न चाहँदैनन्– ‘बालापन प्रकृतिको निजी उपहार हो अनि केटाकेटीहरू दिमागभित्र निरन्तर तँछामछाड गरिरहने उत्सुकता र त्यसबाट उत्पन्न नानाभाँतिका गतिविधि मार्फत नयाँ तथ्य र जानकारीसम्म पुग्ने गर्छन् ।’ फलतः केटाकेटी शिक्षक र आफ्नो मूल–प्रकृतिका बीच युद्धका कारण बन्न पुग्छन् ।

cage freeस्कूल–शिक्षकका दृष्टिमा केटाकेटीलाई शिक्षित गर्ने सबैभन्दा राम्रो तरीका भनेकै उसको मस्तिष्कलाई एकाग्र (ध्यान–केन्द्रित) बनाउनु हो । तर, मूल–प्रकृतिले भने बालबालिकाको मस्तिष्कको अनेकाग्रता (ध्यान विकेन्द्रित हुनु) लाई यसको सबैभन्दा राम्रो तरीका मान्दछ । हामी केटाकेटी छँदा एउटा मात्र कुरामा ध्यान केन्द्रित गरेर नभई ध्यान–विकेन्द्रितताकै कारण अनपेक्षित र आश्चर्यजनक ढंगले तथ्यहरू संग्रहीत गर्ने गथ्र्यौं । यस्ता ‘आश्चर्य’ हरूबाट हामीले एक्कासि जुन ज्ञान प्राप्त गथ्र्यौं, त्यसले जीवन र जगतका तथ्यहरूप्रति गहिरो बोध प्रदान गथ्र्यो । तथ्य केटाकेटीलाई अकस्मात्, एकदम ताजा अवस्थामै प्राप्त हुनुपर्छ जसबाट तिनको दिमागमा भरपूर हलचल उत्पन्न हुन सकोस् । तर यस्तो स्थिति, यस्तो गतिविधि नै स्वयंमा ती शिक्षकका निम्ति असहनीय हुन्थ्यो, जसको कक्षामा म उपस्थित रहनुपथ्र्यो । उनी चाहन्थे– म चूपचाप, ‘शान्त’ भएर बसिराखूँ । तर मेरो मन प्रत्येक क्षण विद्रोह गरिरहेको हुन्थ्यो । किनभने, मूल–प्रकृति मलाई त्यस मानिसको त्यो आतंक कदापि स्वीकार नगर्न निरन्तर प्रोत्साहित गरिरहेको हुन्थ्यो ।

केटाकेटीको जीवनमा नितान्त उद्देश्यहीनता रहनु ज्यादै महत्तवपूर्ण कुरा हो । वयस्क भएपछि हामी जिन्दगीका लागि आवश्यक केही उद्देश्यको कुटुरो बाँध्छौं अनि त्यससँग प्रत्यक्ष सरोकार नराख्ने सम्पूर्ण तथ्यहरूलाई उद्देश्यको सीमा बाहिर धकेलिदिन्छौं । हाम्रो मस्तिष्कको समग्र ध्यान तिनै उद्देश्यहरूमा केन्द्रित हुन्छ र यसैकारण हामी आफ्नो चारैतिरका अधिकांश चीजलाई पूर्णरूपमा देख्न पनि असमर्थ हुन्छौं । यसप्रकार हामी आफ्नो प्रयोजनशील मस्तिष्कका निम्ति कार्यक्षेत्रको एउटा संक्षिप्त, संकीर्ण टुक्रो निर्धारित गरिदिन्छौं, जसको अन्तिम विन्दुमा पुग्न साँघुरो बाटोबाट गुज्रिनुपर्ने हुन्छ । तर, केटाकेटीसँग जीवन जिउनका लागि अरू कुनै प्रतीतिजन्य उद्देश्य हुँदैन । त्यसैले ऊ आफ्नो चारैतिरका सबै कुरालाई राम्ररी देख्न सक्छ, प्रत्येक ध्वनिलाई पूर्ण स्वतन्त्रताका साथ राम्रोसँग सुन्न सक्छ । कुन जानकारी आफूले संग्रह गर्नुपर्ने हो र कुन चाहिं होइन भन्ने कुनै पर्वाह नगरी तिनलाई हेर्न, सुन्न, ग्रहण गर्न वा नगर्न ऊ स्वतन्त्र हुन्छ । केटाकेटीको छटपटी–पूर्ण उत्सुकताको लगाम पूर्णतः उसैको हातमा हुन्छ, जसले उसको मस्तिष्कलाई ज्ञानको ढोका घचघच्याउन प्रेरित गर्छ । त्यो पहाडी जलधारा जस्तो, जो स–साना ढुंगामाथिबाट बग्छ र अवरोधहरूसँग टकराउँदै, तिनका बीचबाट गुज्रिंदै गति प्राप्त गर्छ ।

तर स्कूल–शिक्षकलाई यो सबसँग के मतलब ? उसको त आफ्नै पूर्वनिर्धारित एउटा उद्देश्य हुन्छ र ऊ केटाकेटीको दिमागलाई आफ्ना पकिपकाउ सिद्धान्त अनुसार निश्चित ढाँचामा ढाल्न चाहन्छ । त्यसका निम्ति केटाकेटीको दुनियाँका ती सम्पूर्ण कुराहरूबाट उसलाई छुटकारा दिलाउन लागिपर्छ, जसलाई आफ्नो उद्देश्यपूर्तिमा बाधक ठान्छ । आफ्नो शिक्षा–योजनाबाट ती तमाम कुरालाई बाहिर गलहत्याइदिन्छ, जसमा जिन्दगीका रंग हुन्छन्; उत्सुकता र जीवन्तताले भरिएका गतिविधि हुन्छन् । यस प्रकार ऊ यो निरीह–असहाय जीवनलाई मूल–प्रकृतिबाट खोस्छ र आफ्नो कारागारमा बन्द गर्छ— केटाकेटीको मस्तिष्क विकसित गर्ने सर्वोत्कृष्ट तरीका यही हो भन्ने पूर्ण विश्वासका साथ । यस्तो किन हुन्छ त भने, शिक्षक वयस्क हुन्छ र उसले आफूलाई कुनै कुरामा शिक्षित गर्नुपर्दा त्यसको निश्चित पाठ्यक्रम पूरा गर्नुपर्छ, त्यसमा केन्द्रित भएर अध्ययन गर्नुपर्छ । त्यसैले, उसले सोच्नु स्वाभाविक होः केटाकेटीको शिक्षाका लागि पनि त्यही तरीका सबैभन्दा राम्रो हो, जसमा निर्धारित पाठ्यसामग्री बाहेक अरू केही नरहोस्; केटाकेटीले पाठ्यसामग्रीमा रहेका तथ्य मात्र जानुन् र तिनलाई जान्ने तरीका पनि एउटै होस् । शिक्षकले के चाहिं बुझेको हुँदैन भने, केटाकेटीको दिमाग धेरै दृष्टिले वयस्कको दिमाग भन्दा भिन्न मात्र हुँदैन, त्यसभन्दा ठीक उल्टो तरीकाले पनि काम गर्छ ।

nest-clip-art-8416-eggs-in-nest-design__images.clipartpanda.comयो फूलमाथि फल प्राप्त गर्ने उद्देश्य लादिदिनु जस्तै हो । फूलले फलको रूप प्राप्त गर्न कतिपय अवसरहरूको प्रतीक्षा गर्नुपर्छ, घाम र हावालाई खुला मनले स्वीकार गर्नुपर्छ, अनि त्यो मौका पर्खिनुपर्छ जब कुनै कीट मधुको खोजीमा उसमाथि आएर बसोस् । फूल आश्चर्यहरूले भरिएको दुनियाँमा खुलापनका साथ जिउँछ, तर फलले आफ्नो हृदयको ढोका बन्द गर्नुपर्छ— आफूभित्रको बीउ पाकोस् भनेर । फलले फूलभन्दा बेग्लै बाटो पक्रिनुपर्छ । फूलका निम्ति कीटको आगमन ठूलो र स्वागतयोग्य घटना हो तर फलका निम्ति कीटको यस्तो अतिक्रमण अथवा बल–प्रवेश घातक हुन्छ । वयस्क मस्तिष्क फल जस्तो हो, बाल मस्तिष्क फूल जस्तो । वयस्क मस्तिष्करूपी फलमा बाल मस्तिष्करूपी फूलप्रति कुनै सहानुभूति हुँदैन किनभने उसको मान्यता हुन्छ— बाल मस्तिष्कलाई पूर्णरूपेण र सही अर्थमा त्यसवेला मात्र विकसित गर्न सकिन्छ जब त्यसलाई प्रकृतिका मूलस्पन्दन र विधानहरूबाट, बाहिरी प्रभाव र आश्चर्यभरित दुनियाँबाट अलग राखिन्छ । एउटा निश्चित विषय र तरीका बाहेक अरू तमाम कुरासँग त्यसको सम्बन्धविच्छेद गरिन्छ । वयस्क मस्तिष्कको यस्तो आतंकको दुःखद परिणाम केटाकेटीले सर्वत्र भोगिरहेका छन् । लगभग चालीस वर्ष पुगेपछि मलाई लाग्यो, आफ्नो सामथ्र्यले भ्याए जति केटाकेटीलाई मैले त्यो गल्ती र त्यो अत्याचारबाट– जुन वयस्क अवस्थामा पुगेका ‘बुद्धिमान’ हरूले उनीहरूमाथि गर्छन्– अवश्य जोगाउनुपर्छ ।

स्कूलका कक्षाहरूमा आश्चर्य र रोमाञ्चकताका निम्ति कुनै गुंजाइश हुँदैन, सबैथोक एकैनासे हुन्छ जसमा जीवन्तता हुनै सक्तैन । हरेक दिन बिहान घडीको सुई अनुसार निर्धारित समयमा स्कूल पुगिसक्नुपर्छ, निर्धारित कक्षामा बस्नुपर्छ, निर्धारित विषयको पाठ निर्धारित शिक्षकबाट सुन्नुपर्छ । निर्धारित समयमा खाजा खानुपर्छ र निर्धारित समयमा ‘स्वतन्त्र’ हुनुपर्छ । छुट्टीका दिन क्यालेन्डर अनुसार पहिले नै निर्धारित हुन्छन् । हरेक कुरा यान्त्रिक र स्पन्दनशून्य हुन्छन्, जसलाई आदर्शनिष्ठ मानिन्छ ।

यस्तो स्थिति तिनका लागि त ठीक हुन्छ, जो हुर्केर वयस्क भइसकेका हुन्छन् । व्यापारीका निम्ति घडीको सुई अनुसार नियमित बन्नु र दैनन्दिन कामहरू निर्धारित समयमा पूरा गर्नु लाभदायक हुन्छ । जागीरदारको कुरा पनि यस्तै हो । दुवैको सक्रियता र नियमितताको प्रत्यक्ष सम्बन्ध अर्थोपार्जनसँग छ । त्यसैले यो तिनका निम्ति आनन्ददायक पनि हुन्छ । यसका साथ कतिपय मूल्य जोडिंदा तिनले आत्मसन्तोष समेत प्राप्त गर्छन् । तर, केटाकेटीलाई यस खालको कुनै लाभको अपेक्षा हुँदैन । तथापि दिन–प्रतिदिन, महीना–प्रतिमहीना उसले आफ्नो परनिर्धारित दिनचर्या पूरा गर्नैपर्छ— यो निरर्थक पीडाबाट के हासिल हुने हो भन्ने फुट्टी नजानीकन । वर्षको अन्त्यमा उसले परीक्षाको भयावह आतंकबाट गुज्रिनुपर्छ । यो कति अन्यायपूर्ण व्यवहार होला, जसमा अत्यन्त मिहिनेती र प्रतिभाशाली छात्रलाई पनि पूर्णाङ्क कहिल्यै दिइँदैन र उसको मिहिनेतको फलबाट वञ्चित गरिन्छ । वस्तुतः यो क्रूर गुलामी हो जसमा बाल–मस्तिष्कलाई अभ्यस्त गराइन्छ । यसले उसको नैतिक शक्ति र मनोबललाई क्षीण बनाउँछ । यो ‘पूर्ण आज्ञाकारिता’ को यस्तो उदाहरण हो, जसमा वैयक्तिक जिम्मेदारी र स्वतन्त्र मस्तिष्कको पहलको भावबोधलाई बलि दिइन्छ ।

shantiniketan-3_www.takeatravel.in

टैगोरले स्थापना गरेको शान्ति निकेतनको एउटा अंश ।

यस्तो किन गर्छौं त हामी ? के महत्तव छ यसको ? केवल, र केवल ‘झ्मेला’ बाट बच्न हामी केटाकेटीलाई त्यसवेला पिंजडामा बन्द गरिदिन्छौं जुनवेला प्रकृतिबाट प्राप्त उसका पखेटा अनन्त आकाशमा निर्बाध हावा खान आतुर हुन्छन् । यसका साथै हामी उसको मस्तिष्कबाट स्वतन्त्रताको प्रबल चाहना र जोखिम उठाउने भावनालाई पनि निमिट्यान्न पारिदिन्छौं जो उसले प्रकृतिबाट आफूसँगै लिएर आएको हुन्छ र जो प्रतिदिन नयाँ अनुभवको खोजीमा हुन्छ । यो त्यस्तो वस्तु हो जो मस्तिष्कको बौद्धिक विकास र केटाकेटीको मधुर स्वभावका निम्ति अत्यन्त आवश्यक हुन्छ । तर हामी आफ्नो अन्तरात्मा र विवेकलाई जस्केलो बाहिर धकेलेर कारागारका लागि कैदीहरू, पागलखानाका लागि रोगीहरू तयार पार्ने धन्दामा लाग्छौं । हामी केटाकेटीको दिमागलाई त्यसवेला सीमित घेरामा पगाहा लगाएर बाँधिदिन्छौं, जब तथ्यहरूलाई एकत्रित गर्ने तिनको आन्तरिक शक्ति र ऊर्जाको दमन गर्छौं; जब तिनका चकचकको विश्लेषण गरेर तिनलाई सामान्यीकरण गर्छौं । चकचकको आन्तरिक स्रोत केटाकेटीलाई प्रकृतिको सबैभन्दा ठूलो उपहार हो जुन उसले आफू जन्मँदा सँगै लिएर आएको हुन्छ । जुनवेला मैले आफ्नो आवासीय स्कूल (शान्ति निकेतन) प्रारम्भ गरेको थिएँ, सौभाग्यवश छरछिमेकका सबै अनि देशका अन्य भागबाट पनि ‘चकचके’ केटाकेटी मकहाँ आइपुगेका थिए । सामान्य, अनुशासित केटाकेटीका आमाबाबु तिनलाई आवासीय विद्यालयमा पठाउन चाहँदैनथे, त्यसैले फुक्काफाल टाइपका ‘चकचके’ केटाकेटीको चाखलाग्दो समूह मकहाँ भेला हुन पुगेको थियो ।

को थिए त यी चकचके केटाकेटी ? यी ती केटाकेटी थिए जो प्रकृतिद्वारा विशेष रूपमा प्रदत्त यस्तो ऊर्जाबाट टिलपिल भरिएका थिए, जसलाई सम्माननीय समाजमा प्रचलित अनुशासनका तमाम मान्यताहरूको बलमा पनि शान्त गर्न सकिंदैनथ्यो; पूर्णतः क्रियाशून्य बनाउन सकिंदैनथ्यो । त्यसैले यी केटाकेटीलाई चकचके र बदमाश मानिएको थियो । तिनका अभिभावकले मलाई बारम्बार भनेका थिए— तपाईं यिनीहरूलाई बेलाबखत सजाय दिंदै गर्नुहोला, यिनले कुनै गल्ती नगरेकै भए पनि ! उनीहरूलाई के विश्वास थियो भने, सजाय दिनु स्वयंमा तीतो ओखती ख्वाउनु जस्तो हो, जसरी फोक्सोलाई स्वस्थ पार्न तीतो ओखती ख्वाइन्छ । यस्तो ओखतीको नियमित खुराक चकचके÷बदमाश केटाकेटीको नैतिक स्वास्थ्यका निम्ति राम्रो र प्रभावकारी हुन्छ भन्ने उनीहरूको मान्यता थियो ।

हामीले बुझनुपर्ने कुरा के हो भने फुक्काफाल स्वभाव र अदम्य ऊर्जा केटाकेटीका निम्ति प्रकृतिका सर्वोत्तम उपहार हुन् । हाम्रा सम्भ्रान्त परिवारहरूको सम्मान–संहिता र यो फुक्काफाल–पनका बीच सधैं युद्ध चलिरहन्छ । यो शाश्वत युद्धले तमाम किसिमका विसंगति र विकृत स्थितिहरू जन्माएको छ । केटाकेटीमा रहेको प्रकृतिप्रदत्त फुक्काफाल स्वभाव र ऊर्जालाई अप्राकृतिक तरीकाले दबाउने प्रयास गरिएकाले नै यो अवस्था पैदा भएको हो ।

ती चकचके, उद्दण्ड केटाकेटीलाई मैले न कुनै सजाय दिएँ, न त प्रताडित नै गरें । हामीमध्ये अधिकांशले सोच्ने गर्छौं— चकचके केटाकेटीलाई सजाय दिन तिनको स्वतन्त्रतामा लगाम कस्नु जरूरी हुन्छ । तर स्वतन्त्रतामा प्रतिबन्ध लगाउनु प्रकृतिको नियम विरुद्ध हुन्छ । जब मस्तिष्क र जीवनचर्याले पूर्ण स्वतन्त्रता पाउँछन् तब मात्र ती स्वस्थ हुन्छन् । त्यसैले मैले ‘स्वतन्त्रता–आधारित चिकित्सा पद्धति’ (यसलाई यो नाम दिन मिल्छ भने) अपनाएँ । केटाकेटीलाई कुद्ने–दौडिने–उफ्रिने, अप्ठ्यारा रूखहरूमा चढ्ने र त्यहाँबाट लड्दा दुःख प्राप्त गर्ने स्वतन्त्रता थियो । तिनीहरू स्वेच्छाले झरिमा रुझथे र पोखरीमा पौडी खेल्थे । प्रकृतिले आफ्नै तरीकाले तिनको उपचार गर्‍यो । उद्दण्ड मानिएका ती केटाकेटी केही महीनापछि घर फर्कंदा उनीहरूमा आएको आश्चर्यजनक परिवर्तन देखेर तिनका अभिभावक जिल्ल परेका थिए ।

स्वतन्त्रता भन्ने जिनिस स्थान र गतिविधिहरूको निर्बाध उपयोगमा मात्र निहित हुँदैन । यो खुला मानवीय सम्बन्धहरूमा पनि निहित हुन्छ । यस्तो सम्बन्ध केटाकेटीका लागि अत्यन्त आवश्यक हुन्छ । आफ्नी आमासँगको उनीहरूको सम्बन्धमा—हुर्केर ठूलो भइसक्दा पनि— यो स्वतन्त्रता भरपूर विद्यमान हुन्छ । वात्सल्यभाव र प्रेमका कारण आमा आफ्ना सन्तानकी संगी–साथी जस्तै भइसकेकी हुन्छिन् र उनीहरूका हृदय परस्पर मिल्न कुनै बाधा–व्यवधान वा असहजता महसूस गर्दैनन् । मूल प्रकृतिबाट प्राप्त प्रेमको उपहार केटाकेटीका लागि नितान्त आवश्यक हुन्छ, किनभने यो प्रेम नै स्वतन्त्रता हो । मलाई लाग्छ, आफ्नी आमाबाट टाढा यो स्कूलमा आउने केटाकेटीका निम्ति आफ्ना शिक्षकहरूसँगको सम्बन्धमा पनि यो स्वतन्त्रता हुनुपर्छ ।

म आफ्ना विद्यार्थीसँग खेल्थें र तिनको जिन्दगीमा पूरापूर शामेल थिएँ । शुरू–शुरूमा, उनीहरूको संख्या कम हुँदासम्म, म नै स्कूलको एकमात्र शिक्षक थिएँ । तर, उमेरमा ठूलो अन्तर हुँदाहुँदै पनि उनीहरू मबाट डराउँदैनथे । यहाँ उनीहरूलाई आफ्नै घर जस्तो लाग्थ्यो । घर जस्तो कतिवेला लाग्छ ? जब केटाकेटीले आफूलाई आफ्नै परिवारका बीच भएजस्तो महसूस गर्छन् अनि तिनको हृदयलाई अभिव्यक्तिको पूर्ण अवसर प्राप्त हुन्छ । विना संकोच, विना हिचकिचाहट ।

अधिकांश शिक्षकले के बुझेका हुँदैनन् भने केटाकेटीलाई पढाउन आफू स्वयं पनि केटाकेटी बन्नुपर्छ । दुर्भाग्यवश उनीहरू ‘म ठूलो हुँ र विद्वान हुँ’ भन्ने भावबाट ग्रस्त हुन्छन् । त्यसैले केटाकेटीका मनमा बडप्पन र विद्वत्ताका भाव र व्यवहार लाद्न चाहन्छन् । यसबाट केटाकेटीको मन अनावश्यक रूपले उद्विग्न रहन्छ । म उनीहरूलाई के अनुभूति गराउने प्रयत्न गर्छु भने, हाम्रो उमेरमा ठूलो अन्तर भए पनि हामी एउटै मार्गका यात्री हौं । हामी एउटै लक्ष्यका लागि काम गरिरहेका छौं । शिक्षकले त्यो लक्ष्य प्राप्त गरिसके र विद्यार्थी त्यसभन्दा धेरै टाढा छन् भन्ने होइन । लक्ष्यसँगको सुदीर्घ दूरीले आतेस उब्जाउँछ । केटाकेटीको दिमागमा यसको असर कदापि पर्न दिनुहुँदैन ।

हाम्रा शिक्षण संस्थाहरूमा जीवन्तता छैन, ती विकासमान छैनन्— मानौं अब गर्न केही बाँकी छैन, सबै कर्तव्य पूरा भइसकेको छ । यिनलाई फलामे रडले दक्षतापूर्वक निर्माण गरिन्छ र त्यसभित्र केटाकेटीलाई राखेर पढाइन्छ । तर मेरो चाहना छ, यहाँ केटाकेटीले महसूस गरून्— यो उनीहरूको पिंजडा होइन, गुँड हो । अर्थात् यसलाई निर्माण गर्न उनीहरूले स्वयं पनि योगदान गर्नुपर्छ । स्कूल भवन निर्माण गर्न, यसलाई व्यवस्थित गर्न हाम्रो साझ सृजनात्मक प्रयास हुनुपर्छ; व्यवस्थापकहरूको मात्र, शिक्षकहरूको मात्र होइन— विद्यार्थीहरूको पनि । केटाकेटीले आफ्नो जिन्दगीको केही अंश यसको निर्माणमा पनि लगाउन् । र, महसूस गरून्— उनीहरू यस्तो दुनियाँमा रहिरहेका छन् जसको निर्माण उनीहरूले स्वयं गरेका छन्; जो उनीहरूको हो । आफूले चाहे अनुसारको दुनियाँमा बस्न पाउनु जस्तो, मानिसका लागि अभिप्रेत स्वतन्त्रता के होला ?

हामी यस्तो व्यवस्थामा बस्छौं, जो हाम्रो आफ्नो होइन र त्यसको निर्माण अरू कसैले गरेको छ भने त्यहाँ हामीले वास्तविक स्वतन्त्रता अनुभव गर्न सक्तैनौं— चाहे त्यो व्यवस्था बनाउनेवाला जतिसुकै बुद्धिमान किन नहोस् । सृजनात्मक मस्तिष्कले सधैंभरि आफ्नो दुनियाँ आफैं निर्माण गर्ने चाहना राख्छ । स्वतन्त्रता र सन्तोषको यो अनुभूति म आफ्ना विद्यार्थीलाई दिन चाहन्थें । साथै के पनि चाहन्थें भने, सम्भव भएसम्म तिनलाई आफ्नो काम–काज स्वयं सम्हाल्ने स्वतन्त्रता प्राप्त होस् । मैले उनीहरूलाई सधैं महसूस गराउने प्रयास गरेः यो स्कूल मेरो होइन, उनीहरूको हो; स्कूल अझै पूर्ण बनिसकेको छैन, उनीहरूको सहयोगबाट पूर्ण हुने प्रतीक्षामा छ; यहाँ उनीहरूले शिक्षकहरूसँग काम गर्दै सिक्नुछ । र, मलाई लाग्छ, मेरो स्कूलका विद्यार्थीले मेरो विचार बुझे । बुझेकै कारण यस संस्थाप्रति तिनमा गहिरो प्रेम पैदा भयो । यहाँबाट फर्किसकेपछि पनि, समय र मौका पाउनासाथ उनीहरू यहाँ अवश्य आउने गरेका छन् ।

यसबाहेक मैले यी महत्तवपूर्ण तथ्यहरूमा पनि विचार गर्नुपर्‍योः चरा, जनावर र मानिस क्रियाशील मस्तिष्कका साथ पैदा हुन्छन्, जसले सधैं स्वतन्त्रता खोजिरहेको हुन्छ । तिनले आफूसँग लिएर आएको यो क्रियाशीलताले आत्म–शिक्षणका निम्ति स्वतन्त्र दुनियाँको खोजी गर्छ । यसबाहेक, हृदयको क्रियाशीलता अथवा गतिविधि पनि हुन्छ जसले आफ्नो स्वतन्त्रताका निम्ति सहानुभूतिका सहज सम्बन्धहरूको खोजी गर्छ । अनि आत्माको गतिविधि पनि हुन्छ र त्यसले पनि आफ्ना निम्ति स्वतन्त्र संसार सृजन गर्ने अवसर खोजिरहेको हुन्छ । केटाकेटीलाई शिक्षित गर्ने क्रममा यी तथ्यहरूमा ध्यान दिनु आवश्यक हुन्छ । केटाकेटीको क्रियाशील मस्तिष्कलाई कहिल्यै पनि बाहिरबाट लादिएका कुरा र दबाबका कारण शिथिल एवं निस्तेज हुन नदिनुहोस् । सक्रिय हृदयका गतिविधिलाई कृत्रिम सम्बन्धहरूको असहिष्णुताका कारण उत्पन्न अवरोधद्वारा सीमाबद्ध हुन नदिनुहोस् । सक्रिय एवं सृजनात्मक आत्मिक इच्छा (इच्छाशक्ति) लाई अवसरहरूको अभावमा नितान्त निष्क्रिय स्थितिमा पुग्न कहिल्यै नदिनुहोस् । मैले आफ्नो संस्थामा यी तीनै प्रकारका स्वतन्त्रतालाई स्थान दिएः मस्तिष्कको स्वतन्त्रता, हृदयको स्वतन्त्रता र इच्छा–तत्तको स्वतन्त्रता ।

Free to use picture

शान्ति निकेतनमा लाग्ने पुस मेलाको दृश्य ।

स्वतन्त्रताद्वारा नै मनुष्यको पूर्ण विकास हुन सक्छ भन्ने मेरो ढृढ विश्वास छ । केटाकेटीको स्वतन्त्रता सीमित गरिदिनुको अर्थ हुन्छ— हाम्रो आफ्नै कुनै उद्देश्य छ जसलाई हामी उनीहरूमाथि आरोपित गर्न चाहन्छौं । त्यसवेला, केटाकेटीलाई पूर्णरूपले विकसित हुने अवसर उपलब्ध हुनुपर्छ भन्ने प्रकृतिको उद्देश्य हुन्छ भन्ने कुरा हामीले बिर्सेका हुन्छौं । अर्थात्, रूखबाट बढी पात प्राप्त गर्ने उद्देश्य लिएर हामी त्यसलाई ‘प्रशिक्षित’ गर्न फूल र फल बन्न प्रयुक्त हुने त्यसको ऊर्जालाई दबाइदिन्छौं जसबाट उसको सम्पूर्ण ऊर्जा पात बन्न मात्र प्रयुक्त होस् । तर यसो गर्दा रूखको प्राकृतिक जीवनमा अवरोध पैदा हुन्छ र त्यो अधुरो बन्न पुग्छ । हाम्रा शिक्षण संस्थाहरूले केही घोषित उद्देश्य— जस्तै, सबै केटाकेटीलाई देशभक्त नागरिक, व्यावहारिक मानिस, व्यापारी, सैनिक अथवा ब्यांकर बनाउने— राखेका छन् भने उनीहरूले तिनलाई आज्ञापालन र अनुशासनको यान्त्रिक कवाज खेलाउँदै शिक्षित गर्नु आवश्यक हुन पुग्छ । तर यसमा न बहुआयामी जीवनको सम्पूर्णता हुन्छ, न त मानवीय मूल्यहरूको परिपूर्णता नै ।

प्रकृतिको उद्देश्य केटाकेटीलाई मानसिक र आध्यात्मिक, हरेक दृष्टिले परिपूर्ण मानव बनाउनु हो भन्ने जसले बुझ्ेको छ, उसले उनीहरूलाई स्वतन्त्रताको वातावरणमै विकसित हुने अवसर दिन्छ । तर, दुर्भाग्यवश हामीमा मानवीय कमजोरी प्रशस्त छन् र शक्तिसँग हाम्रो प्रेमको सम्बन्ध छ । कतिपय शिक्षक, खासगरी स्कूल–शिक्षकलाई शक्तिको मोह र त्यसप्रतिको प्रेम उत्तराधिकारमा प्राप्त हुन्छ । यस्ता शिक्षकलाई शक्तिको प्रयोगका निम्ति उपयुक्त जमीन यी निरीह, असहाय केटाकेटीका रूपमा उपलब्ध हुन्छ ।

मैले के देखेको छु भने, जुन शिक्षक केटाकेटीलाई कडा अनुशासनमा राख्न गर्व महसूस गर्छन्, ती जन्मजात अत्याचारी हुन्छन् । यस्ताको संख्या सानो छैन । उत्तराधिकारमा प्राप्त अत्याचारको वासना तृप्त गर्न उनीहरू केटाकेटीलाई साधन बनाउँछन् र तिनमाथि आफ्नो आचारसंहिता लादिदिन्छन् । उनीहरू केटाकेटीको दिमाग चकनाचूर पार्ने प्रयास तिनलाई त्यस्ता काम लगाएर गर्छन् जो पट्यारलाग्दा र यान्त्रिक हुन्छन्; जसले बुद्धि–सम्पन्न तथा ताजा दिमाग समाप्त पारिदिन्छन् । उनीहरू केटाकेटीलाई अनेक किसिमका यातना दिन्छन् किनभने यी अत्याचारी जीव यसको कल्पना मात्रले पनि आनन्दित हुन पुग्छन् । आनन्द प्राप्तिको यति विपुल मौका स्कूलको सीमा बाहिर प्राप्त हुने आशा उनीहरूलाई हुँदैन ।

यो विद्यार्थीमाथि अत्याचार गर्ने र तिनको दयनीय स्थिति मात्रको मामिला होइन; यो त मानव संसारकै निम्ति ठूलो अनिष्टको कारण पनि हो । हाम्रो दुर्भाग्यवश यिनीहरू स्कूल–शिक्षकको व्यवसायमा पसेका छन्; यिनका निम्ति त कसाई, जल्लाद, जेलर वा त्यस्तै अन्य कुनै व्यवसाय नै उपयुक्त हुन्थ्यो ! मानिसका सन्तानलाई पालन–पोषण गरेर हुर्काउन अत्यधिक सहानुभूति, समझ्दारी र कल्पना चाहिन्छ । तिनलाई कुनै प्रदर्शन अथवा प्रदर्शनीको उद्देश्यले तयार अथवा प्रशिक्षित गरिंदैन; गर्न हुँदैन— ती नाच देखाउने बाँदर अथवा भालु होइनन् । र, यो काम त्यस्ता मानिसको जिम्मामा कहिल्यै छोड्न हुँदैन, जो कल्पनाशून्य छन् र जसमा केटाकेटीप्रति कुनै हार्दिक सहानुभूति छैन । त्यस्तो व्यक्ति, जसको अन्तस्मा बालक निवास गर्दैन, जसलाई उसले गुमाइसकेको छ— केटाकेटीलाई शिक्षित गर्ने महान कार्यका निम्ति कदापि उपयुक्त छैन ।

दुर्भाग्यवश, म जुन भाषाको प्रयोग गरिरहेको छु, त्यो न मेरो हो न तपाईंकै । त्यसैले आफ्ना कुरा भन्न मलाई बढी समय लागिरहेको छ । यस बाधाका कारण शिक्षाको प्रक्रिया र व्यवस्थाका सम्बन्धमा म आफ्नो विचार तपाईंका सामु पूर्ण विस्तारका साथ राख्न असमर्थ छु । शिक्षाको सामान्य सिद्धान्तलाई मैले तपाईंका सामु प्रस्तुत गरेको हुँ, जुन सही हो भन्ने मलाई लाग्छ । त्यो हो— जसरी ईश्वर आफूले बनाएका वस्तुहरू अर्थात् सृष्टिमा आफ्नो स्वतन्त्रता अनुभव गर्छ र उसलाई आत्मसन्तोष हुन्छ, त्यसैगरी मानिसले पनि आफ्नो संसारको निर्माण आफैं गर्नुपर्छ र त्यसवेला उसलाई पनि यस्तो स्वतन्त्रताको अनुभूति हुन्छ । यसनिम्ति उसलाई व्यापारी, सैनिक किंवा ब्यांकर बनाउन प्रशिक्षण दिनुको सट्टा उसमा आफ्नो दुनियाँ आफैं निर्मित गर्ने, आफ्नो भाग्य आफैं निर्धारित गर्ने योग्यता पैदा गर्नुपर्छ । र, यसका निम्ति उसका सबै क्षमताहरू पूर्णतः स्वतन्त्र वातावरणमा विकसित गरिनु जरूरी हुन्छ ।

हामीहरू, जो केवल किताबी शिक्षामा विश्वास गर्छौं, आफ्ना कार्य, क्रियाकलाप र प्रत्यक्ष अवलोकनबाट स्वयं सिक्ने, स्वयंलाई शिक्षित गर्ने केटाकेटीको नैसर्गिक वरदानलाई निस्तेज, भुत्ते र विकृत बनाइदिन्छौं । हामी उनीहरूलाई पुस्तकमा लेखेकै कुरा र त्यो मात्र मान्न दबाब दिन्छौं र बाध्य पार्छौं । यसो गरेर हामी स्वयं अर्थ ग्रहण र त्यसको व्याख्या गर्ने अर्थात् आफ्नो दुनियाँ स्वयं निर्माण गर्ने उनीहरूको सृजनात्मक क्षमता नष्ट गरिदिन्छौं । अधिकांश केटाकेटीमाथि यही भइरहेको छ । हामी उनीहरूमाथि ‘आफ्ना विचार’ लाद्छौं, तर तिनै विचार पनि हाम्रा आफ्ना नभएर अरूबाट उधारो लिएका हुन्छन् ।

परमप्रभुको चाहना नै हामी आफ्नो दुनियाँको निर्माण आफैं गरौं भन्ने हो । केटाकेटीमा हामीलाई सबैभन्दा बढी आनन्द ती खेलहरूमा आउँथ्यो जब बेकारका–जस्ता कुराहरूसँग खेल्दै हामी आफ्नो कल्पनालाई अभिव्यक्ति दिन्थ्यौं । सुन–चाँदी र रुपैयाँ–पैसा भन्दा बालापनमा तिनै वस्तु हाम्रा निम्ति मूल्यवान हुन्थे । यही कुरा हरेक वयस्कका सन्दर्भमा पनि सही हो । वैयक्तिक सृजनात्मक क्षमता र त्यसबाट प्राप्त हुने आनन्दलाई हामी किन बिर्सन पुग्छौं भने, हाम्रो दिमाग यस्ता कृत्रिम मूल्यहरूबाट संक्रमित र ग्रस्त भइसकेको हुन्छ, जो अन्य व्यक्तिहरूद्वारा निर्धारित गरेर समाजमा प्रचलित गरिएका हुन्छन् । जस्तै; रहनसहनको कुनै खास तरीका, सम्माननीयता प्राप्त गर्ने विशिष्ट मानदण्ड र जीवनशैली । परिवेशको दबाबमा हामी यी कुरा जबर्जस्ती स्वीकार गर्छौं र ईश्वरप्रदत्त सर्वाधिक मूल्यवान उपहार अर्थात् सृजनको क्षमतालाई बलि चढाइदिन्छौं ।

ईश्वर सृष्टिकर्ता हो र हामी स्त्री–पुरुष उसैका सन्तान भएकाले हामी पनि सृजनशील बन्नुपर्छ । तर, यसो भन्नु ती सबैको उद्देश्यका विरुद्ध हुनेछ जो केटाकेटीलाई आफूले तयार गरेका साँचाहरूमा ढाल्न चाहन्छन्— अत्याचारी स्कूल–मास्टर, शिक्षा–प्रशासनसँग जोडिएका मानिसहरू अनि सरकारहरू ।

InspirationalQuotes.Club-limit-learning-time-born-Rabindranath-Tagore

(शिक्षा विमर्श, मार्च–अप्रिल २००६ बाट साभार)

भाषान्तरः शरच्चन्द्र वस्ती

Related Posts

/*sign up form*/