सरकारी स्कूल शून्यतिर निजी स्कूल नब्बेतिरः किन ?

by • • मनका कुरा (ब्लग)Comments (0)262

–  तेजमान आङदम्बे
‘तपाईं के फुर्ती लडाउनुहुन्छ ? म त सरकारी स्कूलको स्थायी टिचर पो हुँ त । बुझनु भो ?’
यस्तो धाक सुनेपछि शिक्षा आयोग पास गर्न तीन–तीन पटक असफल भएर निजी स्कूलमा कार्यरत एकजना निजी शिक्षकले जङ्गिदै जवाफ फर्काए, “धेरै जानेर हो कि कुनै पार्टी वा नेताको गोडा मोलेर स्थायी भएको हो ? २०४६ सालको क्रान्तिको प्रतिकार गर्दै हिंडे पनि क्रान्तिको सफलताको कारण जाँच नै नदिई चिट्ठामा परेर सरकारी स्कूलमा स्थायी भएको त होइन ? एउटै प्रश्नपत्र लिएर तपाईं र म एक पटक शिक्षा आयोगको परीक्षामा सँगै बसिहेरौं त ? सबै भद्रभलाद्मी राखेर तपाईंको र मेरो उत्तरपुस्तिका देखाऊँ त । हिम्मत छ ? सबैभन्दा जान्ने भएकाले आयोग पास गरेर सरकारी स्कूलको स्थायी टिचर भएको भए तपाईंको सरकारी स्कूलमा किन एसएलसीको रिजल्ट सबैभन्दा नजान्नेले पढाएको जस्तो शून्यतिर झ्र्दैछ ? तलबको नाममा पैसाको बाढी उरालेको छ, तालिमको नाममा पैसाको भत्तो बगाएको छ, तर रिजल्ट किन शून्यतिर ? सरकारी स्कूलमा पढेको भन्ने थाहा हुने बित्तिकै किन दुनियाँले हेप्छन् ? सरकारी शिक्षक भन्ने बित्तिकै किन दुनियाँले लम्फू भनेर हेयभावले हेर्छन् ? तर हामी स्थायी हुन नसक्ने ‘अक्षम’ टिचरहरू भरिएका निजी स्कूलहरूमा न त धेरै तलब छ, न त राम्रो पढाउने तालिम नै कसैले दिन्छ ! तर कसरी हाम्रो रिजल्ट नब्बे र सय प्रतिशत ?”
“सरकारी शिक्षकहरू राम्रो ज्ञान सिकेर विद्यार्थीलाई राम्रो सिकाउनलाई सरकारले व्यवस्था गरेको तालिममा गएका होइनन् । भत्तो पचाउन मात्र गएका हुन् । भत्तो थापेपछि त्यही पैसाले आफ्नो व्यक्तिगत काम पूरा गर्ने उनीहरूको मुख्य उद्देश्य हुन्छ” भन्ने आरोप पनि नसुनेको त होइन तैपनि आफूभन्दा दुई तह कम पढ्नेहरूले तालिम दिने एउटा सरकारी स्कूलको तालिममा सहभागी हुन जाँदा डाँगी दाइको क्यान्टिनमा दिउँसो खाजा खाँदा भएको माथि उल्लिखित विवादले सरकारी स्कूल र कलेजहरूमा शिक्षाको स्तर वास्तवमा के कारणले खस्केको रहेछ भन्ने कुरो पत्ता लगाउन मन लाग्यो । ‘म त सरकारी स्कूलमा स्थायी हुनसक्ने क्षमता भएको शिक्षक पो हुँ त’ भनेर खोक्ने सरकारी शिक्षक के कारणले स्थायी हुन नसक्ने निजी स्कूलको एकजना शिक्षकको अगाडि, क्षमताको कुरो निस्कँदा, त्यति साह्रो निरीह हुनु परेको होला ? यो प्रश्नको जवाफ पत्ता लगाउँदा मज्जा आउँदैन र ?
सरकारी स्कूलमा सरकारले अर्बौं खर्च गरेर शिक्षकहरू पालेको छ । वर्षमा कैयौं पटक तालिम दिएको छ (राम्ररी पढाउने तालिम), भत्तो दिएको छ (राम्रो पढाउने भत्तो) । तर यति धेरै सुविधा पाउने सरकारी स्कूलकै रिजल्ट सबैभन्दा खत्तम किन ? यो प्रश्नको जवाफ किन पत्ता नलगाउने ?
अनि सरकारी स्कूलहरूमा के कारणले रिजल्ट जहिल्यै खत्तम आउँछ भन्ने कुरो अनुसन्धान गरेर पत्ता लगाउन पनि नसक्ने हुतिहाराहरूलाई सरकारले किन शिक्षाविद्को पदमा नियुक्त गरेको होला ? यस्ता प्रश्नले सरकारी स्कूलमा आफ्ना छोराछोरी पढाउने नेपाली अभिभावकहरूलाई सताएको धेरै भयो । त्यसैले, सरकारी स्कूलहरूको निराशाजनक नतिजा बुझनको लागि व्यर्थको देउसी भैलो खेल्दै हिंड्नुभन्दा निम्न तथ्यहरूको अध्ययन किन नगर्ने ?

१. विद्यार्थी फेल गराउन नहुने सरकारी नियम
पढे पनि नपढे पनि सरकारी विद्यालयमा विद्यार्थीलाई पास गर्नै पर्ने युरोपियन नियम लादिएको छ जबकि निजी विद्यालयहरूमा नजान्ने र नपढ्नेलाई फेल पार्नै पर्ने नेपाली नियम छ । नपढे पनि पास भएपछि सरकारी स्कूलका विद्यार्थीले किन राम्ररी पढ्ने ? राम्ररी नपढेपछि एसएलसीमा राम्रो रिजल्ट कसरी निस्कन्छ ? कि त एसएलसी वा माथिल्लो तहमा पनि फेल नहुने नियम बनाउनु प¥यो नि !

२. शिक्षकको तलब बढाउँदा पढाइ राम्रो हुन्छ भन्ने सरकारी नियम
सरकारी स्कूलका शिक्षकको तलब बढाउँदा पढाइ राम्रो हुन्छ भन्ठानेर होला वर्षेनि तलब बढाएको बढाएकै छ सरकारले । तर जति तलब बढाए पनि रिजल्ट भने ओरालो झ्रेको झ्¥यै छ । तलब बढाए पनि शिक्षकको पढाउने जाँगर किन नबढेको होला ? यो प्रश्नको उत्तर बुझन जसरी बाघलाई बुझनु छ भने बिरालो हेरे पुग्छ भन्छन् त्यसैगरी निजामती कर्मचारीहरूलाई हेरे पुग्छ । तलब बढाउँदा घुस खान छोड्छन् होला भन्दै सरकारले निजामती कर्मचारीको वर्षेनि तलब बढाउँछ, तर बाह्र वर्षसम्म बंग्याएको कुकुरको पुच्छर जस्ताको तस्तै ! वर्षेनि तलब बढाइदिंदा पनि शिक्षकको पढाउने जाँगर बढ्दो रहेनछ भन्ने कुरो पनि पत्ता लगाउन नसक्ने शिक्षाविद्को सुझव सरकारले किन पत्याउने ?
केही सम्पन्न विद्यालयहरू बाहेक, अधिकांश निजी विद्यालयमा तलब बढ्दैन र धेरै न्यून छ । तर रिजल्ट भने कसरी त्यति राम्रो ? यो समस्याको अनुसन्धान गर्नुपर्दैन सरकारले ? स्पष्टीकरण लिनुपर्दैन उसले नियुक्त गरेका शिक्षाविद्हरूसँग ?

३. नियुक्ति दिइसकेपछि शिक्षकलाई बर्खास्त गर्न पाईंदैन भन्ने सरकारी नियम
प्रजातन्त्रको पुनर्वहाली पश्चातको सरकारी नियम अनुसार, एकपटक नियुक्त गरिसकेपछि कुनै पनि शिक्षकलाई गम्भीर अपराध गरेको बाहेक बर्खास्त गर्न पाईंदैन । तर यो नियम नै विद्यार्थीको पठनपाठनको लागि एउटा ठूलो समस्या सावित भएको छ । मन परे पढाउने, मन नलागे नपढाउने ! कसले के गर्छ ? कसैको बाबुले जागिरबाट बर्खास्त गर्न सक्दैन क्यारे ! राम्रो रिजल्ट नआए के भयो र ? एसएलसीको रिजल्टमा स्कूलले नील नै खाए पनि के भयो र ? आफ्नो तलब आई नै हाल्छ ।
निजी विद्यालयहरूमा यो नियम लागू हुँदैन । रिजल्ट नराम्रो आयो कि स्पष्टीकरण र बर्खास्तीको कुरो अवश्यंभावी हुन्छ ।

४. शिक्षक नियुक्तिमा राजनीति हुनैपर्छ भन्ने सरकारी नियम
‘केही अत्यावश्यक र दुर्लभ विषयका शिक्षक बाहेक, सरकारी स्कूलहरूमा शिक्षकको नियुक्ति राजनीतिक आधारमा हुन्छ । जतिसुकै गोबरगणेश उम्मेदवार भए पनि उसलाई पास गराइन्छ, तर जतिसुकै तेज भए पनि त्यो उम्मेदवारलाई फेल गराइन्छ ।’ यदि यो आरोप सत्य हो भने सरकारी स्कूलको रिजल्ट शून्यतिर गएको कुरो सजिलै अनुमान गर्न सकिन्छ ।
केही अपवाद हुन सक्लान्, तर यो सरकारी नियम निजी विद्यालयमा लागू हुँदैन । जुनसुकै विचारधाराको शिक्षक होस्, तर ऊ परिश्रमी छ, राम्रो पढाउँछ र रिजल्ट राम्रो निस्कन्छ भने त्यस्तो शिक्षकको कदर त्यहाँ राम्ररी हुन्छ ।

५. दण्डसजाय र त्रासको वातावरण हुनुहुँदैन भन्ने सरकारी नियम
शिक्षक मासिक (भदौ, २०६८) मा कैलाली जिल्लाको एउटा निजी विद्यालयमा गृहकार्य नगर्ने विद्यार्थीहरूलाई कारबाही गरेको कुरो अत्यन्तै हाइलाइट गरेर देखाइएको छ । अत्यधिक सजाय दिनु अवश्य नै राम्रो होइन, तर यो पत्रिकाले गृहकार्य नगर्ने विद्यार्थीलाई कारबाही गर्ने निजी स्कूलमा रिजल्ट किन राम्रो आउँछ, तर गृहकार्य नगर्दा पनि सजाय नदिने सरकारी स्कूलको रिजल्ट किन शून्य हुन्छ भन्ने कुराको विश्लेषण गर्न नसकेको पाइयो ।
भनेको नमान्ने, अह्राएको नटेर्ने, गृहकार्य नगर्ने विद्यार्थीलाई निजी स्कूलमा कडा कारबाही हुन्छ भन्ने थाहा भएर पनि किन अभिभावकहरू त्यहीं आफ्ना छोराछोरी पढाउन चाहन्छन् ? विद्यार्थीलाई नपिट्ने, माया मात्र गर्ने सरकारी स्कूलहरूलाई किन दुनियाँले खत्तम स्कूल भन्ने वा हेयभावले हेर्ने गर्छन् ? सरकारी स्कूलको शिक्षक भन्ने बित्तिकै किन दुनियाँले नाक खुम्च्याउँछन् ? यसको कारण पत्ता किन नलगाउने ?
सरकारी स्कूलमा पढाउने एकजना अभिभावकले यस्तो भनेको पाइयो, ‘मेरो छोरो परारको सालसम्म गणितमा राम्रो अंक ल्याउँथ्यो, घर आउने बित्तिकै सधैं गणितको होमवर्क पनि गथ्र्यो, तर पोहोरको साल गणितको होमवर्कमा खासै चासो राखेको देखिएन । वार्षिक परीक्षाको रिजल्ट हेर्दा थाहा भयो, गणितमा मुश्किलले मात्र पास गरेको रहेछ । तर, अहिलेको साल भने फेरि घर आउने बित्तिकै गणितको होमवर्क गर्न थालिहालेको देख्छु । किन रहेछ भनेर बुझ्ेको त अहिले गणित पढाउने सर फेरिएको रहेछ । होमवर्क गरेन भने पिट्दो रहेछ ।’
यसको मतलब, कौटिल्यले भने जस्तै केही मात्रामा भए पनि डर र त्रास विद्यार्थीमा हुनुपर्छ । नभए विद्यार्थीलाई पढ्ने जाँगर नै चल्दैन । केही डर र त्रास शिक्षकमा पनि हुनुपर्छ । नत्र शिक्षकलाई पनि राम्ररी पढाउने जाँगर चल्दैन । सरकारी स्कूलहरूमा युरोपियन बालमैत्री नियम लागू भएको कारण विद्यार्थीलाई डर नै हुँदैन । जागिर कहिल्यै नजाने भएकाले न त शिक्षकलाई नै नपढाउँदा डर लाग्छ । यदि प्रधानाध्यापकले कारबाही गर्न खोजे उल्टै उसको जागिर खतरामा पार्न सक्ने राजनीतिक शिक्षकहरू पनि हुन्छन् सरकारी स्कूलमा । कसैको डर नभएपछि किन विद्यार्थीले पढ्ने ? जागिरको खतरा नभएपछि शिक्षकले पनि किन मन दिएर पढाउने ? जागिर पचायो, बस्यो ।
निजी विद्यालयहरूमा यसको ठीक उल्टो हुन्छ । गृहकार्य गरेन कि विद्यार्थीलाई कारबाही हुन्छ । अनि किन विद्यार्थीले राम्ररी पढ्दैन ? अलिकति लापर्बाही भएको थाहा भयो कि कुनै पनि बेला कुनै पनि शिक्षकको जागिर चट हुन सक्छ । अनि कसरी उसले राम्रो पढाउँदैन ? अनि कसरी राम्रो रिजल्ट आउँदैन निजी स्कूलमा ?
सरकारी स्कूलहरूको ‘ग्रेड टिचिङ’मा विद्यार्थीमा सर–मिसलाई नमस्कार गर्नुपर्ने भावना जगाउनुको सट्टा सरले हामीलाई कतिखेर ‘नमस्कार’ गर्दै आउँछ भन्ने विद्यार्थीको भावना जगाउने बालमैत्री शिक्षाले खोइ त राम्रो रिजल्ट ल्याएको ? बालमैत्रीको नाममा एन्.जी.ओ. र आई.एन.जी.ओ.हरूले डलर पचाउन होस् वा अन्य कारणले सरकारी स्कूलमा प्रवेश गरे पनि निजी स्कूलहरूमा उनीहरूको प्रवेश निषेध वरदान सावित भएको छ । तर त्यही बाल अमैत्री भनिएका निजी स्कूलहरूमा रिजल्ट सबैभन्दा राम्रो भइरहेको छ । यो प्रश्नले कौटिल्य (सापकोटा २०६४ः ५९ मा उद्धृत) को भनाइको स्मरण गराउँछ, ‘माया गर्नुमा धेरै दोषहरू छन्, दण्ड दिनुमा धेरै गुणहरू, त्यसैले आफ्ना विद्यार्थी र छोराछोरीहरूलाई लाड–प्यार होइन, दण्ड देऊ ।’ पूर्वीय दर्शनका एकजना महान विचारक एवं विश्वकै पहिलो अर्थशास्त्री कौटिल्यको यो भनाइलाई कसैले पुरानो वा गुरुकुल, देवकुल, राजकुल वा ऋषिकुल परम्पराको विचार भन्लान्, तर सरकारी स्कूलहरूमा यो कुरो शतप्रतिशत सत्य सावित भएको पाइन्छ । कौटिल्यको भनाइको मतलब हो— विद्यार्थी र छोराछोरीलाई बिगार्ने विचार छ भने उनीहरूलाई छाडा छोडिदिनुपर्छ, अरू केही गर्ने कष्ट गरिराख्नु पर्दैन । हाम्रो नेपालको शैक्षिक सन्दर्भमा यसो पनि भन्नुपर्ला, सरकारी स्कूललाई अझ् बिगार्ने विचार छ भने शिक्षकलाई पनि छाडा छोड्नुपर्छ । विद्यार्थीहरूलाई नियमित रूपमा नपढाए पनि, कोर्स नसकिदिए पनि, कारबाही गर्ने कुनै नियम छैन । ग्रेड टिचर बिरामी भएको दिन वा उसलाई कुनै काम परेको दिन कैयौं दिनसम्म विद्यार्थीहरू पढ्नबाट वञ्चित हुन्छन् । यसरी कसैको डर नभएपछि नराम्रो रिजल्टको के मतलब सरकारी शिक्षकलाई ?
त्यसैले प्रश्न गर्न मन लाग्छ, विद्यार्थी र शिक्षकहरूलाई पुल्पुल्याएर विद्यार्थीहरूको पढाइ बिगार्ने सरकारी स्कूलचाहिं बाल मैत्री, तर विद्यार्थी र शिक्षकलाई कारबाहीको कठघरामा राखेर राम्रो रिजल्ट निकाल्ने निजी स्कूलहरूचाहिं बाल शत्रु ?

६. परिश्रमी शिक्षकलाई प्रोत्साहन नदिने सरकारी नियम
राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो काम गर्नेलाई निरुत्साहित पार्ने नियम भए सरकारी स्कूलमा पनि राम्रो रिजल्ट आउँथ्यो । तर लापर्बाही गरेर हिंड्ने शिक्षकको बढुवा भएको हुन सक्छ, ज्यान दिएर पढाउने शिक्षकको कहिल्यै बढुवा नभएको पनि हुन सक्छ । तर निजी विद्यालयमा यसको ठीक विपरीत हुन्छ । जुनसुकै राजनीतिक विचारधाराको शिक्षक होस्, राम्रो गर्ने शिक्षकलाई प्रोत्साहन स्वरुप अरूले थाहा नै नपाउने गरी भित्रभित्रै बढी तलब दिएको हुन्छ र विभिन्न सुविधा उपलब्ध गराइएको हुन्छ ।

७. चोराएर भए पनि धेरै पास गराउने सरकारी नियम
पढाइ फितलो भएको कारण एसएलसीको रिजल्ट नराम्रो अवश्य आउँछ । तर अर्बौं पैसाको खोलो बगाएर पनि रिजल्ट नराम्रो आयो भने इज्जत जान्छ भन्ने डरले हुनसक्छ चोराउने वातावरण बनाएर भए पनि सरकारी स्कूलको रिजल्ट मध्यम स्तरको देखाउने प्रयास भएको देखिन्छ । चोराएर नै पास गराउने वातावरण भएपछि किन सरकारी स्कूलका विद्यार्थीहरूले मरिहत्ते गरेर पढ्ने ?

८. अनुशासनहीनताको सरकारी नियम
राम्रो रिजल्ट निकाल्नु छ भने अनुशासन चाहिन्छ विद्यार्थीमा । बालमैत्री प्रथा लागू गराएर फटाहा विद्यार्थीलाई प्याट्ट पनि हिर्काउन नहुने नियम लागू गरेपछि विद्यार्थीले शिक्षकको टाउकामा टेक्दैन ? के के न पढाइदिउँला भनेर कक्षामा गएको उत्साहित शिक्षकलाई विद्यार्थीले अमर्यादित व्यवहार गर्छ भने उसले किन ज्यान दिएर राम्रो ज्ञान दिने ? बरु नपढाइ बस्यो । जागिर कसैले खोसिदिन सक्ने होइन । तलब थाप्यो, आफ्नो व्यवहार चलायो, सकियो ।
यस्तो भएपछि फटाहा विद्यार्थीको कारण राम्रा र अनुशासित विद्यार्थी शिक्षकको लापर्बाहीको शिकारमा पर्छन् कि पर्दैनन् ? एक–दुई जना फटाहा विद्यार्थीले कक्षामा हल्ला गरेका कारण, पढ्न खोज्ने सोझ विद्यार्थी मारमा पर्छन् कि पर्दैनन् ? अनि कसरी राम्रो पढाइ हुन्छ सरकारी स्कूलहरूमा ? अर्कोतर्फ, निजी विद्यालयहरूमा अनुशासनको नियम तोड्ने विद्यार्थीलाई भाटा हिर्काएर भए पनि ठीक ठाउँमा ल्याइएको हुन्छ । किन केही निजी स्कूल र कलेजहरूले तलब दिएर बाउन्सरहरू राख्छन् ? एकजना बिराउने शाखा पिराउने विद्यार्थीहरूलाई पड्काएर भए पनि अनुशासनको घेरामा ल्याएर पढाइ राम्रो गराउनु बाउन्सर राख्नुको मुख्य उद्देश्य हो कि होइन ?

९. निरीक्षण नगर्ने सरकारी नियम
सरकारी स्कूलहरूमा विद्यार्थी जतासुकै घुम्दै हिंडे पनि, जेसुकै बोल्दै हिंडे पनि, शिक्षकहरू नपढाई बसे पनि, प्रधानाध्यापकले याद नगरेको आरोप लाग्ने गरेको पाइन्छ । यो बेवास्ताको कारण के होला ? कडाइ गर्दा साथीभाइसँग नराम्रो भइने, केही नै नगरी बसे पनि आफ्नो जागिर नजाने र राम्रो गरे पनि प्रोत्साहन नमिल्ने भएकाले नै यस्तो लापर्बाही भएको हो भनेर औंल्याउने गरेको पाइन्छ । प्रधानाध्यापकले आफ्ना विद्यार्थी कत्तिको अनुशासित छन्, पढाइमा कति ध्यान दिइरहेका छन्, शिक्षकहरूले कत्तिको राम्ररी पढाइरहेका छन्, लापर्बाही पो गर्दैछन् कि ? यस्ता कुराहरू याद नगरेपछि कसरी रिजल्ट राम्रो आउँछ ? निजी विद्यालयहरूमा विद्यार्थी र शिक्षक दुवैलाई प्रिन्सिपलले निगरानीमा राखेको हुन्छ, यतिसम्म कि छात्राबासमा बस्ने विद्यार्थीले बिहान–बेलुका पढ्दै छन् कि छैनन्, छात्राबासका शिक्षकहरूले उनीहरूलाई पढाइरहेका छन् कि छैनन् जस्ता छड्के निरीक्षण गरिरहेको पाइन्छ ।

१०. निष्कर्ष
माथि उल्लिखित कारणहरूको अलावा सरकारी स्कूलको रिजल्ट शून्यतिर झ्र्नुका अन्य कारणहरूमा स्कूलको रिजल्ट जतिसुकै राम्रो आए पनि शिक्षकले विशेष बोनस नपाउनु पनि हो । अर्को कुरो, जिन्दगीमा कुनै कुराको पनि गहिरिएर अनुसन्धान गर्ने बानी नभएको व्यक्ति समेत शिक्षामन्त्रीको पदमा राजनीतिक रूपमा नियुक्त हुनसक्ने प्रावधानका कारणले पनि भताभुंगे देशको लथालिंगे चाला भएको हुनसक्छ । कानून विषय नै नपढेको व्यक्ति कानूनमन्त्री भएको प्रमाणले यो अनुमान गलत होइन भन्ने भान पार्छ ।
अन्त्यमा निष्कर्ष निकाल्नुपर्दा, शिक्षकहरूलाई प्रजातन्त्रको नाममा र राजनीतिको नाममा पुल्पुल्याउने होइन । कसिलो कारबाहीको कठघरामा राखेर पढाइ राम्रो गराउने हो, निजी स्कूलमा जस्तै । बालमैत्रीको नाममा विद्यार्थीलाई पुल्पुल्याउने होइन, अनुशासनको दायरामा ल्याउने हो, निजी स्कूलमा जस्तै । नत्र सरकारी स्कूलको हालत देखेर सधैंभरि पुर्पुरोमा हात राखेर रोइराख्ने स्थिति नआउला भन्न सकिन्न । युुरोपियन देशहरूमा नराम्रो पढेर ‘इ’ ग्रेडमा पास गर्नु भनेको हाम्रो देशको प्रावधानमा फेल नै हो । तर फेल भए पनि जुनसुकै जनतालाई जागिर दिनैपर्ने, जागिर दिन नसकुञ्जेलसम्म बेरोजगार भत्तो दिनै पर्ने समाजवादी युरोपको नियम असमाजवादी नेपालमा लागू गराउँदा मान्छे हाँस्दैनन् ? विद्यार्थीले राम्रो अंक ल्याएर पास गरेन भने असमाजवादी नेपालमा जागिर पाउन कति गाह्रो छ ? कति जना नेताको गोडा मोल्नु ? कति जनाको हनुमान बन्नु जागिर खानलाई ? हाम्रो असमाजवादी देशमा कौटिल्यको नीति सही हुँदो रहेछ भन्ने कुरो निजी स्कूलको रिजल्ट हेर्दा थाहा हुँदैन र ? नयाँ नेपालका नया शिक्षा नीति निर्माणकर्ताहरूलाई चेतना कसरी नभया !
लुम्फाबुङ मावि, लुम्फाबुङ, पाँचथर

शिक्षक  मासिक, २०६९ फागुन अंकमा प्रकाशित

 

Related Posts

/*sign up form*/