सम्बन्धः आमाबाबु र छोराछोरी शिक्षक र विद्यार्थी

by • • चिन्तनComments (0)425

Print Friendly, PDF & Email

जे.कृष्णमूर्ति

शिक्षकलाई शिक्षित गर्नु– अर्थात् उसलाई आफैंलाई नयाँ किसिमले बुझन तयार पार्नु सबभन्दा कठिन काम हो । किनभने धेरै मानिसहरू कुनै विचार–प्रणालीको ढाँचामा पहिले नै ढालिइसकेका हुन्छन् । आफूलाई पहिले नै कुनै विचारधारा वा कुनै धर्म वा आचार–व्यवहारप्रति समर्पित गरेका व्यक्तिले केटाकेटीलाई कसरी सोच्ने होइन, के सोच्ने भनेर सिकाउनु अस्वाभाविक होइन ।

सही शिक्षा आमाबाबु र शिक्षकबाट शुरु हुन्छ । त्यसैले शिक्षाका समस्याको समाधान पनि केटाकेटीमा होइन तिनका बाबुआमा र शिक्षकहरूमा खोज्नुपर्छ ।

आमाबाबु र शिक्षकले आफूलाई र केटाकेटीसँगको आफ्नो सम्बन्धलाई मौलिक रूपले बुझनु एकदमै आवश्यक छ । यदि उनीहरू बालबालिकाको मस्तिष्कमा जानकारी थोपर्ने र परीक्षा उत्तीर्ण गराउने धुनमै मात्र लागिरहन्छन् भने नयाँ ढङ्गको शिक्षा कल्पना मात्र हुन्छ । विद्यार्थीलाई सही मार्गदर्शन र मद्दतको खाँचो हुन्छ । तर मार्गदर्शक नै भ्रान्त, सङ्कीर्ण, अन्धराष्ट्रवादी र मतान्ध छ भने उसको शिष्य पनि त्यस्तै हुनु स्वाभाविक हुन्छ । त्यस्तो अवस्थामा शिक्षा अझ् ठूलो भ्रान्ति र कलहको कारण बन्न सक्छ ।

यस कुराको गम्भीरता बुझने व्यक्तिले भने पहिला आफैंलाई उचित प्रकारले शिक्षित तुल्याउनु आवश्यक छ भन्ने कुराको अनुभूति गरेको हुन्छ । वास्तवमा आमाबाबु र शिक्षकले केटाकेटीको भविष्यको भलाइ र सुरक्षाको चिन्ता गर्नुभन्दा आफैंलाई कसरी नयाँ किसिमले शिक्षित तुल्याउने भन्ने चिन्ता गर्नु बढी जरुरी छ ।

यसबाहेक धेरैजसो आमाबाबु र शिक्षक आ–आफ्नै कलह र चिन्तामा व्यस्त रहन्छन् । धनी होऊन् वा गरिब अधिकांश आमाबाबुु आफ्ना व्यक्तिगत चिन्ता र समस्यामा अल्झ्रिहेका हुन्छन् । उनीहरूलाई सामाजिक तथा नैतिक समस्याहरूका बारेमा कुनै गम्भीर चिन्ता हुँदैन । उनीहरूलाई आफ्ना छोराछोरीको भविष्य सुरक्षित र सफल होला कि नहोला भन्ने चिन्ता मात्र हुन्छ । धेरैजसो आमाबाबुको अभिरुचि आफ्ना छोराछोरीले गतिलो शिक्षा पाउन्, उनीहरूको बिहावारी राम्ररी होस् र उनीहरूको भविष्य सुरक्षित होस् भन्ने कुरामा मात्र हुन्छ ।

सबै आमाबाबुले आफ्ना छोराछोरीलाई माया गर्छन् भन्ने आम धारणा रहेको हुन्छ । तर यथार्थ भने त्यसको विपरीत हुन्छ । अधिकांश आमाबाबु आफ्ना छोराछोरीलाई माया गर्दैनन् । उनीहरू सन्तानलाई माया गर्छौं भनेर थाक्दैनन् । तर विचार गर्नुपर्ने कुरा धेरै छन् । आफूलाई सन्तान किन चाहिएको हो भनेर आमाबाबुले कहिल्यै आफूसँग प्रश्न गरेका छन् ? उनीहरूले आफ्नो नाम टिकाइराख्नका लागि वा आफ्नो सम्पत्ति सुरक्षित गर्नका लागि त सन्तान चाहेका होइनन् ? उनीहरूले आफ्नै आनन्द र भावनात्मक आवश्यकताहरू पूर्ति गर्नका लागि पो सन्तान चाहेका हु्न् कि ? यदि यस्तै हो भने त केटाकेटी भनेका आमाबाबुका इच्छा र आशङ्काहरूका प्रक्षेपण मात्र हुन् ।

आमाबाबु आफ्ना छोराछोरीहरूलाई माया गर्छौं भनेर दाबी त गर्छन् तर उनीहरू दोषपूर्ण शिक्षा दिएर आफ्ना छोराछोरीहरूमा द्वेष, वैरभाव तथा महत्वकांक्षा भरिरहेका हुन्छन् । तर यो कस्तो माया हो जसले राष्ट्रिय र जातीय सङ्घर्ष उत्पन्न गर्छ, जसबाट युद्ध, विनाश र अपार कष्टहरू पैदा हुन्छन्, जसले धर्म र विचारधाराहरूको नाममा मानिसलाई मानिसको विरोधमा उभ्याइदिन्छ ?

जबसम्म हामी हाम्रा केटाकेटी शक्तिशाली बनून्, ठूलो र राम्रो पद प्राप्त गरून्, धेरै सफल होऊन् भन्ने चाहन्छौं तबसम्म हाम्रो हृदयमा केटाकेटीप्रति प्रेम छैन भन्ने बुझ्न्छि । किनभने सफलताको पूजाले द्वन्द्व र कष्टलाई प्रोत्साहित गर्छ । आफ्ना केटाकेटीलाई साँचो प्रेम गर्नुको अर्थ उनीहरूसँग पूर्ण खुलस्त हुनु हो र उनीहरूलाई संवेदनशील, प्रज्ञावान र समन्वित बनाउन सहायक हुने शिक्षा प्राप्त भइरहेको छ कि छैन भन्ने हेर्नु हो ।

आफ्नै समस्याहरूमै व्यस्त रहने बाध्यताका कारण धेरै आमाबाबु आफ्ना केटाकेटीको भविष्य निर्माणको दायित्व शिक्षकलाई सुम्पिदिन्छन् । त्यतिखेर शिक्षकले त्यस्ता आमाबाबुलाई शिक्षित तुल्याउन सघाउनुपर्छ ।

शिक्षकले आमाबाबुलाई उनीहरू आफ्ना केटाकेटीका निम्ति के गर्ने प्रयास गरिरहेका छन् र आफ्नो काम कसरी प्रारम्भ गर्दैछन् भन्ने कुरा बताउनुपर्दछ । उसले अज्ञानी जनसाधारणसँग व्यवहार गर्ने विशेषज्ञको खोल ओढेर होइन, बरु केटाकेटीको स्वभाव, तिनका कठिनाइ, प्रवृत्ति आदि विषयमा कुराकानी गरेर आमाबाबुको विश्वास जगाउनुपर्दछ । शिक्षकले प्रत्येक बालबालिकालाई एउटा स्वतन्त्र व्यक्तिको रूपमा हेरेर उनीहरूमा वास्तविक रुचि लिएमा आमाबाबुलाई उसमाथि विश्वास हुन्छ । प्रबुद्ध शिक्षकले केटाकेटीको सर्वाङ्गीण विकास कसरी गर्ने भन्ने कुरामा विचार पु¥याउनुपर्दछ ।

कुनै व्यक्तिले शिक्षक हुने विचार गर्छ भने सबभन्दा पहिला उसले अध्यापनको वास्तविक अर्थ बुझने प्रयत्न गर्नुपर्छ । ऊ केटाकेटीलाई सामाजिक यन्त्रको एउटा पुर्जा बनाउनका निम्ति संस्कारबद्ध गर्न चाहन्छ कि एउटा समन्वित, सिर्जनशील मानिस बनाउन, मिथ्या मूल्यहरू विरुद्ध उभ्याउन, केटाकेटीको सहयोगी हुन चाहन्छ ? यदि ऊ वास्तवमै बालबालिकालाई मद्दत गर्न चाहन्छ भने ऊ आफैं पनि ती मूल्यहरूप्रति जागरुक हुनु आवश्यक छ । पहिला शिक्षक स्वयंले बुझन थाल्नुपर्छ । उसले निरन्तर सतर्क रहनुपर्छ आफ्नै विचार र भावनाहरूप्रति अत्यन्त सजग हुनुपर्छ । उसले आफू संस्कारबद्ध रहेका तरिका, आफ्ना क्रिया र प्रतिक्रियाहरूप्रति जागरुक हुनुपर्दछ । यही सजगताबाट प्रज्ञा आउँछ र यसैबाट अन्य व्यक्ति र वस्तुहरूसँग उसको सम्बन्धमा मौलिक परिवर्तन हुन्छ ।

परीक्षामा उत्तीर्ण हुनुसँग प्रज्ञाको कुनै सम्बन्ध छैन । प्रज्ञा भनेको एउटा सहज प्रत्यक्ष दर्शन हो जसले मानिसलाई शक्तिशाली र स्वतन्त्र बनाउँछ । केटाकेटीमा यदि यस्तो प्रज्ञा जगाउनु छ भने शिक्षक स्वयंले पनि प्रज्ञा के हो भन्ने कुरा बुझनुपर्छ । आफैंभित्र प्रज्ञाको अभाव छ भने हामी केटाकेटीलाई प्रज्ञावान, विवेकपूर्ण हुनुपर्छ भनेर कसरी भन्न सक्छौं ? केटाकेटीलाई प्रज्ञावान बन्न मद्दत गर्नका लागि हामीले आफूलाई सुस्त र विचारहीन बनाउने सबै किसिमका बाधाहरू भत्काउनुपर्छ ।

जब हामी नै व्यक्तिगत सुरक्षाको खोजीमा लाग्छौं भने त्यसको खोज नगर भनेर हामीले केटाकेटीलाई चाहिँ कसरी भन्न सक्छौं ? यदि हामी आमाबाबु र शिक्षकहरू नै जीवनप्रति पूर्ण रूपले खुलस्त छैनौं र आफ्नो चारैतिर सुरक्षात्मक पर्खालहरू उभ्याउँछौं भने कसरी केटाकेटीलाई आँटिला बनाउन सक्छौं ? हामीले ती सबै मूल्यहरूका विषयमा प्रश्न उठाउन शुरु गर्नुपर्छ जुन मूल्यहरूले हामीलाई चारैतिरबाट घेरिरहेका छन् ।

निकै कम मानिसहरू मात्र आफ्ना विचार र भावनाहरूको निरीक्षण गर्दछन् । यदि हामीलाई कुनै कुरा मन पर्दैनन् भने हामी तिनको तात्पर्य बुझने प्रयत्न गर्दैनौं । हामी कि त तिनलाई रोक्ने प्रयत्न गर्छौं कि तिनको उपेक्षा गरिदिन्छौं । हामीमा आफूप्रति गहिरो सजगता छैन । हाम्रा विचार र भावनाहरू निकम्मा र यन्त्रवत छन् । हामी केही विषय सिक्छौं, केही जानकारी बटुल्छौं र तिनै कुराहरू केटाकेटीसम्म पु¥याउँछौं ।

केटाकेटीलाई भयमुक्त गराउनु छ भने शिक्षक पनि निडर हुनु आवश्यक छ । तर कठिनाई के छ भने कुनै पनि प्रकारको भयको शिकार नभएको शिक्षक फेला पार्न सजिलो छैन । भयले विचारलाई सङ्कीर्ण पारिदिन्छ र नयाँ कुरा गर्ने प्रवृत्तिलाई सीमित गरिदिन्छ । एउटा भयभीत शिक्षक भयमुक्तिको अवस्थाको गहिरो अभिप्रायलाई बुझन सक्दैन । राम्रो काम–कुुरा जस्तै भय पनि सङ्क्रामक हुन्छ । यदि शिक्षक आफैं पनि भित्रभित्रै भयभीत छ भने उसले त्यस भयलाई आफ्ना विद्यार्थीमा सम्प्रेषित गरिदिन्छ । विद्यार्थीमा त्यसको प्रभाव तुरुन्त नदेखिन सक्छ तर त्यसले उनीहरूको विचारलाई भने सङ्क्रमित गरिरहेको हुन्छ ।

कुनै पनि प्रकारको आधिपत्य वा बाध्यता– स्वतन्त्रता र प्रज्ञाको लागि बाधा हो र सही शिक्षाको अर्थ सबै प्रकारको आधिपत्यबाट मुक्ति हो । शिक्षकको होस् वा परिवार र समाजको, केटाकेटीहरू आधिपत्यबाट मुक्त भएपछि मात्र प्रेम र सद्गुणहरूले समृद्ध व्यक्तिका रूपमा विकसित हुनसक्छन् । यसरी विद्यार्थीलाई स्वतन्त्रतातिर अघि बढ्न सघाएर शिक्षकले आफ्ना जीवन–मूल्यहरूलाई पनि परिवर्तन गरिरहेको हुन्छ । ऊ पनि ‘म’ र ‘मेरो’बाट मुक्ति पाउन थालिरहेको हुन्छ । ऊ पनि प्रेम र सद्गुणहरूमा फक्रिइरहेको हुन्छ । तर आफूलाई पङ्गु बनाउने आधिकारिकता र सत्ताबाट शिक्षकले आफूलाई मुक्त गर्नै पर्छ । बुझनुपर्ने कुरा के हो भने सत्ता निर्माणको प्रक्रिया चेतन स्तरमा मात्रै चल्दैन, अचेतन स्तरमा पनि जारी रहन्छ ।

विद्यार्थी अनिश्चयमा छ, ऊ अँध्यारोमा छामछाम छुमछुम गरिरहेको छ, शिक्षक आफ्नो ज्ञानमा निश्चित छ र आफ्नो अनुभवमा दृढ छ । विद्यार्थी आफ्ना शिक्षकको दृढता र निश्चिततामा आश्वस्त रहन चाहन्छ तर यस्तो आश्वासन न त स्थायी हुन्छ न सत्य नै । चेतन वा अचेतन रूपले अरूमाथि आश्रित हुनलाई प्रोत्साहित गर्ने शिक्षक आफ्ना विद्यार्थीको निम्ति कहिल्यै पनि धेरै सहायकसिद्ध हुनसक्दैन । ऊ आफ्नो ज्ञानबाट विद्यार्थीलाई चमत्कृत पार्न सक्दछ, आफ्नो व्यक्तित्वद्वारा ऊ उनीहरूलाई मोहित पार्न सक्दछ, तर ऊ एउटा साँचो शिक्षक होइन । किनभने उसको ज्ञान र अनुभव उसको एउटा व्यसन हो, उसको सुरक्षा हो, उसको बन्दीगृह हो । र, जबसम्म उसले ती सबैबाट आफूलाई मुक्त गर्दैन तबसम्म ऊ समन्वित मानिस बन्नका लागि आफ्ना विद्यार्थीलाई मद्दत गर्न सक्दैन ।

एउटा साँचो शिक्षक बन्नका लागि शिक्षकले पुस्तक र प्रयोगशालाहरूबाट आफूलाई निरन्तर मुक्त गर्न सक्नुपर्छ । विद्यार्थीले आफूलाई उदाहरण, आदर्श, प्रमाण नबनाउन् भन्ने कुरामा ऊ सावधान भइरहनुपर्छ । अधिकांश शिक्षक विद्यार्थीलाई भागीदार बनाउनुको साटो आफ्नो उच्च ओहोदाबाट आदेश दिन्छन् । यस्तो असमान सम्बन्धको कारण के हो ? के आफ्नो वास्तविकता बाहिर प्रकट होला भनेर शिक्षक भयभीत छ ? के शिक्षक आफ्नो निम्छरोपन र वास्तविक हैसियत लुकाउनका निम्ति एउटा सम्मानजनक दूरी कायम राख्न चाहन्छ ?

साँचो शिक्षक पूर्णतया व्यक्तिको स्वतन्त्रता तथा समन्वयको लागि समर्पित हुन्छ, त्यसैले गहिरो अर्थमा ऊ साँचो धार्मिक व्यक्ति हो । ऊ कुनै सम्प्रदायको हुँदैन । ऊ विश्वासहरू र कर्मकाण्डबाट मुक्त हुन्छ । ऊ स्थापित विश्वास र कर्मकाण्डहरू– भ्रम, कल्पना र अन्धविश्वास तथा तिनलाई स्थापित गर्नेका कामनाहरूका प्रक्षेपण मात्र हो भन्ने जान्दछ । जतिखेर आत्मबोध हुन्छ र त्यसको फलस्वरूप मुक्ति हुन्छ, त्यतिखेर नै यथार्थ वा ईश्वर प्रकट हुन्छ भन्ने ऊ जान्दछ ।

कुनै डिग्री नभएका व्यक्ति राम्रो शिक्षक बन्न सक्छन् किनभने उनीहरू प्रयोगको निम्ति तयार रहन्छन् । विशेषज्ञ नभएकाले उनीहरू सिक्नमा, जीवनलाई बुझनमा रुचि राख्दछन् । एउटा साँचो शिक्षकको लागि अध्यापन भनेको प्रविधि होइन, उसको जीवनपद्धति हो, एउटा साँचो कलाकारजस्तै ऊ आफ्नो सिर्जनशील कामलाई छोड्नुभन्दा बरु भोकै मर्न बढी रुचाउँछ ।

व्यक्तिमा अध्यापन गर्ने यस्तो ज्वलन्त अभिलासा नभएसम्म उसले शिक्षक बन्नुहुँदैन । आफूभित्र यस्तो ज्वलन्त अभिलासा छ कि छैन भन्ने पत्ता लगाउनु व्यक्तिको लागि सर्वाधिक महत्वपूर्ण हो, केवल जीविकोपार्जनको निम्ति अध्यापनमा लाग्नु उचित होइन ।

जबसम्म अध्यापन एउटा व्यवसाय हुन्छ, जीविकोपार्जनको एउटा साधन हुन्छ, तबसम्म शिक्षक र बाँकी संसारको बीचमा एउटा गहिरो खाडल बनिरहन्छ । शिक्षकको घरायसी जीवन र काम एकअर्काबाट पृथक् एवं विशिष्ट बनिरहन्छ । जबसम्म शिक्षण अरू जागिरजस्तै एउटा जागिर मात्र हुन्छ, तबसम्म व्यक्तिहरू र अनेक किसिमले विभाजित समाजमा सङ्घर्ष र शत्रुता, प्रतिस्पर्धा र व्यक्तिगत महत्वकांक्षाले निर्ममतापूर्वक पछ्याउने स्थिति तथा राष्ट्रिय र जातीय विद्वेष एवं विखण्डन जारी रहनेछ, प्रतिद्वन्द्विता एवं अन्त्यहीन युद्धहरूको सिलसिला कायम हुनेछ ।
सही शिक्षक बन्नका लागि समर्पित भएपछि घर र स्कूलको जीवनको बीचमा पर्खाल बाँकी रहँदैन । किनभने सबैतिर उसको सम्बन्ध स्वतन्त्रता र प्रज्ञासँग हुन्छ । ऊ धनी तथा गरिब सबैका केटाकेटीलाई समान देख्छ र प्रत्येक केटाकेटीलाई आफ्नै स्वभाव, आफ्नै विरासत र महत्वकांक्षाहरू भएको एउटा व्यक्ति मान्छ । उसको सम्बन्ध कुनै वर्गसँग हुँदैन, न त शक्तिशालीसँग हुन्छ न कमजोरसँग । उसको सम्बन्ध केवल व्यक्तिको स्वतन्त्रता तथा अखण्डतासँग हुन्छ ।

‘शिक्षा एवं जीवनका तात्पर्य’ बाट नेपाली रूपान्तरणः गोविन्द वर्तमान
२०६४ फागुन अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/