समावेशी बहसः कसले के खोज्यौं ?

by • • Highlight, चिन्तन, विचार, विश्लेषणComments (0)55

Print Friendly, PDF & Email

सिद्धान्तहरू चश्मा हुन् । समावेशी भए नभएको हेर्ने । नहुने कारणहरू खोज्ने । समावेशी बन्न बनाउन के गर्नुपर्छ भन्ने आधार दिने । व्रायन बेरीको मानक (normative) सिद्धान्तले भन्छ– व्यक्तिले मानकमा हेर्छ । जातजाति र लैंगिक विभेद कायम गर्ने हिन्दूको मानक मनुस्मृति हो । याज्ञवल्क्य स्मृति हो । अरू धर्मका पनि आ–आफ्नै मानक छन् ।

डा. विद्यानाथ कोइराला

 

 

के मा हेर्यौं ?

वस्तुलाई केमा हेर्ने ? स्थिरतामा ? गतिमा ? दोसाँधमा ? एकल धर्सो (liner) मा ? चक्रीयता (Circular) मा ? पदार्थको रूपमा ? मानसिक रूपमा ? चैतन्य (spirituality) को रूपमा ? हर अवस्थामा दृष्टिकोण फरक हुन्छ । त्यसैले न्यायदर्शनले भन्यो – दृष्टिकोण प्रामाणिक (authentic) होइन । बरू ‘दोष’ हो । पक्षीय हो । समावेशी बहस पनि पक्षीय हो । हुन्छ । सूचक (indicator) मा हेर्नेले आधार (norm) पालन भयो कि भएन भनी खोज्छौं । सूचकमै प्रश्न गर्छौं । सूचकांक (index) मा हेर्नेले संख्या गन्छौं । प्रक्रियामा हेर्नेहरू विधिमा अल्झिन्छौँ । परिणति हेर्नेले भयो के त भन्न थाल्छौं । मनोदशामा हेर्नेले अर्थ्याइ (subjectivity and his/her interpretation) खोज्छौं । व्यक्तिगत अर्थ्याइ । सामुदायिक अर्थ्याइ । साम्प्रदायिक अर्थ्याइ । जसले जसरी हेरे पनि रेबेक्का टाइलर (सन् २०१२) को शब्दमा समावेशी हुन हामीले चार कुरामा ध्यान दियौं– पहिलो अपनत्व (belongingness) मा । दोस्रो, स्वीकार्यता (acceptance) मा । तेस्रो, पहिचान (recognition) मा । चौथो, आर्थिक, सामाजिक, सांस्कृतिक एवं राजनीतिक संस्थाहरूमा पूर्ण सहभागितामा । अर्थात् यी चार कुरामा व्यक्ति सुनिश्चित भएमा समावेशी भयौं । अन्यथा प्रश्न गर्न थाल्छौं ।

कहाँ कहाँ हेर्यौं ?

पश्चिमी अध्ययनहरू भन्छन्, हामी चार ठाउँमा असमावेशी बन्छौं । व्यक्तिगत तहमा । सामुदायिक/सामाजिक तहमा । पेशागत तहमा । विश्व संरचनाको तहमा । त्यसैले उनीहरूले सबै तहमा समावेशी खोजे । व्यक्तिगत तहमा खोज्दा व्यक्तिको समस्या । मनोवेगी समस्या । शारीरिक समस्या । रोजगारीको समस्या । शैक्षिक समस्या । यौनिक समस्या । धार्मिक समस्या । प्रवृत्तिगत समस्या । सांस्कृतिक समस्या । सामाजिक तहमा हेर्दा जात, जाति र वर्गमा हेरे । औपनिवेशितामा हेरे । आदिवासी र आव्रजक (indigenous and settlers) मा हेरे । रंगमा हेरे । अल्पमत र बहुमतको गतिविधि (dynamics) मा हेरे । अपराध र निरापराधमा हेरे । पेशागत तहमा हेर्दा कसले कुन पेशा लियो भनी खोजे । तिनको आम्दानी आकलन गरे । पेशामै भौगोलिक उपस्थितिको विश्लेषण गरे । शैक्षिक क्षेत्रमा को अगाडि र को पछाडि छ भने । कुन धर्मको बढी प्रतिनिधित्व छ भने । कुन राजनीतिक दलको बर्चस्व छ भनी पहिचान गरे । विश्व संरचनाको तहमा हेर्दा कम्पनीगत विस्तार पहिल्याए । कुन कम्पनीको विश्व बजार छ भनी खोजे । कसको अन्तर्राष्ट्रिय आम्दानीमा पहुँच छ भनी विश्लेषण गरे । आव्रजकलाई पो केही अन्याय भयो कि भनी चासो लिइरहे । कल्याणकारी, सुविधामा कति खर्चियौं र कसले के पायो भनी लागत राखे । कुनैप्रति कसैको दृष्टिभ्रम (stigma) छ कि भनी विश्लेषण गरे । यातायातमा विभेद छ कि भनी पहिल्याए । यसरी हेर्दा सामाजिक बहिष्करण खोज्नेले अनेकन् बुँदामा विभेदको विश्लेषण गरे । मूल रूपमा भने लैंगिक र अपाङ्गता अगाडि आयो । उमेर, जातजाति, आर्थिक स्थिति, स्वास्थ्य र बहिष्करणमा परे/पारिएका व्यक्तिहरूको मनोदशाको चित्रण गरिरहे ।

 

सिद्धान्तहरू चश्मा हुन् । समावेशी भए नभएको हेर्ने । नहुने कारणहरू खोज्ने । समावेशी बन्न बनाउन के गर्नुपर्छ भन्ने आधार दिने । व्रायन बेरीको मानक (normative) सिद्धान्तले भन्छ– व्यक्तिले मानकमा हेर्छ । जातजाति र लैंगिक विभेद कायम गर्ने हिन्दूको मानक मनुस्मृति हो । याज्ञवल्क्य स्मृति हो । अरू धर्मका पनि आ–आफ्नै मानक छन् । छुट्टिने मानक । छुट्याउने मानक । समावेशी बन्ने मानक । बनाउने मानक । रावेलको सामाजिक न्यायको सिद्धान्तले समताको कुरा गर्छ । समानताको कुरा गर्छ । वितरित न्याय (distributive justice) को कुरा गर्छ । दलितको कुरा गर्दा अन्तरघुलनको सोच बनाउँछ । जनजातिको कुरा गर्दा सम अवसरको चिन्तन बनाउँछ । यसरी हेर्दा राबेलको सोचले न्याय गर्ने अनेकन् उपायहरू सुझएको छ । समावेशी हुने उपाय । नभएको परिस्थिति आउने कारण । माक्र्सको आर्थिक सिद्धान्तले धनलाई निर्णायक ठान्छ । धनीलाई शोषकको पर्याय ठान्छ । त्यसैले स्थूल तह (macro-level) मा धनलाई राज्यको नियन्त्रणमा ल्याउने सुझव दिन्छ । जनस्तरमा समालोचनात्मक सोच बनाउन एवं जनसशक्तिकरण गर्ने गराउने संरचना खोज्छ । खोजाउँछ । माओको शब्दमा क्रान्तिकारीहरूको निरंकुशताको वकालत गर्छ । नेस्फिल्ड र रिज्लेको सिद्धान्तले चाहिं जातलाई कार्यगत (functional) ठान्छ । कर्मवादी सिद्धान्तले चाहिं जातलाई कार्मिक मान्दछ । गिड्डन्सको सिद्धान्तले व्यक्ति र संरचनामा भन्दा अन्तरक्रियामा फेरबदल खोज्छ । सात्र र ससूरको सिद्धान्तले स्थिरता र गतिशीलतामा न्याय र अन्याय पहिल्याउँछ । उपयोगितावादी सिद्धान्तले सचेत छनोट (rationale choice) र सामाजिक विनिमय (social exchange) मा न्याय र अन्याय छुट्याउँदछ । महिलावादी सिद्धान्तले पितृसत्तालाई दबाबी मान्दछ । महिलालाई अन्याय गर्ने कडी । कडा महिलावादी (radical feminism) ले त पुरुषलाई नै अन्यायी करार गर्छ । लैंगिकवादी (gender analysts) भने अलि लचिला बन्छन् । महिलाको पक्षमा बढी वकालत गरे पनि पुरुष र यौनिक भिन्नता (LGBTI) भएका व्यक्तिमा पनि समपीडा छ भन्ने कुरा स्वीकार्छन् ।

माथिका चश्माहरूले समावेशिता हेर्ने अनेकन् आधार दिएको छ । ती आधारलाई विश्लेषण गर्दा व्यक्ति बहकिन्छ । कहिले संख्या गनेर । कहिले संवेदनामा घोत्लिएर । कहिले आरक्षणको वकालत गरेर । कहिले आरक्षितहरूको क्षमता पुगेन भनेर । कहिले त्यसभित्र पनि पाउनुपर्नेले सेवा पाएन भनेर । यसरी हेर्दा समावेशिताका लागि ‘प्रत्याभूति’ लाई प्रबल ठान्नुपर्ने देखिन्छ । म आफैंमा कति महिलावादी छु ? कति दलितवादी छु ? कति जनजातिवादी छु ? कति मधेशवादी छु ? कति अपाङ्गतावादी छु ? कति गरीबवादी छु ? आदि । यो घोत्ल्याइले सबै चश्माहरूलाई एकसाथ हेर्ने समष्टिगत (integralist/eclectic) दृष्टिकोण बन्छ । आफैंमा विश्लेषण गर्ने संस्कार बन्छ । अर्को शब्दमा भन्दा आफ्ना असहिष्णुताहरूको प्रत्याभूति हुन्छ । सहिष्णु हुने व्यक्तिगत, सामाजिक, आर्थिक, मनोवैज्ञानिक आदि उपायहरूको एकसाथ अवलम्बन हुन थाल्छ । आफ्नै उदाहरणको बलमा अरूलाई परिवर्तन गर्छ । यस अर्थमा आचार्य बनेर । आफ्नो आचरणबाटै अरूलाई समावेशी हुन प्रेरित गर्छ ।

नेपाली चश्मा नि ?

औसतन् नेपालीमा चासो छ । पीडा छैन । चियोचर्चो (concern) छ । समाधान छैन । तहगत मान्यता (hierarchical value) छ । त्यसैले सानो ठूलोमा अल्झिने बुद्धि छ । जातले । स्थानले । धनले । शिक्षाले । पदले । यस अर्थमा हामीसँग कुवामा रमाउने (ghettoid mindset) छ । दैनिकीमा । मानसम्मानमा । त्यसैले हामीसँग कुवाकै मानक (ghettoid norm) छ । एकअर्कालाई तुरुन्तै नामकरण (labeling) गर्ने संस्कार छ । परिणामतः भिन्न (deviant) लाई स्वीकार्ने तागतमा कमी छ । त्यसैले हामीलाई समावेशी बन्न औधी कठिन छ । लैंगिक संरचना (gendered structure) ले गर्दा पुरुषलाई घरभित्रको भान्से बन्न दिंदैन । महिलालाई घर बाहिरको भान्से बन्न दिंदैन । केही समूह र समुदाय अपवाद हुन् । दलितकोमा खान सहज मान्दा पनि दलितलाई सबै वेला सबै ठाउँमा ख्वाउन हिम्मत गर्दैन । यस्ता अनेकन् उदाहरण छन् । भाषाका । खानपानका । जातजातिका । पहाड मधेशका । यस अर्थमा हामी खण्डे समावेशी हौं । बन्छौं । बनाइन्छौं । दलितसँग भाषा मिल्छ । अनुहार मिल्छ । कतिबेला थर पनि मिल्छ । तर अन्तरघुलित हुनसकेका छैनौं । कहिले शास्त्रलाई दोष्याउँछौं । कहिले उमेरलाई । कहिले जातलाई । कहिले अघिल्लो पुस्तालाई । कहिले दलितको शैक्षिक–आर्थिक एवं स्वास्थ्य सम्बन्धी अवस्थालाई । सोही उदाहरण दीर्घ रोगीमा लागू हुन्छ । अपाङ्गमा पनि मिल्छ । महिलामा मिल्छ । यौनिक भिन्नतामा मिल्छ । भाषामा मिल्छ । चुच्चे र थेप्चेमा मिल्छ । मधेशी पहाडेमा मिल्छ । यसको अर्थ हो – हाम्रा चश्माहरू असमावेशी छन् ।

गर्ने के त ?

विजयराज पन्त (२०७१) को अध्ययनले भन्यो – हामी एउटै मानक प्रयोग गर्दैनौं । बहुमानक (double standard/multi-standard) हाम्रो व्यवहार हो । शारदा भुषाल झ (२०७२) को आत्मानुभूतिले पनि त्यसै भन्छ । यी र यस्तै अध्ययन र अनुभूतिले प्रमाणित गर्छ कि हामीले बदल्ने आफू नै हो । आफ्नैमा हो । आफैंले हो । किनकि हामीले ‘उपाध्याय’ बन्न जानेका छौं । अरूलाई अर्ति दिन । ‘आचार्य’ हुन जानेका छैनौं । आफैं गरेर देखाउन । यो स्थितिमा हामीले आफैं र आफ्नैमा केन्द्रित उपायद्धारा समावेशी बन्न सिक्नुपर्छ । ती उपायहरू यस प्रकारका छन् । स्थानसापेक्ष हुने गरी अरू उपायहरू पनि थपे हुन्छ ।

क) आफ्नै समावेशी एवं असमावेशिताको खोजी गर्ने :– पढेकाले दैनिकी लेख्न सक्छौं । बिहानदेखि बेलुकासम्म मैले क–कसलाई भेटें । के कुरा गरें । के व्यवहार गरें । यी तीन बुँदामा लेखिने दैनिकी । घरभित्रका क–कसलाई ? घरबाहिरका क–कसलाई ? यति प्रश्नले हाम्रो व्यवहार बुझ्न्छि । बूढीआमालाई भेटें । कुप्री । फोहोरी । मलाई घिन लागेर आयो । यहाँ अपाङ्गता छ । बूढाबूढीपना (erontology) छ । महिला छ । यहीं प्रश्न गरौं – के म अपाङ्गमैत्री रहेछु त ? के म बूढाबूढीमैत्री रहेछु त ? के म महिलामैत्री रहेछु त ? त्यही कुरा भाइबहिनीमा खोजौं । छोराछोरीमा खोजौं । तिनीहरूसँग भएको विचार भिन्नतामा खोजौं ।

नपढेकाहरूले एकअर्कामा सिक्ने सिकाउने सर्कल बनाउन सक्छौं । सुनेर सिक्ने सर्कल । भनेर सिक्ने सर्कल । सुनाएर प्रत्याभूति गर्ने सर्कल । यसो गर्नाले म के केमा समावेशी रहेछु के केमा रहेनछु भन्ने थाहा हुन्छ । के गरेमा थप क्षेत्रमा समावेशी बन्न सक्छु भन्ने कुराको अनुभूति हुन्छ । तदनुसार आफैं समावेशी बन्ने कामको थालनी गरौं ।

ख) अर्काको आँखामा आफूलाई पढ्ने :- आत्मरति हाम्रो औसतन् स्वभाव हो । अर्काको आँखामा आफ्नो बानी पहिल्याउने संस्कारले हामीलाई समावेशी बन्न मद्दत गर्छ । मैले कसलाई कसरी चित्त दुखाएँ ? कसलाई के बिगार गरें ? यी र यस्तै प्रश्नको अरूबाट उत्तर खोज्नासाथ स्वतः समावेशी बन्ने बाटो भेटिन्छ । किनकि सबैको एउटै प्रतिक्रिया हुन्न । ‘… दाउरे’ गाली हुन सक्छ कसैलाई । अर्कोलाई ‘जस्तो देख्यो त्यस्तै भन्यो’ भन्ने सोच आउन सक्छ । यस स्थितिमा समावेशी बन्न चाहनेले मैले कसो गर्दा तपाईंलाई सहज हुन्छ ? भन्ने बानी बसाल्नुपर्छ । बसालौं ।

ग) व्यापक प्रचारप्रसार गर्ने :- अष्टावक्र अपाङ्ग हुन् । आठ ठाउँमा बाङ्गो भएका प्राज्ञ । ती सम्माननीय थिए । तर तिनलाई खिस्याउनेहरू पनि थिए । क्रमशः अपांगलाई बोझ् मान्नेहरू पनि बने । यस्तै कुरा जहाँ पनि लागू हुन्छ । त्यो स्थितिमा सामाजिक सोच बदल्न व्यापक प्रचारप्रसार जरूरी छ । जातीय छुवाछूत बदमासी हो । छाउवार्दा बच्चीहरूलाई एक्लै गोठमा राख्नु अपराध हो । आमालाई आदर गर्ने, श्रीमती र छोरीलाई हेप्ने बुद्धिबाट बालबालिकाले के सिक्लान् ? जस्ता सन्देशले समावेशी जनमत बन्दै जान्छ । यसका लागि उपलब्ध साधन प्रयोग गर्नुपर्छ । मोबाइल सन्देश । रेडियो सन्देश । अनलाइन सन्देश । भित्ते सन्देश जस्ता तरीकाहरू प्रभावकारी हुन्छन् । यसरी संरचना फेरौं ।

घ) समावेशी समूह निर्माण गर्ने :- अहिले हामी एकल स्वरूपका समावेशी कुरामा फसेका छौं । फसाइएका छौं । दाताबाट । सोच निर्माताबाट । राजनीतिज्ञबाट । महिला समावेशिता । दलित समावेशिता । जनजाति समावेशिता । मधेशी समावेशिता । अपाङ्ग समावेशिता । यी सबै एकल समावेशिताको वकालत हो । अपांग, मधेशी, दलित केटीभन्दा कति थरीको समावेशिता बन्नुपर्ला ? पाका, जनजाति, मधेशी महिला भन्दा नि ? यी र यस्तै सोचहरूलाई एकत्रित गरी स्थानीय तहमै समावेशी समूह निर्माण गर्नुपर्छ । यस्तो समूहले स्थानीय तहकै समावेशी हुनुपर्ने क्षेत्र पहिल्याउँछ । टुहुरी, अपाङ्ग, दीर्घरोगी, हिमाली दलित एउटा समूह हुनसक्छ । मनोरोगी, पहाडी किशोर किशोरी अर्को समूह बन्न सक्छ । यसरी बन्ने बनाइने समूहले तत्स्थानमै समावेशी बनाउने उपाय पहिल्याउँछन् । यस अर्थमा त्यो एकीकृत समावेशी समूह बन्न सक्छ । बनाऔं ।

ङ) जटिलताको कार्यमूलक अनुसन्धान गर्नेः– समावेशीपना जटिल हुन्छ । कतै व्यक्तिगत तहको । कतै सामाजिक तहको । कतै सांस्कृतिक तहको । कतै आर्थिक तहको । कतै राजनीतिक तहको । कतै मानसिक तहको । कतै शारीरिक तहको । यी सबै तह एकै ठाउँमा आउँदा जटिलता बन्छ । त्यो जटिलताको स्थानीय तहमै अध्ययन हुनुपर्छ । समस्या नभए समस्याकरण (problematize) गर्नका लागि । समस्या भए तिनका कारक चल (variables) पहिल्याउनका लागि । अनि समावेश गर्नुपर्ने कुराको स्थानीय उत्तर थाहा पाउनका लागि । सामान्य अभिमुखीकरणले पनि जटिलताको अध्ययन हुनसक्छ । भैंसी किन्नेको अवलोकन विधि प्रयोग गरेर । ‘मैले त चिनिनँ नि नानीलाई !’ भनेर संवादमा बस्ने संस्कारको उपयोग गरेर । यो मुद्दामा क–कसका के–के विचार छन् भनेर खै–खबर गर्ने मगरको पुस्तैनी चलनको खेती गरेर । यस अर्थमा तत्स्थानमै अनुसन्धान विधि प्रयोग गरेर कार्यमूलक अध्ययन गर्ने । अध्ययन पश्चात् समावेशी हुने उपक्रमको थालनी गर्ने । यसो गर्नाले सहज समावेशिता हुन्छ । अन्यथा लाहुरे पुरुष समुदायका जनजाति महिलालाई सशक्तिकरणको पाठ सिकाए जस्तो हुन्छ । सशक्तलाई अशक्त मानेर सिकाउने अहिलेका तरीकाको प्रत्युत्पादन (reproduction) हुन्छ । त्यसैले समावेशी बन्न स्थानीय तहमै तिनका जटिलताको अध्ययन गरौं । तदनुसारकै समावेशी हुने काम गरौं । साम्यवादीको बुझाइमा संरचनामा । अध्यात्मवादी र पूँजीवादीको बुझाइमा व्यक्तिमा । आफैंमा । नवमाक्र्सवादीको बुझाइमा संरचना एवं व्यक्तिबीचको अन्तरक्रियामा । मेरो बुझाइमा एकसाथ सबै क्षेत्रमा । अर्थात् संरचनामा । व्यक्तिमा । अन्तरक्रियामा । समावेशी एवं असमावेशी बनाउने धार्मिक, सामाजिक, राजनीतिक, कानूनी दस्तावेजहरूमा । अर्को शब्दमा भन्दा किलो उखेल्ने तरीका अपनाऔं । असमावेशी बनाउने किलो ।

 

च) बहु उपायक समावेशी तरीका अपनाउने :- समावेशिताका निम्ति लागू गरिएको आरक्षणको लाभ लक्षित समूहको पनि सम्पन्न तप्काले मात्रै पाइरहेको आम बुझाइ छ । यस सम्बन्धमा भोजराज पोखरेलको १५ चैत २०७२ को कान्तिपुर को लेख र तुफान न्यौपानेको २८ चैत २०७२ को हिमाल को रिपोर्ट सान्दर्भिक हुनसक्छन् । तिनले स्थितिबोध गराउँछन् । नीतिबोध गराउँछन् । नीति र स्थितिबीच तालमेल राख्ने बहुउपायको खोजी गराउँछन् । तत्स्थानमै सर्वेक्षण अर्को तरीका हुनसक्छ । अनि प्रश्न गर्नुपर्छ ‘गर्ने के त ?’ यी र यस्तै प्रश्नहरूले तत्स्थानमै उत्तर फेला पर्छ । जस्तो रोजगारीमा दलितको पहुँच कम भयो । गर्ने के त ? तत्स्थानमै गर्ने के हो ? नीतिगत तहमा गर्ने के हो ? व्यक्तिगत तहमा नि ? सामुदायिक तहमा नि ? अन्तरक्रियाको तहमा नि ? दस्तावेजहरूको तहमा नि ? एकसाथ सबै तहमा नि ? यस्ता प्रश्नहरूले बहु उपायक उत्तरको त्यहीं खोजी हुन्छ । समाधान त्यहीं थाहा हुन्छ । व्यावहारिक उत्तर । व्यावहारिक उपाय ।

रहनी के त ?

तह (hierarchy) जीवन्त सिकाइ हो । कुपमण्डूक मानक चाहिं जीवनभरको बुझाइ हो । गराइ हो । यसैले हाम्रो रगतमा उपयोगितावादी समावेशीपना छ । विवाहमा साइत पर्छ भनेर दमाई अघि लगाउने । अघिपछि ‘छोयो’ भनेर निहुँ खोज्ने । यी दोहोरा मानकहरू सर्वत्र छन् । समावेशी हुनुपर्ने हर क्षेत्रमा । यसको अर्थ हो– हरखाले पश्चिमी चश्माले हाम्रो समाजको विश्लेषण गर्न सक्छ । पूर्ण विश्लेषण भने हुन सक्तैन । किनकि हाम्रा मानकहरू फरक छन् । बिहेको निम्तोमा नाता समाउने । आर्थिक हैसियतलाई मात्रै आधार नमान्ने । दशैंमा टीका लगाउँदा नाता हेर्ने । बहुजातिको छिमेक बिर्सने । आहुतिको शब्दमा ‘वैशिष्ट्यता’ बोकेको समाजमा बसेका छौं । त्यसैले पश्चिमीवादमा मात्र टेकेर समावेशी बन्न सक्तैनौं । हामी छोरी, पत्नी र आमामा भेद गर्छौं । नारीवादीले यसको भेद पाउन्नन् । उनीहरूले महिला चिन्छन् । छोरी ढोग्ने र ढोगाउनेले छोरीलाई नै हेपेको किन ? पत्नी कुट्नेले पूजामा ‘सपत्नी’ भनेको किन ? आमालाई स्वर्गभन्दा ठूली भन्नेले बुढेसकालमा एक्लै छोडिदिएको किन ? यस्ता अनन्त ‘किन’ हरू हामीसँग छन् । अनुत्तरित रूपमा छन् । त्यसैले मेरो पहिलो रहनी हो – आफू र आफ्नो समाजलाई बहुचश्माबाट बुझौँ । यसोगर्दा हाम्रो वैशिष्ट्यता थाहा हुन्छ । तदनुसारका उपायहरू गरौं ।

दोस्रो रहनी हो – ‘वैशिष्ट्यता’ को एकल समाधान छैन भन्ने बुझैं । नियम फेर्यौं । रीति फेरिएन । संस्कृति फेरिएन । सांस्कृतिक नियम फेरिएनन् । परिणामतः जात–जातीय छुवाछूत सार्वजनिक ठाउँमा मात्र निषेध गर्ने बुद्धि बन्यो । व्यक्तिगत तहमा निषेध गर्न किन नहुने ? छाउवार्दा पनि बाइकमा सम बन्यौं । मन्दिरमा असमान किन ? अपाङ्गमैत्री सार्वजनिक स्थल बनाउँदैछौं । अपांगमैत्री घरबारे नसोचेको किन ? भाषिक असहिष्णु छँदै थियौं – भाषिक सहअस्तित्वको चिन्तन कार्यान्वयन नगरेको किन ? लोकतन्त्रात्मक व्यवस्थाको वकालत गरेकै थियौं राजनीतिक दलहरू फुटिरहेको किन ? यस्ता किनहरूको बहुयोजक जराहरू चुँडाल्न थालौं ।

तेस्रो रहनी हो – हामीले एकल समावेशिताको वकालत गर्यौं । पुग्यो । अब बहुसमावेशिताको उपाय खोजौं । एउटा समुदाय/व्यक्ति/समूहका बहुसमावेशिताका सम्भाव्य स्थानीय कडीहरू पहिल्याऔं । पात टिपेर दिसा पुछ्ने हिमाली र पानी लिएर पिसाब गर्न जाने मुस्लिमलाई दिसा गर्दा मात्रै पानी खोज्ने बाहुन, क्षेत्री वा मधेशीको चिन्तनमा कसरी समावेश गर्ने ? कोसँग को समाहित हुने ? कसरी ती फरकहरू हुन्छन् भनी जानकार कहिले बन्ने ? कसले बनाउने ? यसरी खोजेर बहुसमावेशिताको डिजाइन बनाऔं ।

चौथो रहनी हो – हामी भन्न जान्दछौं । गर्दैनौं । गर्न जान्दैनौं । त्यसैले समदर्शिताको वकालत गर्छौं । विसमदर्शिताको व्यवहार गर्छौं । ‘मान्छे केटाकेटी कुरा गर्छौ जेठी’– बालबालिकाप्रतिको विसमदर्शिता हो यो । ‘बूढो भएर पनि जिस्किने’– पाकाहरूप्रतिको उपेक्षा हो यो । यस्ता अनेकन् विरोधाभाषी विषमताहरूको उत्तरसहितको खोजी गरौं । तत्स्थानमै समाधान गरौं । नभए अन्यत्र सिफारिश गरौं ।

पाँचौं रहनी हो – हामी जेलाई पनि तह (hierarchy) मै चिन्छौं । चिनाउँछौं । भाषामा । व्यवहारमा । नातामा । चलनचल्तीमा । ती सबै तहलाई एकछत्र बनाउने कडी खोजौं । अपनाऔं ।

छैटौं रहनी हो – समावेशिताको स्थानीय सूचक, सूचकाङ्क र अर्थ्याइको लिखत राखौं । सोही लिखत अनुसारको व्यवहार भए नभएकोबारे लेखाजोखा गर्ने समूह बनाऔं । टोलको समूह । बस्तीको समूह । यो अभियानी समूहले को कति समावेशी भयौं भनी जानकारी देऔं । तदनुसार सुधारका बाटाहरू सुझऔं ।

सातौं रहनी हो – ‘सानालाई ऐन ठूलालाई चैन’ हाम्रो सामाजिक सम्पदा हो । यो सम्पदा नबदलिंदा विधिको शासन बन्दैन । लोकतन्त्र चल्दैन । विकेन्द्रीकरण हुँदैन । समता सुनिश्चित हुँदैन । यस स्थितिमा मेरो रहनी हो विधिको शासनमा सबै क्रियाशील बनौं ।

आठौं रहनी हो – आरक्षण अहिलेको बुद्धि हो । जातजातीय आरक्षण । लैंगिक आरक्षण । क्षेत्रीय आरक्षण । यी र यस्ता आरक्षणहरूले क्षमता हेरेनन् । आर्थिक क्षमता । सामाजिक क्षमता । बौद्धिक क्षमता । यस परिवेशमा मेरो रहनी हो – सक्षमतामा (merit based_ आधारित वितरित आरक्षण (distributive reservation system) लागू गरौं । त्यसोगर्दा बहुपूरक (composite index) आधारको अनुसरण गरौं । अपाङ्ग, दलित, गरीब, मधेशी महिलाले पाँच कुरामा अङ्क पाउने आधार । अपाङ्ग, गरीब हिमाली महिलाले तीन कुरामा अङ्क पाउने व्यवस्था । यसो गर्नाले आरक्षण यथार्थ बन्छ । अन्यथा डा. विनयकुमार कुशियैत (२०७१) ले पाए झैँ गहिरोमै पानी जम्छ । आरक्षित हुनुपर्नेहरू बाहिरिन्छन् ।

नवौं रहनी हो – आरक्षित हुनु अधिकार हो भन्ने मान्यता झिकौँ । म तागतवाल भएँ भन्नासाथ आरक्षितबाट बाहिरिऔं । धनले सक्षम भए । आरक्षित हुन्न । तागतले सक्षम भए । आरक्षण चाहिन्न । यस अर्थमा सित्तैं खाने आरक्षणलाई किन्नुपर्ने आरक्षण बनाऔं । आरक्षित भएबापत मैले गर्नुपर्ने काम भनी तोकौं । लागू गरौं ।

दशौं रहनी हो– समावेशिताको दिमागी समाधान हुन्छ । त्यसैले हिजो बनेका दिमागमा नयाँ दिमागको खेती गरौं । समावेशी बन्ने क्रम आफैंबाट शुरू गरौं । अभियानको रूपमा अघि बढाऔं । आवश्यक ठाउँमा व्यक्तिको, घरको, समाजको, संस्कारको र राष्ट्रको नीति फेरौं । त्यसका निम्ति क्रियाशील बनौं ।

एघारौं रहनी हो – हाम्रा शब्द प्रयोगहरू बदलौं । आक्रोशमा बोलिने शव्दहरू छन् । मापसेपछि बोलिने शब्दहरू छन् । आफूलाई ठूलो ठान्ने आत्मकेन्द्रित बोलीहरू छन् । सबै जातमा । सबै जातिमा । सबै भौगोलिक क्षेत्रमा । सबै धर्ममा । सबै भाषामा । ती सबैलाई क्रमशः खुइल्याउँदै अन्त्य गरौं । समावेशी बन्न बनाउन हामी सक्छौं । तर बदलिने अठोट चाहिन्छ । बदल्न पक्कै सकिन्छ । एकै शर्त हो उपाध्यायी वृत्ति कम गरौं । आचार्यायी वृत्ति बढाऔं । अहिले भनिने पितृसत्तात्मक सोच, ब्राह्मणवाद, नारीवाद, मधेशवाद, पहाडे मानसिकता, जातजातीय राष्ट्र जस्ता उपाध्यायीय शब्दहरूलाई आचार्यायीय कसीमा आफैंलाई हेरौं । समाजलाई हेरौं । राज्यका तीनै अंगमा हेरौं । तिनले उठाएका मुद्दा समाधान गर्न उपाध्यायीय एवं आचार्यायीय तहका सबै क्षेत्रमा एकसाथ क्रियाशील बनौं ।

यो सामाग्री शिक्षक मासिकको २०७३ जेठ अंकमा प्रकाशित छ ।

Related Posts

/*sign up form*/