सफल विद्यालयका असल अभ्यास जसलाई पनि काम लाग्छन् !

by • • रिपोर्टComments (0)4996

Print Friendly, PDF & Email

–  रोश्ना सुब्बा
तपाईंको विद्यालय किन राम्रो भएन वा हुन सकेन भनेर सोध्यो भने प्रायः सामुदायिक विद्यालयका प्रधानाध्यापकहरूको जवाफ हुन्छ— शिक्षकहरू पूरा समय विद्यालयमा बस्दैनन्, भनेको टेर्दैनन् । शैक्षिक तथा पूर्वाधार विकासका लागि आर्थिक स्रोत छैन । व्यवस्थापन समिति निष्क्रिय छ । कमजोर आर्थिक अवस्थाका अभिभावक छन् र उनीहरू आफ्ना केटाकेटीको पढाइप्रति वास्ता गर्दैनन् । नजिकै निजी विद्यालय छन्, आदि इत्यादि । प्रअ आफैं नै उत्प्रेरित नभएको यस्ता विद्यालयमा शैक्षिक वातावरण निराशाजनक पाइन्छ ।

‘राम्रा अभ्यास’ सम्बन्धी कार्यक्रमका सहभागीहरू— कीर्तिपुर नगरपालिकाकी उपमेयर सावित्री खड्का, मेयर रमेश महर्जन, त्रिविका पूर्व उपकुलपति प्रा.डा. हीराबहादुर महर्जन र जनसेवा माविका विव्यस अध्यक्ष माधवलाल महर्जन (बायाँबाट क्रमशः) ।

तर, उस्तै अवस्थाका कतिपय विद्यालयमा भने प्रअ स्वयं प्रेरित भएर लागेका भेटिन्छन् । कैयौं अप्ठ्यारालाई पाखा लगाउँदै अघि बढेका पाइन्छन् । विद्यालयको स्तर जसरी भए पनि उकासेरै छाड्छु भनेर खट्दा लक्ष्य पनि प्राप्त गरेका छन् । यस क्रममा उनीहरूले कसरी र के गर्दा राम्रो गर्न सकिन्छ भनेर मिहिनेत र समय खर्चेका हुन्छन् । विभिन्न प्रयास र उपाय गरेका हुन्छन् । यसलाई नै हामी ‘असल अभ्यास’ भनेर बुझछौं । शैक्षिक र भौतिक अवस्थाका आधारमा अब्बल मानिएका कीर्तिपुर नगरपालिकाका तीन वटा सामुदायिक विद्यालयले यही १८ कात्तिकमा आ–आफ्ना असल अभ्यास एक कार्यक्रममाझ् प्रस्तुत गरे ।

कीर्तिपुर नगरपालिका क्षेत्रमा १० मावि र तीन प्रावि गरी १३ वटा सामुदायिक विद्यालय छन् । नगरपालिकाले यी सबै विद्यालयका प्रअ, शिक्षक तथा व्यवस्थापन समिति पदाधिकारीलाई सहभागी गराई तीनवटा विद्यालयका सफल अभ्यास आदान–प्रदान कार्यक्रम संचालन गरेको थियो । जनसेवा माविमा आयोजित कार्यक्रममा मंगल माविका प्रधानाध्यापक लोकलाल महर्जन, आदिनाथ माविका प्रअ जुजुभाई महर्जन र जनसेवा माविकी प्रअ नन्दकुमारी महर्जनले आ–आफ्ना अभ्यास प्रस्तुत गरेका थिए ।

तीन वटै विद्यालयका असल अभ्यासमा धेरै समानता छन् । यी विद्यालयमा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि कमजोर विद्यार्थीको सिकाइस्तर उकास्न अतिरिक्त कक्षा र मनोविमर्श सेवाको व्यवस्था छ । शिक्षण सिकाइमा सूचनाप्रविधिको प्रयोग र नियमित गृहकार्य जाँच गरिन्छ । अभिभावकलाई विद्यालयमा आउन र योग्यता पुगेका शिक्षकलाई थप पारिश्रमिक दिई माथिल्लो कक्षामा जान उत्प्रेरित गर्ने गरिएको छ । कतिपय सार्वजनिक विदाका वेला पनि पठनपाठन हुने गरेको छ । शिक्षकको पेशागत विकासका लागि आन्तरिक तालीम र उत्कृष्ट शिक्षकलाई पुरस्कारको व्यवस्था छ । यस्तै; प्रधानाध्यापकबाट नियमित कक्षा अवलोकन र विद्यालय व्यवस्थापन समितिबाट साप्ताहिक अनुगमन हुने गरेको छ । उनीहरूले भौतिक पूर्वाधार जुटाउन देश–विदेशमा रहेका पूर्व विद्यार्थी, व्यक्ति तथा गैरसरकारी संस्थाबाट पारदर्शी ढंगमा सहयोग लिएका छन् ।

राम्रा अभ्यास गर्ने तीनवटा मध्येको आदिनाथ विद्यालयले धेरै अघिदेखि नै उदाहरणीय कार्य गर्दै आएको छ । यो विद्यालय २०५८ सालमा देशभरिकै उत्कृष्ट ठहरिएर राष्ट्रिय पुरस्कार पाउन सफल भएको थियो । यस्तै २०६३ सालमा पनि उत्कृष्ट उच्च माविका रूपमा राष्ट्रिय पुरस्कार पायो । हाल यहाँ झण्डै  १२ सय विद्यार्थी पढ्छन् । केटाकेटीको सिकाइस्तर घरमा अभिभावक वा अरू सदस्यले थाहा पाउन् भनेर उत्तरपुस्तिका घर पठाउने उदाहरणीय अभ्यास आदिनाथ माविले २६ वर्षअघि नै शुरू गरेको हो । आदिनाथका प्रअ जुजुभाई महर्जन भन्छन्, “यो अभ्यास संभवतः पहिलोपटक हामीले शुरू गरेका हौं । त्यसपछि यहाँका शिक्षक अन्यत्र विद्यालयमा जाँदा अरू विद्यालयले पनि यस्तो अभ्यास लागू गरेका छन् ।”
त्यस्तै जनसेवा माविमा पनि करीब १२ सय विद्यार्थी अध्ययनरत छन् । प्रधानाध्यापक नन्दकुमारी महर्जन आफ्नो विद्यालयको विकास र सफलताका निम्ति व्यवस्थापन समितिलाई विशेष जस दिन्छिन् । कुनै वेला विद्यार्थी संख्या २३५ मा झ्रेको सो विद्यालयको पुनरुत्थानमा विद्यालय व्यवस्थापनले अहं भूमिका निर्वाह गरेको महर्जनको अनुभव छ ।

आफ्नो विद्यालयको व्यवस्थापन समिति अपेक्षित मात्रामा सक्रिय र उत्साही नभएको अनुभव गरिरहेका कार्यक्रमका एक सहभागी तथा बालकुमारी माविका प्रअ छत्रमणि अर्याल पनि जनसेवा मावि माथि उठ्नुको एउटा मुख्य कारण त्यहाँको सक्रिय व्यवस्थापन समितिलाई ठान्छन् । आफ्नो विद्यालयमा कहिल्यै सक्रिय समिति आउन नसकेको उनको गुनासो छ । यो कार्यक्रमपछि उनलाई व्यवस्थापन समितिमा सक्रिय व्यक्ति ल्याउन प्रअले पनि सकारात्मक भूमिका खेल्नु पर्दोरहेछ भन्ने लागेको छ । उनका अनुसार राम्रा विद्यालयका असल अभ्यास अरू विद्यालयले पनि गर्न सक्ने खालका छन् । “गर्दागर्दै छाडेको काम गर्न यो कार्यक्रमले प्रेरित गरेको छ”, प्रअ अर्यालको कथन छ ।

आफ्नो विद्यालयका ‘राम्रा अभ्यास’ प्रस्तुत गर्दै आदिनाथ माविका प्रअ जुजुभाई महर्जन ।

यस्तै बाघभैरव माविका प्रअ शिवहरि गिरी सफल विद्यालयका असल अभ्यास सम्बन्धी अनुभव आदान–प्रदान कार्यक्रमले आफूमा उत्साह थपेको बताउँछन् । भूतपूर्व विद्यार्थी, विभिन्न व्यक्ति तथा संघसंस्थासँग सम्पर्क राखी राम्रो प्रस्ताव पेश गरेर विद्यालयको विकासका निम्ति आर्थिक स्रोत जुटाउने उपाय उनलाई ठीक लागेको छ । बन्द हड्ताल, धेरै सार्वजनिक विदाका कारण विद्यार्थीको पढाइ लेखाइमा असर पर्ने हुँदा अब सार्वजनिक विदाका वेला आफ्नो विद्यालय संचालन गर्ने सोच पनि उनले बनाएका छन् । उनी भन्छन्, “सुविधा वा सट्टा विदा दिएर शिक्षकलाई पे्ररित गर्नु प¥यो । जब शैक्षिक गतिविधि बढ्छ, शैक्षिक स्तर पनि उच्च हुन्छ ।”

कमजोर विद्यालयले पनि आफ्नो विद्यालय सुधारका लागि केही गरुन्; सिकून् भनेर कीर्तिपुर नगरपालिकाले यस्तो कार्यक्रम आयोजना गरेको हो । छिमेकी विद्यालय वा जिल्ला वा देशका जहाँका भए पनि एकले गरेको असल र सफल अभ्यास सिकेर अर्को विद्यालय अघि बढ्न सक्छ । कीर्तिपुरका उत्कृष्ट तीन विद्यालयका प्रअहरूले पनि आफ्नो प्रस्तुतिका क्रममा अरूबाट केही राम्रा अभ्यास सिको गरेको बताएका थिए ।

तस्वीरः खड्गबहादुर मगर 

Related Posts

/*sign up form*/