संस्कृत भाषा प्रशिक्षण श्रृङ्खला — १

by • • विविधComments (0)667

Print Friendly, PDF & Email

– आमोदवर्धन कौण्डिन्न्यायन

संस्कृत भाषा सर्वप्राचीन र परिष्कृत भाषा हो । छोटकरीमा धेरै कुरा बताउन सक्ने विलक्षण क्षमता पनि यस भाषामा रहेको छ । संस्कृत वाङ्मयले मानवजीवनका सर्वाङ्गीण पक्षलाई अर्थात् धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थलाई सन्तुलित रूपमा प्रतिनिधित्व गर्दछ । यस भाषामा वेद, वेदाङ्ग, स्मृति, पुराण, आयुर्वेद, इतिहास, नीतिशास्त्र, दर्शन, ज्योतिष, योग, तन्त्र, प्रशासन, कृषि, पशुपालन, वाणिज्य, यन्त्र, स्थापत्य, मूर्तिकला, चित्रकला, सङ्गीत इत्यादिको विशाल भण्डार उपलब्ध छ । यसमा व्यवहारोपयोगी विविध ज्ञान-विज्ञानसमेत भएकाले विश्वभरिका मानवका लागि यो भाषा महत्वपूर्ण हुनुका साथै कौतूहलको विषय पनि बन्दै आएको छ । संसारका विभिन्न भाषाका व्याकरणहरूमध्ये संस्कृत भाषाको पाणिनीय व्याकरण अत्यन्त परिष्कृत र उत्कृष्ट मानिन्छ । त्यसैले यो भाषा सरल र वैज्ञानिक पद्धतिले सिक्न सकिन्छ ।

उहिल्यै नेपाल र भारतमा शिक्षा भन्नेबित्तिकै संस्कृतमूलक शिक्षा नै बुझिन्थ्यो । त्यसैले शिक्षित सबैजसो व्यक्तिले केही-न-केही संस्कृत जानेकै हुन्थे । तर २०२८ सालको नयाँ शिक्षा योजनाले नेपालमा शिक्षाको मूल धारबाट (प्रवेशिका परीक्षाबाट) संस्कृतलाई हटाइदिएकाले यसमा रहेका लोकोपयोगी ज्ञानबाट समेत अधिकांश नेपाली वञ्चित हुने स्थिति आएको छ । अहिले त तल्ला कक्षाबाट समेत संस्कृत हटाइसकिएको छ र नयाँ पुस्ताले संस्कृतको नामै नसुन्ने वातावरण बनाइएको छ । संस्कृतविनाको शिक्षा अपूर्ण नै हुने देखिए पनि नेपाली शिक्षाविद्हरूले संस्कृतलाई पाठ्यक्रममा पुनः समावेश गर्नुपर्छ भन्न मात्र पनि सकिरहेको देखिंदैन । आज सबै­लाई सुसंस्कार, सत्सङ्ग, सदाचार, सद्वाङ्मयको अध्ययन, स्वदेशप्रेम र सुशिक्षाको अत्यन्त खाँचो छ । त्यसैले नयाँ पुस्तालाई सही बाटो देखाउन पनि संस्कृत वाङ्मयको महत्वपूर्ण भूमिका हुन्छ ।

संस्कृतको महत्व , उपयोगिताआकर्षण  शीर्षकको लेखमा (शिक्षक मासिक, भदौ २०७३) संस्कृतको के महत्व छ ? संस्कृत सिक्न किन आवश्यक छ ? यसबाट हामीलाई केके लाभ हुन्छ ? इत्यादि प्रश्नको समाधान गरिसकिएको छ । आजभोलि अनौपचारिक रूपमा भए पनि संस्कृत सिक्न चाहनेहरूको संख्या बढिरहेको अनुभव भएको छ । त्यसैले यो लेख श्रृङ्खलामा संस्कृत सिक्न चाहनेका निम्ति सहयोग पु¥याउने विषयवस्तु प्रस्तुत गर्न खोजिएको छ । पाठकहरूमा संस्कृत भाषा सिक्ने रुचि देखिएको खण्डमा यो स्तम्भलाई निरन्तरता दिइनेछ ।

औपचारिक रूपले संस्कृत पढ्न नपाएका युवा र प्रौढहरूका निम्ति सरल तरिकाले छोटो समयमा संस्कृत भाषा सिकाउने र वैदिक जीवनशैलीको महत्व बुझउने कक्षाहरू स्वाद्ध्यायशालाको सक्रियतामा काठमाडौंमा विगत ८-९ वर्षदेखि चलाइराखिएका छन् । त्यसका निमित्त आवश्यक पाठ्यपुस्तकहरू व्यावहारिकं संस्कृतम् १-३ भाग र सनातन धर्मसंस्कृतिशिक्षा  प्रथम भाग पनि प्रकाशित गरिएका छन् । यसै सन्दर्भमा टाढाका र नियमित रूपमा कक्षामा उपस्थित भएर संस्कृत सिक्ने अवसर नपाएका बहुसङ्ख्यक जिज्ञासुका निम्ति लेखका माध्यमबाट पनि संस्कृत सिकाउन सकिन्छ कि भनेर यो प्रयास थालिएको हो । यस विषयमा आधुनिक शिक्षा दिन स्थापित भएका विद्यालयका विचारशील सञ्चालक र शिक्षकहरूले पनि गम्भीर भएर सोच्न र पाइला चाल्न आवश्यक भैसकेको छ ।

पूर्वप्राथमिक वा प्राथमिक कक्षादेखि कक्षा आठ सम्मका विद्यार्थीका निम्ति सरकारी पाठ्यक्रममा नभए पनि अनौपचारिक रूपमा नेपाली विषयसितै मिलाएर सरल र उपयोगी रूपमा नेपाली विषयकै शिक्षकद्वारा पढाउन सकिने संस्कृतको पाठ्यक्रम र विस्तृत शिक्षक निर्देशिका विज्ञ व्यक्तिद्वारा बनाएर विद्यालयहरूले पढाउन पनि सक्छन् । एकोहोरो रूपले अङ्ग्रेजी भाषाको माध्यम भनी शिक्षा चलाउनाले उच्च माध्यमिक तह उत्तीर्ण गरेका आजभोलिका केटाकेटी नेपाली भाषामा मात्र हैन अङ्ग्रेजी भाषामा र अरू विषयहरूमा पनि कमजोर हुन पुगेका देखिन्छन् । यो देशकै निमित्त सोचनीय अवस्था हो । यसमा सुधार गर्न पनि संस्कृतलाई अपनाउनैपर्ने हुन्छ ।

बालबालिकालाई सानै उमेरदेखि संस्कृतका केही श्लोक छानेर शुद्धसँग कण्ठस्थ पार्न लगाउने र तिनलाई भाका हालेर वाचन गर्न लगाउने हो भने उनीहरूमा जुनसुकै भाषाका शब्दको स्पष्ट र शुद्ध उच्चारण गर्न सक्ने क्षमता विकसित हुन्छ । त्यसका लागि केही स्तोत्र र नीतिश्लोक घोकाउन सकिन्छ । तसर्थ विद्यालयहरूमा कम्तीमा एक जना शिक्षक संस्कृतसमेत राम्ररी जानेको राख्नु उचित र आवश्यक देखिन्छ ।

कर्ता, कर्म, क्रियाः जता राखे पनि हुन्छ
संस्कृतका वाक्यमा शब्दहरूको क्रमभेदले अर्थभेद हुँदैन । जस्तै— बालक पाठ पढ्दछ भन्ने वाक्यलाई संस्कृतमा विभिन्न क्रममा शब्दहरू राखेर अनुवाद गर्न सकिन्छ— बालकः पाठं पठति, पाठं बालकः पठति, पठति बालकः पाठम्, पाठं पठति बालकः । उक्त सबै वाक्यको सामान्य अर्थ एउटै हुन्छ । अङ्ग्रेजी भाषामा चाहिं शब्दहरूको क्रमका भिन्नताले वाक्यका अर्थमा धेरै फरक पर्दछ । संस्कृतमा विभक्तिअनुसार शब्दका रूपहरू फरक हुने हुनाले वाक्यमा शब्दहरूको क्रम परिवर्तन गरे पनि अर्थमा फरक नपरेको हो ।

वाक्यमा नाम वा सर्वनाम कर्ता, कर्म, करण, सम्प्रदान, अपादान र अधिकरण कारकका रूपमा प्रयुक्त हुन्छन् । प्रथमा, द्वितीया तृतीया, चतुर्थी, पञ्चमी र सप्तमी विभक्तिले क्रमशः ती कारकलाई बुझउँदछन् । षष्ठी विभक्तिले केवल सम्बन्ध मात्र बुझउँदछ । सम्बन्धबोधक पद कारक मानिंदैन । यी सात विभक्तिबाहेक संस्कृतमा सम्बोधनका रूपहरू पनि फरक हुन्छन् । संस्कृतमा नाम, सर्वनाम र क्रियापदका पनि एकवचन, द्विवचन र बहुवचनका फरक–फरक रूपहरू हुन्छन् । नेपाली र अङ्ग्रेजीमा चाहिं एकवचन र बहुवचन मात्र हुन्छन् । द्विवचनचाहिं संस्कृतको विशेषता हो । एउटालाई बुझउनेलाई एकवचन, दुइटालाई बुझउनेलाई द्विवचन र तिनोटा वा त्योभन्दा धेरैलाई बुझउनेलाई बहुवचन भन्दछन् । तल के­ही शब्दका (प्रातिपदिकका) प्रथमा विभक्तिका एकवचन, द्विवचन र बहुवचनका रूप दिइएका छन्—

अस्मत्—     अहम्          आवाम्                वयम्
(म,              हामी दुई,               हामी धेरै) ।
युष्मत्—      त्वम्              युवाम्                    यूयम्
(तिमी-तँ       तिमीहरू                तिमीहरू
तपाईं,          तपाईंहरू दुई,         तपाईंहरू धेरै) ।

बालक—     बालकः           बालकौ                 बालकाः
(एक बालक,     दुई बालक,               धेरै बालक) ।

बालिका—    बालिका               बालिके              बालिकाः
(एक बालिका,          दुई बालिका,     धेरै बालिका) ।

फल—           फलम्                फले                 फलानि
(एक फल,            दुई फल,             धेरै फल) ।

बालक शब्दका सबै विभक्तिका रूपहरू पनि हेरौं—
                                 एकवचन                   द्विवचन                       बहुवचन
प्रथमा—                    बालकः                      बालकौ                     बालकाः
द्वितीया—                 बालकम्                    बालकौ                    बालकान्
तृतीया—                  बालकेन                     बालकाभ्याम्            बालकैः
चतुर्थी—                  बालकाय                    बालकाभ्याम्             बालकेभ्यः
पञ्चमी—                 बालकात्                     बालकाभ्याम्             बालकेभ्यः
षष्ठी—                    बालकस्य                     बालकयोः                  बालकानाम्
सप्तमी—               बालके                           बालकयोः                   बालकेषु
सम्बोधन—            बालक                            बालकौ                        बालकाः ।

नेपाली वा अङ्ग्रेजीमा नामका विभिन्न विभक्तिमा अलग–अलग रूपहरू प्रयुक्त हुँदैनन्, तिनमा केवल विभक्तिका चिह्न वा नामयोगी लगाएर फरक–फरक विभक्तिको काम लिइन्छ । तर संस्कृतमा सबै विभक्ति र वचनका निम्ति अलग–अलग रूपहरू नै प्रयोग गरिन्छन् । कतिपय विभक्ति र वचनका रूपचाहिं उस्तै पनि हुन्छन् । यस्ता रूपहरूको अभ्यास नगरीकन संस्कृत भाषा सिक्न सकिंदैन ।

वाक्य बनाउने एउटा महत्वपूर्ण घटक क्रियापद हो । क्रियापद नभैकन वाक्य पूर्ण हुँदैन । क्रियापदका पनि विभिन्न काल र भाव व्यक्त गर्ने रूपहरू बेग्लाबेग्लै हुन्छन् । त्यस्ता रूप धातुबाट प्रत्यय लगाएर बनाइन्छन् । क्रियापदका प्रथम पुरुष, मध्यम पुरुष र उत्तम पुरुषका एकवचन, द्विवचन र बहुवचनका रूपहरू फरक–फरक हुन्छन् । अङ्ग्रेजीको अनुकरण गरेर नेपालीमा पनि प्रथम पुरुष, द्वितीय पुरुष र तृतीय पुरुष भन्ने गरिएको छ । नेपालीको प्रथम पुरुषलाई संस्कृतमा उत्तम पुरुष, द्वितीय पुरुषलाई मध्यम पुरुष र तृतीय पुरुषलाई प्रथम पुरुष भन्दछन् । संस्कृतमा नाम वा सर्वनाम बुझउने शब्द पुलिङ्ग, स्त्रीलिङ्ग वा नपुंसकलिङ्गमा प्रयुक्त हुन्छन् । तिनका अलग–अलग रूप हुन्छन् । कुनै शब्द दुई वा तीनै लिङ्गमा प्रयोग हुने पनि हुन्छन् । तिङन्त (गच्छति पठति इत्यादि तिङ् प्रत्यय लागेका) क्रियापदमा चाहिं लिङ्गको भेद हुँदैन । जस्तै— बालकः पठति (बालक पढ्छ), बालिका पठति (बालिका पढ्छे), मित्रम् पठति (मित्र पढ्छ) । अङ्ग्रेजीमा पनि क्रियापदमा लिङ्गभेद हुँदैन । तर नेपालीमा चाहिं क्रियापदमा लिङ्गअनुसार भेद हुन्छ ।

पठ व्यक्तायां वाचि (पढ्नु) धातुका वर्तमान कालका सबै रूप पनि हेरौं—
एकवचन                           द्विवचन                     बहुवचन
प्रथम पुरुष—                               पठति                             पठतः                      पठन्ति
मध्यम पुरुष—                              पठसि                            पठथः                         पठथ
उत्तम पुरुष—                               पठामि                            पठावः                       पठामः ।
(क्रमशः)
(प्रतिक्रिया र जिज्ञासा वा स्पष्टीकरणका निम्ति लेखकको इमेल वा ट्विटरमा सम्पर्क गर्न सकिन्छ । Email : amoda67@hotmail.com; Twitter : @amoda67)

(लेखक वाल्मीकि विद्यापीठमा शुक्लयजुर्वेद विषयका प्राध्यापक हुन् । उनले सोही विषयमा वाराणसीबाट विद्यावारिधि उपाधि प्राप्त गरेका छन् । उनी आफ्ना पिताजीले स्थापना गरेको स्वाध्यायशालामा संस्कृत वाङ्मयसम्बन्धी अध्ययन, अनुसन्धान लेखन र प्रकाशनमा पनि संलग्न छन् ।)

Related Posts

/*sign up form*/