शैक्षिक सामग्रीको बजेट खाजा र पुरस्कारमा

by • • रिपोर्टComments (0)1127

Print Friendly, PDF & Email
  • रोश्ना सुब्बा
  • धूमपान, मद्यपान तथा लागूपदार्थ प्रयोग गर्दै गरेका मानिसहरूको चित्र तथा पोस्टरहरू ।
  • विभिन्न संघसंस्थाले प्रकाशित गरेका धूमपान, मद्यपान र लागूपदार्थ सेवनका असरहरू झ्ल्कने चित्र, पोस्टर र लिफलेट आदि ।
  • केही औषधि तथा चुरोट र सूर्तीजन्य पदार्थहरू ।
  • लागूपदार्थ प्रयोगका दुष्परिणाम र बचाउका उपायहरू लेखेका चार्टहरू ।

सिद्धबाबा मावि, गुल्मीमा पेशा, व्यवसाय तथा प्रविधि शिक्षाका लागि शिक्षकको सहयोगमा विद्यार्थीले बनाएका तथा संकलन गरेका शैक्षिक सामग्री ।

कक्षा ६ को स्वास्थ्य तथा शारीरिक शिक्षा विषयमा भएको पाठ ‘मद्यपान, धूमपान र लागूपदार्थ’ पढाउँदा शिक्षकले प्रयोग गर्नुपर्ने शिक्षण सामग्री हुन्, यी । सीधै किताबको पाठमा प्रवेश गर्नुअघि यी पदार्थले स्वास्थ्यमा पु¥याउने हानिबारे विद्यार्थीको बुझइ कति छ भनेर जान्न र विषयवस्तुबारे अवधारणा दिन यी सामग्री सहयोगी हुन्छन् ।

पाठ्यक्रम विकास केन्द्रले स्वास्थ्य विषयका लागि तयार पारेको कक्षा ६ को शिक्षक निर्देशिकामा हरेक पाठका लागि आवश्यक सामग्रीबारे जानकारी दिइएको छ । पाठ अनुसार के–के शैक्षिक सामग्री प्रयोग गर्नुपर्छ भनेर यहाँ यो एउटा उदाहरण लिइएको हो । आदर्श शौल माध्यमिक विद्यालय, बुङ्गमती, ललितपुरमा कक्षा ६ देखि ८ सम्म स्वास्थ्य विषय नै पढाउने शिक्षक धन काउचा मगर शिक्षण सिकाइमा कहिलेकाहीं यस्ता पोस्टर प्रयोग गर्छिन् । तर पनि उनी भन्छिन्, “जति प्रयोग गर्नुपर्ने हो, त्यति त गरेकी छैन ।”

काठमाडौंको कालीमाटीस्थित नील बाराही माध्यमिक विद्यालयका शिक्षक शेरबहादुर बस्नेत मावि तहमा लेखा र अर्थशास्त्र विषय पढाउँछन् । उनी पनि शैक्षिक सामग्री सामान्य रूपमा मात्र प्रयोग गर्ने गरेको बताउँछन् । उनले धेरै प्रयोग गर्ने सामग्री भनेको चार्ट पेपर हो र कहिलेकाहीं कम्प्युटर पनि प्रयोग गर्छन् । प्रायः धेरैजसो शिक्षकले गरेजस्तै शिक्षक बस्नेत पनि विद्यार्थीलाई किताब पल्टाउन लगाउँछन् अनि वर्णन गर्छन् । यस्तै काठमाडौंकै टेकूमा रहेको महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयकी शिक्षक मन्दिरा देवकोटा विज्ञान र कम्प्युटर विषय पढाउँछिन् । उनी पनि प्रायः सैद्धान्तिक ज्ञानका लागि शैक्षिक सामग्रीका रूपमा किताब नै प्रयोग गर्छिन् ।

“आफूलाई चाहिने शैक्षिक सामग्री जसले जतिखेर मागे पनि हुन्छ । विद्यालयले व्यवस्थापन गर्छ ।” आदर्श शौल माविका प्रधानाध्यापक सरोजभक्त आचार्यले हरेक पटकको मीटिङमा आफ्ना शिक्षक सहकर्मीहरूलाई यसो भन्ने गरेका छन् । तर उनको अनुभवमा कसै कसैले चार्ट पेपर माग गर्छन्, त्यति हो । भएका सामग्री पनि प्रयोग नभएकोमा उनको दुःखेसो छ । उनको कार्यकक्षमा केही शैक्षिक सामग्री त थिए । तर धूलैधूलो लागेका । उनी आफैं पनि कक्षा १० मा गणित पढाउँछन् । “म आफैंले पनि शैक्षिक सामग्रीको जति प्रयोग गर्नुपर्ने हो त्यति गरेको छैन । अधिकांश कक्षाकोठामा शैक्षिक सामग्री प्रयोग हुँदैन । यो यथार्थ हो”, प्रअ आचार्य भन्छन् । ललितपुर जिल्लाकै उत्कृष्ट मानिने यो विद्यालयमा कक्षा १ देखि १० सम्ममा १४०० विद्यार्थी छन् । यहाँ विज्ञान तथा कम्प्युटर जस्ता विषय शिक्षणका क्रममा ल्याब प्रयोग हुन्छ । कतिपय विषय सूचनाप्रविधिको माध्यमबाट पनि बुझउने–सिकाउने गरिएको बताइन्छ । तर कक्षाकोठाहरूमा ‘बूक कर्नर’ समेत राखिएको छैन ।

कात्तिक महीनाको पहिलो र दोस्रो सातामा आदर्श शौल, नील बाराही मावि र महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय पुग्दा शैक्षिक सामग्री प्रयोग गरेर विद्यार्थीलाई बुझउँदै गरेका एक मात्र शिक्षक भेटिए । आदर्श शौलको एउटा सेक्सनमा कक्षा ७ को पाँचौं घण्टीमा केशरमान विश्वकर्मा शैक्षिक सामग्री प्रयोग गरेर विज्ञान विषयको ‘साउन्ड’ भन्ने पाठ पढाउँदै थिए । विद्यार्थीहरू ती सामग्री छुन र त्यसबाट निस्केको आवाज सुन्न पाउँदा दंग थिए । दृष्टिविहीन विद्यार्थी समेत खुशी हुँदै सिकाइ प्रक्रियामा सहभागी भइरहेका थिए ।

आदर्श शौल माविका शिक्षक केशरमान विश्वकर्मा शैक्षिक सामग्रीको प्रयोग गरेर शिक्षण गर्दै ।

शैक्षिक सामग्रीको प्रयोग किन ?
स्वास्थ्य शिक्षामा स्नातकोत्तर शिक्षक धन काउचा मगर नयाँ नयाँ शिक्षक हुँदा शिक्षक निर्देशिका किनेर पढ्थिन् र आफैं शैक्षिक सामग्री समेत बनाउँथिन् । शुरू शुरूमा निकै जोश जाँगर थियो उनमा । सिनियर शिक्षकले उनलाई ‘नयाँ नयाँमा यस्तै जोस हुन्छ’ भनेर व्यंग्य गर्थे । “कक्षा कोठामा शैक्षिक सामग्री प्रयोग गरेर पढाउँदा प्रभावकारी सिकाइ हुन्छ भनेर पढेको पनि हो” उनको भनाइ छ । तर यति चाँडै यस्तो युवा शिक्षकको जाँगर किन म¥यो त ? यो प्रश्नमा शिक्षक मगरले भनिन्, “एकदमै कमैले मात्र प्रयोग गरेको देखें । सिनियरहरूले नै प्रयोग गरेको देखिंदैन । प्रायः सबैले नगरेको देख्दा जोश जाँगर हराउने रहेछ ।”

नील बाराही माविका शिक्षक बस्नेतको बुझइमा चाहिं पाठ अनुसार के कस्ता शैक्षिक सामग्री चाहिन्छ भन्ने सबै शिक्षकलाई थाहा नहुनाले यसको प्रयोग साह्रै कम हुने गरेको हो । त्यसैले सबै विषयका शिक्षक निर्देशिका बजारमा सजिलै उपलब्ध हुनुपर्छ भन्ने उनको भनाइ छ । शिक्षक मन्दिरा देवकोटा चाहिं पाठयोजनाको अभ्यास विद्यालयमा नहुने भएकोले पनि शैक्षिक सामग्री प्रयोग अति नै कम मात्रामा हुने गरेको ठान्छिन् । आदर्श शौलका प्रअ आचार्य भन्छन्, “शिक्षकहरूलाई शैक्षिक सामग्री प्रयोगका लागि ‘मोटिभेट’ गर्न नसक्नुमा प्रअकै पनि कमजोरी हो कि ?”

गुल्मी जिल्लाकै उत्कृष्टमध्येको एक मानिने सिद्धबाबा माविमा शिक्षकहरूले पाठयोजना बनाई शैक्षिक सामग्री प्रयोग गर्नुपर्नेमा जोड दिइएको छ । १२ कक्षासम्म यहाँ १४०० विद्यार्थी छन् । प्रअ डोरविक्रम श्रीसका अनुसार प्राथमिक तहका शिक्षकहरू बढी प्रयोग गर्छन् । चार्ट पेपर, मेटाकार्ड, ब्लक्स, विभिन्न बिरुवा, जरा, लप्सीका दाना, सिन्का, म्याप, कार्डबोर्ड पेपर, इन्चि टेप, प्लाइउडबाट बनाइएका विभिन्न आकार लगायतका सामग्री उनीहरूले प्रयोग गर्ने गरेका छन् । प्रअ श्रीस भन्छन्, “मनग्ये भने हुन बाँकी छ । अझ् धेरै गर्ने आशा गरेका छौं । तर केही चाहिं गर्दैछौं ।”

महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा विना शैक्षिक सामग्री ‘पेशा, व्यवसाय र प्रविधि’ विषय पढाउदै शिक्षक ।

शैक्षिक सामग्रीको निम्ति जान्छ बजेट
सामुदायिक विद्यालयलाई शैक्षिक सामग्रीका लागि ‘शैक्षिक सामग्री व्यवस्थापन खर्च (पीसीएफ)’ भनेर हरेक वर्ष सरकारले रकम उपलब्ध गराउने गरेको छ । ‘पीसीएफ’ अन्तर्गत विद्यालयले कक्षा १ देखि ५ सम्म प्रति विद्यार्थी रु.१५० र ६ देखि ८ सम्म प्रति विद्यार्थी रु.२०० का दरले अनुदान पाउँछन् । यसैगरी कक्षा ९ र १० मा प्रति विद्यार्थी रु.२०० अनि ११ र १२ मा प्रति विद्यार्थी रु.२५० का हिसाबले शैक्षिक सामग्री खर्च दिइन्छ । यो शिक्षा बजेटअन्तर्गतकै रकम हो । यस्तो अनुदान विद्यालयले ‘बूक कर्नर’ का लागि पनि खर्च गर्न सक्छन् । तर शैक्षिक सामग्रीका लागि भनेर पठाइने यस्तो अधिकांश रकम अरू नै काममा खर्च हुने गरेको पाइएको छ ।

गएको वर्ष नीलबाराही मावि, काठमाडौंमा शैक्षिक सामग्री व्यवस्थापन खर्च वापत रु.१ लाख १५ हजार ८५० निकासा भएको थियो । यसबाट वक्तृत्वकला, हाजिरीजवाफ, खेलकुद कार्यक्रमका विजेता विद्यार्थीलाई नगद पुरस्कार दिइएको प्रधानाध्यापक जानुका नेपाल बताउँछिन् । यस्तै कहिलेकाहीं शिक्षक तालीम, राष्ट्रिय सम्पदा भ्रमण र शैक्षिक भ्रमणका लागि पनि यो रकम खर्च गरिन्छ । “पाठ अनुसार पढाउन सिकाउनका लागि अन्य शैक्षिक सामग्री चाहियो भनेर शिक्षकहरूबाट कम माग हुन्छ । माग हुने भनेको चार्ट पेपर र कलर पेन हुन्” प्रअ नेपालको भनाइ छ ।

विद्यालयमा हुने दैनिक तथा अन्य क्रियाकलापका लागि रकम नदिइँदा शैक्षिक सामग्रीको अनुदान अन्य काममा खर्च हुने गरेको प्रअहरू बताउँछन् । यस्तै अन्य शीर्षकमा पर्याप्त रकम उपलब्ध नहुने भन्दै शैक्षिक सामग्रीको पैसा नै चलाउने गरिन्छ । यस्ता कामका लागि कसरी कहाँबाट खर्च गर्ने भन्दा, विभाग तथा जिल्ला शिक्षा कार्यालयका अधिकारी तथा कर्मचारीले पनि ‘पीसीएफ’ बाट गर्नू भन्ने गर्छन् । त्यसैले, हामीले गर्ने त्यही हो, प्रअ नेपाल भन्छिन् ।

कतिपय प्रधानाध्यापकलाई शैक्षिक सामग्रीका लागि आएको अनुदानको वास्तविकता नै थाहा नभएको पनि पाइयो । महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकू, काठमाडौंका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठसँग यसबारे जानकारी माग्दा वार्षिक रकम निकासा हेर्दै उनले भने, “अहिले पो थाहा भयो, यो त शैक्षिक सामग्री व्यवस्थापन खर्च रहेछ ।” यो अनुदानबाट विद्यालयले आवश्यकता अनुसार खर्च गर्ने होला भन्ने आफूले बुझेको उनले बताए । यस सम्बन्धमा शिक्षा कार्यालयबाट विस्तृत जानकारी नपाइएको उनको गुनासो छ । सो विद्यालयमा शैक्षिक सामग्रीका लागि गएको आर्थिक वर्षमा रु.३३ हजार ३५० आएको थियो । तर सो रकम शैक्षिक सामग्री होइन, भवन मर्मत तथा रंगरोगन, विद्यार्थीको औषधि उपचार र पदाधिकारीको बैठकमा चियाखाजामा खर्च भएको प्रअ श्रेष्ठको कथन छ । पढाइ सिकाइका लागि शैक्षिक सामग्रीको प्रयोगमा कत्तिको खर्च भयो त ? “केही थर्मोमिटर र केही पोस्टर किन्यौं”, प्रअ श्रेष्ठको जवाफ थियो ।

भगवती माध्यमिक विद्यालय, डोटीका प्रधानाध्यापक टेकबहादुर सिंहलाई पनि शिक्षण सिकाइ सामग्रीका लागि अनुदान आउने थाहा भए पनि यही शीर्षकमा नै बजेट आउँछ भन्ने यकिन रहेनछ । उनी हरेक पटक काठमाडौं आउनुअघि शिक्षकहरूलाई के कस्ता शैक्षिक सामग्री कति चाहिन्छ भनेर सोध्ने गर्छन् र शिक्षकहरूले भने अनुसारका सामग्री किनेर लैजान्छन् । तर उनी के कस्ता सामग्री किनेर फर्किन्छन् त ? प्रअ सिंह भन्छन्, “शिक्षक र विद्यार्थी दुवैका लागि प्रयोग हुने विज्ञान, गणित र अंग्रेजी विषयका कक्षा १० को नमूना प्रश्नहरूको संग्रह, कक्षा ९ र १० को विभिन्न विषयका प्रश्न-समस्या हल गरिएका प्राक्टिस बूक किन्ने गरिएको छ ।” ‘समस्या हल गरिएका प्राक्टिस बूक’ भनेका चल्तीको भाषामा ‘गाइड’ हुन् ।

महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालयमा एक गैरसरकारी संस्थाले दिएका माइक्रोस्कोपलगायतका शैक्षिक सामग्री दराजमा सजाएर राखिएका छन् ।

शिक्षा प्रशासन मौन
शैक्षिक सामग्री प्रयोगका लागि सामुदायिक विद्यालयलाई दिने गरिएको अनुदान कतै भवन मर्मतसम्भार र चियाखाजामा खर्च गरिएको, कतै अतिरिक्त क्रियाकलापका विजयी विद्यार्थीलाई नगद पुरस्कार दिन प्रयोग भएको; तर शैक्षिक सामग्री प्रयोग अर्थात् विशेषतः जुन उद्देश्यका लागि आएको हो, त्यसका निम्ति भने ज्यादै कम खर्च हुने गरेको तथ्य सरकारी अधिकारीहरूलाई पनि थाहा नभएको होइन । शिक्षा विभाग, शैक्षिक सामग्री व्यवस्थापन शाखाका अधिकृत कविराज उप्रेती भन्छन्, “हो, अधिकांश विद्यालयमा यसको उद्देश्य अनुसार खर्च नभएको स्थिति छ । हाजिरीकापी, ह्वाइट बोर्ड जस्ता सामग्री खरीद गर्न खर्च गरिएको छ ।” कैयौं प्रअले नै यस्तो बजेटबारे थाहा नभएर अरू नै काममा खर्च गरेको, थाहा पाएका प्रअहरूले पनि त्यसको जानकारी शिक्षकहरूलाई नदिने र शिक्षकहरूले पनि शैक्षिक सामग्रीबारे चासो नराख्ने गर्दा करोडौं शैक्षिक बजेट व्यर्थमै खेर गइरहेको देखिन्छ ।

तर विद्यार्थीको सिकाइमाथि खेलवाड गर्ने यो गम्भीर प्रवृत्तिप्रति न आम शिक्षक र प्रअहरूको चासो देखिन्छ न त शिक्षा–प्रशासनको । अधिकांश विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूले विद्यालयमा शैक्षिक सामग्री प्रयोजनको निम्ति बजेट आउने गरेको तथ्य नै चाल नपाउने अवस्था छ भने थाहा पाउने र बुझनेहरूले पनि शैक्षिक सामग्री भन्दा आफ्नो बैठकको खाजामा त्यस्तो रकम खर्च गर्ने गरेको पाइन्छ । मिडिया र संसद् लगायतका माथिल्ला निकायहरूको ध्यान जाने शैक्षिक सामग्री बजेट शायद धेरै न्यून हुन्छ ।
तस्वीरः खड्गबहादुर मगर

Related Posts

/*sign up form*/