शैक्षिक सामग्रीः प्रयोग गरौं, दुरुपयोग रोकौं

by • • विषय-सन्दर्भ / सम्पादकीयComments (0)1130

Print Friendly, PDF & Email

 

सरकारले शैक्षिक सामग्रीको व्यवस्था गर्न दिएको सानोतिनो बजेट पनि विद्यालयहरूले त्यस कार्यमा खर्च नगरी भवन मर्मत गर्न, विद्यार्थीलाई पुरस्कार दिन, पदाधिकारीको बैठकमा खाजा खान प्रयोग गरिरहेको सम्बन्धमा लेखिएको समाचार (हे. यसै अंकको पृष्ठ १२–१५) सम्पादन गर्दै गर्दा, करीब डेढ महीनाअघि हेरेको एउटा पाकिस्तानी डकुमेन्ट्रीका दृश्यहरू मानसपटलमा नाच्न थाले ।

‘एमोङ द विलिभर्स’ नामक सो डकुमेन्ट्री लाहोरमा अवस्थित लाल मस्जिदका प्रमुख मौलाना अब्दुल अजिजले धर्मान्ध लडाकूहरू उत्पादन गर्ने क्रममा कसरी अबोध बालबालिका र किशोरकिशोरीको जीवन बर्बाद पारी सिंगो पाकिस्तानमा मुजाहिद्दीनहरूको आतंक विस्तार गरेका थिए भन्ने विषयमा केन्द्रित छ । ६ वर्ष लगाएर बनाइएको त्यो डकुमेन्ट्रीको मुख्य विषयवस्तु धर्म, राजनीति र आतंकवाद हो । तर ती कार्यको निम्ति मौलाना र मस्जिदले स्कूल–कलेज पढ्ने उमेरका बालबालिका, किशोरकिशोरीलाई फकाएर वा बल प्रयोग गरेर मस्जिदमा जम्मा पार्ने गरेका कारण डकुमेन्ट्रीमा स्कूल र कलेजका दृश्यहरू स्वाभाविक रूपमा पर्न गएका छन् ।

यस्तै एउटा दृश्य छ, एक ग्रामीण बस्तीको प्राथमिक विद्यालयको । गाउँलेको सहयोगमा स्थापित सो विद्यालय इस्लामिक अतिवादीहरूको दबाब र धम्कीका बाबजूद पनि दुई जना शिक्षकले चलाएका हुन्छन् । र, त्यसमा हाम्रानिम्ति चाखलाग्दो पक्ष के देखिन्छ भने गरीब गाउँलेका बच्चा पढ्ने सो विद्यालयका हरेक कक्षा कोठामा केही न केही शैक्षिक सामग्री रहेकै हुन्छन् । एउटा कक्षाका बालबालिका मुछेको माटोबाट विभिन्न मूर्ति र आकृति बनाउँदै गरेका देखिन्छन् भने अर्को कक्षामा विभिन्न खेलौना, घडी, कागज, काठका टुक्रा आदिको माध्यमबाट केटाकेटीले खेल्दै–सिक्दै गरेको देख्न सकिन्छ । युद्ध र आतंकवादी हमलाबाट जर्जर पाकिस्तानको ग्रामीण भेगको विद्यालयको त्यो दृश्यले, पठनपाठन भन्ने वित्तिकै शैक्षिक सामग्री हुनैपर्ने रहेछ भन्ने सन्देश दिन्छ ।

तर यता हामीकहाँ, विद्यार्थी र अभिभावक होइन, स्वयं शिक्षक र प्रधानाध्यापकहरूमा समेत शैक्षिक सामग्री अर्थात् शिक्षण सहयोगी वस्तु सम्बन्धी अवधारणा विकास हुन बाँकी देखिन्छ । गाउँका प्राथमिक कक्षा त परै रहे, हाम्रा शहर–बजारका माध्यमिक तहका विज्ञान, भूगोल जस्ता प्रयोगात्मक विषयहरूको शिक्षण पनि शैक्षिक सामग्री र पाठयोजना विना नै, एउटा पाठ्यपुस्तकको भरमा सम्पन्न गर्ने गरिएको छ ।

शिक्षण–सामग्री प्रयोग गर्ने सवालमा स्वयं शिक्षकहरू नै उत्प्रेरित पाइँदैनन् । माथि उल्लेख गरिएको समाचार बनाउने क्रममा भेटिएका आदर्श शौल, मावि, बुङमती, ललितपुरकी शिक्षक धन काउचा मगरले सहकर्मी शिक्षकहरूको व्यंग्यका कारण शैक्षिक सामग्री प्रयोग गर्नै छोडिन् । महेन्द्र सरस्वती सेवा आधारभूत विद्यालय, टेकू काठमाडौंका प्रधानाध्यापक दयाचन्द्र श्रेष्ठलाई भवन रङरोगन र पदाधिकारीको बैठकमा चिया–खाजामा आफूले खर्च गरेको बजेट यथार्थमा शैक्षिक सामग्रीको व्यवस्था गर्नका निम्ति सरकारबाट प्राप्त भएको थियो भन्ने नै थाहा नहुनु भनेको पनि शैक्षिक सामग्री सम्बन्धी अवधारणा र चेतनाकै अभावको द्योतक हो । (हे. पृष्ठ १२–१५)

सरकारी बजेटको स्थापित मान्यता र ऐन–नियम अनुसार बजेट जुन प्रयोजनका निम्ति विनियोजित हुन्छ, त्यसैमा मात्रै खर्च गरिनुपर्छ । एउटा शीर्षकमा विनियोजित रकम अर्को शीर्षक या काममा खर्च गर्दा स्वतः बेरुजु या अनियमित ठहर्छ । तर, हाम्रो बिडम्वना– सिंगो शैक्षिक सामग्रीको निम्ति विनियोजित करोडौं रकम देशैभरि दुरुपयोग भइरहँदा शिक्षा मन्त्रालय, महालेखा परीक्षक जस्ता निकायले समेत पर्वाह गरेको पाइन्न । यसबाट देशभरका पचासौं लाख बालबालिकाकोे सिकाइ–प्रक्रियामा पुगेको क्षति अनुमान भन्दा परको विषय हुन्छ ।


हाम्रा विद्यालयमा शैक्षिक सामग्री प्रवद्र्धनको कुरा गर्दा, सर्वप्रथम संवद्ध शिक्षक र प्रअहरूलाई नै यसको आवश्यकता र महत्व बोध गराउनु जरूरी देखिन्छ । यो किन पनि भने, विद्यालयहरूले शैक्षिक सामग्री व्यवस्था गर्न दिइएको नगद रकम मात्रै दुरुपयोग गरेका नभई, सरकार र विभिन्न दाताले दिएका शैक्षिक प्रयोजनका सामग्री समेत कक्षामा प्रयोग नगरी दराज, कोठामा थन्क्याएर, उपलब्ध सामग्रीकै पनि दुरुपयोग गरिरहेका छन् ।

यस्तो हुनुको एउटा कारण, चेतनाकै अभावलाई मान्नुपर्छ, जाँगर र सीपको अभाव त्यसपछिका कारकतत्व हुनसक्छन् । यसर्थ, सहयोगी सामग्री प्रयोग गरेर शिक्षण गर्दाका फाइदाबारे शिक्षकलाई बोध गराउने र सामग्री प्रयोग गर्न उत्प्रेरित गर्ने विशेष अभियान संचालन गर्नु जरूरी देखिन्छ । त्यसनिम्ति शैक्षिक सामग्रीसहित कक्षामा जाने शिक्षकलाई प्रोत्साहन र विना सामग्री जानेलाई निरुत्साहित गर्दै नसिहत दिने पारदर्शी व्यवस्था गर्नु एउटा उपाय हुन सक्छ ।

Related Posts

/*sign up form*/