शिक्षा, शिक्षक र स्थानीय परिवेश

by • • विचारComments (0)569

Print Friendly, PDF & Email

डा.तीर्थबहादुर श्रेष्ठ

गुरुब्र्रह्मा गुरुर्विष्णुर्गुरुर्देवो महेश्वरः ।
गुरुः साक्षात् परब्रह्मस्तस्मै श्रीगुरुवे नमः ।।
(गुरु नै ब्रह्मा, गुरु नै विष्णु, गुरु नै महेश्वर र गुरु नै परब्रह्मा हुन्, त्यस्ता गुरुलाई नमस्कार गर्दछु ।)

उपर्युक्त श्लोकमा ‘तस्मै’ शब्दले कस्तो गुरु भन्ने कुरा निर्दिष्ट गर्दछ । अर्थात् गुरुको परिभाषा स्पष्ट गर्छ, ‘गुरु’ शब्दको ओज दर्शाउँछ । त्यस्तै एकजना गुरुदेवलाई हामीले भर्खरै गुमायौँ । २०६४ साल माघ २९ गते बिहान रेडियो सगरमाथाको कुरोकन्थोमा कान थाप्दा भैरव रिसालले प्राध्यापक केशवदेव भट्टराईको निधनमा अर्पेको श्रद्धाञ्जली मेरो कर्णपटल (इयर ड्रम) मा ठोक्किन पुग्यो । शरीरका रोमरोम झ्ंक्रित भए । सबै सञ्चारमाध्यमबाट उहाँको निधन भएको समाचार सुन्दा गुरुले कति नै ‘धन’ जोड्नुभएको थियो होला र आज ‘निधन’ भयो भनी झयाली पिट्नुपरेको होला भनेजस्तो पनि मनमा लाग्यो । वास्तवमा; झण्डै एक शतक लामो जीवनका ६ दशकभन्दा बढी समय खर्चेर गुरुले कति शिक्षार्थीहरू कमाए होलान्, कति मूल्य बराबरको ज्ञानगुन जोडे होलान् भन्ने कुराको गणना स्वयं गणित गुरुले पनि गर्न भ्याएनन् होला । गुरुको धन नै विद्यार्थी हो र विद्यार्थीको धन विद्या । त्यस्तो धनको ‘निधन’ हुन सक्दैन । भौतिक अस्तित्व वा उपस्थितिको कुरा गर्दा पनि उहाँको जीव–तत्व वंशाणु (जीन) उहाँका वंशज सन्ततिमा सुरक्षित छन् । उहाँले आर्जन गर्नुभएको सामाजिक प्रतिष्ठा, मर्यादा र स्नेह विभिन्न पत्रपत्रिका, रेडियो र टेलिभिजनमा प्रकाशित-प्रसारित छन् । त्यस्ता गुरुदेवलाई नमस्कार छ ! ती गुरुदेवलाई श्रद्धाञ्जली अर्पण गर्दछु ! !

प्राध्यापक केशवदेव र उहाँको पुस्ताले गुरुको गुरुत्व कायमै राखेर गए । आजभोलि ‘गुरु’बाट सम्बोधित हुने नसिब वा भाग्य सवारी–चालक (ड्राइभर) सम्म मात्र सीमित हुन पुगेको छ । शिक्षा मन्त्रालयभित्रै पनि ‘गुरुजी’ बोलाउन पठाउँदा ‘ड्राइभर’ अगाडि आउँछन् । धन्य छन् ‘गुरुजी’का शिष्य खलासीहरू !

२००९ सालसम्म रानीपोखरी नजिक दरबार हाईस्कूलमा पढ्दैथिएँ । त्यतिखेर स्कूलका शिक्षक ‘मास्टर साहेब’ बनिसकेका थिए । संस्कृत पढाउने शिक्षकलाई मात्र गुरु भनिन्थ्यो । नेपाली र संस्कृत पाठशालाका चाहिं सबै शिक्षकहरू गुरु नै कहलिन्थे । रानीपोखरी पारि त्रिचन्द्र कलेज पुगेपछि सबै मास्टर साहेबहरू ‘सर’ मा परिणत भइसकेका हुन्थे । आजभोलि के प्राध्यापक, के शिक्षक, के कर्मचारी, के व्यापारी सबैले सबैलाई ‘सर’ भनेर सम्बोधन गर्ने फेसन चलेको छ । चक्रपथको बसयात्रामा पनि ‘सर ! अलि ठाउँ सरिदिनोस्…’ भन्नु सामान्य बोलीचालीको भाषा भइसक्यो । यस अर्थमा, निधन; प्राध्यापक केशवदेवको होइन वास्तविक ‘गुरु’को भएको छ । त्यसैले होला ‘शिक्षक’  पत्रिकाको प्रथम अङ्कले नै ‘असुरक्षित र उपेक्षित शिक्षक’ को आवरण ओढेर अवतरण हुनु सान्दर्भिक ठानेको ।

गुरुकै कुरा गर्दा आज अर्का अमर गुरु नयराज पन्तको पनि सम्झना भइरहेको छ । उहाँले सधैंजसो दोहो¥याउने गर्नुहुन्थ्यो “युरोपमा पहिले विद्याको क्रान्ति भयो र त्यसपछि मात्र राजनीतिक क्रान्ति आयो । र, देश उन्नतितिर लाग्यो । हाम्रोमा पहिले राजनीतिक क्रान्ति आयो, त्यो क्रान्ति फेरि फेरि भइरह्यो तर विद्याको क्रान्ति कहिल्यै हुन सकेन र भएन ।” हुनपनि राजनीतिक क्रान्ति नै विद्यार्थीबाट हुने भएपछि विद्याको क्रान्तिको औचित्य नै के रह्यो र ? तैपनि शिक्षा र विद्यालाई समय सापेक्षित र परिस्थिति अनुरुप बनाउँदै लैजानुपर्ने कुरामा राष्ट्रले चुक्नुहुँदैन ।
आज ‘शिक्षा’ व्यापारको वस्तु बनेको छ । खरिद बिक्री र लगानी अनुसार शिक्षा र विद्याको बजारमा किनबेच भइरहेछ । त्यस्तै शिक्षण एउटा जागिर वा व्यवसायमा परिणत भएको छ । यस अवस्थामा सनातन गुरुको परिकल्पना गर्ने बेला हामीसँग छैन । तर एउटा शिक्षकलाई उसको कर्तव्यबोध गराउने र त्यस पेशालाई मर्यादित तुल्याउने दायित्व समाजले, सरकारले र हामी सबैले निर्वाह गर्नै पर्ने हुन्छ । आजका विद्यार्थी भोलिका कर्णधार हुन् । भोलिको नेपाल र भोलिका नेपाली कस्तो हुनुपर्छ, तिनको स्वरुप, स्वभाव र संरचना कस्तो बनाउने भन्ने कुरामा दृष्टिगत गरेर आजको शिक्षा व्यवस्थाले दिशाबोध गर्न सक्नुपर्दछ । दशकौंसम्म पनि अस्थिर र सङ्क्रमणकालबाट गुज्रिरहनुपर्ने नियतिमा नेपालले स्थिर र प्रगतिशील शिक्षाको विकासमा लाग्नु एउटा निकै ठूलो चुनौती मात्र नभएर राष्ट्र एवं समाजको खाँचो पनि हो । त्यस्तै ज्ञानको न्यूनतम आधारको रूपमा राष्ट्रिय स्वत्वको पहिचान, मानवताको मर्यादा, स्थानीय सम्पदा र संस्कृतिको संरक्षण, सम्वद्र्धन र विकासतिर विद्यार्थीहरूलाई सचेत गराउनुलाई प्रत्येक शिक्षकले पनि आफ्नो कर्तव्य सम्झ्नुपर्दछ । यस्तो अवस्था सिर्जना गर्ने काममा समाज, सरकार तथा सरोकार अभिभावकहरू मात्र हैन राजनीतिक पार्टी वा तिनका कार्यकर्ताहरू समेतले विशेष सिर्जनशील कदमहरू चाल्नुपर्ने घडी आएको छ । समुन्नत नेपालको जग त्यहीँबाट शुरु हुन्छ ।

शिक्षण पेशालाई मर्यादित र आस्थावान बनाउन तथा शिक्षाको स्तरोन्नतिका निम्ति देश, माटो, काल र परिस्थिति अनुकूल पढाइ सञ्चालन हुने वातावरण अत्यावश्यक हुन्छ । नेपालजस्तो बहुभाषिक, बहुजातीय एवं विषम भौगोलिक विविधतामा जकडिएको राष्ट्रमा विविध ज्ञानबाट सम्पन्न शिक्षकको आवश्यकता पर्दछ । राष्ट्रिय व्यवस्था एक भएपनि व्यञ्जन अर्थात् खुराक अनेक हुनुपर्ने स्थिति टड्कारो छ । यसका लागि औपचारिक भन्दा अनौपचारिक शिक्षाको ठूलो भूमिका हुनसक्छ । शिक्षाविद् केदारभक्त माथेमाको विचार अनुसार “अहिले विद्यालयमा हामीले कोरा पाठहरू घोकाएका मात्र छौँ, तिनको ज्ञानको दायरा हुनुपर्ने जति फराकिलो बनाउन सकेका छैनौँ । विद्यार्थीलाई सृजनात्मक हुन हामीले खासै प्रेरित गरेका छैनौँ” (शिक्षक  दोस्रो अङ्क, फागुन २०६४) । यो चुनौतीको सामना गर्न अनौपचारिक शिक्षा सामग्रीहरू शिक्षक वर्गलाई उपलब्ध गराएर स्थानविशेष अनुसार शिक्षा प्रदान गर्नु वान्छनीय हुन्छ ।

स्व.केशवप्रसाद भट्टराई

घटना १४-१५ वर्ष पुरानो हो । उत्तरी गोर्खाको भोट प्रदेश छेकम्पारको एक प्राथमिक विद्यालयमा केही सौगात र पुरस्कार बाँड्ने हेतुले विद्यार्थीहरूमाझ् सामान्य ज्ञानको हाजिरीजवाफ (क्विज) प्रतियोगिता गराइदिन त्यहाँका शिक्षकलाई अनुरोध ग¥यौँ । प्रतियोगिता त भयो तर पूर्णतः असफल । कारण, विद्यार्थीलाई राष्ट्रिय विभूति, राष्ट्रिय रङ र राष्ट्रिय झ्ण्डादेखि नेता र अभिनेता सम्बन्धी तिनै प्रश्नहरू सोधिएका थिए– जुन काठमाडौंमा हुने यस्ता प्रतियोगिता र परीक्षामा सोधिने गर्दथे । त्यसपछि हामीले दोहो¥याएर स्थानीय विषयवस्तुमा सीमित नयाँ प्रश्नहरू निर्माण ग¥यौँ । स्थानीय पशुपक्षी, बालीनाली, गुम्बा र यार्सागुम्बा, चाडपर्व, नाचगान आदिका बारेमा प्रश्न सोध्न भाषा पनि स्थानीय नै रोजियो । फलतः गुरु गोरु झैं अनभिज्ञ रहे र चेलाहरू चिनी झैं निख्खारिएको अवस्था सिर्जना भयो । त्यहाँका शिक्षकमा स्थानीय परिवेशको ज्ञान, सूचना सामग्री अनि तिनको उपयोग गर्नुपर्छ भन्ने चेत पहिल्यैदेखि उपलब्ध भएको भए त्यो अवस्था आउने थिएन । अहिले राष्ट्रकै संरचनामा फेरबदल हुने घटनाक्रमहरू चलिरहेको, सार्वजनिक स्कूलहरू सामुदायिक विद्यालयमा रुपान्तर हुने क्रम जारिरहेको र शिक्षित वर्ग ‘लाहुरिने’ प्रवृत्ति हावी भएको अवस्थामा राष्ट्रले उत्पादन गर्ने जनशक्ति राष्ट्रकै गुरुत्व (ग्राविटी) भित्र पार्न सक्ने वातावरण निर्माण गर्न सक्नु परेको छ । यसका लागि बेलैमा अनौपचारिक माध्यमबाट स्व–स्थानीय (इन्डिजेनियस) शिक्षा प्रदान गर्ने-गराउने दिशातर्फ शिक्षक वर्गलाई उत्प्रेरित गर्नु जरुरी भइसकेको छ ।

अनौपचारिक शिक्षाका खजाना आफ्नै परम्परा, संस्कार, संस्कृति तथा आफ्नै परिवेश र प्रकृतिबाट प्राप्त गर्ने कार्य एउटा चुनौती हो भन्ने कुरालाई सर्वप्रथम आत्मसात् गर्नुपर्ने हुन्छ । त्यसमा अभिभावक र शिक्षकको संयुक्त प्रयासले धेरै उपलब्धि प्राप्त गर्न सकिन्छ । थोरै उदाहरणहरूले पनि त्यस कुरालाई पुष्ट्याउन सकिन्छ । जस्तै; टाउकोमा टोकरी राखेर बोझ् उठाउँदा, काँधमा खर्पन राखेर भारी बोक्दा अथवा थाप्लोमा नाम्लो लगाएर डोको बोक्दाका दृश्यहरूमार्फत भौतिक विज्ञान वा वातावरणका कुरा मात्र हैन तिनका सिद्धान्तहरू पनि सिक्न–सिकाउन सकिन्छ । यसैगरी ढिकी, जाँतो वा घट्टले हामीलाई शक्ति सम्बन्धी सिद्धान्त सिकाउन सक्छन् भन्ने ज्ञानलाई पाठ्यक्रमसँग तालमेल मिलाएर शिक्षकले विद्यार्थीलाई बुझउन सक्छ । आईज्याक न्यूटनको खप्परमा खसेको स्याउले भन्दा डोको बोकेर उकालो–ओरालो गर्ने विद्यार्थीले आफ्नै भोगाइका आधारमा पृथ्वीको गुरुत्वाकर्षण शक्तिबारे बढी ज्ञान लिन सक्छ भन्ने कुरा बुझन गाह्रो छैन । मादल, मुर्चुङ्गा र सारङ्गीले ध्वनि, स्वर र सङ्गीतको सैद्धान्तिक एवं व्यावहारिक ज्ञान प्रदान गर्न सक्दछन् । बादल, बिजुली, तारा र जुनकिरीबाट पनि ज्ञान–विज्ञानका कुरा प्राप्त हुन्छन् । मात्र हाम्रा शिक्षकहरूलाई त्यसप्रति आकर्षण हुने, जिज्ञासा जाग्ने र आस्थाको विकास हुने अवसर र सामग्रीहरू जुराई दिनुपर्ने हुन्छ । त्यसका लागि आजभोलि शैक्षिक सामग्री, आधुनिक प्रविधि, नयाँ नयाँ उपकरण एवं सञ्चारका माध्यमहरू उपलब्ध छन् । श्रव्यदृश्यका सामग्री, प्रचारप्रसारका भित्ते–चित्र, पत्रिपत्रिकालगायत खेलकुदका सामग्रीहरू पनि उचित ढङ्गबाट प्रयोगमा ल्याउन सकिन्छ र नयाँ सामग्रीहरू पनि निर्माण गर्न सकिन्छ ।

प्रकृति नै गुरु
भविष्यका कर्णधारहरूले आफ्नो जीवनको मूल्य, मान्यता र आचरण स्थापित गर्न आफ्नै धर्म, संस्कृति, भाषा, भेषभुषाबाट समेत ज्ञान हासिल गर्न सक्ने वातावरण बनाउनुपर्दछ । आफ्नै संस्कृति र प्रकृतिबाट के ज्ञान प्राप्त न होला ! मात्र, तिनलाई शैक्षिक कार्यक्रम र पाठ्यक्रमसँग तालमेल मिलाउने सिर्जनशील कदमहरूको खाँचो पर्छ । आफ्नै संस्कृति र आफ्नै प्रकृतिलाई गुरुको स्वरुपमा सदुपयोग गर्न शिक्षक वर्गले विशेष योगदान पु¥याउनुपर्ने हुन्छ । विद्यालयको दायरालाई फराकिलो बनाउँदै खुला समाज र खुला आकाशको परिवेशमा शिक्षक, शिक्षार्थी र समाजले आपसी सहभागिताको आधारमा भोलिका कर्णधार निर्माण गर्नुपर्छ । यसका लागि प्रकृति र संस्कृतिलाई गुरु थाप्नु चाहिं जरुरी हुन्छ ।

२०६४ चैत अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/