शिक्षामा पहुँच पुग्यो, गुणस्तर झरयो

by • • मनका कुरा (ब्लग)Comments (0)247

 

– पूर्ण पी राई

कुनै विद्यार्थी साह्रै राम्रो फूटबल खेल्छ । उसले पनि ‘पढेको’ सावित गर्न व्याकरण, गणित र विज्ञानका सूत्रकै परीक्षा उत्तीर्ण गर्नुपर्छ । फूटबलको परीक्षा दिने मौका नै पाउँदैन । फूटबलमा लगावकै कारण ऊ विभिन्न विषयको परीक्षा राम्रो गर्न सक्तैन, फेल हुन्छ र अन्ततः अयोग्य ठहरिन्छ । कला, साहित्य पनि त्यस्तै भए ।
वि.सं. १९१० मा जङ्गबहादुरले आफ्ना सन्तानलाई पढाउन दरबार स्कूल खोलेको झ्ण्डै १०० वर्षपछि, २००७ सालबाट मात्रै नेपालमा सर्वसाधारणको लागि विद्यालय खुल्ने क्रम व्यापक बन्यो । १०४ वर्षे राणा शासनकालमा देशभर साढे ३०० विद्यालय मात्र थिए । अहिले देशमा विद्यालय संख्या ३५ हजार २२२ (शैक्षिक तथ्याङ्क, २०७३) र साक्षरता ६५.९ प्रतिशत पुगेको (राष्ट्रिय जनगणना, २०६८) बताइन्छ ।
शिक्षा क्षेत्रमा अनुसन्धान, सर्वेक्षण, तालीम आदिका नाउँमा दर्जनौं योजना, परियोजना र कार्यक्रम सञ्चालन भए । सबैमा तीनवटा शब्द– पहुँच, समता र गुणस्तर खूबै प्रचलनमा रहे, छन् । शुरूआती अवधिमा गाउँ–गाउँमा विद्यालय खुल्ने र आम जनताका बालबच्चाले विद्यालय प्रवेश पाउनुपर्ने कुरा प्राथमिकतामा थियो । जब विद्यालय व्यापक बने र विद्यालयमा पढ्ने विद्यार्थी संख्या लाखौं पुग्यो, तब गुणस्तरको कुरा उठ्न थाल्यो । विद्यालय, विद्यार्थी संख्या र छात्रछात्राको अनुपातका तथ्याङ्कले शिक्षामा पहुँच र समता बढेको देखाउँछ । तर राष्ट्रियस्तरका परीक्षाका नतिजाले गुणस्तर बढेको भने देखाउँदैनन् । सरकारी विद्यालयहरूको गुणस्तर अर्थात् शैक्षिक उपलब्धि त झ्नै खत्तम !

पुङमाङे गुणस्तर
शैक्षिक गुणस्तर के हो ? नेपालको शिक्षा नीति र व्यवहारमा गजबको विरोधाभास व्याप्त छ । शिक्षा नीतिहरू भन्छन्, “व्यक्तिका अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराइ सर्वाङ्गीण विकास गर्ने ।” हवार्ड गार्डनरको मल्टिपल इन्टेलिजेन्स थ्यौरी अनुसार कुनै पनि व्यक्ति अबौद्धिक र प्रतिभाविहीन हुँदैन । उनले नौ खाले बौद्धिकता वा प्रतिभामा संसारभरका मानिसहरूलाई अटाएका छन् । लेखपढ गर्नु ती नौ मध्येको एउटा प्रतिभा मात्रै हो । हाम्रो शिक्षा नीतिले पनि यो सिद्धान्तलाई खूबै जोड दिन्छ । तर व्यवहार ठीक उल्टो हुन्छ । सबैखाले प्रतिभाहरूलाई चिन्ने र तिनको समुचित विकास गर्ने भन्दै सबैखाले प्रतिभाका व्यक्तिहरूलाई एकैखाले परीक्षा मार्फत पास/फेल वा श्रेणीकरण गरिन्छ । राष्ट्रियस्तरका परीक्षामा घोक्ने र लेख्ने कुराको मात्रै मापन गरिन्छ । सह क्रियाकलापको नाममा गरिने विभिन्न गतिविधि र तिनमा उत्कृष्ट ठहरिएका विद्यार्थीलाई कमसल सावित गरिन्छ । उदाहरण, कुनै विद्यार्थी साह्रै राम्रो फूटबल खेल्छ । उसले पनि ‘पढेको’ सावित गर्न व्याकरण, गणित र विज्ञानका सूत्रकै परीक्षा उत्तीर्ण गर्नुपर्छ । फूटबलको परीक्षा दिने मौका नै पाउँदैन । फूटबलमा लगावकै कारण ऊ विभिन्न विषयको परीक्षा राम्रो गर्न सक्तैन , फेल हुन्छ र अन्ततः अयोग्य ठहरिन्छ । कला, साहित्य पनि त्यस्तै भए । घोक्न र ओकल्न सक्ने बाहेकका विशेष प्रतिभाशाली विद्यार्थीलाई सरकारी स्तरबाटै अयोग्य, नीच र तन्नम उपाधि दिने गरिन्छ ।
‘आत्मनिर्भर, स्वरोजगार र श्रमप्रति सम्मान गर्ने नागरिक उत्पादन गर्ने’ कुरा जताततै पढ्न, देख्न र सुन्न पाइन्छ । व्यवहारमा व्यक्ति जति पढ्यो उति परनिर्भर, बेरोजगार र श्रमबाट विमुख बन्दै जान्छ । देशका उच्चशिक्षा केन्द्रहरू बेरोजगार उत्पादन गर्ने भट्टीमा रूपान्तर हुँदै गएका छन् । ज्ञान दिइन्छ, सीप सिकाइँदैन । उच्च शिक्षा हासिल गरेकाहरू तल्लो तहको लागि खुलेका विज्ञापनमा भिडिरहेका हुन्छन् । जागीर खोज्दा खोज्दा उनीहरूको मन र जुुत्ता दुुवै फाटेको हुन्छ । धेरै पढ्नु भनेको ठूलो जागीर पाउनु भन्ने सिकाइ छ । कुनै किसिमको उद्यमशीलता हाम्रो शिक्षाले सिकाउँदैन । यसले ‘ह्वाइट कलर स्यालरी म्यान’ मात्रै उत्पादन गर्छ । तर यस्ता पद सीमित हुन्छन्, प्रमाणपत्रधारी चाहिं असीमित । ‘ह्वाइट कलर स्यालरी म्यान’ हरू देशको आधुनिकीकरणका लागि प्रमुख ‘ड्राइभिङ फोर्स’ त हुन् तर ती न त मालिकको स्तरमा उक्लन सक्छन् न मजदूरको तहमा झ्र्न नै । कृषिप्रधान देशका कृषि प्राविधिक कृषिको आधुनिकीकरणतिर हैन कृषि कार्यालयको जागीर कुर्दै, भिड्दै बेरोजगार बस्छन् । व्यक्ति शिक्षाका खुट्किलामा जति माथि उक्लिंदै जान्छ उति श्रमबाट विमुख बन्दै जान्छ ।
प्रचलित मान्यता र प्रचलनमा गुणस्तर त्यसैलाई मानिन्छ जसको मार्कशीट वा ग्रेडशीटमा सबैभन्दा धेरै अङ्क छ । बिहानदेखि बेलुकासम्म विद्यार्थीलाई थुनेर, सूत्र रटाएर सबैभन्दा धेरै विद्यार्थी उच्च श्रेणीमा उत्तीर्ण गराउने विद्यालय उत्कृष्ट मानिन्छ । निजी विद्यालयका यस्ता अभ्यास सरकारी विद्यालयमा पनि सर्दै गएका छन् । ‘गुणस्तर कायम गराएको’ नाउँमा सरकारद्वारा यस्तै विद्यालय पुरस्कृत गरिन्छन् । तर त्यस्ता ‘गुणस्तरेहरू’ ले आफ्नो लागि के गर्न सके, समाजलाई के योगदान गरे भन्ने लेखाजोखा चाहिं हुँदैन ।


ग्रामीण किराती समाजमा एउटा शब्द छ, ‘पुङमाङे’ । यो बाँसको हुन्छ । एकापट्टि खाली र अर्कोपट्टि आँख्लो भएको सानो बाँसको ढुंग्रोलाई चुङ्गे भनिन्छ, पशुहरूलाई तरल औषधि खुवाउने साधन । यसका दुवै आँख्ला काटेर फ्याल्यो भने आगो फुक्ने ढुङ्ग्री वा सोथे बन्छ, गाउँको चूलोमा यो नभई हुँदैन । ठूलो छिप्पेको एक आँख्ला बाँसको एकापट्टि खाली र एकापट्टि आँख्लै छ भने त्यसलाई ढुंग्रो भनिन्छ जुन पानी बोक्न वा गाईभैंसी दुहुन काम लाग्छ । ठूलो बाँसको टुक्राको दुवैपट्टिका आँख्ला काटियो भने त्यो पुङमाङे बन्छ जुन कुनै काम लाग्दैन । दाउरा बाल्न पनि त्यसलाई चिर्नै पर्छ ।
‘उत्कृष्ट’ वा ‘गुणस्तरीय’ नै बन्छन् पुङमाङेहरू । यो क्रम तल्लो कक्षाबाटै शुरू हुन्छ । हरेक कक्षामा पहिलो हुने ‘जेहेन्दार’ मानिन्छ र जेहेन्दारलाई मनिटर, जुनियर रेडक्रसका पदाधिकारी, सदन नेता वा विद्यालयका हरेक गतिविधिमा मौका दिएर हौस्याउने गरिन्छ । तर, नेतृत्व क्षमता कक्षा फेल हुनेमा प्रथम हुनेमा भन्दा बढी पनि हुन सक्छ भन्ने सम्भावनालाई ख्याल गरिन्न । प्रथम हुनेहरू घरमा पनि पुल्पुलिने अवसर पाउँछन् । एउटै परिवारका केटाकेटीहरूमध्ये, परीक्षामा उच्च अङ्क ल्याउनेले पढ्नु मात्रै पर्ने अनि कम अङ्क ल्याउनेले अनेक काम गर्नुपर्ने वातावरण अभिभावकले बनाउँछन् । यहींबाट ‘उत्कृष्ट’ जति ‘भुईं न भाँडाका’ बन्दै जान्छन् । हुँदाहुँदा, जति कक्षा चढ्दै गयो उति ठूलो पुङमाङे बन्दै जान्छन् ती । फेल हुनेहरू मजदूरी गरेर वा सानातिना उद्यम गरेर गरिखान सक्षम भइसक्दा कतिपय ‘उत्कृष्ट’ हरू प्रमाणपत्रको थाक बोकेर जागीरको ढोका चहार्दा चहार्दै निराश भएका भेटिन्छन् ।
‘उत्कृष्ट’ लाई विज्ञान, चिकित्सा र इन्जिनियरिङतिर लाग्न प्रेरित गरिन्छ, जहाँ ‘इमान र इज्जत’ वा काम र नाम एकसाथ पाइन्छ भनिन्छ । यी क्षेत्रका अधिकांश व्यक्तिमा सामाजिकता, मानवीय सम्बन्ध र संवेदनाको ज्ञान हुँदैन । जसले गर्दा उनीहरू अपेक्षित सेवा दिनसक्तैनन् । सरकारी विद्यालयमा अंग्रेजी, गणित र विज्ञानका शिक्षकलाई ‘विशेष’ मानिन्छ । उनीहरूको फुर्तीफार्ती बेग्लै हुन्छ । सबैभन्दा धेरै विद्यार्थी यिनै विषयमा फेल हुन्छन्, तैपनि उनीहरू आफूलाई अब्बल ठानिरहन्छन् । धेरैजसो यस्ता शिक्षक समाजमा अक्कडो, कोक्ल्याँटो र अव्यावहारिक बन्छन् । पूरै पुङमाङे !

बाँदरलाई लिस्नो
सरकार गुणस्तर वृद्धि गर्ने भन्दै स्रोत, साधन र समय खन्याएको खन्यायै, नतिजा बालुवामा पानी सरी हराएको हरायै भएको लामो समय भइसकेको छ । तल्लो तहमा निरन्तर मूल्याङ्कन र कक्षा १० मा अक्षराङ्कन पद्धति जस्ता उदार कक्षोन्नति प्रणाली लागू भएपछि विद्यार्थीमा पढ्नु नपर्ने र शिक्षकमा घोटिएर पढाउनु नपर्ने मनोविज्ञान हावी भयो । शिक्षक विद्यार्थी दुवै लथालिंगे बन्न थाले । पहिलेका धेरै विद्यार्थी उमेरका कारण अनियन्त्रित अराजक हुन्थे किनभने दुई दशकभन्दा अघि माध्यमिक तहमा थुप्रै विद्यार्थी शिक्षक भन्दा पनि छिप्पिएका हुन्थे । यिनले पूरै कक्षा नियन्त्रण गर्थे । आफूभन्दा पाका यस्ता विद्यार्थीलाई शिक्षकले न नियन्त्रण गर्न सक्थे न डोरयाउनन । अहिले नीतिले त्यसो गर्दैछ । उमेरले साना भए पनि युगले विद्यार्थीलाई बाठा बनायो । सरकारी नीति शिक्षकले भन्दा विद्यार्थीले चाँडो र ‘बढ्ता’ बुझन थाले । यसले ‘जागीरे’ शिक्षकलाई त राम्रै गरयो, तर सँगै समर्पित शिक्षकलाई पनि निरुत्साहित गर्दै लग्यो । किनभने विद्यार्थीले बुझे , ‘अब फेल भइन्न ।’ त्यसो भए किन पढ्ने ? हाजिरी पुगे पास !
उदार कक्षोन्नतिको नियत असल थियो । विद्यार्थी फेल हुने र विद्यालय छाड्ने कारणले वर्षेनि हुने शैक्षिक क्षति कम गर्नु । विकसित देशहरूले उहिल्यै लागू गरिसकेका कुरा थिए । नेपाल भूगोलमा सानो भए पनि विविधतामा ठूलो छ । शहर र गाउँ, धनी र गरीब, उच्च जाति र सीमान्तकृत, पहाड र मधेशबीच चेतनाको स्तरमा ठूलो खाडल छ । एउटै भूगोलमा पनि समुदायबीच सामाजिक–सांस्कृतिक भिन्नता छ । सूचनाप्रविधिले परिपूर्णदेखि भनेको बेला चक समेत नपाउने विद्यालय राजधानीमै छन् । यस्तो स्थितिमा ‘एउटै जामा’ सबैलाई पहि¥याइदिंदा असल कुरा पनि हाम्रो सन्दर्भमा प्रत्युत्पादक भइदियो ।
शिक्षाको गुणस्तर बढाउने भने पनि पहुँच मात्र बढ्यो । फेल नहुने भएपछि पढाइ छाड्ने घटे । तल्लो तहका सबैजसो माथिल्लो कक्षा चढ्दै गए । नाम लेख्नैमा समस्या हुनेहरू, नेपाली सावाँ अक्षर फरर्र पढ्न नसक्नेहरू पनि माध्यमिक तहसम्म पुग्न पाए । आकस्मिक गम्भीर समस्यामा परेकाहरू बाहेक धेरैजसोले कक्षा १० सम्म सहज पहुँच पाए ।
पञ्चायतकालका ठूलासाना सबैखाले पञ्चहरूको मुखबाट खूबै फट्किने फ्रेज थियो, ‘माटो सुहाउँदो’ । माटो सुहाउँदो प्रजातन्त्र, माटो सुहाउँदो शिक्षा, माटो सुहाउँदो खेलकुद, माटो सुहाउँदो कला आदि–त्यादि । पञ्चायती व्यवस्था पछि ‘माटो सुहाउँदो’ फ्रेजलाई ‘युग सुहाउँदो’ ले विस्थापित ग¥यो । युग सुहाउँदो नीति, नियम र कार्यक्रमहरूको बाढी लाग्यो ।
हाम्रा नीति र कार्यक्रम ‘युग सुहाउँदो’ मात्रै भएर नपुग्ने रहेछ, माटो सुहाउँदो पनि हुनै पर्ने रहेछ । अर्थात् माटो र युग दुवै सुहाउँदो हुनुपर्ने रहेछ । हाम्रो समाजको बनोट, सामाजिक मनोविज्ञान, समाजको अपेक्षा, समाजको उत्पादन सम्बन्ध र अर्थ–राजनीति अझै पछौटे छ । क्रमिक रूपमा विकसित बन्दैछ । तर शिक्षाका हाम्रा नीति र कार्यक्रम समाजलाई छाडेर एक्लै निकै अगाडि पुगेको आभास हुन्छ ।
(सिद्धेश्वर मावि, दावाँ, भोजपुर)

शिक्षक  मासिक, २०७४ असार अंकमा प्रकाशित

Related Posts

/*sign up form*/