शिक्षक र सपना

by • • मनका कुरा (ब्लग)Comments (0)1524

Print Friendly, PDF & Email
Purna P. Rai

पूर्ण पी राई

 

 

 

 

 

 

२०६९ को मदन पुरस्कार प्राप्त उपन्यास दमिनी भीर का लेखक राजन मुकारुङ हरेक भेटमा दोहर्‍याउँछन्, “शिक्षकले आफ्ना विद्यार्थीलाई सपना देख्न सिकाउनुपर्छ ।” शिक्षणबाटै ‘करियर’ शुरू गरेका मुकारुङले कति विद्यार्थीलाई कस्ता कस्ता सपना देख्न कसरी सिकाए; उनी र उनले सपना देख्न सिकाएका विद्यार्थीलाई नै थाहा होला । उनको भनाइले ठूलै सैद्धान्तिक–दार्शनिक अर्थ राख्छ । तर त्यसलाई व्यवहारमा उतार्नु कठिन रहेछ ।

जीवनको सफलताको पहिलो ईंटा व्यक्तिले देख्ने सपनाबाट शुरू हुन्छ, र ‘सपना सफलताको आधार हो’ सबैले भन्ने कुरा । जीवनप्रसाद राईले सपना देख्नेहरूका लागि किताबमा लेखेका छन् “आजको युग नै यस्तो छ कि यसले सबैलाई सपना देख्न लगाइरहेको छ । सपना देख्नु आजको आवश्यकता हो ।” अमेरिकी बक्सर मोहम्मद अलिले भने, “महान सपना नदेख्ने मान्छेहरू पखेटा नभएका चरा जस्तै हुन् ।”

मलाई दशैंमा टीका थाप्दा ‘मलायाको लाहुरे हुनू, लप्टन, कप्तान हुनू’ भनेर आशीर्वाद दिन्थे अग्रजहरू । मानौं; राई, लिम्बू, मगर र गुरुङ हुनु भनेकै बेलायत, भारतको सेनामा सेवा गर्र्नू, देश–विदेश घुम्नु र बहादुरीका साथ लड्नका लागि मात्र हुन् । बूढा लाहुरेहरू दोस्रो विश्वयुद्ध र मलाया युद्धका संस्मरणहरू सुनाउँथे । रमाइलो लाग्थ्यो । दौंतरीहरू लाहुरे हुनलाई जीउ बनाउन थालिहाल्थे, जुँगाको रेखी बस्नु अगाडिदेखि नै । उनीहरूको पहिलो प्राथमिकता बेलायत, दोस्रोेमा भारत र केही नचलेपछि नेपालको सेना हुने गर्दथ्यो । तर मैले लाहुरे हुने सपना कहिल्यै देखिनँ ।

एक पटक गाउँमा खैरा लुगा र राता टोपी लाएका दुई जना पुलिस आएका थिए– हबल्दार र सिपाही । हाम्रै घरमा बास बसे । साहिंला दाइलाई भाले र रक्सी गाउँबाट ओसार्दाको हैरान । खाने दुई जना, सिंगासिंगै भाले र दुई पाथी रक्सीले नपुगेको । उल्टो तिनै, घरकालाई हप्काउँछन्– मासु र रक्सीले पुगेन भनेर । पञ्चायती व्यवस्था थियो । आक्कलझुक्कल गाउँ पुग्ने पुलिस राम्रै धीत मारेर फर्किन्थे । त्यतिबेला ‘पुलिस भए सित्तैंमा टन्न खान पाइने रहेछ, मान्छे हप्काउन पनि पाइने रहेछ’ भन्ने मेरो दिमागमा घुसेको भए म पुलिस हुने सपना देख्थें होला । पुलिसले ठग्दोरहेछ भन्ने लाग्यो । चकचक गरेको बेला रोक्नलाई ‘पुलिसले लैजाला’ वा ‘पुलिस बोलाइ दिऊँ’ भनेर घरगाउँका ठूलाले केटाकेटी तर्साउन प्रयोग गर्ने वाक्यांशले पनि मलाई पुलिस हुने सपना देख्नबाट विमुख गराए होलान् ।

म बच्चा हुँदा गाउँ पञ्चायत सचिव बालकृष्ण बास्तोलालाई युवाहरूले कुटे, योजनाको पैसा खायो भनेर । ‘कर्मचारी भए भ्रष्टाचार गरेर पैसा कमाउन सकिने रहेछ’ भन्ने लागेको भए त्यस्तै सपना देख्ने थिएँ होला । सरकारी कर्मचारी हुनु भनेको सुरुवाल छेरुन्जेल कुटाइ खानुपर्ने रहेछ भन्ने लाग्यो । कर्मचारी हुने सपना देखिनँ ।

घटनाहरूले मलाई विकर्षण गरे, अन्तै मोडे, गन्तव्य दिएनन् । उपेन्द्र सुब्बाको प्रेम शीर्षक कवितामा भने जस्तो,

“घाम हेर्दा राग देखें

जून हेर्दा दाग देखें

तारा हेर्दा टाढा देखें

फूल हेर्दा काँडा देखें

मैले सबैमा खोट देखें ।”

सपना देख्ने कुरा सापेक्षिक हुँदोरहेछ । दोस्रो विश्वयुद्ध हाँक्ने अमेरिकी राष्ट्रपति थिओडर रुजबेल्टले सपनाको सापेक्षताबारे भने, “सपना दर्जनौं छन् तर त्यसलाई व्यवहारमा कसरी ल्याउन सकिन्छ भन्ने वास्तविकता माथि सोच्नु महत्तवपूर्ण छ ।” जन्मँदाको वातावरण, संस्कार र संस्कृतिले व्यक्तिको सपना निर्धारण गर्छ । एक व्यक्तिले देख्न सक्ने सपनाहरू दर्जनौं भए पनि ती संस्कार, संस्कृति र परम्पराकै वरिपरि घुम्छन् । कति मान्छेहरू सपनाले सफल हुन्छन्, कति परम्पराले । कुनै पनि व्यवहार लामो समयसम्म एकदेखि अर्को पुस्तामा हस्तान्तरण हुने क्रम निरन्तर भएपछि त्यो संस्कार, संस्कृति र परम्परा बन्छ ।

सोलुका शेर्पालाई हिमाल केही पनि हैन । हिमालको टुप्पोमा उनीहरूलाई सपनाले हैन परम्परा र पेशाले पुर्‍याउँछ । संसारभरिबाट आरोहीहरूलाई सगरमाथातिर सपनाले डोर्‍याउँछ । विराटनगरका कति मान्छेलाई भेडेटारै हिमाल जस्तो लाग्ला । मच्छड र गर्मीले आजित बनाउन थालेपछि उनीहरू भेडेटार पुग्ने सपना देख्न थाल्छन् र पुगेको दिन संसार जितेको महसूस गर्छन्, हिलारी र तेन्जिङले सगरमाथाको टुप्पो टेके जस्तो । नेपालको मान्छे समुद्र हेर्न पाए स्वर्ग पुगेको अनुभव गर्छ; उता माल्दिभ्सका मान्छेलाई देशै समुद्रमा डुब्ने हो कि भन्ने चिन्ता छ ।

खोटाङ जिल्लामा दुइटा गाउँ छन् निकै चर्चित । एउटा पश्चिमी क्षेत्रको खार्पा र अर्को सदरमुकाम दिक्तेलको आचार्य गाउँ । खार्पाको हरेक पोखरेल र आचार्य गाउँको हरेक आचार्य निजामती सेवामा जागिर खाने सपना देख्छ । सके आफू नसके आफ्ना छोराछोरी निजामती कर्मचारी भएको देख्न चाहन्छन् । त्यहाँ निजामती सेवामा कोही न कोही नभएको घरपरिवार लगभग छैन । २०५० को दशकमा विशिष्ट श्रेणीका सचिव मात्रै नौ जना खार्पाली थिए । एउटै गाउँका, एउटै वंशका । आचार्य गाउँमा नायव सुब्बा र खरिदार नभएको घर विरलै होलान् ।

एउटा किरातीले बेलायतको लाहुरे हुने सपना देख्नु, एउटा बाहुनले हाकिम वा नेता बन्ने सपना देख्नु, एउटा क्षत्रीले कुमभरि सेना प्रहरीको फुली भिर्ने सपना देख्नु, एउटा शेर्पाले धेरैपटक सगरमाथा चढ्ने सपना देख्नु, एउटा मारवाडीले सबैभन्दा धनी बन्ने सपना देख्नु सामाजिक–सांस्कृतिक मनोविज्ञानले सिकाएका कुरा हुन् । मलाई लाग्छ, यी समग्रमा सपना हैनन्, पुख्र्यौली पेशा हुन् । बाबुबाजेका बिंडो थाम्ने काम मात्रै हुन्, यी । वास्तविक सपना देख्नु भनेको बाबुबाजेले गरिल्याएको कामभन्दा टाढा र फरक गन्तव्य देख्न र पुग्न प्रयत्न गर्नु हो ।

डेभिट जे श्वार्टज द म्याजिक अफ थिंकिङ बिग किताबमा लेख्छन्, “सपना देख्नु भनेको रचनात्मक सोच बनाउनु हो । परम्परागत विचारलाई परास्त गर्नु हो ।” लाक्पा शेर्पाले सगरमाथा चढ्नु र अर्विन तिम्सिनाले सगरमाथा चढ्नु फरक कुरा हुन् । गन्तव्य उही हो, त्यहाँ अघिल्लालाई परम्पराले पुर्‍यायो, पछिल्लालाई सपनाले पुर्‍यायो । हरिभक्त कटुवालले रहर कवितामा भनेजस्तो ‘बनिबनाउ बाटोमा हिंड्नु हैन आफैं नयाँ बाटो बनाउँदै हिंड्ने प्रयत्न गर्नु’ सपना देख्नु हो ।

सपनाको गहिराइ सपना देख्नेको उँचाइले निर्धारण गर्छ । भाषा, जात, धर्म, राज्यसत्तामा पहुँच, आर्थिक–भौगोलिक अवस्था आदिले व्यक्तिको उँचाइ निर्धारण गर्छ । त्यही उँचाइबाट उसले सपना देख्छ । अग्लो ठाउँबाट टाढासम्म देखिन्छ, होचो ठाउँबाट नजिकै मात्रै देखिन्छ । भूगोल र ज्यामितिको भौतिक शास्त्रीय यो नियम जीवनमा पनि लागू हुन्छ ।

मध्यपश्चिमका पहाडमा काठका कोसी (सानो आरी) बनाउँदै रमाउने राउटेले बढीमा कबिलाको मुखिया हुने सपना देख्ला । एउटा भिखारीले एक थाल भातको सपना देख्ला । एउटा सुकुम्बासीले दुई आनाको लालपुर्जा पाउने सपना देख्ला । एउटा खलासीले ड्राइभर बन्ने सपना देख्ला । मकवानपुरका कुनै वनकरियाले प्रधानमन्त्री बन्ने सपना देख्न अझै सय वर्ष लाग्ला । सप्तकोशीको छालमा पुस्तौंदेखि हेलिंदै जीविका गर्ने माझिले ओलम्पिकको पदक जित्ने सपना देख्नै सक्तैन । प्रशिक्षक राखेर बनावटी पोखरीमा पौडिन सिक्नेहरूले पदक जित्छन् ।

ग्लोरिया स्टेइनमको द टाइम फ्याक्टर निबन्धको सारांश हो, “मान्छेको सोच्ने क्षमता उसको आर्थिकस्तर, पद–प्रतिष्ठा, लिंग र सामाजिक अवस्थाले निर्धारण गर्दछ । गरीबले भन्दा धनीले, कामदारले भन्दा मालिकले, पियनले भन्दा हाकिमले, महिलाले भन्दा पुरुषले लामो सोच्छन् । गरीबको दिमागमा दैनिक आवश्यकताका कुराहरूले राज गरेको हुन्छ । त्यसैले बिहान बेलुकाको लागि र बेलुका भोलि बिहानको लागि मात्रै सोच्न सक्छ । धनी व्यक्ति छोरा–नातिको लागि सोच्छ । कारखाना मालिक दशौं वर्षपछिको सोच बनाउँछ, मजदूर हप्ता कटेपछि आउने तलबको । पितृसत्तात्मक समाजमा पुरुषहरू पदप्रतिष्ठा प्राप्त गर्ने सोच्छन् । महिलाहरू दैनिक व्यवहार र भान्छा मात्रै सोच्छन् । सोच अनुसारकै योजना बनाउँछन् ।”

योजना भन्नु नै सपना हो, सपना पूरा गर्ने आधार हो । जीवनको लक्ष्य निर्धारण गर्नु र त्यसलाई प्राप्त गर्ने प्रयत्न गर्नु नै सपना हो । सपना कल्पनाबाट शुरू हुन्छ । कल्पनाबाट परिकल्पना, परिकल्पनाबाट सोच, सोचबाट योजना अनि योजनाको कार्यान्वयन वा प्रयत्न ।

सामाजिक मनोविज्ञान भन्दा पर पुग्न समाजमा विद्रोह गर्नु पर्दोरहेछ । बाहिर कसै न कसैले बाटो देखाउनु पर्दोरहेछ वा कसै न कसैबाट प्रभावित हुनु पर्दोरहेछ । नत्र सामाजिक मनोविज्ञानलाई नाघ्न खोज्नेहरू चिप्लिंदा रहेछन्, लड्दा रहेछन् ।

मुकारुङको परिवार तीन पुस्तादेखि संगीत र साहित्यमा सफल छ । पहिलो पुस्ताले पारिवारिक परम्पराबाट बाहिरिएर फरक क्षेत्रमा स्थापित हुन संघर्षका ‘धेरै पापड बेल्नु’ पर्‍यो । पछिल्लो पुस्ताकाले उनै अघिल्लो पुस्ताको दौराको फेर समातेर लड्खडाउँदै हिंड्न सिके । आफ्नै खानदानका अघिल्ला पुस्ताबाट पछिल्लो पुस्ताकालाई प्रेरणा, मार्गदर्शन र उत्प्रेरणाका सकेजति सबैखाले सहयोग गरे । मुकारुङ परिवारका डेढ दर्जन व्यक्ति साहित्य र गीत–संगीतका क्षेत्रमा स्थापित छन् ।

कीर्तिपुर क्याम्पस पढ्दा देखें, पश्चिमाञ्चलका सबैजसो बाहुन–क्षत्री केटाकेटी टुप्पी कसेर लोकसेवा भिडिरहेका । शाखा अधिकृत पास गर्ने अधिकांश त्यतैका । उनीहरूका बाजे, बाबुदेखि देख्दै आएका सपनाः सरकारी जागीर । दुई सय वर्ष अघिका आदिकवि भानुभक्त आचार्यका बा नै सरकारी कर्मचारी, खरिदार ।

सपना र समय कहिलेकाहीं समानुपातिक र कहिलेकाहीं व्युत्क्रमानुपातिक हुँदोरहेछ । कति मान्छेहरू सपना देख्छन् पूरा गर्न सत्तैनन् । आफूले देखेको सपना प्राप्त गर्न दौडिंदा दौडिंदै सिद्धिन्छन् । कोही थाक्छन् । कोही लड्छन्, कहिल्यै उठ्न नसक्ने गरी । कोही समयभर निदाउँछन्, निदाइरहन्छन् । सपना देख्दैनन् । ब्यूँझिंदा आफू कतै छुटेको महसूस गर्छन् र बाँकी जीवन आफ्नो समय, समाज र सत्तालाई धिक्कार्दै कटाउँछन् ।

मेरा न बाजेले सपना देखे, न बाले । न मैले सपना देखें । न मलाई कसैले सपना देख्ने बनाउन सके । फलस्वरुप मैले कुनै सपना देखिनँ । लाहुर जानु र भीरपाखा खोस्रिनुभन्दा पर पनि जीवन छ भन्ने पत्तो नपाई मेरो ऊर्जावान समयको अवसान भयो । मसँग समय थियो, सपना देख्न सकिनँ । कतिपयले सपना देख्ने समय नै पाएनन् । विश्वप्रकाश शर्माले १५ फागुन २०७२ को कान्तिपुर मा लेखे, “बीपीसँग सपना थियो, समय भएन । हामीसँग समय प्रशस्तै भयो तर सपना भएन ।” यहाँनेर अरनोल्ड ग्लासोको यो भनाइ उपयुक्त होला, “भविष्य जहिले पनि अकस्मात्, हामी सावधान हुनुभन्दा अगाडि नै आइपुग्छ ।”

एन शाहले द विफलता किताबमा भनेको “हामी सबैमा कुनै न कुनै सपना हुन्छ” भनाइ मेरो जीवनमा मेल खाएन । निदाएको बेला त मैले पनि कैयौं सपना देखें तर जीवनको सपना, भविष्यको सपना, करियरको सपना देखिनँ । मिसाइल म्यान भनेर संसारभरि चिनिने भारतका ११औं राष्ट्रपति अब्दुल कलामले भने, “सपना त्यो होइन जो निदाएपछि देखिन्छ । सपना त्यो हो जसले निदाउन दिंदैन ।” मेरा सपनाले मलाई जगाउन सकेनन् ।

एउटा शिक्षकले विद्यार्थीलाई भनेछ, “तेरो उमेरमा अब्राहम लिंकन नेता भइसकेका थिए । तँ चाहिं सिंगान पुछ्न जान्दैनस् ।” विद्यार्थीले भनेछ, “सर, तपार्इंको उमेरमा अब्राहम लिंकन त अमेरिकाको राष्ट्रपति भइसकेका थिए, तपाईं चाहिं खोइ राष्ट्रपति भा’को, हामीलाई गाली मात्रै गर्ने ?”

म र मजस्ता शिक्षकहरूको अवस्था ठीक त्यस्तै छ । अबका विद्यार्थी अहिलेका शिक्षकहरू आफू विद्यार्थी हुँदाको भन्दा धेरै अगाडि छन् । उनीहरू विचार र दर्शनको सपना हैन, व्यवहारको सपना देख्न चाहन्छन् । किशोर विद्यार्थीलाई उनीहरूले देख्ने ‘फ्यान्टासी’ सपनाबाट यथार्थतिर डोर्‍याउनु जरूरी छ, तर कसले ! आफ्नै कुनै सपना नभएको, आफूले कहिल्यै सपना देख्न नसिकेको मान्छेले अरूलाई सपना देख्न सिकाउनु एकदम गाह्रो काम हो । धनकुटा क्याम्पस पढ्दा, हिउँदे बिदापछि जानेबेला बाले भनेका थिए, “राम्रो पढ्नू, ठूलो मान्छे बन्नू !” छोरो ‘ठूलो मान्छे’ होस् भन्ने बाको चाहना थियो । शायद सपना पनि । तर त्यो ‘ठूलो मान्छे’ के हो, उनले बताएनन्, होला उनलाई पनि थाहा थिएन । म धनकुटामा रहँदै बा कहिल्यै नफर्किने गरी बिदा भए । कहिलेकाहीं निद्राको सपनामा बालाई देख्छु र सोध्छु, “बा ! ठूलो मान्छे भनेको के हो ?”

सिद्धेश्वर उमावि, दावाँ, भोजपुर

Related Posts

/*sign up form*/