शिक्षक र मर्यादाः परिभाषा नै बदलिएको छ

by • • बहसComments (0)1137

– ओशो

पहिला जसले आदर प्राप्त गरेको थियो, ऊ शिक्षक थिएन, गुरु थियो । शिक्षक र गुरु भिन्न कुरा हुन् । शिक्षकलाई आदर प्राप्त हुन सक्दैन । उसले या त आदर पाउने आकाङ्क्षा छोड्नुपर्छ या गुरु हुने हिम्मत जुटाउनु पर्छ ।

आधुनिक शिक्षक कस्तो हुनुपर्छ ? प्रश्न महत्वपूर्ण छ, तर यसको उत्तर दिन भने सजिलो छैन । किनभने आजभन्दा अगाडि संसारमा शिक्षक छँदै थिएनन् । शिक्षकको उपस्थिति नै आधुनिक कुरा हो । शिक्षकको काम व्यवसाय भएको नै आधुनिक सभ्यतामा हो । पहिला पनि गुरुहरू थिए, तर तिनीहरू आधुनिक शिक्षकहरूभन्दा निकै भिन्न थिए । शिक्षण उनीहरूको पेशा थिएन, उनीहरूको आनन्द थियो । अहिलेको संसारमा शिक्षण व्यवसाय बनेको छ । त्यसको परिणाम के भएको छ भने शिक्षण संस्थाहरू फ्याक्ट्री र कारखानाहरू जस्ता भएका छन् ।

सबै ठाउँका शिक्षकहरूको एउटा साझ समस्या छः विद्यार्थीहरू उनीहरूलाई आदर गरिरहेका छैनन् । भनिन्छः पहिले यस्तो थिएन । तर वास्तवमा पहिला जसले आदर प्राप्त गरेको थियो, ऊ शिक्षक थिएन गुरु थियो । शिक्षक निकै नै भिन्न कुरा हो । शिक्षकलाई आदर प्राप्त हुन सक्दैन । उसले आदर पाउने आकाङ्क्षा नै छोडिदिनु पर्छ, होइन भने गुरु हुने हिम्मत जुटाउनु पर्छ । गुरुलाई आदर गर्नुपर्छ भन्ने कुरा पनि होइन । कुरो उल्टो छ । जसलाई आदर नगरिकन धरै छैन, जसले हाम्रो आदरलाई तानेरै लिन्छ, त्यसलाई नै हामी गुरु भन्दछौं । तर शिक्षकको कुरा बेग्लै हो । शिक्षकले काम नै अलिकति बेग्लै गरिरहेको छ ।

गुरु त्यो हो, जसले कसैको आत्मालाई ब्यूँझउन सक्छ, कसैको व्यक्तित्वलाई गरिमा प्रदान गर्न सक्छ, उसभित्रको नफूलेको फूल फुलाई दिनसक्छ । शिक्षक भने सूचना र जानकारी बाँड्ने वाहनको काम गर्छ र विदा हुन्छ । पुराना पिँढीहरूले आर्जन गरेको ज्ञानलाई नयाँ पिँढीसम्म जोड्ने काम मात्र गर्छ । ऊ माध्यम मात्र हो ।

जिससको मृत्युपछि लगभग साढे अठार सय वर्षमा मनुष्य जातिको ज्ञान जति बढेको थियो, त्यति नै ज्ञान गएको डेढसय वर्षमा बढेको छ र गएको डेढसय वर्षमा जति ज्ञान बढेको थियो, त्यति नै ज्ञान पछिल्लो पन्ध्र वर्षमा बढेको छ । जति ज्ञान बढ्नलाई साढे अठार सय वर्ष लाग्दथ्यो, त्यति ज्ञान अहिले पन्ध्र वर्षमा बढिरहेको छ । यसको एउटा धेरै गहिरो परिणाम हुनु स्वाभाविक छ । आजभन्दा दुई सय वर्ष पहिले बाउ सधैँ छोराभन्दा बढी जान्दथ्यो, गुरु सधैँ चेलाभन्दा बढी जान्दथ्यो, आज त्यसो हुनु जरूरी छैन । सम्भावनाहरू आज बिल्कुल बदलिएका छन्, किनभने बीस वर्षमा एउटा पुस्ता फेरिन्छ, बीस वर्षमा नयाँ ज्ञानको ठूलो विष्फोट हुन्छ र बीस वर्ष पहिले शिक्षित भएको व्यक्ति अहिले आफ्नो विद्यार्थीभन्दा पनि पछाडि पर्छ ।

पहिला सारा ज्ञान अनुभवबाट मात्र उपलब्ध हुन्थ्यो । ज्ञान स्थिर हुन्थ्यो, हजारौं वर्षसम्म त्यसमा कुनै परिवर्तन हुँदैनथ्यो । यसैले शिक्षकलाई ढुक्क थियो । पछिल्लो सय वर्षमा सबै कुरा अस्तव्यस्त भएको छ । आज एउटा शिक्षक ‘म जे भनिरहेको छु, ठीक भनिरहेको छु’ भनेर आत्मविश्वासपूर्वक भन्न सक्दैन । किनभने पन्ध्र वर्ष पहिला ऊ विश्वविद्यालयबाट पास भएर आएका बेला उसलाई ज्ञानी सम्झ्इिन्थ्यो । पन्ध्र वर्षमा उसका सबै ज्ञानहरू पुराना भएका छन् । तीमध्ये कति त अब ज्ञान नै रहेनन् । आज शिक्षक र विद्यार्थीबीच अक्सर एक घण्टाको मात्रै दूरी हुने गर्छ । शिक्षक एक घण्टा पहिले तयारी गरेर आउँछ, एक घण्टापछि विद्यार्थीहरू पनि त्यति नै कुरा जान्दछन् । उनीहरूबीचको दूरी साह्रै थोरै हुन्छ र उसलाई धेरै आदरणीय मान्न सकिंदैन । आदर दूरीबाट पैदा हुन्छ । कोही शिखरमा उभिएको छ र हामी भुइँमा उभिएको छौं भने सम्मान पैदा हुन्छ । तर अचेल अलिकति अगाडि कोही उभिएको छ भने एकैछिनमा हामी पनि त्यहीं पुग्छौं ।

पहिला हमेसा बाउ छोरोभन्दा ज्ञानी हुन्थ्यो, किनभने ज्ञान अनुभवबाट मात्रै मिल्दथ्यो । एउटा मान्छे असी वर्ष बाँचेको थियो भने उसँग ज्ञान हुन्थ्यो । तर आज हालत धेरै फेरिइसकेको छ । आज उमेरसँग ज्ञानको कुनै सम्बन्ध रहेको छैन । बाउभन्दा बढी छोरो जानकार हुने सम्भावना धेरै बढी छ । किनभने बाउको जान्ने क्रम कहीँ रोकिएको होला र छोरो अहिले पनि जानिरहेको छ । र, बाउले जे जानेको थियो ती सब ज्ञानहरू बद्लिइसकेका छन् । फलतः बाउका खुट्टा पनि कामेका छन् र शिक्षकका खुट्टा पनि कामेका छन् । आज कसैले पनि पहिला जन्मिएको कारण अरूमाथि आफ्नो कुरा थोपर्न सक्दैन । यसैले आधुनिक शिक्षकलाई धेरै विनम्र हुनुपर्ने बाध्यता छ । पहिला विनम्र शिक्षकले हुनुपर्दैनथ्यो विद्यार्थीले मात्र विनम्र हुनुपथ्र्यो । शिक्षक अविनम्र नै थियो, निकै जर्कट्टो थियो । ठूलो अहङ्कारले भरिएको थियो ।

अब परिस्थिति फेरिएको छ र शिक्षकले विनयी हुनुपर्ने भएको छ । सारा संसारका विद्यार्थीहरू शिक्षकको अविनयी प्रवृत्तिको विरूद्धमा छन् । अबका विद्यार्थीहरूको भनाइ छ, अब शिक्षक शिक्षण संस्थानको केन्द्र बनेर रहँदैन, त्यहाँको केन्द्र त अब विद्यार्थी हुनेछन् ।

हिजोसम्म शिक्षक केन्द्र थियो । विद्यार्थी उसको परिधिभित्र थियो, अब स्थिति एकदम बद्लिएको छ । विद्यार्थी केन्द्र हुनेछ, शिक्षक परिधिमा हुनेछ । यदि ऊ पुरानै बानी लिएर हिँड्छ भने शिक्षक र विद्यार्थी बीचको खाडल ठूलो हुँदै जान्छ । त्यो खाडललाई सानो बनाउनु पहिलो आवश्यकता हो । यसका लागि शिक्षकहरूले आदरको विचार छोडेर प्रेमको विचारतिर आउनुपर्छ । मेरो मान्यता छ, आदरभन्दा पे्रम बढी मूल्यवान् छ । किनभने प्रेममा आदर त समाविष्ट छ, तर आदरमा जरूरी रूपले प्रेम समाविष्ट हुँदैन । प्रेम साह्रै ठूलो कुरा हो, आदर त्यति ठूलो कुरा होइन । जसलाई हामीले आदर गर्नुपर्ने हुन्छ, त्यसलाई हामी घृणा नै गर्छौं । तर जसलाई हामी प्रेम गर्छौं, उसलाई हामी गहिरो गरी आदर पनि गर्न थाल्छौं । आदर मागिन्छ भने त्यो अपमानजनक हुन जान्छ । र, आदर थोपरिन्छ भने त्यसले भित्र निषेध र विद्रोह पैदा गर्छ । माथिबाट आज्ञा खन्याइन्छ भने त्यसले आफैंलाई तोड्ने निमन्त्रणा दिन्छ ।

त्यसैले अब शिक्षकले आफ्नो सम्पूर्ण व्यक्तित्वको छविलाई नै फेर्नु जरूरी भइसकेको छ । नत्र शिक्षक र विद्यार्थी दुई वर्ग बन्नेछन् । मजदुर र पूँजीपतिबीच जस्तो तिनको बीचमा पनि सङ्घर्ष हुनेछ । यस विषयमा शिक्षकसँग कुरा हुँदा उनीहरू कडाइका साथ केही थप व्यवस्था गर्नु प¥यो भन्छन् । शिक्षकको हातमा दण्ड दिने शक्ति बढी हुनुपर्दछ र मात्र हामी अनुशासन राख्न र आदर बचाउन सक्छौं भन्ने उनीहरूको भनाइ हुन्छ । तर जति शक्ति दिइनेछ, त्यति नै विपरीत शक्ति त्यसलाई छिनाल्नका लागि उभिनेछ । किनभने नयाँ स्थितिमा शिक्षकको स्थान पूरै बद्लिएको छ । ऊ अब केन्द्रमा छैन । केन्द्रमा अब विद्यार्थी छ । बाउ केन्द्रमा हुनुहुँदैन, छोरो नै केन्द्र हुनुपर्दछ । किनभने छोरो भविष्य हो र बाउ अतीत । बाउ गइसकेको छ, छोरो आइरहेको छ । जो आइरहेको छ, उही केन्द्रमा हुनुपर्दछ, जो गइरहेको छ, ऊ होइन जो तैरिरहेको छ, उही केन्द्रमा हुनुपर्दछ, जो डुबिरहेको छ ऊ होइन ।
नयाँ शिक्षकको काम अब बढीभन्दा बढी भयो भने दाजुको जस्तो हुन्छ, पिताको जस्तो होइन । नयाँ शिक्षक ठीक अर्थमा मित्र हुन्छ, गुरु होइन । उसले मित्रताको कुनै धारणा विकसित गर्नुपर्नेछ । उसले आज्ञा दिने व्यक्तिको अनुहार त्याग्नु पर्दछ । उसले आज्ञा दिने छैन, कडाई गर्ने छैन, ज्यादाभन्दा ज्यादा सम्झउनेछ, बुझउनेछ, राजी तुल्याउनेछ । राजी भयो भने ठीक छ, राजी भएन भने पनि ऊ रिसाउने छैन । यसैले आजको शिक्षकको अगाडि जुन ठूल्ठूला प्रश्नहरू छन्, ती के हुन् भने उसले शिक्षकका पुराना छविहरू छोड्ने र नयाँ छविहरू विकसित गर्ने गर्नुपर्दछ । उसले विनम्र हुनुपर्दछ ।

हामी भन्थ्यौं– सिक्नका लागि विनम्र हुनुपर्छ । अब यो सूत्रलाई नै बदल्नुपर्छ । अब त, जो विनम्र छ उसले मात्र सिकाउन सक्दछ । वास्तवमा विनम्र नभइकन कसैले पनि सिकाउन सक्दैन । मेरो मान्यता छ, जुन दिन सिकाउने व्यक्ति विनम्र हुनेछ, त्यसै दिनदेखि सिक्ने व्यक्ति विनम्र हुनेछ । किनभने सिकाउने व्यक्ति नै विनम्र भएन भने सिक्ने व्यक्ति कसरी विनम्र हुनसक्छ ? सिकाउने व्यक्ति अहिलेसम्म धेरै अविनम्र थियो । पुरानो शिक्षकलाई सम्झ्यिौँ भने भने ऊ कति धेरै नै अहङ्कारले भरिएको थियो भन्ने थाहा पाउँछौं । ऊ निहुँराउँथ्यो, ढोगाउँथ्यो र सबैतिरबाट नयाँ पुस्तालाई झुकाउने काम गथ्र्याे ।

तर अब यो सम्भव छैन र उचित पनि छैन । त्यो व्यवहारले मानिसलाई विकसित हुन दिँदैनथ्यो । हामीलाई कसैबाट अन्धश्रद्धा चाहिएको छ भने पहिले हामीले उसभित्रको विचारको हत्या गर्नुपर्दछ । जो विचार गर्नसक्छ, त्यसले अन्धश्रद्धा दिन सक्दैन । त्यसैले पुरानो शिक्षा अन्धविश्वास र अन्धश्रद्धामाथि निर्भर छ । त्यसबेला विचार गर्ने प्रेरणा दिइन्नथ्यो, विचारलाई रोक्ने चेष्टा गरिन्थ्यो ।

ध्यान रहोस्, विचार विद्रोही हुन्छ । विचारको अर्थ नै विद्रोह हो, किनभने विचार हमेशा इन्कार गर्नुबाट शुरु हुन्छ । जसले ‘नाइँ’ भन्दैन ऊ विचार पनि गर्न सक्दैन । यदि म ‘हो’ भन्छु भने विचारका लागि कुनै ठाउँ रहँदैन । जब म ‘होइन’ भन्छु, तब तर्क गर्नुपर्ने हुन्छ, सोच्नुपर्ने हुन्छ, प्रमाण दिनुपर्ने हुन्छ । ‘हो’ भन्न सजिलो छ । न सोच्नुपर्छ, न तर्क दिनुपर्छ न प्रमाण पु¥याउनु पर्छ ।

पुराना सबै व्यवस्थाहरूले ‘हो’ भन्न सिकाउँथे । त्यसबाट एउटा फाइदा के थियो भने यी ‘हो’ भन्नेहरूका कारण समाजको विद्यमान व्यवस्था कहिल्यै बदलिंदैनथ्यो । तर ठूलो नोक्सान के थियो भने समाज विकसित हुँदैनथ्यो । यो संसारमा जति विकास भएको छ, त्यो ‘होइन’ भन्नेहरूकै कारणले भएको हो । जसले कुनै गहिरो धरातलमा गएर इन्कार गरेको छ, ऊ विकासको कारण बनेको छ । चाहे त्यो कुनै पनि विधा होस्, चाहे गणित, चाहे दर्शन, धर्म र विज्ञानकै क्षेत्रमा होस्, इन्कार गर्नेहरू नै विकासको आधार बनेका छन् । जसले ‘हो’ भनेका छन्, उनीहरू पुरानो घेरामा बाँचिरहेका छन् ।

पुरानो व्यवस्था एउटा निकास नभएको दहजस्तो थियो । नबग्ने पानी, त्यहीँ जम्थ्यो, कुहिन्थ्यो । घाममा वाफिन्थ्यो र गन्हाउँथ्यो । नयाँ मनुष्यले त्यस तलाउका किनाराहरू भत्काइदिएको छ र त्यसले नदीको रुप लिएको छ । यो राम्रो कुरा हो । तर नदीबाट हामीले तलाउको अपेक्षा गर्न सक्दैनौँ । तलाउ बन्द भएर एकै ठाउँमा बाँच्दथ्यो, नदी दिनहुँ किनारा बद्लिरहन्छ । दिनहुँ किनारा बद्लिन्छ र पानी बगेर जान्छ । गङ्गा हिजो जहाँ थियो, आज त्यहाँ छैन । भोलि कहाँ हुनेछ, त्यसको हामीलाई पत्तो छैन ।

आज पहिलोपटक मनुष्यको चेतना नदी बनेको छ र दिनहुँ अज्ञाततिर दौडिँदै गइरहेछ । शिक्षकको काम थियो– थाहा भएको कुरा बताउनु । अहिलेसम्म तलाउको संसार भएकोले सबै ज्ञात थियो । हजारौं वर्षदेखि त्यही किनारा थियो, उही वृक्षहरू थिए, उही माछाहरू थिए, उही सूर्य थियो । सब बन्द थियो । यसैले शिक्षक ज्ञान दिने काम गथ्र्यो । पुरानो शिक्षकको महŒवपूर्ण काम थियो– बच्चाहरूलाई ज्ञान दिनु । नयाँ शिक्षकको महŒवपूर्ण काम ज्ञान दिनु मात्र हुने छैन, बरू अज्ञातको बोध गराउनु पनि हुनेछ । किनभने बच्चाहरू भोलि त्यहाँ हुनेछन्, जहाँ हामी कहिले पनि थिएनौं । यदि हामीले उनीहरूलाई अतीतको ज्ञान मात्रै दियौँ भने हामीले उनीहरूलाई भविष्यको बालुवामाथि उभिन समर्थ बनाउन सक्नेछैनौँ ।

शिक्षकको अगाडि एउटा नयाँ काम आएको छ, उसले अज्ञातको बोध देओस् । उसले हामी के जान्दछौं भन्ने कुरा मात्र नबताओस्, उसले यो पनि भनोस्– हामी जे जति जान्दछौं भोलि त्यो व्यर्थ हुनेछ अनि नयाँ कुरा जान्ने द्वारहरू खुल्नेछन् ।

पुरानो शिक्षक एउटा निश्चयमा थियो । आजको शिक्षक एउटा अनिश्चयमा छ । ऊ निश्चित हुन सक्दैन । यदि निश्चित भयो भने मानिसलाई गति दिन सक्दैन । पुरानो शिक्षक भन्थ्यो– ‘म जे भन्छु त्यो ठीक छ र तिम्रो काम त्यसलाई मान्नु हो ।’ नयाँ शिक्षकलाई निकै सापेक्षवादी हुनुपर्दछ । उसले भन्नुपर्दछ– म जे भन्दछु सायद त्यो ठीक छ । अहिलेसम्म ठीक छ, भोलि गलत पनि हुनसक्छ ।

के सूचना दिनु नै शिक्षाको काम हो ? त्यसबाट शिक्षा पर्याप्त हुन्छ ? ध्यान रहोस्, सूचना र ज्ञानमा धेरै फरक छ । सूचना त्यो हो, जुन बाहिरबाट प्राप्त हुन्छ र ज्ञान त्यो हो जुन हामीभित्रबाट आउँछ । अब सूचनाका भरमा मात्र काम चल्दैन । युरोप र अमेरिकामा कलेज र कलेजका कक्षाहरू छोडेर हिँडेका लाखौं युवा–युवतीहरू भनिरहेका छन्, ‘यदि यस्तै हो भने हामीलाई यसको खाँचो छैन । हामीलाई सूचनाले मात्र पुगेन, ज्ञान चाहियो । अनि उनीहरू ज्ञानको खोजीमा चाहिने नचाहिने, अनेक थरिका प्रयोग गरिरहेका छन् । नाथरिका लागूपदार्थ लिइरहेका छन्, समाधि पनि लगाइरहेका छन्, ध्यान पनि गइरहेका छन्, कुनै गुरुको पछि लागिरहेका पनि छन्, उनीहरू अनेक गरिरहेका छन् । उनीहरू भन्छन्– हामी यदि यी सूचनाहरूको सङ्ग्रह हौं भने त यो काम कम्प्युटरले नै गरिदिन्छ, यसको लागि मानिसको के खाँचो ?

शिक्षा बाहिर भएका कुरा मान्छेमा खाँद्नु होइन । टिम्बकटू कहाँ छ, मेडागास्कर कहाँ छ, भन्ने कुरा मानिसको खोपडीमा भर्नुको कुनै ठूलो अर्थ छैन । यो काम कम्प्युटरले नै गर्नसक्छ । मानिसलाई ज्ञान चाहिन्छ । ज्ञानको अर्थ हो– मानिसभित्र जे लुकेको छ, त्यसलाई कसरी हुन्छ पूरै बाहिर प्रकट गर्नु, त्यो कसैगरी प्रकट होस् । मानिसभित्र जुन बीज लुकेको हुन्छ, त्यो फूल बनोस् । सिकाएर मात्र पुग्दैन । बच्चा पाँच वर्षको हुँदादेखि हामी सिकाउन शुरु गर्छौं र पच्चीस वर्षसम्म पनि हामी सिकाइरहन्छौं । र, यदि हामीले विश्वविद्यालयबाट निक्लेको पच्चीस वर्षको व्यक्तिको खोपडीको जाँचबुझ् ग¥यौं भने हामी पाउँछौं– ऊ कुनै बुद्धिमत्ता लिएर आउँदैन, केवल स्मृतिको संग्रह लिएर बाहिर आउँछ । र, यसैले नै अक्सर के हुन्छ भने विश्वविद्यालयले जसलाई स्वर्णपदक दिन्छ, जिन्दगीले उसलाई माटोको पदक पनि दिंदैन । उनीहरू हराउँछन्, उनीहरू कहाँ जान्छन् भन्ने केही पत्तो हुँदेन ।
हिन्दीबाट रूपान्तरः गोविन्द वर्तमान

२०६४ माघ अंकमा प्रकाशित ।

Related Posts

/*sign up form*/